कोरोनालाई चिन्नुहोस्, आफन्तको शव समेत छुन नपाइने ‘दर्दनाक’ अवस्था आयो भने ... !

कोरोना भाइरसले विश्व नै आक्रान्त भएका बेला विकसित देश अमेरिका, इटाली, जर्मन, फ्रान्स, स्पेन लगायत थला परेका छन् । नेपालले समेत कोरोनाविरुद्ध लड्नुपर्ने चुनौती रहेको छ ।

कोरोना विरुद्धको लडाइँमा सरकार एक्लैले सक्दैन, सबै देशबासीको सहयोग चाहिन्छ । उपयुक्त समयमा सरकारको आलोचना पनि गर्न सकिएला तर अहिले एकदमै संवेदनशील अवस्थामा सरकारका आह्वान र आग्रहलाई सहयोग गरी आम नेपालीले कोरोना विरुद्धको लडाइँमा सहभागी हुनुपर्छ ।


Advertisement

वर्तमानमा भोगिरहेका र भविष्यमा भोग्नुपर्ने मुख्यतः आर्थिक चुनौतिको लागि हामी कति संवेदनशील भइरहेका छौं ? प्रत्येक नागरिकले गम्भीरतापूर्वक मनन् गरी सोही अनुसार दैनिक व्यवहार गर्नु हाम्रो कर्तव्य हो । अहिलेको लकडाउनमा पनि साना कुरालाई लिएर गुनासो गर्नुभन्दा साना–साना कुरामा ध्यान पुर्‍याइ आजको स्वास्थ्य र भोलिको अर्थतन्त्रलाई संरक्षण गर्नमा ध्यान पुर्‍याउनुपर्छ । त्यसका लागि धेरै केही गर्नुपर्ने छैन, केवल घरमै बसेर आफ्नो, आफ्नो परिवार र समाजको स्वास्थ्यको जिम्मा आफैं लिन तयार बनौं, अहिलेको महामारीबाट बच्ने र देशलाई बचाउने एउटा मात्रै उपाय हो यो ।

सर्वप्रथम त हाम्रा पितापुर्खाले सिकाइरहेको जीवनशैली अपनाउनका लागि आफैंलाई मानसिक रुपमा तयार बनाऔं । एकपटक सोचौं – आफ्नो परिवारको कोही सदस्य यस महामारीको शिकार भएमा पीडित परिवारजनको जीवन कति तहसनहस होला ? आफ्नो परिवारको सदस्यलाई निको भएर नआउञ्जेल भेटघाट पनि गर्न पाइरहेका छैनन् । परिवारको सदस्यले ज्यान गुमाउनु परेमा परिवारजनले अन्तिम संस्कार गर्न शव पनि नपाइरहेको अवस्था छ । त्यो समय अत्यन्तै दर्दनाक हुनेछ, किनकि कसैसँग गुनासो गर्ने ठाउँ पनि बाँकी हुने छैन । त्यसैले लापरवाही र बेवास्ता नगरी होशियार भएर बसौं ।


Advertisement

कोरोना महामारीमा सबैभन्दा पीडित बनिरहेको र बन्नसक्ने भनेका दैनिक ज्यालादारीमा निर्भर मजदुर नै हुन् । त्यसैले धनी तथा मध्यम वर्गले अत्यधिक खाद्य भण्डार गरेर बजारमा अत्यावश्यक वस्तुको अभाव सिर्जना नगरौं, सबैलाई बाँच्ने अधिकार छ । विभिन्न व्यक्तिहरूले पारिवारिक जमघट गरी उत्सव मनाइरहेको, भोजभतेर गरिरहेको देखिन थालेको छ । कृपया मानवअधिकारको सिद्धान्तलाई जीवित रहन दिनु हाम्रो पनि दायित्व हो । आफ्नो अधिकार प्रयोगले कसैको अधिकारलाई कुण्ठित बनाउने त होइन ? यस प्रश्नको जवाफ आफैंसँग खोजौं ।

हाम्रो अधिकार उपयोगको विलासी शैलीले कसैको न्यूनतम अधिकारबाट वञ्चित नबनाओस् । एकातिर नेपालसँग आत्मनिर्भर हुनसक्ने गरी पर्याप्त खाद्यान्न भण्डार छैन भने अर्कोतिर अत्याधिक आयात गरिने भारतमा महामारी बढ्न थालेको छ । तसर्थ सहज रुपमा आयात गर्न सकिने अवस्था छैन । विशेष परिस्थितिमा गरिने आयातले मात्रै आपूर्ति सहज नहुन सक्छ । यस्ता कुरालाई ध्यानमा राख्नु एकदमै आवश्यक छ । त्यसका लागि सरकारले आफ्नो भूमिका निभाइरहेको छ । हामीले पनि विभिन्न उपाय अवलम्बन गरी परिस्थितिलाई केही सहज बनाउन सक्छौं ।

खाना पकाउँदा पनि दैनिक रुपमा जति परिकार पकाउँछौं, त्यसमा केही परिकारलाई घटाऔं । खानाको मात्रालाई पनि कम गरौं, यसबाट स्वास्थ्यका दृष्टिकोणले हामी पनि लाभान्वित हुनेछौं भने हामीले खेर फाल्नसक्ने खाना कसैको लागि आहार बन्न सक्छ । एउटा दुःखद सत्य यस संसारमा सबैलाई पुग्ने खाद्यान्न छ, केवल वितरणमा रहेको असमानताले मात्रै भोकमरी हुने गर्छ, त्यसैले हाम्रो लापरवाही कसैको मृत्यु नबनोस् । हामीले आफ्ना दैनिक आवश्यकतालाई अलिकति पनि नियन्त्रित तरिकाले परिपूर्ति गर्ने हो भने एक गाँस खानाको लागि तड्पिने भोकोे पेट शान्त हुनसक्छ ।

गाउँघरमा रहेका गरीब/किसानका सन्दर्भमा केही समयका लागि बाँच्नकै लागि समस्या  भइहाल्ने छैन, किनकि अरु समयमा शहरमा बस्ने व्यक्ति धनी भएपनि यस्तो समयमा प्रकृतिसँग नजिक रहने किसान नै धनी हुन्, अन्नदाता नै किसान हुन्, अलिकति असहजता भएपनि बाँच्नकै लागि किसानसँग अन्न, तरकारी र दुग्धजन्य उत्पादन उपलब्ध छ । आपसमा सहयोग र सरसापट गरेर भएपनि अहिलेको परिस्थितिलाई सामना गर्ने सामथ्र्य गाउँसँग छ ।

त्यसपछिको जटिल परिस्थिति सम्बोधनका लागि सरकारले अवश्य पहल गर्नेछ । अहिले हामी महामारी फैलिन नदिनमा केन्द्रित हुनुपर्ने समय हो । तसर्थ केवल थप आवश्यकता पूर्ति गर्ने चाहनाको कारणले आफू, आफ्नो परिवार र समाजको स्वास्थ्यलाई जोखिममा नपारौं । 

लकडाउन भइसकेपछि पनि अवज्ञा गरेर नेपाल आउन खोज्नेलाई प्रवेश दिनुपर्छ भन्ने माग भइरहेको छ, यो नेपालीहरूको जे गरेपनि हुन्छ भन्ने मानसिकता बोलिरहेको छ । यदि यसरी प्रवेश दिने हो भने भारतबाट नेपालका सीमामा नेपालीलाई ल्याएर छाड्ने क्रम बढ्ने छ । यदि नेपाल ल्याएर क्वारेन्टाइनमा राखियो भने जे गरे पनि हुन्छ भन्ने नेपालीको त्यहीँ मानसिकताले काम गर्नेछ र क्वारेन्टाइनबाट भाग्नेछन् । त्यसपछि भागेकामध्ये यदि कसैलाई संक्रमण रहेछ भने त्यसको असर देखिन १४ दिन थप लाग्नेछ, त्यतिबेलासम्म कि त प्रत्येक पटक थप १४ दिन लकडाउनलाई कायम राख्नुपर्‍यो, कि त भयावह अवस्थालाई ठीकै मान्नुपर्‍यो । यस्ता लापरवाहीले कति निर्दोषको ज्यान जान सक्छ ?

एउटै व्यक्तिमा निर्भर रहने कति नेपाली परिवार सडकमा आउनेछन् ? त्यससँगै दैनिक उपभोग्य वस्तुका लागि विदेशमा निर्भर हामी सबैलाई अत्यावश्यक वस्तुको अभाव दीर्घकालसम्म पर्नेछ । थप नेपालीलाई प्रवेश गरायो भने लकडाउन अवधि लम्ब्याउनुपर्ने हुन्छ, लकडाउन लम्बिएमा हाम्रो अर्थतन्त्र तहसनहस हुने कुरामा किन गम्भीर छैनौं हामी ?

अहिले लकडाउनको अवज्ञा गर्दै महाकाली पौडिएर नेपाल छिरेको प्रसङ्गमा हामी धेरै भावुक हुने अवस्था होइन । अलिकति संवेदना देखाएर महामारी फैलिनबाट जोगिनुपर्छ भन्ने कुरा सीमामा आएर बस्ने नेपालीले बुझ्नुपर्ने हुन्छ । कानूनको उल्लंघन गरेर नेपाल भित्रिएको भाइरसका कारण यदि अरु कसैको स्वास्थ्य जोखिममा पर्न सक्छ भने के त्यो चाहिँ अपराध हुँदैन ?

अहिलेको अवस्थामा विप्रेषणमा आइरहेको तीव्र गिरावटले पनि अर्थतन्त्रमा दीर्घकालीन प्रभाव पार्नसक्ने सम्भावना देखिन्छ । नेपालको कूल विप्रेषण आप्रवाहमध्ये ५०.३ प्रतिशत खाडी मुलुकबाट प्राप्त हुन्छ । खाडी मुलुक तथा बाँकी विश्वभरबाट आउने विप्रेषण समेत कोरोना भाइरसको चपेटामा परेको छ । ती मुलुकले व्यहोर्नुपरेको आर्थिक क्षतिको प्रत्यक्ष असर नेपाली कामदारमा पनि पर्ने नै छ । किनभने अझै कति समय कोरोनाको प्रभाव रहने हो, कुनै पूर्वानुमान गर्न सकिने स्थिति छैन ।

यसरी ऋणको भारी बोकेर वैदेशिक रोजगारीबाट परिवार पालिरहेका लाखौं नेपालीको परिवारमा भविष्यमा गम्भीर आर्थिक संकट पर्न सक्छ । त्यसको प्रत्यक्ष असर कुनै निश्चित परिवारमा परेपनि अप्रत्यक्ष असर समग्र अर्थतन्त्रलाई पर्नेछ र त्यो असरको प्रभाव कुनै न कुनै रुपमा हामी सबैले व्यहोर्नुपर्नेछ ।

अहिलेको विश्वव्यापीकरण र विश्व शासनको नकारात्मक प्रभाव विकासोन्मुख देशमा पर्ने हो । अझ हाम्रो जस्तो गरीब मुलुकले अतिरिक्त प्रभाव सहनुपर्ने हुन्छ । संयुक्त राष्ट्रसंघले सन् १९३० को भन्दा ठूलो आर्थिक मन्दी आउने चेतावनी दिइसकेको छ । विकसित देशमा अर्थतन्त्र बजारमा आधारित भएकाले र बजार अत्याधिक प्रभावित भएकाले ती देशमा कोरोनाले गर्दा ठूलो आर्थिक क्षति भइरहेको छ । यसले  दातृ राष्ट्र र अन्तर्राष्ट्रिय निकायबाट नेपाललाई प्राप्त हुने सहयोगमा पनि कटौती हुनसक्ने प्रबल सम्भावना छ । त्यसले गर्दा आगामी आर्थिक वर्षमा नेपालले नियमित आर्थिक क्रियाकलाप सञ्चालनका लागि मात्रै पनि भारी मात्रामा वैदेशिक ऋणको बोझ उठाउनुपर्ने हुनसक्छ ।

यससँगै मूल्यवृद्धि, अत्यावश्यक वस्तुको अभाव, बेरोजगारी, गरीबी लगायत बहुआयामिक रुपमा देखिन सक्ने आर्थिक समस्यालाई आम नेपालीले विश्लेषण गरी आफ्नो परिवारलाई पर्न सक्ने अतिरिक्त भारको समाधानका लागि केवल सरकार–सरकार भनेर बस्नु र आलोचनामा समय खर्चिनुभन्दा होम क्वारेन्टाइनको समयलाई सिर्जनशील बनाउनतिर केन्द्रित बनौं ।

अमेरिका र युरोपमा भएको असंवेदनशीलताले गर्दा कैयौंले अकालमै मृत्युवरण गर्नुपर्‍यो । विश्वमै उत्कृष्ट स्वास्थ्य सेवाको देशभित्र पर्ने अमेरिका, इटाली, स्पेन, जर्मनी जस्ता समेत स्वास्थ्य सामग्रीको अभाव भइरहेको छ । बिरामीका परिवारमा पनि बज्रपातसँगै अर्को भयंकार पीडा थपिएको छ, उनीहरूले शव समेत हेर्न पाइरहेका छैनन् ।

कमजोर स्वास्थ्य सेवा रहेको नेपालमा अझै संक्रमितको संख्या थपिँदै जाने हो भने भयावह स्थितिसँगै बहुआयामिक आर्थिक संकट निम्तिने छ, अर्थतन्त्र तहसनहस हुनेछ । जसको परिणाम पनि हामीले नै भोग्नु पर्नेछ, त्यसैले सानो स्वार्थमा आकर्षित भएर देशलाई बर्बाद नगरौं । कुनै औषधि नभएको यस रोगसँग लड्न एक मात्र उपाय हो, आत्म अनुशासनमा बसौं, सात्विक भोजन, ध्यान र प्राणायाम जस्ता प्राकृतिक चिकित्सा विधिको उपयोग गरी रोग प्रतिरोधात्मक क्षमतालाई मजबुद बनाऔं । अनावश्यक डर र त्रासबाट बचौं र बचाऔं ।

सरस्वती पनेरु
सरस्वती पनेरु

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्