कोरोनाभाइरसको प्रकोप नसकिँदै चीनमा आयो हन्ताभाइरस, १ जनाको मृत्यु

चीनबाट शुरू भएर संसारभरि फैलिरहेको कोरोनाभाइरसको प्रकोप कायमै रहँदा अन्य भाइरसहरू पनि देखिन थालेका छन् । भारतमा स्वाइन फ्लु र बर्ड फ्लु देखिएसँगै चीनमा एक पुरुषमा हन्ताभाइरस पाइएको छ भनी फर्स्टपोस्टमा समाचार प्रकाशित भएको छ । 

चिनियाँ पत्रिका ग्लोबल टाइम्सले युन्नान प्रान्तका एक मानिस सोमवार शानदोङ प्रान्तमा जाँदै गर्दा बसमा मरेको भनी ट्वीटमार्फत जानकारी दियो । बसमा रहेका अन्य ३२ जनालाई पनि भाइरस भए नभएको परीक्षण गरिएको छ । यससँगै ट्विटरमा अहिले ह्याशट्याग हन्ताभाइरस ट्रेन्डिंगमा आएको छ ।  

सेन्टर्स फर डिजीज कन्ट्रोल यान्ड प्रिभेन्सन (सीडीसी)का अनुसार, हन्ताभाइरस मुख्यतया मुसाबाट सर्छ र मानिसहरूमा यसले विभिन्न खाले रोग लगाउँछ ।


Advertisement

यसले हन्ताभाइरस पल्मोनेरी सिन्ड्रोम र हेमोराजिक फिभर गराउँछ । 

यो रोग हावाको माध्यमले सर्दैन र मानिसहरू मुसाको पिसाब, दिसा र थुकको सम्पर्कमा आएमा मात्र सर्छ । संक्रमित मुसाले टोकेमा समेत रोग सर्ने सम्भावना रहन्छ । 


Advertisement

हन्ताभाइरसको प्रारम्भिक लक्षण भनेका थकान, ज्वरो, मांसपेशी दुख्ने, टाउको दुख्ने, चक्कर आउने, चिसो लाग्ने र आन्द्रामा समस्या आउने हुन् । यसको समयमै उपचार नगरिएमा खोकी लाग्ने, सास फेर्न गाह्रो हुने र मृत्यु समेत हुने देखिन्छ । यसको मृत्युदर ३८ प्रतिशत रहेको सीडीसीको भनाइ छ । 

तर हन्ताभाइरस मानिसबाट मानिसमा सर्दैन । 

हन्ताभाइरसको संक्रमणबाट बच्नका लागि मुसाको जनसंख्यालाई नियन्त्रणमा लिनु प्राथमिक रणनीति भएको सीडीसीको भनाइ छ । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्