कोरोनाजस्ता महामारीबाट सुरक्षा : औषधि मात्र होइन आचरणको शुद्धीकरण पनि !

डा. अतीन्द्र दाहाल
डा. अतीन्द्र दाहाल

लेखकले 'राष्ट्रनिर्माणका आयामहरू' शीर्षकमा विद्यावारिधि गरेका छन् र अहिले उनी प्राध्यापन क्षेत्रमा संलग्न छन् ।

प्रथम विश्वयुद्ध समापनलगत्तै सन १९१८ आसापास स्पेनिश फ्लु नामक हैंजाले सम्पूर्ण संसार हायलकायल भएको इतिहास लेखिएको छ । लौरा स्पिन्नीको पुस्तक ‘पेल राइडर’का अनुसार उक्त महामारीमा विश्वभर लगभग ५० मिलियन (पाँच करोड) मानिसले ज्यान गुमाएको देखिन्छ । अनुमानित एक अर्ब २० करोड जनसंख्यामा झन्डै ४ प्रतिशतलाई कत्लेआम गरेको उक्त माहामारी अहिलेसम्मकै सबैभन्दा ठूलो विपत मानिन्छ । 

त्यसको एक शताब्दीपछि अहिले कोरोना भाइरसको आतंक र भय उत्र्कषमा छ अनि तीब्र बहावमा बढिरहेको छ । चाइनिज भाइरस भनेर चीनलाई व्यंग गर्ने र मेरो देश लकडाउनका लागि बनेको हैन भन्दै अभिमानी तथा अहंकारपूर्ण विचार उत्सर्जन गर्ने देश अहिले अधिक ग्रस्त छ । गति तथा आयतन दुवैका हिसाबले अमेरिका यस प्रकोपमा पनि पहिलो स्थानमा अवस्थित बन्दैछ ।


Advertisement

विश्वजगत त्राहिमाम रहेको यस अदृष्य सन्नटाले नेपालमा प्रतक्ष्य प्रवेशको आँट गरेको छैन । आत्मसम्मान तथा स्व–सन्तुष्टिका लागि सुनौलो समचारसँगै यो गम्भीर अनुसन्धानको सुवर्ण सौभाग्यसमेत हो । संक्रमण भएका ५ जना नागरिकसमेत भर्खरै विदेशबाट आएकाले अहिलेसम्म हामी संक्रमित राष्ट्रचाहिँ भएका छैनौं । यद्यपि स्थिति भयावह हुनसक्ने त्रासले मानवीय संवेदना र एकताको प्रबलीकरणमा जोडबल गर्दैछ ।  

राजनीति, धर्म, पेशा, ओहोदा, द्रव्य जस्ता मानव निर्मित कुराहरूले स्वयं मानवलाई विभाजित तथा फरक/फरक कित्तामा बाँढेको हुन्छ । सन २०१२ नोभेम्बर ६ मा ‘साइन्टिफिक अमेरिकन माइन्ड’ पत्रिकामा प्रकाशित स्टान्डर्पmड विश्वविद्यालयकी सह–प्राध्यापक इमा सेपालको अनुसन्धानत्मक लेख अनुसार प्राकृतिक विपत अथवा अन्य खालका समस्याहरूले आम मानवलाई जोड्छ । भुइँचालो, नाकाबन्दी, नक्साक्रमण अनि अहिले आएर कोरोना भयका बखत सरकार र उसका कदमहरूले आम मानवसागरको अपार समर्थन पाएको र कुटिलता देखाएको छ ।


Advertisement

समर्थनपछिका कुटिलता 

मानिसहरू कोरोना भयले स्वबन्धन अथवा स्व–निर्वासनमा रहेका बेला सामाजिक सञ्जालमा फरक स्वभावका सिर्जनात्मक सोचहरूसमेत व्यक्त हुँदैछन् । केही दिन पहिले एक प्रयोगकर्ताले लेखेको ‘प्रिय कोरोना, तिमी पनि निर्मलाका बलत्कारी र ३३ किलो सुनकाण्डाका नाइके जस्तै कसैले भेट्दै नभेट्ने गरी विलाप भै हाल्’ भन्ने स्टाटसमाथि राम्रै संख्यामा लाइक जम्मा थिए । ‘लकडाउनको समयमा विनाकाम लखरलखर सडकमा डुल्नेहरूलाई नजिकै गएर सम्झाउँदा प्रहरीलाई पनि कोरोना सर्नसक्छ त्यही भएर ६ फिट लामो भाटाले परैबाट ढाड भाँचिनेगरी दिनुपर्छ’ यसको अर्को उदाहरण हो ।

दाल चामलका गेडा गन्नेदेखि पुराना फोटामाथिका कमेन्टले मानिसको सामन्य कल्पना शक्तिलाई नै चुनौति दिन्छ । अबको प्रमुख सञ्चार नै सामाजिक सञ्जाल भएकाले त्यहाँ आएका अवधारणाहरूलाई पूर्व बेवास्ता गर्न सकिँदैन । केली वर्नको पुस्तक ‘सेलेव २.०’ अनुसार छापा सञ्चार तथा रेडियो र टेलिभिजन अब आलंकारिकमात्र हुन् भने सामाजिक सञ्जाल तथा अनलाइन पत्रकारिता प्रमुख धार हुन् । अन्य अनुसन्धानका अनुसारसमेत विश्वका ५ अर्ब मानिस यस्ता सञ्जालका सक्रिय प्रयोगकर्ता छन् । 

यद्यपि सरकारको वर्तमान प्रयास निकै प्रशंसनीय छ । सके अरूको नसके पनि आप्mनो सुरक्षामा नागरिकले ध्यान दिए पूर्ण राज्य सुरक्षित रहन्छ । आम मानिसलाई यस भयले सिर्जनात्मकता नक्कल वा प्रस्फुटनमा फुर्सद व्यवस्थापन पनि भएको छ । यसका अलवा यस भयलाई औषधि कि आचरण भन्ने फरक ढंगबाट बहस गर्नुपर्ने बाध्यता देखिँदैछ । 

औषधि कि आचरण ?

यस माहामारीले अविलम्ब अनुसन्धानका केही सशक्त पक्षहरू उजागर हुँदैछन् । स्पेनिश फ्लुमा समेत नेपालमा संक्रमितहरू नभेटिएको इतिहास छ । यद्यपि विश्वयुद्घबाट फर्किएका सेनामा भने संक्रमण देखिएको र केहीको देहान्तसमेत भएको लेखिएको छ । कोरोना भयको समयमा समेत अहिलेसम्म समान अवस्था व्याप्त छ । नेपालमै बसिरहेकाहरूमा कुनै संक्रमण पुष्टि भएको छैन । लगभग १ हजारको नमूना परीक्षणमा अधिकांशको नतिजा कोरोना नेगेटिभ आएको छ । नेपालको कुन सबलताका कारण संक्रमण देखिएन, वैज्ञानिक खोज तथा अनुसन्धानकर्ताहरूको सोच यसमा जानुपर्छ ।

कोरोना रोग त अवश्य हो । यसले हताहतिसमेत गरिरहेको छ । यद्यपि यो रोगभन्दा बढि हामीले शक्ति, विकास तथा आधुनिकताका नाममा प्रवर्द्धन गरेको अवैज्ञानिक, अहंकारी तथा आडम्बरी व्यवहार अनि सामाजिक चरित्रको असफलताको बेजोड उदाहरण पनि हो । समय–समयमा देखिने यस्ता किटाणुजन्य माहामारीका पछाडि आधुनिकताका ब्यानरमा प्रेसित जीवनदर्शनका ढोंगी र कुषित प्रचलनको प्रचुर प्रभाव अवश्य छ । हाम्रो पूर्वीय प्राचीन तथा वैदिक दर्शनमा त्यस्ता आदतहरू पूर्ण प्रतिबन्धित थिए । 

आत्मीयताको नाममा जसको पनि जुठो खाने, अधिकांश खानेकुरा काँचो खाने, जंकफूड अथवा पत्रुखानाहरूमा भर पर्ने, नामचाहिँ नरम तर स्वास्थ्यमा कडा/कडा असर पार्ने पेयपदार्थ पिउने, सबैका थुक खकार तथा पिसाब मिसिएका स्विमिङ पूलमा नुहाउने, कागजले आची पुछ्ने जस्ता कथित आधुनिक र विकसित भनिएका व्यवहारहरू रोग तथा संक्रमण पैmलवाटलाई सहज अवस्था बनेका छन् । ग्रामिण जनजीवन त्याग्ने, व्यायम नगर्ने, विषाक्त बिहार गर्ने, लामो समय सञ्चय गरिएकाले स्वास्थ्यबर्धक पोषण समाप्त भई लगभग सड्ने अवस्थामा पुगेका तरकारी तथा फलफूल उपभोग गर्ने जस्ता व्यवहार भएको जननीवनमा यस्ता किटाणुयुक्त संक्रमण सामन्य हो । यस प्रकारको जीवनचर्याले आममानिसको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको कुरा विश्व स्वास्थ्य संगठनका विभिन्न अनुसन्धानहरूले समेत प्रमाणित गरिसकेका छन् । 

वैदिक दर्शनमा आधारित प्राचीन पूर्वीय र विशेष गरेर नेपाली प्रचलन तथा सनातनी प्रयासहरू स्वयंमा निकै वैज्ञानिक देखिन्छन् । ती अभ्यासहरूले मानिसमा रोग प्रतिरोधात्मक क्षमतामा बढवा गर्ने र यस्ता जिवाणु संक्रमणलाई सहजै निस्तेज गर्नेसमेत देखिन्छ । अहिले विश्व स्वास्थ्व संगठन र अन्य स्वास्थ्व सेवा प्रदायकहरूले जे सन्देश दिएका छन् ती खालका विशेषता तथा व्यवहारहरू त हाम्रा आहारबिहारका प्रमुख चरित्रका रूपमा पहिल्यैदेखि स्थापित थिए । 

वेद, उपनिषद्, पुराण, धर्मशास्त्र, रामायण, महाभारत जस्ता महान ग्रन्थहरूमा भनिएअनुसार प्राचीन सभ्यता विकसित थियो । नेपालमा स्वामी प्रपन्नाचार्यदेखि विश्वभर वेद तथा अन्य ती ग्रन्थका सन्देशहरूको वैज्ञानिकतामाथि व्यपाक अध्ययन भएका छन् । फरक–फरक दुरीमा आवास बनाएर बस्ने, सम्मानका लागि निश्चित दुरीबाट नमस्कार गर्ने, आफैं उत्पादन गरेका एकदमै स्वस्थ भोजन गर्ने, आपैmँले पालेका मात्र पशुपन्छीको आहार गर्ने, शौचालयलाई बासस्थानभन्दा अलिक पर बनाउने, बाहिरफेरबाट आएपछि पोशाक फेर्ने, हातखुट्टा सफा पारेर मात्र घरभित्र प्रवेश गर्ने, आफैंले उत्पादन गरेका अग्र्यानिक तथा स्वास्थ्यबद्र्धक उत्पादन प्रयोग गर्ने आदि–आदि ।

किटाणु निर्मुल पार्न गाईको गोबरले घर लिप्ने, गहुँतको सेवनले शरीरलाई स्वस्थ राख्ने, निवास परिसरमा फूल रोपी सुगन्धित बनाएर किटाणु भगाउने, अक्सिजन धेरै दिने बर र पिपलका रूखहरू रोप्ने कार्यको वैज्ञानिक आधार अहिले प्रस्ट भयो । कपडालाई उमालेको खरानी पानीमा धुने, सहज पाचनका लागि बेलुकीको खानासमेत बेलैमा खाने, दूध, दही मही जस्ता खानामा जोड दिने, खानपिनमा परिवारका सबै सदस्य भेला हुँदै आत्मीयता प्रगाढ बनाउने र त्यसपछि नीति कथाहरू सुन्ने सुनाउने गरेर चरित्र निर्माणमा समेत योगदान गर्ने सुन्दर अभ्यास हाम्रो समाजको आधार चरित्र हो । बिहान सबेरै उठेर हिँडडुल गर्ने, शारीरिक स्वास्थ्य र सुगठनता बढाउने खेलहरू खेल्नेसँगै पहिरनमा समेत न्यानो, शरीर पूरै ढाक्ने, कतैबाट चिसो नपस्ने खालाका लुगा लगाउने अभ्यास थियो । यी खालका व्यवहारहरू मानिसको मानसिक र शारीरिक स्वास्थ्यका प्रमुख कवच हुन भनेर त अहिले पनि प्रमाणित हुँदैछन् । 

अधिकांश जनसंख्या ग्रामिण भेगमा बस्ने नेपालमा अभैm पनि यही प्रकारका जीवन प्रचलनहरू अभ्यासमा छन् । शहरमा जीवनचर्या भड्किलो तथा आडम्बरी हुँदै गएकाले यस्ता रोगहरूको माहामारी जहिल्यै पनि व्याप्त रहन्छ । यो कोरोनासँगको लडाईंमात्र हैन, कोरोनापछि लगत्तै अरू यस्ता भाइरस आउँदैनन् भन्ने छैन । अहिलेलाई कोरोना कहरको पूर्णनियन्त्रण गर्नु उपलब्धि त होला तर यसैले विश्वलाई सदैव ढुक्क हुनुपर्ने अवस्था निर्माणचाहिँ गर्दैन । अब आम जनजीवन आचरणलाई नै आमूल परिवर्तन गर्नुपर्छ । प्रतिरोधी क्षमता बढाउन सिद्घ भएको प्राचीन अभ्यासलाई पुनःजागृत गर्नुपर्छ ।

अहिलेको आतंक त शुरूआत मात्र हुनसक्छ, केही समयमा रोकिएला वा औषधि बन्ला तर त्यसले दीर्घकालीन समाधान दिँदैन । डराइडराइ कोरोनाका कारण बसेर बाहिर निस्किँदा कम्तिमा अब चाहिँ कहिल्यै यस्ता माहामरीलाई प्रवेश दिइँदैन भन्ने अठोट र आवश्यक आचरण निर्माणमा जुट्न सक्नुपर्छ । कोरोना वा अन्य समान प्रकृतिका त्रासलाई औषधि हैन, वैज्ञानिक जीवन आचरण निर्माणचाहिँ प्रमुख आवश्यकता हो । प्राचीन वैज्ञानिक जीवनचर्याको पुनःजागरण यस्ता माहामरी प्रतिबन्धको प्रमुख आवश्यकता हो । औषधि त क्षणिक हुनसक्छ, आचरणको शुद्धीकरणमात्र यस्ता त्रासको दीर्घकालीन औषधि हो । अब आममानिसको सघन ध्यान यतातिर पनि जानुपर्छ । 
 

डा. अतीन्द्र दाहाल
डा. अतीन्द्र दाहाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्