इँटाभट्टामा भएन लकडाउन, काममै छन् महिला र बालबालिका

फाइल तश्वीर

भक्तपुरको चाँगुनारायण नगरपालिका–२ स्थित सेतीभैरव इँटा उद्योगमा काम गर्ने दाङकी सानीकान्छी घर्ती बिहान झिसमिसेमै काममा लाग्छिन् । लकडाउनले सबै मानिस घरभित्रै बसे पनि सानीकान्छी र उनका सहकर्मीले भने कामबाट छुट्टी पाएका छैनन् । साहुले इँटा बोकेर सकेपछि मात्रै घर पठाउने भनेकाले उनीहरूलाई लकडाउनले नछोएको हो । कसले धेरै इँटा ओसार्ने र बढी कमाउने भन्ने होडमा उनीहरू छन् । घरभित्रै बस्ने पनि मास्क लगाएर बसेका छन्, तर भट्टाको धुलो खाँदै काम गर्ने उनीहरूसँग न त मास्क छ, न स्यानिटाइजर नै । भट्टाकै छेउमा छाप्रो बनाएर बसेका उनीहरूसँग हात धुनलाई साबुनपानी पनि पर्याप्त छैन, छ त केवल काँधमा इँटाको भारी । घर्ती भन्छिन्, ‘खै ! देशभर रोग आइच रे, अस्ति नजिकैकाहरू हिँडेर पनि घर गए, हामीलाई चिँ साहुले इँटा बोकी नसकी नजाऊ भन्नुभयोे, हिसाब पनि गरेका छैनन्, अनि बसेम् ।’ 

ललितपुर ठेचोस्थित हनुमान इँटाभट्टामा काम गर्ने रोल्पाका अर्जुन मगर पनि कोरोनाको महामारी चलेका वेला घर फर्किन नपाएको बताउँछन् । ‘नजिकै घर भएका त गए, हामीलाई टाढाको बाटो, गाडी पनि पाउँदैन, हिँडेर जान सम्भव छैन, साहुले इँटा बोकी नसकी गाडी पठाउन मानेनन्,’ उनले भने । घर जान नपाएकाहरूले निरन्तर भट्टाको काम गरिरहेका छन् । अर्जुन भन्छन्, ‘काम बन्द गर्न पटक–पटक प्रहरी पनि आए, तर काम बन्द गरे हामीले कसरी खाने ? काम नगरी पैसा आउँदैन, पैसा नआए के खाएर बाँच्ने ? घर के पठाउने ?’ 


Advertisement

लकडाउन भएपछि उद्योगी घरमा बसेका छन् । तर, उद्योगमा भने सयौँ मजदुरले भीडमा काम गरिरहेका छन् । नेपाल इँटा व्यवसायी महासंघका अनुसार काठमाडौंमा १४, भक्तपुरमा ६३ र ललितपुरमा ३१ गरी उपत्यकामा मात्रै एक सय आठवटा इँटाभट्टा सञ्चालित छन् । कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि अधिकांश इँटाभट्टामा काँचो बनाउन बन्द भएको छ । तर, भट्टाको डगमा लैजाने, पाकेका इँटा डगबाट गोदाममा ल्याउने, लहर मिलाउनेलगायत काम रोकिएको छैन । काम नगर्दा मजदुर नै घाटामा पर्छन्, गर्दा उनीहरूको स्वास्थ्य उच्च जोखिममा परेको छ ।

नजिक जिल्लामा घर भएका मजदुर हिँडेरै फर्किए । तर, सुदूरपश्चिम र भारतबाट आएका मजदुर भने घर फर्किन पाएका छैनन् । भट्टामा मजदुरलाई कोरोना सुरक्षा सतर्कता त हैन, खान र बस्नलाई नै समस्या रहेको छ । भट्टामा काम गर्ने कामदारले ज्यालादारीका आधारमा पैसा पाउँछन् । जसले जति इँटा बोक्छ, त्यहीअनुसार पैसा आउँछ । इँटा बनाउनेले पनि इँटा बनाएकै आधारमा पारिश्रमिक पाउँछन् । झन् कामै गर्न नपाउँदा त कमाउन आएका मजदुरलाई दुई छाक टार्नै समस्या हुने उनीहरूको दुखेसो छ । परिवार छाडेर दुई पैसा कमाउने उद्देश्यले आएका मजदुर कोरोना त्रासका बीच काम गर्न बाध्य छन् । हनुमान इँटाभट्टामा मात्रै अझै करिब दुई सय मजदुर काममा रहेका अर्जुनले बताए । त्यसमध्ये करिब ४० जना भारतीय हुन् । 


Advertisement

भट्टा बन्द नहुँदा आसपासका बासिन्दा त्रसित

भट्टामा लकडाउन नहुँदा गाउँ नै त्रसित बनेको चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले बताए । ‘मजदुरहरू दिउँसो कमाएर बेलुकीको छाक जुटाउँछन्, बिहान–बेलुकै पसलमा भीड लाग्छ,’ उनले भने, ‘लकडाउनपछि घरमै बसेका सर्वसाधारण पनि उनीहरूको भीड देखेर त्रसित बनेका छन् ।’ उनले स्थानीयको दबाबपछि दश हजारभन्दा बढी मजदुरलाई घर पठाएको बताए । लकडाउनका कारण भट्टामा काम गर्ने साढे दुई लाखभन्दा बढी मजदुर प्रभावित भएको नेपाल इँटा व्यवसायी महासंघका अध्यक्ष महेन्द्र चित्रकारले बताए । उनले लकडाउनपछि अधिकांश भट्टाको काम रोकिएको दाबी गरे । ‘भट्टामा ज्यालादारीमा काम गर्ने मजदुरलाई छुट्टी दिँदा होहल्ला गर्ने, जाँडरक्सी खाएर हिँड्ने गर्छन्, त्यसैले उद्योगभित्रका काम भने भइरहेका छन्,’ उनले भने, ‘अकस्मात् लकडाउन भएकाले सबै मजदुरलाई घर पठाउन सकिएन ।’ व्यवसायी नै घाटामा भएकाले मजदुरलाई घर पुर्‍याउनेभन्दा पनि सिजनमा बढीभन्दा बढी काम लिनुपर्ने अवस्थामा उद्योगीहरू रहेको अध्यक्ष चित्रकारको भनाइ छ । उनी भन्छन्, ‘नाइकेमार्फत मजदुरलाई पहिल्यै एड्भान्स दिएका हुन्छौँ, मंसिरदेखि काम सुरु हुने हो, तर वर्षाका कारण यस वर्ष धेरै काम हुन पाएको छैन, अहिले बल्ल काम सुरु हुँदै थियो, फेरि कोरोनाले व्यवसाय ठप्प पारिदियो ।’ उनले भट्टामा मजदुरले खान–बस्नकै समस्या झेल्नुपर्ने अवस्था भने आउन नदिने दाबी गरे । 

भारतीय श्रमिकको तथ्यांक छैन

इँटाभट्टामा अलपत्र परेकामध्ये ठूलो संख्या भारतीय मजदुरको भएको व्यवसायी स्विकार्छन् । तर, कति भारतीय मजदुर छन् भन्ने कुनै तथ्यांक छैन । नेपालका इँटाभट्टामा इँटा पोल्ने काममा भारतीय मजदुर पोख्त मानिन्छन् । नयाँ पत्रिकामा खबर छ ।

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्