कोरोनाभाइरसका कारण डराएका मानिसहरूले अमानवीय हर्कत गरेका खबर पनि आउन थालेका छन् ।
भारतको गुजरातमा रहेको सूरतमा चार महिनाको बच्चा लिएर एक आमाले फ्ल्याट छोड्नुपरेको छ किनकि उनी त्यस अपार्टमेन्टमा नयाँ थिइन् ।
ओलपाडी स्ट्रीटमा रहेको अमर प्यालेस अपार्टमेन्टमा विद्यालय शिक्षिका राधिका गामित केही दिनका लागि बस्न गएकी थिइन् । उनीसँग चार महिनाको बच्चा र पति पनि थिए ।
तर अपार्टमेन्टका मानिसले कोरोनाभाइरस फैलिने डरले एक रात पनि फ्ल्याटमा बस्न दिएनन् ।
बारम्बार अनुरोध गर्दा पनि अनि प्रहरीलाई अपील गर्दा पनि कसैले आफ्नो कुरा नसुनेको राधिका बताउँछिन् । उनी र उनको परिवारमा कसैलाई पनि संक्रमण नरहेको उनको भनाइ छ । बस्नै नदिएपछि उनी रातारात आफ्नो बच्चासँग निस्किन् र एक विद्यालयमा रात गुजार्न पुगिन् ।
कोरोनाको संक्रमण बढ्दै जाँदा मानिसहरूको मनमा डर बढिरहेको छ । परिणामस्वरूप उनीहरू प्रत्येक अपरिचितलाई शंकाको नजरले हेरिरहेका छन् । यस डरले बिस्तारै सामाजिक कलंकको रूप धारण गरिसकेको छ ।
एजेन्सी