कोरोनाको कहरबीच बालापनको विद्रोह : चंगाझै उडिरहने रहर घरमै कैद !

लखन चाैधरी
लखन चाैधरी

लखन चौधरी लोकान्तरका लागि सुदूरपश्चिम प्रदेश प्रतिनिधि हुन् । 

चैत ६ गते । २ कक्षाको २ विषयको परीक्षा नसकिँदै छोरी ओजस्वी थारु ‘ओजु’को स्कूलमा अनिश्चितकालीन बिदा भयो । 

घर नजिकैको जखौर ताल/पटेला जाने चोकमा स्कूल बस रोक्छ । झर्ने बित्तिकै दौडिइन् । निकै हतारो थियो उनलाई ।


Advertisement

घरभित्र पस्नुअघि बाटो छेउमै भएको नलमा साबुन पानीले हात धोइन् । स्कूल ड्रेस फुकाल्दै स्कूलमा शिक्षकले भनेका कुरा सुनाइन्, ‘कोरोना आएको छ रे ! त्यसबाट बच्न साबुन पानीले हात धुनु भन्नु भा’छ सरले ।’

दुई वाक्यांश टुंगिन नपाउँदै सुइँकुच्चा ठोकिन् साथीहरू कहाँ । अरु बेलाभन्दा निकै खुशी देखिन्थिन् । मानौं – दशैंतिहार, माघी, अट्वारी पर्वको बिदा भयो उनलाई । अथवा बाजेबजैलाई भेट्न बेनौली गाउँ जानु थियो उनलाई ।


Advertisement

उनका साथीहरू – आस्मी, एस्टर, हिमानी, लक्ष्मी, दादा नवराज पनि अरु बेलाभन्दा निकै खुशी देखिन्थे । अनेकथरि योजना बुन्न थाले । कहिले घर अगाडिको खाली खेतमा चंगा उडाउने, कहिले चुंगी, कहिले अण्डा पचास, माटाको भाँडाकुँडा बनाउने त कहिले लुकीछिपी खेल्ने ... ।

स्कूल बिदा भएपछि उनको साथी आस्मी छिमेकी हसुलियाको घर आफ्नी बारी (ठूली आमा) कहाँ आएकी थिइन् । साँझ हातमुख धोएर ओजु सरासर भान्सामा छिरिन् । दराजबाट एउटा थाली समाइन् । आफैं भात, बजरमुर्वाक् कपुवा (तरकारी) र आलुको चट्नी थालीमा पस्किन् । बरण्डाको आराम बेञ्चमा बसेको म (बाबा) तर्फ हेरिन् ।

ओजु – बाबा मै आस्मीक् ठन बेरी (बेलुुकाको खाना) खाई जाउ ? (बाबा आस्मी कहाँ खाना खान जाउँ)
म – यहै खाउ बेटा । औरेक् घर भात लेके खाई जैना मजा नाई रहठ । (घरमै बसेर खाउ बेटा । खाना बोकेर अर्काको घरमा खाना जानुु राम्रो होइन)
ओजु – (मुख बिगार्दै) नाई बहुट ढिउर दिन होगिल बा, आस्मीक् संग भात खैलेक् । (जिद्दी गर्दै) ओहै जैम । (नाई, धेरै दिन भयो, आस्मीसँग भात नखाएको । त्यहीँ जान्छु ।)
म – नैमन्बे टे जा (मान्दैन भने जा)

उनी सरासर आस्मी कहाँ गइन् । लगेको तरकारी र चट्नी साटासाट गरिन् । दुवै जना रमाउँदै बेरी खाए ।

बालबालिकाको अनु्हारबाट स्वच्छन्दता झल्किन्थ्यो । केही दिन सदाझै उनीहरू आफ्नै जमातमा आफ्नै ढंगले रमाए । आफ्नै लयमा गुनगुनाए । भय र त्रासबाट उन्मुक्त भएर । 

अर्कोतिर विश्वव्यापी रुपमा महामारीको रुपमा आफ्नो क्रुर साम्राज्य विस्तारमा थियो कोरोना भाइरस (कोभिड १९) । चीन हुँदै फैलिएको त्यसको त्रास नेपालसम्म पुगेको थियो । भुसको आगो जस्तै धनगढीको सानो, शान्त टायल र टिनले छाएको कच्ची घर भएको मजदुरको बस्तीमा पनि सल्कियो । चैत १० गते जिल्ला प्रशासन कार्यालय कैलालीले कोराना रोकथाम तथा नियन्त्रणको लागि भन्दै जिल्लाभर निषधाज्ञा जारी गर्‍यो । भोलिपल्ट सरकारले नै देशभर लकडाउन अर्थात कर्फ्यू जारी गर्‍यो । 

आफ्नै गाउँको रौनकताले चैनार रहने टोलहरू समसानघाटझै लाग्न थाले । सबै मानिसले आफ्नै घरलाई कैदखाना बनाए । आफैंलाई कैदखानाको कैदीझै बनाए । 

त्यतिबेला १० वर्षे जनयुद्धकालमा माओवादीको द्वन्द्व झेलियो । कर्फ्यूका बाबजुत नरोकिएको हिंसात्मक थरुहट, अखण्ड सुदूरपश्चिम आन्दोलन, बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको न्यायको लागि उठेको आन्दोलनको रिपोर्टिङ बहुत गरियो तर अपसोच ! अहिले मै हुँ भन्नेहरूको हबिगत दया लाग्दो छ ।

चैत ११ गते भारतबाट फर्केका १ हजार नेपाली गौरीफन्टा नाकामा नेपाल प्रवेश गर्न नदिएपछि प्रहरीमाथि नेपालीले धावा बोल्दा त्यसको रिपोर्टिङ गर्न जाउँ कि नजाउँ भनेर १० पटक सोचियो । आखिर पेशागत धर्मलाई शीरोधार्य गर्दै २५ रुपैयाँको मास्क लगाएर डराइडराई गइयो । समय–समयमा स्यानिटाइजर हातमा दलियो । डिटल पानीले नुहाएर घरमा प्रवेश गरियो । यद्यपि घरका बच्चालाई ९ घण्टासम्म स्पर्श नगरेको पीडा कहिलै भुल्न नसकिने गरी मस्तिकमा डेरा जमायो । केही भइहाल्ने पो हो कि भनेर घर फर्किएर खुब पश्चाताप पनि गरियो ।

टोलमा आ–आफ्ना बालबालिकालाई सम्झाइबुझाई घरभित्रै राखिन थालियो । २ दिन, ३ दिन, ४ दिनसम्म त बच्चाहरूले अभिभावकका कुरा सहज रुपमा लिए । ओजुले पनि घरभित्रै टीभी हेर्ने, खेल्ने गरिन् । टीभीमा आउने ‘सालको पात टपरी ...’ लगायत गीतमा नाचेर दिन बिताउन थालिन् ।

... ...

निर्दोष, निश्चल बालापनलाई बिस्तारै त्यो चार दिवार साँघुरो भएको छ । आफ्नै घर कैदखानामा परिणत भएको छ । उन्मुक्त हुन घरीघरी विद्र्रोहको ज्वारभाटा निकाल्न थाल्छन् ती बालापनले । गल्ली सुनसान छन्, चैते घामको वास्ता नगरी कोही खाली खेतमा दगुर्छन्, चंगा उडाउँछन् । घरभित्रबाट ओजुले पनि साथीहरूलाई घरीघरी चियाउँथिन्, पिँजडाको अबोध पंक्षीले खुला अकाशतिर नियाले जस्तै ।

साथीहरूसँग नखेल्नू, अर्काको घर नजानू भन्ने आदेश पालना गरिरहेकी ओजुले साथीहरूलाई टुलुटुलु हेर्न विवश थिइन् । घरीघरी कहिले मम्मीको मुख त कहिले मेरो (बाबा) मुख हेर्न थालिन् । हिम्मत जुटाएर भनिन् –

ओजु – बाबा मै फेन नवराज डाडाक् संग चंगा उराई जैम (बाबा म पनि नवराज दादासँग चंगा उडाउँछु)
बाबा – ना जाउ चुनु । आउर बेला जैसिन नाई हो । घरभित्रे रहे परठ । नाई टे उ रोग हमार घरमे आई सेकठ । यी रोग भागी टे मजासे खेल्हो बाबा । (होइन छोरी, अरु बेला जस्तो होइन । घरभित्रै बस्नुपर्छ । यो रोग हटेपछि मज्जाले खेल्नु है बाबा !) 

शान्त तर भित्रभित्रै विद्रोही बनेकी ओजुलाई त्यो त्रास र राज्यको आदेश, पारिवारिक परिबन्धनको केको मतलब ? उनलाई त खेल्नु छ । उछलकुद गर्नु छ । आफ्नो मनमर्जी, आफ्नै संसारमा । यही विशेषताले गर्दा होला सायद बाल्यावस्थालाई मानव जीवनको विशेष अवस्था भनिन्छ होला ।

केहीबेरपछि म घर पछाडि पुग्छु । त्यति मौका छोपी उनी सुटुक्क निस्किन् सुनसान गल्ली छिचोल्दै सुनसान खेल्ने खाली खेतमा । हावा चल्ने दिशातिर चंगालाई उछाल्न थालिन् । केही माथि उडिरहेको चंगालाई धागोले तान्ने र छोड्ने गरिरहिन् । मुखमा मास्क लगाएर निस्केकी उनी कहिले सुनसान सडकमा चंगा उडाएर दौडिरहिन् । लाग्थ्यो उनको चंगा मात्रै हावाको मायालु रफ्तारमा उडिरहेको थिएन, चंगासँगै उनको बालापन पनि स्वतन्त्र उडिरहेको थियो, धर्तिभन्दा माथि–माथि हावासँग मितेरी गाँस्दै । उनको चंगा र उनी उस्तै लाग्थ्यो । विषम परिस्थितिले सुनसान भएको गल्लीतिर किन गइन् भनेर रातोपिरो भएको मेरो अनुहार उनलाई नियाल्दै एकाएक शान्त भएछु । निशब्द भएछु । हाफपाइन्टको गोजीबाट मोबाइल निकालेर ३–४ वटा फोटो लिएँ । उनलाई सम्झाउँदै घर फर्काएँ ।

... ...

रोगको संक्रमण बढ्दो छ । हुँदाहुँदै हाम्रै धनगढीमा चैत १४ गते विदेशबाट आएको धनगढीकै एक व्यक्तिमा कोरोनाको संक्रमण भएको कुरा सरकारले सार्वजनिक गर्‍यो । त्रासको मिटर एक्कासी माथि सर्छ । राज्यले लकडाउनको समयावधि लम्ब्याउँछ । चैत २२ गते सरकारले एकैपटक, त्यो पनि कैलाली र कञ्चनपुरकै ३ जनामा कोरोना भेटिएको रिपोर्ट सार्वजनिक गर्‍यो । केही खुकुलो भएको धनगढी बजारको लकडाउनमा क्षणभरमै सन्नाटा छायो । सरकारले दोस्रो पटक लकडाउनको समय थप्दै वैशाख ३ पुर्‍यायो ।

प्रदेश राजधानी समेत रहेको अति व्यस्त धनगढीको सडकमा पुलिस र भुस्याहा कुकुरको चैते जमात मात्रै देखिन्छन् ।

यता घरभित्र बसेका म जस्ता अभिभावकलाई आफ्ना कलिला मुनालाई आफैं कैद गरेको पटक्कै मन परेको छैन तर के गर्नु ? हामी सबै परिस्थितिको दास त हौं । बस्, समय गुजारिरहेका छौं । समयको मोल छैन । 

घरभित्रै छोरीहरूको बाल विद्रोह जारी छ । काँडेतार तेर्स्याएर बाल विद्रोह थेग्ने प्रयत्न जारी छ तर कहिले टुंगिने ठेगान छैन । 

छोरीलाई बिन्ती गर्छु, ‘हे छोरी, बुढापाकाले भन्थे – महामारीमा ज्यान जोगाउनु, अनिकालमा बिउ तर त्यस्तो पनि होइन छोरी, तिमी त मेरो लागि त ज्यान र बिउ दुइटै हौ । जीवन रहेपछि जहान रहनेछ ।’

छोरीलाई अँगालोमा बाँध्न पुग्छु । मायाले चुम्बन गर्छु – छोरी मलाई भागी–भागी नसताउ, तिमीलाई बाबाको माया कति लाग्छ रे ?’

(आफ्नै झुपडी, एकान्तबास धनगढी उपमहानगरपालिका–७ देवहरिया, थारु बस्ती)

लखन चाैधरी
लखन चाैधरी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्