कन्हैयाको गाउँ पुग्दा : केही गाउँलेले ‘आतंककारी’ भन्दै घर देखाएनन् ! 'बिहे गर्न हतार छैन'

अजय अनुरागी
अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि खोज, राजनीति र समसामयिक विषयवस्तुमा कलम चलाउँछन् ।

जनकपुरधामबाट हामी पाँच जना पत्रकार तीर्थाटनमा भारतको बिहार र झारखण्डस्थित विभिन्न तीर्थस्थलमा दर्शन गर्ने उद्देश्यले गत फागुन ९ गते शुक्रवार निस्किएका थियौं । जनकपुरका पत्रकारहरू अनिल कुमार मिश्र, नित्यानन्द मण्डल, घनश्याम मिश्र, दीपक कुमार कर्ण र मसहित पाँच जनाको टोली सवारीसाधन रिजर्भ गरेर गएका थियौं । बिहारको नालन्दा जिल्लाको राजगीरस्थित विभिन्न कुण्डमा स्नान गर्दै भगवान गौतम बुद्धले ज्ञान प्राप्ति गरेको स्थान बोधगया, विश्व शान्ति स्तुप, पहाड फोडेर सडक बनाएका दशरथ माझीको गाउँ दशरथ नगर,  नालन्दा विश्वविद्यालय, झारखण्डको देवघरस्थित वैद्यनाथ धाम आदिको दर्शन सकेर जनकपुरका लागि १२ गते सोमवार फर्किरहेका थियौं ।

फर्किने बाटोमा नै भारतका प्रभावशाली युवा नेता कन्हैया कुमारको जन्मगाउँ बिहट पर्थ्यो । बिहारको बेगु सराय जिल्लाको बिहट मसनदपुर गाउँमा कन्हैया कुमार जन्मिएका हुन् । बिहटमा पुगेर उनको घर कता हो भन्ने कुराको यकीन गर्नका लागि हामी त्यहीँ चोकमा रहेको एउटा पान पसलमा रहेकालाई सोध्यौं । कन्हैया कुमारको घर कता पर्छ भन्ने हामीले प्रश्न गर्दा त्यो पान पसलमा रहेका ५ जना युवाले आश्चर्य चकित हुँदै  हामीमाथि शंकाको नजरले घुरे । को कन्हैया कुमार ? आतंकवादी कन्हैया कुमार, देशद्रोही कन्हैया कुमारको घर खोजेको हो ? भन्दै उनीहरू हामीमाथि कड्किए । छैन यहाँ कोही कन्हैया भन्दै उनीहरूले हाम्रो प्रश्नको जवाफ दिएनन् । तर पान पसलेले भने केही अगाडि गएर जिरोमाइल चोकमा पुगेर बायाँतर्फ मोडिनुहोला, कन्हैयाकै घर पुग्नुहुन्छ भनेर बताए ।


Advertisement

पाँच मिनेट जति गाडीको यात्रा गरेपछि हामी जिरोमाइलतर्फ पुग्यौं । त्यहाँ चोकमैं भारतको राष्ट्र कवि दिनकरको स्मारक थियो । बाटोमा ४ र ५ जना जति मानिसलाई सोध्दै हामी कन्हैया कुमारको घर पुग्यौं । तल पक्का नै भएको तर खप्डाले छाएको छतसहित सामान्य घर थियो । काका र कन्हैयाकी आमा एकै छतसहितको उक्त खप्डाको घरमा आधा-आधा भागमा बाडेर बस्दै आएका छन् ।  घर अगाडि रहेको चौकी(खाट)मा कन्हैयाका काका राजेन्द्र सिंह बसेका थिए । हामीले परिचय दिएपछि उनले बस्न कुर्सी उपलब्ध गराए । घरबाट अन्य थप कुर्सीहरू मगाए ।  भलाकुसारी हुँदै गयो । कन्हैया कुमार पटना गएका रहेछन् । संगठनको कामका लागि उनी केही दिनदेखि बिहारका विभिन्न जिल्लाहरूमा व्यस्त रहेको उनले सुनाए । हामीलाई चिया खुवाए । कन्हैयाका आमा भने घरमा थिइनन् । उनी ‘आँगनबारी’ शिक्षिकाको रूपमा काम गर्न गएकी रहिछिन् । हामी पुग्ने बित्तिकै कन्हैयाका अन्य काकाहरू सुबोध कुमार सिंह र राम उदगार सिंह आइपुगे ।

त्यसपछि कन्हैयाको बारेमा हामीले राखेको विभिन्न जिज्ञासाका बारेमा उनले यसरी सुनाए । प्रस्तुत छ काका राजेन्द्र सिंहले भनेका वृतान्तको सम्पादित अंश उनकै शब्दमा जस्ताको तस्तै :


Advertisement

कन्हैयालाई बाल्यकालदेखि नै पढ्ने शौख थियो । बाल्यकाल देखि नै बिहारको संगीतको क्षेत्रमा नाम कमाएको एउटा संगठन (इप्टा) मा उनी आबद्ध भएका थिए । सानै हुँदा उनले त्यही संगठनमा आबद्ध भएकै बेला ‘कबीरा खडा बजारमें’ नामक नाटकमा उनले भाग लिएका थिए । उनको प्रदर्शनबाट खुशी हुँदै भारतीय कम्युनिष्ट पार्टीका तत्कालीन केन्द्रीय महासचिव एबी बर्द्धनले उनलाई नगद पुरस्कार दिएर पुरस्कृत गरेका थिए ।

गाउँ नजिकै रहेको बरौनीस्थित आरसीसीएच स्कूलबाट एसएलसी, मुकामा कलेजबाट प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेर उच्च शिक्षा अध्ययनका लागि उनी पटना पुगे । पटनाबाटै उनले स्नातक तथा स्नातकोत्तर गरेका थिए । पटनामा हुँदा नै उनी भारतीय कम्युनिष्ट पार्टी (भाकपा)को विद्यार्थी संगठन अखिल भारतीय छात्र परिषद् (एआईएसएफ) सँग आबद्ध भएका थिए ।

एमए उत्तीर्ण गरेर भारतीय प्रशासनिक सेवा (आईएएस्)को परीक्षाका तयारीका लागि दिल्ली गएका थिए । तर संयोगले एमफिलका लागि जवाहरलाल विश्वविद्यालय (जेएनयू) मा उनको दाखिला हुन गयो । त्यहीँबाट उनले एमफिल तथा विद्यावारिधी समेत गरे । जब त्यहाँ विद्यार्थी युनियनको चुनाव भयो, उनी सभापातिमा ७२ मतले चुनाव जित्न सफल भए ।

त्यसपछि उनको नाम र गाउँको नाम समेत मिडियामा आयो । हामी सबै गौरवान्वित मात्र भएका थिएनौं, आश्चर्यचकित नै भएका थियौं । किनभने एउटा सानो गाउँको बिद्यार्थीले त्यहाँ विद्यार्थी युनियनको चुनाव जो जितेको थियो । जेएनयूमा एआईएसएफको संगठन त्यति बलियो थिएन । माले र सीपीएमको संगठन बलियो थियो तर कन्हैयालाई नै उम्मेदवार बनाइएको थियो । उम्मेदवार बनेपछि उनले जेएनयूमा गरेको भाषणबाट बिद्यार्थीहरू प्रभावित भएका थिए । जाडोको मौसम हुँदाहुँदै उनले बिद्यार्थीहरूको हकहितका लागि विश्वविद्यालय सेवा आयोगलाई घेराउ गर्दै आन्दोलनको अगुवाई गरेका थिए । त्यसैकारण उनी विद्यार्थी युनियनको चुनाव जित्न सफल भएका थिए ।

तत्कालीन गृहमन्त्री राजनाथ सिंहले कन्हैयालाई बनाए नेता

विद्यार्थी नेताको रूपमा उनी त्यति चर्चित थिएनन् । तर भारतका तत्कालीन गृहमन्त्री राजनाथ सिंहले उनीमाथि देशद्रोहको मुद्दा लगाएर उनलाई नेता बनाइदिए । जेएनयूमा अलगाववादी भाषण दिएको तथा आतंकवादीको समर्थनमा नारा जुलुस लगाएको भिडियो सार्वजनिक गर्दै उनीमाथि सरकारले देशद्रोहको मुद्दा दर्ता गर्दै गिरफ्तार गरेको थियो । मिडियामा समाचार आएपछि हामी यहाँ सबै घर परिवारका सदस्यहरू चिन्तित भयौं । उनी गिरफ्तार भएको तीन दिनपछि म , कन्हैयाको आमा, भाईलाई लिएर दिल्ली पुगेँ । भारतीय कम्युनिष्ट पार्टीको कार्यालयमा पुगेर महासचिवसँग भेटेर कन्हैयाको जमानतका विषयमा के कस्तो तयारी भएको छ भनेर जिज्ञासा राख्यौं । उनले चर्चित वकिल कपिल सिब्बललाई मुद्दा लड्न तयार गरेको बताएका थिए । हामी बहसको शुल्क तिर्न सक्दैनौं भनेर सिब्बल साहेबलाई भन्यौं । उनले पनि हुन्छ, कम्युनिष्ट पार्टीसँग आबद्ध रहेको विभिन्न कागजात ल्याउन भने । हामीले ती सबै दियौं ।

उता दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले पनि भिडियोलाई जाँच गर्न एउटा आयोग गठन गरेका थिए । उक्त आयोगले भिडियो छानबिन गर्न हैदराबाद पठाएको थियो । छानबिन गर्दा सार्बजनिक गरिएको भिडियोमा कन्हैयालाई फसाइएको पाइयो । कन्हैयाले एक्सन गरेको तर भाषण वा नाराबाजी अरू कसैले मिसाएको पुष्टि भएपछि अदालतले उनलाई अन्तरिम जमानतमा  रिहाई गरेको थियो । उनलाई देशद्रोहको मुद्दा दर्ता भएपछि यहाँ घरमा पनि थुप्रै पत्रकारहरू आएर मलाई प्रतिक्रिया मागेका थिए । देशद्रोहको मुद्दा झुटो मुद्दा हो भनेर त्यति बेला नै हामी सबैले प्रतिक्रिया दिएका थियौं । चिन्ता के थियो भने त्यही झुटो मुद्दाको आवरणमा उनको कहीं हत्या त गरिँदैन भन्ने डर अबश्य नै थियो । किनभने यहीँ कम्युनिष्ट नेता कमरेड चन्द्रशेखरको हत्या गरिएको थियो । त्यसैगरी कन्हैयाको पनि हत्या हुन सक्ने डर थियो । भयो पनि त्यस्तै, उनलाई अदालतमा उपस्थित गराउन लाग्दा उनीमाथि भारतीय जनता पार्टीका कार्यकर्ताहरू वकिलको आवरणमा आक्रमण गरेकै थिए ।

परिवार शुरूदेखि नै कम्युनिष्ट

म आफैंले सन् १९५६ मा कमरेड चन्द्रशेखरको कार्यकालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएको थिएँ । सुगर मिलमा काम गर्थेँ । सिजनमा ४ महिना मिल चल्थ्यो, बाँकी समयमा घरमा नै बसेर तलब पाउने गर्थ्यौं । बाँकी समयमा खेती गर्ने र राजनीति गर्ने हाम्रो नियति नै थियो । कन्हैयाको बुवा जिरोमाइलमा गिट्टी वालुवाको ब्यापार गर्नुहुन्थ्यो ।

सन् १९४२ मा मेरो गाउँबाट मेरो घर परिवारका मानिसहरू अंग्रेजबिरुद्धको स्वतन्त्रता आन्दोलनमा रामचरित्र बाबुको अगुवाइमा भएको आन्दोलनमा सहभागी भएर स्वतन्त्रता सेनानीको प्रमाणपत्र पाएका छौं । स्वतन्त्रता आन्दोलनमा हाम्रो गाउँलाई ‘बिहारको बार्दोली ’ भन्ने गरिन्थ्यो । हाम्रो गाउँको एक जना त शहीद नै भए, कतिपय जेल परेका थिए । जेलमा नै हाम्रो गाउँको तीन जनाको मृत्यु भएको थियो । त्यसैले सत्तासँग लड्ने क्षमता त हाम्रो रगतमा नै छ । हामी त्यो सामर्थ्य सँधैं राख्ने गरेका छौं । सत्तासँग हामी डराउने कुरा नै छैन । देशको स्वतन्त्रताको लागि भएको आन्दोलनमा अगुवाई गरेका हामी देशद्रोही कसरी हुन सक्छौं ? कन्हैयामाथि गलत आरोप लागेर उनको चरित्र हत्या गर्नका लागि षड्यन्त्र रचिएको थियो ।

अहिले पनि कन्हैयाले प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रश्न सोध्ने गरेकै छन् । उनीमाथि पटक-पटक भारतीय जनता पार्टीका कार्यकर्ताहरूले आक्रमण गरिरहेका छन् । केही दिनअघि नै बिहारकै आरामा, सुपौलमा कन्हैयाको गाडीमाथि ढुंगा मुढा गरेर आक्रमण गरिएको थियो । कन्हैयासँग रहेका कार्यकर्ताहरूले आफ्नो टाउको फुटाएर पनि उनलाई जोगाए । कन्हैयालाई ज्यानको खतरा त छ । यदि उनी भौतिक रूपले सुरक्षित रहन सके वा उनको हत्या नभए उनी भारतमा ठूलै नेता बन्न सक्नेछन् भन्ने कुराको हामीलाई पूर्ण रूपमा विश्वास छ ।

चुनावमा पराजय

पछिल्लो लोकसभा सदस्यका लागि भएको चुनावमा उनी भाकपाबाट उम्मेदवार बनेका थिए । भारतीय जनता पार्टीका तर्फबाट उम्मेदवार रहेका पूर्बमन्त्री समेत रहेका नेता गिरिराज सिंहबाट उनी पराजित हुन पुगे ।  गिरिराजलाई जिताउन भारत सरकारले राज्य संयन्त्रको प्रयोग गर्‍यो । प्रशासनको साथ पाए । एउटा देशद्रोही मुद्दा लागेका व्यक्ति जितेर संसदमा पुगेको भए देश दुनियाँका सामु नै बेइज्जती हुने भन्दै बीजेपीले प्रतिष्ठाको बिषय बनाएर पूरा शक्ति लगाएको थियो । बेगु सरायमा एउटा पनि होटेल खाली थिएन । पैसा र पावरको अगाडि जित्ने कुरा नै भएन ।

हाम्रो त केही कार्यकर्ताहरू भाकपाको पार्टी कार्यालयमा बस्ने गर्थ्यो । हाम्रो आफन्तले घरहरू खाली गरेका थिए । कार्यकर्ताहरू गाउँको घरमा नै बस्ने गरेका थिए । दिल्लीबाट चर्चित पत्रकार रबिश कुमार चुनावमा यहाँ मेरो घरमा तीन दिन बस्नु भयो । एक दिन उहाँ कन्हैया कुमारसँगै र्‍यालीमा हिँड्नुभयो । दोस्रो दिन पुरै गाउँ घुम्नुभयो । र, तेस्रो दिन बेगु सराय घुम्नुभयो । तीन दिन घुमिसकेपछि रबिश कुमारले मलाई भन्नुभयो, ‘कन्हैया कुमारका पछाडि जनताहरू दिबाना छन्, पछिपछि आइरहेका पनि छन् । कार्यक्रम र र्‍यालीमा समेत सहभागी हुँदैछन् तर  चुनावमा भोट भने उनीहरूले दिनेवाला छैनन् ।’ आम मानिसले कन्हैयालाई धेरै नै मन पराए पनि उनीहरूको दिमागमा भने कन्हैया एउटा देशद्रोही मानिस रहेको कुरा भने दिमागबाट हटाउन सकिरहेका छैनन् । रबिश कुमारले त्यो कुरा भनेपछि हामीले चुनाव हार्छौं जस्तो लागेको थियो । फोरवार्ड समुदायको बाहुल्य रहेको उक्त संसदीय क्षेत्रमा ६० प्रतिशत फोरवार्डले गिरिराजलाई र ४० प्रतिशतले मात्र हामीलाई मतदान गरेको थियो । त्यसैले चुनाव हार्यौं ।

हामीले चुनाव हारे पनि आगामी दिनमा चुनाव जित्नेमा ढुक्क छौं । जनताले पनि अब भनिरहेका छन् कि हामीले गल्ती गर्‍यौं । कन्हैयालाई भोट नदिएर पछुताइरहेका छन् । अब कन्हैयालाई नै जिताउने भन्दै कार्यकर्ताहरू उत्साहित देखिएका छन् । बेगु सराय बिधानसभा क्षेत्र बिगतमा कम्युनिष्ट पार्टीको गढ नै थियो । चारको चार वटै सीट हामीले जित्ने गरेका थियौं । तर पछिल्लो समयमा संगठनमा केही कमजोरीका कारण संगठन चुस्त दुरुस्त हुन सकेको थिएन । अब ती सबै कमीकमजोरीलाई ठिक गर्दैछौं ।

कन्हैयाको भविष्य के होला भन्ने कुराको आंकलन हामीले गर्न सक्दैनौं । उनको ज्यानको खतरा नै सबैभन्दा ठूलो खतरा हो । उनी जीवित बाँच्न सफल भए भने उनी भारतकै भविष्य हुनेमा भने म विश्वस्त छु ।

कन्हैया तीन दाजुभाई छन् । जेठो दाजु मनिकान्त सिंह कन्हैया पक्राउ परेपछि जागिर छाडेर घर फर्किए । कान्छो भाई प्रिन्स उनीसँगै बस्ने गरेका छन् । उनको बुवाको केही बर्षअघि निधन भयो । आमा भने आँगनबारीमा काम गर्छिन् । अत्यन्तै सामान्य परिवारको रहेका कन्हैया घरको अवस्था हेर्दा उनी वास्तविक कम्युनिष्ट नेता हुन् भन्ने कुरा जो कोहि आउनेले बताउने गरेका छन् । उनी कुमार नै छन् । अहिले बिहे गर्ने कुनै हतार छैन, त्यस्तो सोच पनि नबनाएको कन्हैयाले बताउने गरेका कारण उनको बिहेका बारेमा हामीले सोचेका छैनौं ।

अभिव्यक्ति स्वतन्त्रता हुनुपर्छ, धर्मको आधारमा भेदभाव नहोस् भन्दै सत्तासँग प्रश्न गर्ने काम हामीले गर्दै रहनेछौं ।

अजय अनुरागी
अजय अनुरागी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्