कोरोना त्रासपछि ७ दिन ७ रात साइकलको यात्रा गरी आगराबाट नेपाल, क्वारेन्टाइनको बसाइपछि घर

प्रतिकात्मक तस्वीर

परिवारको खर्च जुटाउनका लागि ४ महिनाअघि मात्रै भारतको उत्तर प्रदेशको आगरा पुगेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलका कडेरा रानाले बीचमै काम छाडेर घर फर्कनु पर्ला भनेर सोचेका थिएनन् ।

कोरोना भाइरसको संक्रमण बढेपछि भारतका सबै क्षेत्रमा लडकडाउनको असरले काम बन्द भए । विद्यालयका विद्यार्थीलाई घरबाट विद्यालय र विद्यालयबाट घरसम्म पुर्‍याउने रानाको काम थियो ।


Advertisement

लकडाउनका कारण विद्यालय बन्द भएसँगै रोजगारी गुम्यो । सबै क्षेत्र बन्द भएकाले रानाका लागि अरु क्षेत्रमा रोजगारी पाउने सम्भावना पनि भएन ।

कमाएको केही पैसा डेरा र खानपानमै सिद्धिन थालेपछि उनले घर फर्कने निधो गरे । घर फर्कनका लागि कुनै पनि सवारीसाधन सञ्चालनमा थिएनन् । रानाले काम गर्दै आएको विद्यालयको पुरानो साइकल चढेर घर पुग्ने हिम्मत जुटाए ।


Advertisement

उनले भने, ‘आगराबाट साइकल रातदिन चलाउनुपर्‍यो । १–२ घण्टा सडक छेउमै सुस्ताउँथे । पुनः साइकल चलाएर सडकमा हिड्नुपथ्र्यो ।’ साइकल चलाउन निकै परिश्रम गर्नुपर्ने भएकाले त्यसका लागि खाना खान पनि जरुरी थियो । खान पाइँदैनथ्यो । सडक छेउका थोरै मात्र पसल खुलेका हुन्थे । ती पसलबाट बिस्कुट, नमकिन लगायत खाद्य सामग्री खरिद गरी भोक टार्नु पर्ने उनको बाध्यता थियो ।

७ दिन ७ रात लगाएर आगराबाट राना साइकल चढेर सीमानाका आइपुगे तर नेपाल भारततर्फका सीमा नाका पूरै बन्द थिए । सीमा क्षेत्र भएर नेपाल फर्कनका लागि भारतीय सुरक्षाकर्मीसँग उनले अनुयविनय समेत गरे । केही सीप चलेन । आगराबाट कमाएर बचाएको १२ हजार रुपैयाँमध्ये चार हजार भारतीय रुपैँया बाटोमै खाना खर्चमा सिद्धिएको थियो ।

सीमा क्षेत्रमा बसे दुःख गरेर ल्याएको सबै पैसा सिद्धिने र पछि भोकभोकै पर्ने अवस्था थियो । त्यसैले उनले सुरक्षाकर्मीका आँखा छिचोल्दै सीमा पार पर्ने निधो गरे ।

‘भारतीय सुरक्षाकर्मीका क्याम्प हुँदै महाकाली नगरपालिकातर्फ लागे,’ उनले भने, ‘भारतीय सुरक्षाकर्मीले दोधाराचाँदनीका बासिन्दा ठाने र जान दिए । चाँदनीस्थित महाकाली नदी माथिको पुल बन्द गरिएको थियो । महाकाली नदी तर्नु मात्रै एक विकल्प थियो । रातिको मौका छोप्दै काँधमा साइकल राखेर महाकाली तरियो । महाकाली नदी तरेपछि घरमा फोन गरे भारतबाट आइसके । केही घण्टामै घर पुग्दैछु ।’

आगरामा कोरोना भाइरसका संक्रमित व्यक्तिका संख्या आधा दर्जन पुगेको कुरा गाउँका धेरै जनाले भारतीय सञ्चारमाध्यममा सुनेका थिए । वनसमिति बजारमा भारतबाट फर्कंदै गरेका रानाका लागि केही गाउँले कुरेर बसेका थिए । जब राना वनसमिति बजार पुगे । उनलाई नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा बस्नका लागि लगियो ।

राना चैत २१ गतेदेखि क्वारेन्टाइनमा बस्दै आएका छन् । २ दिनअघि क्वारेन्टाइनमा बस्दै आएका २५ जनासँगै उनको समेत कोरोना भाइरस परीक्षणका लागि र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा नतिजा नेगेटिभ आएको छ । ७ दिनपछि क्वारेन्टाइनबाट राना घर फर्कन पाउने भएका छन् । रानासँगै परीक्षण गरिएका क्वारेन्टाइनमा बस्दै आएका अन्यको नतिजासमेत नेगेटिभ आएको छ ।

नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा बसेका सबै जना लडकडाउनपछि सीमा क्षेत्रमा घुसपैठ गरी आएका हुन् ।

रानाजस्तै भारतको पञ्चेश्वरबाट महाकालीमा ट्युबमा तरेर बैतडी हँुदै पैदल हिँडेर आएका उज्जल बोहरा, रामसिंह बोहरा समेत नगरपालिकाको क्वारेन्टाइनमा बसेका छन् । रातिको ८ बजे महाकालीमा ट्युबमार्फत तार्नेहरूलाई जनही १ हजार भारतीय रुपैयाँ तिरेर दुवै जना महाकाली तरेका हुन् । दुवै जनासँगै कैलाली र बैतडीका गरी ७ जनाले महाकाली तरेका थिए ।

७ दिन लगाएर पैदल हिँडेर ४ दिनअघि शुक्लाफाँटा नगरपालिका–८ बेल्डाँडी घर पुग्दा दुवै जनालाई जनप्रतिनिधि, स्थानीय वासिन्दाले क्वारेन्टाइनमा बस्नका लागि पुर्‍याएका हुन् । डडेल्धुराको परिगाँउ नजिकैको भारतको बेउरानीबाट ट्युबमार्फत महाकाली नदी तरेका सोही नगरपालिका ११ कलुवापुरका हरिलाल ऐरसहित दैलेखका ७ जना जनही भारतीय रुपैयाँ २०० तिरेर ट्युबमार्फत महाकाली नदी तरेर चैत १९ गते पुगेका हुन् ।

दैलेखका ७ जना पैदल नै घरतर्फ लागेको र ऐर घर पुगेपछि क्वारेन्टाइनमा बस्दै आएका छन् । भारतीय सुरक्षाकर्मीले सीमा पार गर्न आउनेलाई केही गर्दैनन् । ऐरले भने, ‘नेपाल तर्फका सुरक्षाकर्मीले मात्रै कडाइ गरेका छन् ।’

क्वारेन्टाइनमा बस्दै आएका भारतबाट फर्केकाले बस्ने, खाने व्यवस्था राम्रो रहेपनि शौचालय एउटै प्रयोग गर्नु परेको गुनासो गरेका छन् । क्वारेन्टाइनमा भारतबाट फर्केकासँगै स्वास्थ्यकर्मीको टोलीको समेत व्यवस्था गरिएको छ । –राजेन्द्रप्रसाद पनेरु/रासस

कमेन्ट गर्नुहोस्