भारतमा दशौं हजार मानिसलाई घरैमा क्वारेन्टीनमा राखिएको छ । तर उनीहरूको घरमा क्वारेन्टीनको जानकारी दिने पोस्टर राख्दा अनि उनीहरूको व्यक्तिगत जानकारी सार्वजनिक गर्दा उनीहरूले असहज स्थितिको सामना गर्नुपरेको छ ।
भरत धिंगराको परिवार भारतको राजधानी दिल्लीमा रहेको घरमा क्वारेन्टीनमा बसिरहेको छ । उनको भाइबुहारी अमेरिकाबाट मार्च २२ मा फर्केपछि परिवारै क्वार.ेन्टीनमा बसेको हो ।
उनीहरू कसैमा पनि कोरोनाका लक्षण देखिएका छैनन् तर परिवारले सरकारको सल्लाह मानेर सेल्फ क्वारेन्टीनमा बस्यो ।
त्यसपछि उनीहरूको घरबाहिर अधिकारीहरूले एउटा स्टिकर टाँसे जसमा लेखिएको छ, ‘यहाँ नआउनुहोला । क्वारेन्टीनमा घर ।’
मानिसहरूले नियम पालन गरून् भनेर यसो गरिएको थियो । तर धिंगराले पहिलेदेखि नै नियमको उचित पालन गरिरहेका थिए । यस स्टिकरले चाहिँ उनलाई तनाव र मनोवैज्ञानिक दबाब दिएको छ ।
‘हाम्रो घर चिडियाखाना जस्तो भएको छ । मानिसहरू यताबाट जाँदै गर्दा तस्वीर खिच्छन् । हामीहरू एक मिनेटका लागि बाल्कोनीमा निस्क्यौं भने पनि छिमेकीहरू भित्र जाओ भन्छन्,’ उनले बताए ।
‘सचेतनाका लागि घरहरूलाई क्वारेन्टीन गरिएको हामी बुझ्छौं । सरकारी अधिकारीहरूको व्यवहार हामीप्रति राम्रो छ तर मानिसहरूको व्यवहारले हामीलाई चोट दिएको छ ।’
‘केही मानिसले चेतावनीका लागि भन्दै हाम्रो घरको तस्वीर ह्वाट्सयाप ग्रूपमा शेयर गरे ।’
यसले आफ्नो परिवारको निजता हनन भएको उनी बताउँछन् ।
‘घरैमा क्वारेन्टीनमा बस्नु भनेको पूर्वसतर्कताको एक उपाय हो भनी मानिसहरूले बुझ्नुपर्छ । हामीहरू संक्रमित भयौं भन्ने अर्थ यसबाट लगाउन मिल्दैन । संक्रमित भएकै रहेछौं भने पनि हामीलाई यसरी अछुत बनाउनुहुँदैन ।’
अन्य थुप्रै व्यक्तिको अनुभव पनि यस्तै किसिमको छ ।
नाम खुलाउन नचाहने एक जोडीले नोइडामा रहेको आफ्नो घर धेरै मानिसका लागि भूतघर जस्तो भएको बताए ।
‘विदेशबाट आएपछि हामीहरू पूर्वसतर्कताका लागि सीधै होम क्वारेन्टीनमा गयौं । हामीलाई समुदायले बहिष्कार गर्ला पनि सोचेका पनि थिएनौं ।’
आफूहरूलाई प्रोत्साहनका केही शब्द फोन वा टेक्स्ट मेसेजबाट आए हुन्थ्यो भन्ने उनीहरूको आशा छ ।
‘सबैजना हामीलाई शंकाको दृष्टिले हेर्छन् । हामीहरू बाल्कोनीमा जाँदा पनि शंका गर्छन् । उनीहरूको आँखामा शंका झल्किन्छ ।’
‘हामीहरूले कसैलाई भेटेका छैनौं । हामीमाथि यस्तो व्यवहार हुनु निकै दुःखदायी छ ।’
उत्तर प्रदेशको फर्रुखाबाद जिल्लामा बस्ने कुलजीत सिंहले पनि यस्तै समस्या भोग्नुपरेको छ । उनलाई होम क्वारेन्टीनमा बस्न भनिएको थियो ।
उनले बलिउड गायिका कनिका कपूरलाई एउटा पार्टीमा भेटेका थिए । कनिकालाई पछि कोरोना पोजिटिभ भएको पाइयो ।
‘कनिकाको केस मिडियामा अनवरत चर्चामा रह्यो र त्यसले मेरो परिवारमा ठूलो असर पार्यो,’ उनले भने । ‘अनेक किसिमका हल्ला फैलिन थाले । केहीले त मैले रगत छादेको र केही दिनमा मर्ने समेत भने ।’
मानिसहरू डराएका र सामाजिक सञ्जालमा आउने सबै हल्लालाई पत्याउने गरेको उनले बताए ।
उनको क्वारेन्टीन अवधि अहिले सकिएको छ र उनीमाथि लगाइएको कलंक अन्त्य हुन लामो समय लाग्नेछ ।
‘तरकारी बेच्ने र दूधवाला पनि हाम्रो घरमा आउन मान्दैनन्,’ उनले भने ।
बीबीसीबाट
एजेन्सी