डा. पाण्डेको नजरमा कोरोना संक्रमणबाट नेपाली सुरक्षित रहनुका यी हुन् २५ कारण

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को ठूलो असर नेपालमा परेको छैन।

विश्वभर गरेर ४७ हजार २ सय जनाले ज्यान गुमाएपनि नेपालमा कोरोनाका कारण अहिलेसम्म १ जनाको पनि मृत्यु भएको पुष्टि भएको छैन ।


Advertisement

बिहीवारसम्म नेपालमा १ हजार १ सय ४५ जनाले स्वास्थ्य परीक्षण गराएका छन्, त्यसमध्ये ५ जनामा पोजेटिभ रिपोर्ट देखिएपनि १ हजार १ सय ४० जनामा संक्रमण देखिएको छैन ।

कोरोनाको बारेमा जनचेतना जगाउँदै आएका डा. रवीन्द्र पाण्डेले नेपालीहरूको जीवनशैली, खानपान र परिश्रमका कारण नेपालीहरूमा रोग प्रतिरोधात्मक क्षमता बढी रहेको उल्लेख गरेका छन् ।


Advertisement

सामाजिक सञ्जाल फेसबूकमा बिहीवार सन्देश लेख्दै डा. पाण्डेले कोरोना संक्रमणबाट नेपाली सुरक्षित रहनुको २५ कारण खुलाएका छन् ।

हेर्नुहोस् डा. पाण्डेले दर्शाएका २५ कारण

१. हामी सुखदु:ख सहन अभ्यस्त छौं । कठिनाइको हिमाल चढ्ने बानी हाम्रो जिनमा छ ।

२. हामीले दैनिक ताजा खाना खान्छौं । नास्ता, खाना, खाजा, चिया, कफी जे खाएपनि ताजा खान्छौं । फ्रिजको बासी खाना तथा बाहिरको खाना खाने हाम्रो संस्कार छैन ।

३. हामी परिश्रमी छौं । शारीरिक परिश्रम हाम्रो बानी हो ।

४. हाम्रो खानामा प्रयोग गर्ने बेसार, अदुवा, लसुन, प्याज, टिमुर, ज्वानो, दालचिनी, तेजपात, मरौटी, पुदिना, सम्फो, जुदो, सिलम, मरिच, जिम्मु आदिमा रोग प्रतिरोधात्मक क्षमता प्रचुर हुन्छ ।

५. हामीले ट्वाक्क खाने अमिलो, पिरोमा प्रचुर भिटामिन सी पाइन्छ ।

६. तेलले मालिस गरेर, तालुमा तेल ठोकेर तथा प्राकृतिक खाना खाएर हामी हुर्किएका हौं ।

७. हामी नाचगान, हाँसोठट्टा तथा रमाइलो धेरै गर्छौं । हाम्रा चाडपर्व सबै रमाइला र भोजभतेर गर्ने टाइपका छन् ।

८. भवितव्यमा पनि रमाउने, सहने हाम्रो बानी छ ।

९. हामी दैनिक चिया खान्छौं । चियामा एन्टीअक्सिडेन्ट गुण हुन्छ ।

१०. भटमास, च्युरा, गुन्द्रुक, मस्यौरा, भटमास, क्वाँटी, खिचडी, मोही, साँधेको बदाम आदिले हाम्रो आन्तरिक प्रणाली बलियो छ ।

११. हामीले ट्वाइलेट पेपर, टिस्स्यु पेपर, काँटा चम्चा तथा नेप्किनको प्रयोग कम गर्छौं । त्यस्तै वासिङ मेसिनको प्रयोग थोरैले गर्छौं । यसको मतलब हामीले बिहानदेखि साँझसम्म दर्जनौं पटक हात धोइरहन्छौ । पानीसँग खेल्ने हाम्रो बानीले कोरोना संक्रमणको चेन ब्रेक गर्दछ ।

१२. हामीले खाने चटनी (गोलभेंडा, भांगो, धनियाँ, पुदिना, बत्तिलो, घिरम्लो, कुटेको आलु, काँचो आँप, खट्टा बैगुन, पोलेर पिसेको भान्टा, तिल, फर्सीको बियाँ आदिको ) र छोप स्वादिलो मात्र हैन एन्टी सेप्टिक पनि छ ।

१३. केराको बुङ्गो, कोइरालाको फूल, काप्रोको मुना, सजिवन, लप्सी, सिप्लिकान, भक्किम्लो, सित्तलचिनी, गोलभेँडाको भेत्तल आदिको अचार निकै स्वस्थवर्द्धक हुन्छ ।

१४. हाम्रा परम्परागत खाना जस्तै नेवारी खाजा, थकाली खानालगायत निकै सन्तुलित छन् ।

१५. हामीले पूजा गर्दा थाहा नपाई मेडिटेसन गरिरहेका हुन्छौं ।

१६. दूध, दही, घ्यु, हरियो सागसब्जी, दाल, भात, रोटी, फापर, मकै, कोदो, चना, केराउ, मौसम अनुसारका फलफूल निकै स्वस्थवर्द्धक हुन्छन् ।

१७. अयला, जांड, छ्यांग, तोम्बा, कोदाको ठर्रा, तीनपाने, ताडी लगायतका घरेलु रक्सी उचित मात्रामा खाँदा स्वास्थ्य बिग्रेको हुँदैन ।

१८. हामीले आफ्नै बारी, खेत, करेसाका तरकारी ताजा टिपेर खाने गर्दछौं ।

१९. हाम्रो खानाको रुटिन निकै विज्ञानिक छ । बिहानदेखि रातिसम्म धेरैपटक खाना/खाजा खान्छौं ।

२०. तत्काल काटेको मासु खाने प्रचलन निकै स्वस्थकर छ । हामीले फ्रोजन मासु ल्याएर, फ्रिजमा राखेर महिनौं खादैनौं ।

२१. हामी कहाँ अत्यधिक मोटोपनको समस्या छैन ।

२२. हामीहरू मुख बार्न निकै सिपालु छौं ।

२३. विभिन्न बारमा व्रत बस्ने चलनले पाचन प्रणालीलाई तरोताजा राख्दछ ।

२४. आयुर्वेद, योग, प्राकृतिक चिकित्सा, हिमालय मेडिसिनको स्थानीय स्तरमा निकै प्रयोग हुन्छ ।

२५. तन्त्र, मन्त्र, लागो, धामीझाँक्री आदिको मनोवैज्ञानिक पक्ष आत्मबलवर्द्धक छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्