इक्वेडरमा कोरोनाभाइरस फैलिएपछि सडकभरि शव

इक्वेडरको पश्चिमी शहर ग्वायाकिलका सडकहरूमा जीवित मानिस कमै देखिन्छन् तर लाशहरू चाहिँ थुप्रै भेटिन्छन् ।

कोरोनाभाइरस महाव्याधि फैलिएपछि देशको सबभन्दा घना आबादी भएको शहरका सार्वजनिक सेवाहरू धराशायी हुने स्थितिमा छन् । अस्पतालमा बिरामीका लागि एउटा शय्या पनि बाँकी छैन । शवगृह पनि भरिभराउ छन् । 
लाश राख्ने ठाउँ नभएपछि तिनलाई सडकमा राख्नुको विकल्प नरहेको स्थानीयहरू बताउँछन् । 


Advertisement

मृतकमध्ये कतिजना कोभिड–१९ लागेर बितेका हुन् भन्ने स्पष्ट छैन । धेरैजसो परिवारले आफ्ना प्रियजनलाई भाइरसको लक्षण देखिएको बताउँछन् भने अन्यले चाहिँ अस्पतालमा उपचार गर्ने ठाउँ नभएकाले उपचारै गराउन नपाएको बताउँछन् ।

‘लाश गनाएर बसिनसक्नु भएको छ । लाश हटाउने आँट पनि कसैलाई छैन,’ ग्लेन्डा लारीया भेराले भनिन् । ‘हाम्रा केही छिमेकीहरू वृद्ध छन् । मेरै आमा ८० वर्ष पुग्नुभो र उहाँलाई श्वासप्रश्वासमा समस्या छ ।’


Advertisement

लाश फ्याँकेका भिडियोहरू पनि सार्वजनिक भइरहेका छन् । एउटा भिडियोमा मोटरसाइकल चढेर आएका एक व्यक्तिले सडकमा लाश छोडेर गएको देखिन्छ । त्यसको कैयौं घन्टापछि विशेष हाजमात सुट लगाएका मानिसको समूहले लाशलाई एउटा गाडीमा राखेर लगेको देखिन्छ । 

अर्को भिडियोमा व्यक्तिहरूको एक समूहले कारबाट लाश निकालेको देखिन्छ । फेस मास्क लगाएका उनीहरू शरीरलाई कालो प्लास्टिकमा बेर्छन् । त्यतिखेरै प्रहरीको गाडी आइपुग्छ । प्रहरी र उनीहरूबीच कुराकानी हुन्छ र उक्त समूहले कारमा लाश फेरि हुल्छ । 

इक्वेडरका अधिकारीहरूले ग्वायाकिल शहरका निजी घरहरूबाट ३०० वटा लाश संकलन गरेको राष्ट्रिय तथ्यांकले देखाउँछ । ग्वायाकिल शहरमा २१ लाख मानिस बस्ने गरेको सीआईएको फ्याक्टबूकमा देखिन्छ । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्