सरकारले कोरोना भाइरस रोकथामका लागि मुलुकभर लकडाउन गरेपनि नेपाल आयल निगमले ग्यास विक्री तथा भण्डारणलाई सहज बनाउने प्रयास थालेको छ। त्यसका लागि ग्यास विक्री र भण्डारणको विवरण दैनिक रूपमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा निगममा पठाउन उद्योगीलाई निर्देशन दिएको छ।
यी हुन् तीन बुँदे निर्देशन
१.ग्यास उद्योगीले आफूसँग भएको ग्यासको शुरुको मौज्दात, भन्सारबाट आयात भएको परिमाण, उद्योगमा स्ट्यान्डवाई बसेको बुलेटको परिमाण, गोदाममा भरिराखिएको सिलिण्डरको परिमाण र अघिल्लो दिन विक्री वितरण गरिएको परिमाण सहितको क्लोजिड़ स्टक देखिने फेरिस्त विवरण बिहान १० बजे भित्र जिल्ला प्रशासन कार्यालय तथा निगमको एलपिजी विभागमा पठाउन पर्नेछ।
२.ग्यास उद्योगले डिलरमार्फत ग्यास बिक्रीवितरण गर्ने कार्य अर्को सूचना नआएसम्म लागि देहाय बमोजिमको प्रकृया तोकिएको छ।
क. ग्यास उद्योगले विक्रेताकोमा पठाउने ग्यास सिलिण्डरको परिमाण, विक्रेताको नाम, ठेगाना, प्यान वा भ्याट नम्बर लगायतका विवरण खुल्ने गरि देहाय बमोजिम तोकिएको निकायको पूर्व स्विकृत लिएर मात्र विक्री वितरण गर्नु पर्नेछ।
१ काठमाडौँ उपत्यकाको लागि निगम केन्द्रीय कार्यालय,
२ निगमको स्थानीय कार्यालय भएको जिल्लामा स्थानीय कार्यालय र
३ निगमको कार्यालय नरहेको जिल्लामा, जिल्ला प्रशासन कार्यालय
ख. डिलरले विक्रेतालाई ग्यास विक्री गर्दा मासिक रुपमा “एक परिवार एक सिलिण्डर” को प्रक्रिया अपनाई विक्री वितरण गर्नु पर्नेछ। विक्री गरिएको उपभोक्ताको नाम, ठेगाना, नागरिकता नं। र फोन नम्बर प्रष्ट खुलेको रेकर्ड राख्नु पर्नेछ। उक्त रेकर्ड जिल्ला प्रशासन वा निगमले अनुगमनको जुनसुकै बेला माग गर्न सक्नेछ।
ग. ग्यास उद्योगले डिलरलाई विक्री गरिको सिलिण्डरको परिमाण र डिलरले उपभोक्तालाई विक्री गरेको परिमाण नियमित रुपमा परिक्षण गर्नु पर्नेछ।
३.वर्तमान अवस्थामा ग्यास उद्योगको भण्डारण अत्याधिक न्यून रहेको हुनाले ग्यास उद्योगको भण्डारण गृहलाई नेपाल आयल निगमले नेपाल सरकारको आकस्मिक परिस्थिति जन्य मागलाई धान्नको लागि भण्डारण गृहको रुपमा प्रयोग गर्नेछ । यस्तो भण्डारण गृहमा गरिने मौज्दात सम्बन्धित उद्योगको भण्डारण क्षमताको करिब ५० प्रतिशतसम्म हुने र एक महिना भित्र उक्त कार्य पुरा गर्ने व्यवस्था मिलाइने छ।
लोकान्तर संवाददाता