कस्तो हो कैलाली, कञ्चनपुर र बाग्लुङमा गर्ने भनिएको 'र्‍यापिड टेस्ट', विश्वसनीयता कति ?

ईश्वर अर्याल
ईश्वर अर्याल

पत्रकार अर्याल लोकान्तरका लागि राजनीति, समसामयिक घटनाक्रम र वैदेशिक रोजगारीमा रिपोर्टिङ गर्छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आधिकारिक तथ्यांकअनुसार यो समाचार तयार पार्दासम्म १६ सय ४२ जनामा कोरोनाभाइरस (कोभिड– १९) परीक्षण भएको छ । तीमध्ये १६ सय ३३ मा संक्रमण देखिएको छैन भने ९ जना संक्रमित अहिले अस्पतालको आइसोलेसनमा बसेर उपचार गराइरहेका छन् ।

विश्वव्यापी रूपमा कोभिड १९ को परीक्षण दुई प्रकारले गरिन्छ । पहिलो हो पीसीआर (पोलिमरेज चेन रियाक्सन) र दोस्रो र्‍यापिड एन्टीबडी टेस्ट । नेपालमा भने र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) अहिलेसम्म भएको छैन । जानकार चिकित्सकहरूका अनुसार पीसीआर परीक्षणमा कोभिड १९ भाइरस भए नभएको जानकारी प्राप्त हुन्छ ।


Advertisement

आरडीटीमा भने कोभिड १९ ले संक्रमण गरेको शरीरले उत्पादन गर्ने ‘एन्टीबडी’को मात्रा परीक्षण हुने भएकाले यो परीक्षण प्रविधि पीसीआरभन्दा अलि कम विश्वसनीय हुन्छ ।

नेपालमा अहिलेसम्मका सबै परीक्षण पीसीआर (पोलिमरेज चेन रियाक्सन) मार्फत् भएका छन् । एक साताअघि सरकारले ओम्नी समूहसँग सम्झौता गरेर चीनबाट केही पीसीआर मेसिन सँगसँगै ७५ हजारको संख्यामा आरडीटी किटहरू पनि भित्र्याएको थियो । यद्यपि आरडीटी किटहरू विश्वसनीय नभएको भन्दै आवाज उठिरहेका छन् ।


Advertisement

शनिवार बसेको मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुर तथा गण्डकी प्रदेशको बाग्लुङमा र्‍यापिड परीक्षण गर्ने निर्णय गरेको थियो । यससँगै स्वास्थ्य मन्त्रालयले तीन जिल्लामा द्रुत परीक्षणका रूपमा आरडीटी गर्ने तयारी गरिरहेको समाचार बाहिरिएको छ ।

तर चीनबाट ठूलो मात्रामा ल्याइएका आरडीटी किट प्रयोग गर्ने कि नगर्ने भन्नेमा स्वास्थ्य मन्त्रालय नै द्विविधामा रहेको एक कर्मचारीले बताए । ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले त्यसलाई मान्यता दिएमात्र प्रयोग गर्न सकिन्छ,’ मन्त्रालयका ती कर्मचारीले भने, ‘अहिलेसम्म सैद्धान्तिक रूपमा ठूलो परिणाममा परीक्षण गर्ने कुरा मात्र भएको छ । यसबारेमा हामी प्रयोगशालासँग समन्वय गर्ने प्रयास गरिरहेका छौं ।’

मन्त्रालयले शुरूमा केही आरडीटीको नमूना परीक्षण गरेर त्यसको भ्यालिडेसनका लागि पुनः पीसीआर परीक्षण गर्ने तयारी गरेको छ । जनस्वास्थ्य प्रयोगशाला स्रोतका अनुसार शुरूमा २ सय वटा आरडीटीको नमूना परीक्षण गरिनेछ । ती सबै नमूनाहरूलाई पीसीआरमार्फत पुनः परीक्षण गरेपछि आरडीटीको सही विश्वसनीयता आंकलन गर्न सकिनेछ ।

भारतमा भने इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले आरडीटी गर्न अनुमति दिइसकेको छ । कोभिड १९ ठूलो मात्रामा फैलिएको समुदायमा आरडीटी गर्ने र पोजिटिभ आएका केसहरूलाई पुनः पीसीआरमार्फत् परीक्षण गरेर त्यसको सत्यता निश्चित गरिने भारतका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

दुवै परीक्षणमा के फरक छ ?

डाक्टर समीरमणि दीक्षितले पीसीआर टेस्टमा नाक वा घाँटीबाट लिइने स्वाब परीक्षण गरिने तर आरडीटीमा चाहिँ रगतको नमूना परीक्षण गरिने बताए । ‘दुवै फरक–फरक तरिकाले हुने टेस्ट हो,’ डाक्टर दीक्षितले लोकान्तरसँग भने, ‘पीसीआरमा नाक वा घाँटीबाट लिइने स्वाब परीक्षण हुन्छ भने आरडीटीमा चाहिँ रगतको परीक्षण हुन्छ ।’

डाक्टर दीक्षितले पीसीआरले भाइरसको उपस्थिति पत्ता लगाउने तर आरडीटीले भने हाम्रो शरीरको प्रतिरोधात्मक पक्षलाई देखाउने बताए । ‘ब्लड सिरममा एन्टीबडी हुन्छ, त्यसलाई आरडीटीले पत्ता लगाउँछ,’ उनले भने ।

तर भाइरस शरीरमा प्रवेश गर्नेबित्तिकै एन्टीबडी नदेखिने डाक्टर दीक्षितको भनाइ छ । ‘भाइरस चाहिँ २४ घन्टामै देखिन शुरू गर्छ भने एन्टीबडी देखिन चाहिँ ३/४ दिन लाग्न सक्छ,’ उनले भने, ‘त्यसैले यसलाई रियल टाइम पीसीआर भनिएको हो । आरडीटी यदि पोजिटिभ देखियो भनेपनि पीसीआर गराएर हेर्नुपर्छ, बल्ल त्यसको विश्वसनीयता पुष्टि हुन्छ ।’

उनले आरडीटी ठूलो मात्रामा सर्भे गर्दा प्रयोग गर्न काम लाग्ने परीक्षण विधि रहेको बताए । ‘समाजमा कतिजनालाई लागेको छ, कहिले लागेको थियो । ठीक भैसकेको छ कि छैन जस्ता कुराहरू पत्ता लगाउन आरडीटीको प्रयोग गरिन्छ,’ उनले भने, ‘पीसीआर टेस्ट गर्दा १ देखि २ दिन त लाग्छ नै तर आरडीटीमार्फत एकाध घन्टामै हेर्न सकिन्छ । आरडीटी गरेपछि ढुक्क हुन अन्त्यमा त पीसीआर नै गर्नुपर्छ ।’

आरडीटी घरमै पनि गर्न सकिन्छ

कोभिड १९ को संक्रमणको चपेटामा सबैभन्दा पहिला चीन परेको थियो । चीनले अहिले विश्वभर नै आरडीटी किटहरू निर्यात गरिरहेको छ । चीनमा सरकारी स्तरमा मात्र नभएर निजी स्तरमा पनि आरडीटी किटहरू धमाधम उत्पादन भइरहेका छन् ।

इटाली, फ्रान्स, जर्मनी, बेलायत जस्ता युरोपियन देशहरूले अहिले ठूलो परिणाममा संक्रमण पत्ता लगाउन आरडीटी किटको प्रयोग गरिरहेका छन् । भारतले यसको प्रयोग शुरू गरिसकेको छ भने नेपालमा पनि मन्त्रिपरिषद बैठकले तीन जिल्लाहरूमा यसको प्रयोग गर्ने निर्णय गरिसकेको छ ।

कतिपय देशहरूमा यसको बिक्रीवितरण खुला गर्नुपर्ने बहस पनि चलेका छन् । अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य सामान्यतयाः १०/१२ डलर पर्छ । अहिलेसम्म आम नागरिकमा यसको बिक्रीवितरण खुला भएको छैन । अहिले प्रतिस्पर्धात्मक रूपमा उत्पादन बढिरहेकाले यसलाई भविष्यमा अझ कम मूल्यमा पनि किन्न सकिनेछ ।

यसको आकार एउटा टिभीको रिमोटभन्दा पनि सानो हुन्छ, ठ्याक्कै प्रेग्नेन्सी टेस्ट गर्ने किटजस्तै । यसमा एक ठाउँमा रगतको नमूना राखिन्छ भने त्यसभन्दा माथि कन्ट्रोल लाइन हुन्छ । कन्ट्रोल लाइनसम्म मात्र यसको इन्डिकेटर सीमित रह्यो भने त्यसलाई नेगेटिभ मानिन्छ । त्यो भन्दा अघि इन्डिकेटर बढ्यो भने त्यसलाई पोजिटिभ मानिन्छ ।

ईश्वर अर्याल
ईश्वर अर्याल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्