असोज ३, २०८०
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
केही घटनाहरू यस्ता हुन्छन्, जसले मानिसलाई डोर्याउँछ । मानिसको बृत्ति र प्रवृत्तिलाई डोर्याँउछ । संघर्षलाई डोर्याउँछ । थाक्न दिँदैन र निरन्तर डोर्याइरहन्छ तर सबै घटना यस्ता हुँदैनन्, धेरैजसो घटनाहरू सामान्य हुन्छन्, जो घटिरहन्छन्, दैनिकीकै भागमा रहेर ।
केही सपनाले पनि मानिसलाई डोर्याउँछ । संघर्षमा पुर्याँउछ । थाक्न दिँदैन । आशामा निरन्तर डोर्याइरहन्छ । सपनाले शिखर पुग्ने आशामा दौडाउँछ, यात्रा सिसिफसको कथा भएपनि । सपनाले आशा जगाएको हुन्छ । आशाले अव्यक्त उत्साह थप्छ र व्यक्ति त्यही उत्साहमा हिँडिरहेको हुन्छ । जीवनमा शक्ति दिन्छ र त्यही शक्तिले यात्राका बाटाहरू बन्ने गर्छन् र त्यै बाटो जीवनरुपी गाडी बन्छ ।
सपना नहँुदो हो त कलिला बालकहरू उद्देश्यको यात्रामा शिथिल हुने थिए । मानव सभ्यता र विकासको यात्रालाई तीव्रता दिन पनि सकिँदैनथ्यो । आइन्स्टाइनमा गणित नजान्दै पनि सपना थियो, ग्यालिलियो र एडिसनमा सपना थियो । लि क्वान यूमा राष्ट्र निर्माणको सपना थियो । मुलुकलाई सम्पन्न र सफा बनाउने सपनाले नै उनले अभियान चलाए । विस्मार्क र नेपोलिएनमा विश्व सम्राट बन्ने सपना थियो । सबैका सपना हुन्छन्, सपनाशून्य जीवन जड हो तर सपनाका पनि स्तर र आयतन हुने रहेछन् ।
साथी संगति, परिवार, परिवेश र समाजमा उभिएर कसैले सपना देख्छ । सपना ठूला हुन्छन् वा साना तर सपना देख्नेका लागि सबै–सबै सपना ठूला हुन्छन् । सपना विपनाजस्ता कठिन पनि हुँदैनन् तर सपनालाई विपनामा बदल्न चाहिँ कठिन हुन्छ । त्यो कठिनलाई सपनाको शक्तिले निर्देश गरिरहेको हुन्छ । नत्र आफ्ना नाम भुलेर किन एडिसनले आविस्कार गर्थे ? वा बुद्धले बुद्धत्व प्राप्ति ?
अनुभव र स्वयम्का भोगाइले पनि मानिसलाई यात्रामा तान्छ । भनौ तानिन्छ । आप्mनै भोगाइ र अनुभूतिले ऊर्जा र आधार दिन्छ । अनुभवले कही पुर्याएको मानिस सितिमिति रोकिन्न । कति यात्रामा भोगेका दुःखहरू, सुखहरू, दुःखीसुखहरू सबै मानिस बाँच्ने आधार बन्छन् । दिक्दार भएर पनि दिक्दारीबाट उम्कन मानिस अनवरत हुन्छ । सफलताबाट झनै सफलता लिन मानिस हौसिएको हुन्छ । भोगाइ मीठा वा तीता भएपनि ती उसका ऊर्जा र शिक्षा हुन् ।
कहिले त विन्दास, बेपर्वाहमा पनि रमिन्छ र मानिस बाँच्छ । कथा नुहुन पनि कथा हो । कथाहीन कथा बढ्छ र कथामाथि कथा थप्छ । त्यत्तिकै रमाउँछ । प्रकृतिसँग रोमान्टिक बन्छ । विन्दास पनि निश्चल हुन्छ । हावाको झोक्कासँग बहन्छ । बागबगैचाका सुगन्धसँग बयेलिन्छ । गौडाको चिया दोकानमा एक्लै चियाको तातो सुर्कोसँग रमाउँछ । मनोलापमा गफिन्छ । कोलाहलमा एक्लिन्छ । विन्दास, विन्दास, बेग्लै कथासँग रमाउँछ, मानौं मनोलाप पनि निकै ठूलो उपलब्धि र रमाइ हो । जीवनको आस्वाद हो । विन्दासहरू प्रत्येक दिन यसैगरी रमाउने गर्छन् ।
अरुको जस्तो जीवन, जीवनशैली, उपलब्धि, प्रतिष्ठा र पहिचानको कल्पनामा पनि मानिस रमाउँछ । अरुभन्दा उम्दा, सम्पन्न, प्रतिष्ठित, ख्यातिवान र अरु धेरै कुराको कल्पनामा गद्गदिन्छ, उसको जस्तो हुनु पो जीवन ! अरुको जस्तो धेरै कुरा उसलाई मन पर्छ । कति गर्न सकेको, कति पढ्न सकेको, कति कमाउन सकेको, कति बोल्न सकेको ! बोलाइको कवितात्मकता, अरुलाई लपक्कै पार्न सक्ने, पगाल्न सक्ने, द्रवित बनाउन सक्ने, मुग्ध पार्नसक्ने–त्यस्तो हुनु पो जीवन !
बैठकमा पनि जनक जोशीको बोली कति माधुर्यमय, दिनेश अधिकारीको कविता जस्तो । बोलीमा कृतिमता पनि छैन, कति छोटा, मीठा र छरिता वाक्य बोल्न सकेको ? ट्रिमिङ गरेका विरुवा जस्तै, छन्द मिलेका श्लोक जस्तै । वाक्यका कद पनि उस्तै, शब्द संरचना र विन्यास पनि एकै प्रकारका । कविता जस्ता । साँच्चै कविता ! आधुनिक कविका कविता जस्ता !
लियो शायरा, नारायण गोपालहरूको श्वरमा पोखिन पाए पो हुने । रोजे सेरेसको ‘उदास आइतवार’ सुनेका कति तत्काल जीवनबाट बिदा भए । कुन शक्ति थियो उनको श्वरमा ! उदितनारायण, मुरलीधरको जसरी भ्वाक्कै श्वरमा पोखिन पाए पो ! मन नै घ्वाप्पै पोखिएको श्वर ! शब्द विन्यासले त्यसो बनायो कि म्यूजिक नोटेसनले ? होइन गायन कलाले । जे होस् धेरै रियाज खर्चिएको हुनसक्छ । ईश्वरीय बरदान होला, रियाज त अरुहरूले पनि गरे होलान् नि !
रोमन मेगासेसे र पद्यश्री सम्मान विभूषित सन्दुक रुइतले आफ्नै प्रविधिमार्फत लाखौलाई नेत्रज्योति, जीवनज्यति दिएर संसारलाई छक्क पारे । त्यो सफलता कस्कोभन्दा कम हो ? जीवनज्योति पाउनेले रुइतलाई ईश्वर मान्नु परेन ? सफलताको त्यो सिढीमा पुग्न पाए पो हुने ! उपयोग र उपभोग मात्र जीवन हो ? अरुको उत्पादन र आविस्कारको उपभोग मात्र जीवन हो ?
बाराक ओवामाको साहस, उपलब्धि र आस्थामा बाँच्न पाए पो । ‘दी वाराक पोर्टेट’ हेर्न केही दिनमै ४० लाख मानिस गएछन् । राष्ट्रपतिबाट निवृत्त भएपछि पनि कति प्रीय ! गगनको वक्तृत्वसीपभन्दा उम्दा भाषण गर्न पाए पो । विषयवस्तु उठान कति सहज, तर्क र प्रस्तुति कति स्वाभाविक । केनेडी धेरै ओरेटर थिए रे ! यस्तै वक्तृत्वसीपले नै राज्य कौशल दिने हो, राजनेता बनाउने हो ।
देवकोटा र इमिली डिकिन्सनको जस्तो शैली संरचना भए पो मनका भावना छताछुल्ल पोख्न सकिन्थ्यो । उनीहरूलाई मसलाको रुखको सुस्कुरावट र समुद्री छालको छछल्काहटमा पनि मनकै भावना पोखिएका । शायद मन पोख्ने भाषा नपाएर बिम्ब योजना गरे होलान् । मेरा त बिम्ब पनि मधुरा, पातला र कमजोर !
बर्टेन रस्सेलका विद्वतापूर्ण तर्कहरू, रजनिसको हिप्नोटिज्म के ती लोभलाग्दा छैनन् र ? उनीहरूमा अक्षरका खेती गरेर पनि कति मानिसहरू दौडिएका छन् ।
ब्राड पिट र अमिताभ बच्चनका फिल्मी डायलगहरू कति स्वाभाविक, ओजनदार र सदावहार । रुपक, नाटकमा मात्र होइन, साथीसंगति र जमघटमा पनि त्यसको इज्जत कति हुनेथ्यो ! नाना पाटेकर र सावना आज्मीको अभिनय कति जीवन्त ! अमजद खान र अमरिस पुरीको खलनायकी कति सास्वत ! हाम्रै हरिहर शर्मा र नीर शाह पनि कम्ता गम्भीर छैनन् आफ्ना अभिनयमा । क्रिस्टोफर रिभ सबै बालकका हृदयमा बसे, साँच्चै सुपरम्यान उड्छ भन्ने विश्वास बालकहरूमा पर्यो । उनीहरूले कोबाट सिके होलान् ? के सिकेर पनि यति बढी जानिन्छ र ? आफूभन्दा मेधावी हुने गरी सिकाउनेले सिकाउँछ र ?
सुख र वैभव, प्राप्ति र उपलब्धिलाई पनि त्यत्तिकै भएका होइनन् होला नि ! प्राप्तिका पीडा अभिलेखित हुँदैनन्, वैभवका प्रयास भुलिए होलान्, उपलब्धिका आधार पनि परै छुटिसके । अरुको देखेर चोखे लगाउँदैमा भोग्न पाइन्छ र ? के चिट्ठा जस्तो अस्वाभाविक प्राप्ति सम्भव हो ? सम्भव भएपनि स्थायी हुन्छ ?
ओस्कर हमरस्टाइनले ठीकै त भने – नवजाएसम्म घण्टीको के अर्थ, नगाएसम्म गीतको के माने, नदिएसम्म मायाको के सार्थकता ? त्यति मात्र होइन, नदिएसम्म जीवनको के मूल्य ? अरुलाई दिनुजति खुशी केमा पो पाइन्छ र ? दिएर नै दधिचि बनिन्छ ।
मानिस भ्रममा पनि बाँच्छ । अनगिन्ती भ्रम नै उसका जीवनका अर्थ भैदिन्छन्, बाँच्ने आधार भैदिन्छ । ती भ्रम वास्तविक होइनन्, आफ्नै बुझाइ पनि सत्य होइन भन्ने लाग्दालाग्दै पनि उ भ्रमबाट उम्किँदैन, उम्किन सक्दैन । भ्रममा बाँच्ने बानी पनि एउटा यथार्थ भइसकेको हुन्छ ।
जीवन दुःख हो । दुःख भएरै त जीवन छ । दुःख भएर पो सुखको मूल्य छ । दीपेन्द्र क्षेत्रीले भन्नु भएझै दुःख पनि सेट मिलाएर एकैचोटि आउने गर्छ । आइदेओस् पनि त्यसैगरी । रोशीमा लुटेराले खेत लुटे, बुवा र दाजुहरू घरमा बस्न सक्ने स्थिति भएन, गर्न सक्ने दाजु बिमारी पर्नु भो । दाजुहरूलाई झण्डै मर्ने गरी त्यै लुटेराले पिटे । छिमेकी नातागोता लुटेराको डरले बोल्न पनि छाडे । उमेर नपुगेका अबोध बालक र महिलाहरू मात्र घरमा रहनुपर्ने बाध्यता ! रोशी खोलो बाढी आएर सञ्चार र आवतजावत पनि बन्द ! सेट मिलाएर आएका दुःखहरू ! एकपछि अर्को दुःखका खात लागेर आएका दुःखहरू । दुःखका यी खातहरूले अरुभन्दा दुःखी भएकोमा पनि स्वान्त सुखाएको अनुभूति !
हो त धेरै दुःख एकैचोटि आओस् । आउनुपर्नेजति दुःख एकैचोटि आओस् । पीडा यति होओस्् कि सहन पनि नसकियोस् । व्यक्त गर्न पनि नसकियोस् । चेतनाभन्दा माथि पुगोस् । हवाइजहाजलाई आँधीले हल्लाउँदा सोचे थिए – त्यो डराइ अझै बढी होस्, सोच्नै नसकियोस् कि म दुःखमा छु । एक जना विद्वानले भनेथे, मरण त त्यो पो मरण, समुद्रमाथिबाट जहाज निमेषमै समुद्रमा झ्वाम्म खसोस् र जीवनलिला थाहै नपाइ निमेषमै समाप्त होओस् । पीडा भोगेर मर्नु पनि के मर्नु !
दुःखमा सबैले च्च..च्च गरुन् । प्रगतिमा ईष्र्या गरेकै हुन् । अरुको प्रगतिमा मनहरू ईष्र्यालु भएकै हुन् । दुःखमा पनि सबैले त्यो दुःखको कल्पना गरोस् । सामान्य दुःख त के दुःख ? सामान्य त सामान्य न हो । दुःख पनि विशेष नै भए पो दुःख । बालकृष्ण समले त्यसै भनेका हुन् र ? ‘दुःखीको घरमा मात्र तेरो बास हुने भए, हे ईश्वर दया राखी मलाई अरु दुःख दे’ ।
निजत्वले स्वतन्त्रताको खोजी गर्छ, दुःखमा होस् कि सुखमा होस् । प्राप्तिमा होस् कि विपत्तिमा होस् । स्वतन्त्रताको माया, निजत्वको माया बोध–अबोध, चेत–अवचेत तहसम्म हुन्छ । त्यसैले मानिस आफू बन्छ, आफू हुनुको अर्थबत्ता खोज्छ र आफ्नोपनप्रति मरिमेट्छ । सबैलाई आफ्नै बानी मन पर्छ । जानी–नजानी आफ्नै बृत्ति–प्रवृत्तिका लागि आशक्त हुन्छ । स्वभाव र संस्कारका लागि मरिमेट्छ । कसैले उसको ‘पन’ र ‘स्व’ माथि आलोचना गरेको उ कत्ति मन पनि पराउँदैन, उस्तै परे आक्रमण गर्छ । अबोध बालक पनि सकेजति प्रत्याक्रमणमा उत्रिन्छ ।
जीवन अध्ययन पनि हो । पढाइको मात्र अध्ययन हुँदैन, अध्ययन अक्षरमा मात्र गरिन्न । पराइको अध्ययन, भोगाइको अध्ययन र अझ आप्mनै अध्ययन । आफ्नो अध्ययन, किताबको अध्ययन, जीवनको अध्ययन अध्ययनको अर्थ हो । कुनै अध्ययन नै पूरा नगरी इतिबृत्त सकिने अध्ययन न हो जीवन । चलचित्रका मोन्टाज जस्तै अध्ययनका पानाहरू गतिशील छन्, भोगाइहरू गतिशील छन् । प्रतिस्पर्धा र ईष्र्या–आवेगहरू गतिशील छन् र मानिस जानी–नजानी आफ्नै कथा पढिरहेको छ । लाग्छ, अरुले उसलाई पढेभन्दा उ आफ्नै अर्थ र स्वादमा आप्mनै जीवन पढिरहेको छ तर थाहा पाउँदैन त्यो अध्ययनको अन्त कहिले हुन्छ ?
पढ्न प्रज्ञा चाहिन्न तर विवेक र तेस्रो चेतना चाहिन्छ । जानकारी भएकै आधारमा पढेको भ्रममा रहन्छ मानिस । शिव खेराले सफलताका पौल उपदेश लेखे । वव प्रोक्टरले सकारात्मक ऊर्जाका उपदेश लेखे । अक्षरी शिक्षाले सफलता सिकाउने भए स्वयम् अक्षरहरू कहाँ पुग्थे होलान् ? अरुभन्दा जान्छु भन्ने भ्रममा, दम्भमा रहन्छ मानिस । ‘इमोसन इज मोर द्यान नोलेज’ हुनुपर्ने हो, भित्रीभन्दा बाहिरी नै बढी हुँदैछ । विद्वता र प्रज्ञा उपयोग गर्न नसकिएको ज्ञान के को ज्ञान ? त्यो त भ्रम न हो । बहुधा ज्ञानीहरू भ्रमी हुन् । भावनात्मक परिपक्वता विना बैयक्तिक प्राज्ञ स्वयम् भ्रम हो, त्यसको न अर्थ हुन्छ न उपलब्धि नै । त्यसैले विश्व सिर्जनाभन्दा विध्वंशमा छ, विवेकभन्दा विनिर्माणमा छ । विवेकसहितको ज्ञान, र त्यसको प्रयोगले नै मानव सभ्यतामा इँटा थपिने हो ।
यी गति–प्रगतिका कुरा नभए पनि हुने । इष्र्या–आवेग नभए पनि हुने । लालसा–उच्छवास नभए पनि हुने । प्रतिस्पर्धा–उछिनापछिन नभए पनि हुने । दुःखमा दया र सफलतामा ईष्र्या गर्ने उसको बानीलाई सहयोगमा बदल्न पाए पो हुने ।
कति दम्भी मानिस ? ज्ञानमा पनि दम्भ देखाउँछ । अज्ञानी तर बुझाइमा दम्भ, भ्रममा दम्भ । रुप, सम्पत्ति, शक्ति, जवानी, प्रतिष्ठा, पहिचान, अरुहरू धेरैमा दम्भ तर ढाँट्छ, माया, बात्सल्य, अहिंसा, शुभकामना, स्यावासी, साथी संगति सबैैतिर ढाट्छ र आफ्नै ढोङ र आदर्शमा ठिङ्ग उभिन्छ । लाग्छ जीवन एक अभिनय हो । कतै यो अभिनयले आफैंलाई उपहास त गरिरहेको छैन ?
संसार जत्रो भएपनि, बृत्ति र वातावरण जस्तो भएपनि मानिस आफैंमा बाँच्छ । त्यो भ्रम होस् वा सपना, त्यो निमेष होस् वा सास्वत । त्यो दुःख होस् वा सुख । केवल आफू र आफ्नै कर्मको आफू उसको कथा हो ।
प्रत्येक मानिस आफ्नै कथामा बाँच्छ । आफ्नै कथाहरू विशेष हुन्छन् । आफ्ना लागि आफं विशेष हो । यो बुझाइमा कहीँकतै कोही नअल्मिलियोस् ।
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...