कोरोनाबाट बच्न सरकारी तयारी शून्यप्रायः, पशुपतिनाथले मात्र कति थेग्ने ?

दिलनिशानी मगर
दिलनिशानी मगर

समसामयिक विषयमा कलम चलाउने दिलनिशानी मगर लोकान्तरका नियमित स्तम्भकार हुन् । 

नेकपाभित्रको राजनीतिले ज्वरो फुटाइरहेको बेलामा कोविड–१९ अर्थात् कोरोनाभाइरसको प्रसंग निकाल्नु कत्तिको जायज हुन्छ थाहा छैन । विश्वव्यापी रूपमा त्रास निम्त्याएको कोरोनाभाइरसले कसैलाई पनि छोड्नेछैन, यो राम्रोसँग थाहा छ । भोलि मुखमा लगाउने मास्क नपाएर जनता मर्लान् भन्ने पूर्वानुमान सत्ताको खेलमा लागेका कुनै पनि नेताले गरेका छैनन् ।  

प्रधानमन्त्री केपी ओलीलाई जन्मदिनको केकको चिन्ता छ । यस्तो भाग्यमानी केक जो हेलिकप्टरमा चार्टर हुन सकोस् । छिमेकी देश चीनको वुहानबाट शुरू भएको कोरोनाभाइरसको संक्रमण अहिले विश्वका विभिन्न देशमा फैलिसक्यो, यसबारे प्रधानमन्त्री एकपटक कतै सार्वजनिक रूपमा बोलेका छैनन् । बरू आरोप मात्रै तथ्य हैन, अन्तिम सत्य पनि हैन भन्दै राजनीतिक धर्मपुत्र गोकुल बाँस्कोटाको बचाउ गर्दै हिँडेका छन् । 


Advertisement

हाम्रो देश नेपाल कोरोनाभाइरसको उच्च जोखिममा छ भनेर विश्व स्वास्थ्य संगठनले एक प्रतिवेदन सार्वजनिक गरेपछि मलाई महाभूकम्पको याद आयो । वास्तवमा भाइरस र भूकम्प उस्तै उस्तै हुन् । ती दुवै प्रलयकारी हुन् । नेपाल भूकम्पको जोखिममा छ भन्ने थाहा भएर पनि नेपालका शासकहरूले क्षति कम गर्नेतर्फ रचनात्मक भूमिका निर्वाह गरेका थिएनन् । अरू त अरू, पालकै अभाव भयो, औषधिको अभाव भयो । अब अहिले कोरोना भाइरसको उच्च जोखिममा छ नेपाल । तर के यो भाइरससँग लड्नका लागि सरकारले घनीभूत तयारी गरेको छ ? 

मानिलिनुहोस् वुहान जस्तै भोलि नेपालको चितवन, पोखरा अथवा बुटवल शहर लकडाउन गर्नुपर्ला रे । अझ यसो भनौं, काठमाडौं नै लकडाउन गर्नुपर्ने स्थिति आउला रे । यसरी देशको मुख्य शहर नै लकडाउन गर्नुपर्ने स्थिति बन्यो भने कोरोनाको संकेत देखिएका बिरामीहरूलाई क्वारेन्टाइनमा राख्नका लागि कुन कुन स्थान किटान गरिएको छ त ? त्यसप्रकारको संकटकालीन अवस्थालाई झेल्न चीनले जस्तै केही दिनभित्रैमा नयाँ अस्पताल बनाउन सक्ने हैसियत हामीसँग छ ? वा त्यसप्रकारको साधनस्रोत हामीसँग छ ?


Advertisement

शहर लकडाउन गर्नुपर्ने अवस्थामा खाद्यान्न, औषधि, खानेपानी लगायतको संकट पर्न सक्छ । खासगरी बालबच्चा, गर्भवती, अशक्तहरूलाई समस्या हुन सक्छ । यसकारण सरकारले अहिलेदेखि नै सम्भाव्य स्थानहरूको पहिचान गरेर क्वारेन्टाइन निर्माण गर्नेतर्फ लाग्नु बुद्धिमानी हो । नेपाली सेनाले यसको जिम्मा लिनुपर्छ । अरू धेरै संख्याको कुरा छाडौ, १० लाख मानिस क्वारेन्टाइनमा राख्नुपर्‍यो र ५० लाख मानिस बसोबास गर्ने शहर प्रभावित भयो भने नेपाललाई ठूलो सकस हुनेवाला छ । 

चीनबाट नेपालीहरू फर्किरहेका छन् । सरासर घर गएका छन् । पर्यटकहरू ओहोरदोहोर गरिरहेका छन् । ती सरासर आफ्नो घर गएका छन् । कसैलाई मतलब छैन । सरकारलाई पनि मतलब छैन । 

सरकारले मास्क, डिटोल साबुन, भाइरस निर्मलीकरण गर्ने स्प्रे, रगत, औषधिहरू, डाक्टर, नर्स, बिरामी शय्या, आईसीयू, इमर्जेन्सी मेडिकल उपकरणहरू सबै नयाँ खरिद गरेर भए पनि पर्याप्त मात्रामा अहिले नै स्टक गर्नुपर्दछ । मास्क त सरकाकले फ्रीमा बाँड्नुपर्दछ ताकि भोलि कालोबजारी नहोस् । आवश्यक परे संकटकाल घोषणा गरेर मानिसहरूलाई सभा, सम्मेलन, सांस्कृतिक कार्यक्रम नगर्न उर्दी जारी गर्नुपर्दछ । शहरमा भीडभाड हुने गरी कुनै पनि कार्यक्रम गर्न दिनुहुँदैन । जनचेतना मुख्य कुरा हो । 

सम्पूर्ण भौतिक प्रविधि उपरकणहरूले सुसज्जित अमेरिका, बेलायत तथा युरोपेली मुलुकहरूमा समेत कोरोना भाइरसका बिरामीहरू देखापरेको स्थितिमा बिरामीको तापक्रम नाप्ने थर्मामिटर पनि जंगबहादुर राणाको पालाको भएको मेरो देशको हालत के होला भनी चिन्ताका साथ यो लेख लेख्दैछु । मलाई लाग्छ, यो लेख शासकहरूले त पढ्दैनन् । तर नेपाली सेनाका मानिसहरूले पढिरहेका छन् भने पक्कै पनि यो कुरा चिफ साबलाई जाहेर हुने विश्वास छ । विमानस्थललाई तत्काल नेपाली सेनाले नियन्त्रणमा लिएर कोरोनाभाइरससँग लड्नुपर्छ ।

यो काम सेनाले मात्र गर्न सक्छ किनकि सेनामा सेवाको भावना प्रचुर मात्रामा हुन्छ । चीनमा समेत भाइरसविरुद्ध लड्न सेनाको प्रयोग गरिएको छ । हालसालै पनि नेपाली सेनाले निकै राम्रो काम गरेको छ । कैयौं प्रश्न उठेपछि ढिलै भए पनि नेपाली ध्वजावाहक विमान चार्टर गरेर केपी शर्मा ओली सरकारले विद्यार्थीहरू उद्धार गर्न वुहान पठायो । उनीहरूलाई सुरक्षित ढंगले स्वदेश फर्कायो र नेपाली सेनाको सहयोगमा भक्तपुरको खरीपाटीस्थित क्वारेन्टाइनमा राखियो । खुशीको कुरा त, चीनको वुहानबाट ल्याइएका १ सय ७५ जना नेपालीमा कोरोनाभाइरसको संक्रमण नदेखिएको पुष्टि भएको छ ।

नेपाली सेना अर्थात् सेनाका डाक्टरहरूलाई विमानस्थलदेखि लिएर देशैभरि परिचालन गर्नुपर्दछ । बरू सरकारले यसका लागि विशेष बजेट बनाएर सेवासुविधा बढाउनुपर्दछ । औषधिहरू आपूर्ति गर्ने, क्वारेन्टाइन निर्माण गर्ने सबै काम सेनाले गर्नुपर्दछ किनकि निजामती कर्मचारीको विश्वास नै लाग्न छोड्यो । नपत्याए विमानस्थल गएर हेर्नुहोस्, त्यहाँ कुनै खास किसिमको स्वास्थ्य जाँच नै छैन, न उपकरण नै राखिएका छन् । फेरी कर्मचारीहरू डरछेरुवा पनि हुने गर्छन् । 

विमानस्थल मात्र हैन, चीन र भारतसँग सिमाना जोडिएका सबै नाकाहरूमा कोरोनाभाइरस जाँचका लागि विशेष उपकरण जडान गरेर त्यसको सम्पूर्ण अनुगमन, निरीक्षण र परिचालन नेपाली सेनाले गर्नुपर्छ । हैन त्यसो गर्न सकिन्न भने हामीकहाँ पशुपतिनाथकै भरोसा भन्ने कथन प्रचलित छ । भगवान पुकार्न खासै गाह्रो पनि हुँदैन । 

शासकले जनताको चिन्ता कसरी गर्छ, बुझौं । कोरोनाभाइरसको संक्रमण फैलिनबाट जोगाउनका लागि जापानमा विद्यालयहरू बन्द गरिएका छन् । जापानका प्रधानमन्त्री शिन्जो आबेले नै अग्रसरता लिएर कोरोनाभाइरसको संक्रमणलाई रोक्न देशभरका विद्यालयहरू केही हप्ता बन्द गर्न आग्रह गरेका थिए । यसैगरी अमेरिकाले चीन भ्रमणमा ननिस्कन आफ्ना नागरिकलाई सचेत गराएको छ । अमेरिकाको स्टेट डिपार्टमेन्टले ‘लेभल फोर’को चेतावनी दिँदै भ्रमणमा रोक लगाएको छ । 

जापान लगायत कैयौं देशमा कोरोनाभाइरससँग लड्नका लागि अनेकौं प्रयास गरिएका छन् । जस्तो कि इटलीमा दुईजना इटालियन नागरिकहरूको कोविड–१९ का कारण मृत्यु भएपछि प्रधानमन्त्री जुजेपे कोन्टेले आपतकालीन योजना घोषणा गरेका छन् । त्यहाँ कोरोनाभाइरस संक्रमित बिरामीहरूको संख्या ७९ पुगेको छ । आपतकालीन योजना अन्तर्गत इटलीको उत्तरी क्षेत्रका लोम्बार्डी र भेनेटोका लगायत एक दर्जन शहरलाई क्वारेन्टाइनमा राखिनेछ । ती शहरहरूका झन्डै ५० हजार मानिसलाई घरभित्रै रहन भनिएको छ ।

विश्व स्वास्थ्य संगठनले नेपाल कोरोना संक्रमणको अति उच्च जोखिममा रहेको जनाएसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भ्रमण वर्ष २०२० का सम्बन्धमा देशबाहिर भइरहेका सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिएका छन् । तर उनले विगतमा भने नेपाल कोरोनाभाइरस मुक्त देश भएका कारण पर्यटकहरूलाई तान्नका लागि भाइरस फ्री देशका रूपमा प्रचार गर्नुपर्ने बताएका थिए । देशको हालत यस्तो छ ! 
अभिनेत्री ऋचा शर्माले एक ट्वीट गर्दै लेखेकी छन्– चीनबाट फर्किएका मंगोलियाका राष्ट्रपति पनि क्वारेन्टाइनमा बसेका छन्, विश्व स्वास्थ्य संगठनले नेपाल कोरोनाको उच्च जोखिममा भनिसक्यो । न हाम्रोमा चीनसँगको उडान बन्द गरिएको छ, न चीनबाट  आएकाहरूलाई क्वारेन्टाइनमा राखिएको छ । भनेपछि हामी सबैलाई पशुपतिले बचाइराखेका छन् भन्नुबाहेक विकल्प छैन । 

हो, चीनबाट नेपालीहरू फर्किरहेका छन् । सरासर घर गएका छन् । पर्यटकहरू ओहोरदोहोर गरिरहेका छन् । ती सरासर आफ्नो घर गएका छन् । कसैलाई मतलब छैन । सरकारलाई पनि मतलब छैन । 

चीनको छिमेकी मंगोलियाका राष्ट्रपति खाल्तमागिन बट्टुल्गालाई क्वारेन्टाइनमा राखिएको छ । हालसम्म कोरोनाभाइरसको संक्रमण पुष्टि गरिनसकेको मंगोलियाले सुरक्षाका हिसाबले शुक्रवार चीन भ्रमणबाट फर्किएका राष्ट्रपतिलाई क्वारेन्टाइनमा राखेको हो । चीन भ्रमणबाट फर्किएका राष्ट्रपतिसहित अन्यलाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा राखिने मंगोलियाका स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् । तर नेपालमा भने वुहानबाहेक अरू स्थानबाट आएकाहरूलाई सामान्य परीक्षण, त्यो पनि हतारको काम लतारपतार, गरेर घर पठाइन्छ । 

चीनबाट फैलिएको कोरोनाभाइरस पूर्बमा जापान र कोरिया प्रायद्वीप तथा पश्चिममा इरान हुँदै टर्कीसम्म पुगेको छ ।  इरानका स्वास्थ्य राज्यमन्त्री इराज हरिचीलाई नै कोरोनाभाइरसको संक्रमण देखियो । हरिचीले आफ्नो मुलुकलाई कोरोनाभाइरस नियन्त्रणका लागि सरकारका तर्फबाट परामर्श दिन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका थिए । विश्व स्वास्थ्य संगठनले चीनमा फैलिरहेको कोरोना भाइरसको संक्रमणलाई लिएर विश्वव्यापी स्वास्थ्य संकटकालको घोषणा गरेको छ । 

नेपालमा अहिलेसम्म शुरूमा एकजना बाहेक कसैलाई संक्रमण देखिएको छैन । तर यो कोविड–१९को प्रकोप युरोपको इटलीसहित दक्षिण कोरियासम्म फैलिएको छ । कोरोनाभाइरस संक्रमण अहिलेसम्म ३६ देशमा पुगेको छ । तथ्यांकअनुसार यो भाइरसबाट अहिलेसम्म विश्वमा दुई हजार ९ सय ७९ जनाको मृत्यु भएको छ । त्यस्तै, ८६ हजार ९९२ जनामा संक्रमण देखापरेको र ४२ हजार ३३४ जना संक्रमित अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन् । मृत्यु र संक्रमणदर चीन र त्यसमा पनि हुबेई प्रान्तमा सबैभन्दा बढी छ ।

मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको हेल्थ डेस्कले आगन्तुकको सामान्य जाँच पनि नगरी पठाइरहेको तथ्य जनस्तरबाट पटकपटक सार्वजनिक भइरहेको छ । कतिपय यात्रुहरू भन्छन्– जाँचै भएन, सरासर निस्किन पाइयो, पहिलाको जस्तै ।

चीनपछि सबैभन्दा बढी संक्रमण दक्षिण कोरियामा ८९३ जनामा देखिएको छ । तर मृत्युदर बढी भएको भने इरानमा हो । त्यहाँ ५९३ जनामा संक्रमण देखिँदा ४३ जनाको मृत्यु भइसकेको छ । दक्षिण कोरियामा भने अहिलेसम्म १७ जनाको ज्यान गएको छ । कोरियामा ३५ हजारभन्दा धेरै नेपाली कामदार रहेका हुनाले उनीहरूको आउजाउले नेपाल कोरोनाभाइरसको उच्च जोखिममा रहेको बताइन्छ । कोरियाबाट नेपाल आउने जाने गर्ने कामदारहरूको स्वास्थ्य जाँच के कसरी भइरहेको छ, त्यो विमानस्थलमा गएर हेरे देखिन्छ । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको हेल्थ डेस्कले आगन्तुकको सामान्य जाँच पनि नगरी पठाइरहेको तथ्य जनस्तरबाट पटकपटक सार्वजनिक भइरहेको छ । कतिपय यात्रुहरू भन्छन्– जाँचै भएन, सरासर निस्किन पाइयो, पहिलाको जस्तै ।

कोरोना संक्रमण सबैभन्दा धेरै भएको चीनमा अध्ययन, व्यापार र रोजगारको सिलसिलामा नेपालीहरू प्रशस्त छन् । यसकारण निश्चित समयका लागि चीनसँगको उडान बन्द गर्नुपर्छ भन्ने लाग्छ । करीब ५० हजार नेपाली त्यहाँ कार्यरत छन् । यसबाहेक संक्रमण फैलिएको जापान लगायतका अन्य मुलुकबाट पनि पर्यटन वा अन्य प्रयोजनका लागि नेपाल आउने सम्भावना रहिनैरहन्छ । अर्थात्, प्रकोपको जोखिम आँगनमै उभिइरहेछ । संक्रमण फैलिइहाल्यो भने बिरामीको उपचारको कुरा त भइहाल्यो, त्यसबाट जोगिन सारा उद्योगधन्दा बन्द गरेर बस्नुपर्ने हुन्छ । त्यतिबेला दैनिक ज्यालामा जीवन धान्ने नागरिकको संरक्षण राज्यले कसरी गर्छ ? स्कूलहरूमा कोरोनाभाइरस फैलियो भने के हुन्छ ? के छ तयारी ? 

नेपालको संविधानले प्रत्याभूत गरेको मौलिक हकमा ‘प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने’ हक पनि छ । त्यसको अर्थ संक्रमणको जोखिममुक्त वातावरण हो । यही हक उपयोग गर्दै प्रत्येक नागरिकले कोविड–१९ को संक्रमणको जोखिमबाट मुक्त भएर रहन पाउनुपर्छ । तर सरकारले प्रकोपबाट मुक्त वातावरण निर्माण गर्न खासै चासो दिएको देखिदैन । जो होगा, देखा जाएगा भन्दै बसिरह्यो भने एकथान संविधानको परिभाषाले शायदै जनताहरू स्वस्थ होलान् । 
 

दिलनिशानी मगर
दिलनिशानी मगर

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्