लक–डाउनमा परेको नयाँ वर्ष !

हरिकुमार श्रेष्‍ठ
हरिकुमार श्रेष्‍ठ

श्रेष्ठ बंगलादेशका लागि नेपाली पूर्वराजदूत हुन् ।

आज लक–डाउनको बीसौं दिन । चलनचल्तीको शब्दमा भन्दा ‘एक बीस’ दिन । यसलाई पनि ल्याण्डमार्क नै भन्नुपर्ला । बरु दिन, गते र महिना बिर्सन लागिसकियो तर लक–डाउनको 'काउन्टडाउन' भने हामी सबैलाई कण्ठाग्र छ- बीस दिन, एक्काइस दिन । यो काउन्टडाउन कति दिन लम्बिने हो, थाहा छैन । नयाँ वर्षको पूर्वसन्ध्या अर्थात् वर्ष २०७६ को अन्तिम दिन केही लेख्न भनेर बसेको छु । सम्भवत: यो प्रकाशित हुँदा हामीले नयाँ वर्ष २०७७ लाई स्वागत गरिसकेका हुनेछौं ।

बिहान अल्छी लाग्दै उठें । जीउ तन्काउने ठाउँ उही घरको छत बाँकी छ । लक–डाउनको बेला घरको छतबाट काठमाडौं वरिपरिका डाँडाहरू छर्लङ्ग देखिन्थे । आकाश नीलो र सफा हुन्थ्यो । एउटा कुनाबाट लाङटाङ हिमालको दृश्य पनि देख्न सकिन्थ्यो । तर आज बिहानैदेखि काठमाडौंको आकाशलाई तुवाँलोले ढाकेको थियो । घाम मलिनो थियो । चन्द्रागिरी र नागार्जुन डाँडा मात्र हैनन्, नजिकको स्वयम्भू थुम्को पनि राम्ररी ठम्याउन सकिन्थेन । हिजोसम्मको छ्याङ्ग नीलो आकाश आज के भएको हो, कुन्नि !


Advertisement

अस्ति पूर्णिमाको आकाशमा पनि टहटह जून देख्न पाइएन । आकाशमा पिलपिले चन्द्रमाको मधुरो प्रकाश छाएको थियो । अरू बेला हुँदो हो त पिङ्क चन्द्रमाको मधुर प्रकाशले कतिलाई मोहनी लगाउँदो हो । तर मलाई भने चन्द्रमा पनि लक–डाउनमा परी मुर्झाएजस्तो लाग्यो ।

आजभोलि हाम्रो दैनिकी पनि लक–डाउनमा परेको छ । धन्न सामाजिक सञ्जालले दिमागलाई लक–डाउन हुनबाट जोगाइराखेका छन् । म त्यति धेरै फेसबूक, ट्विटरको फ्यान होइन, तर हिजोआज ती दिल बहलाउने माध्यम बनेका छन् ।


Advertisement

लक–डाउनलाई साथीभाइले कसरी लिएका छन्, त्यसको सानो आँखीझ्याल फेसबूकमा छरपस्ट स्ट्याटसहरूबाट पनि देख्न सकिन्छ । तीमध्ये निकै चोटिलो पोष्ट गर्नेमा पूर्व परराष्ट्रसचिव मधुरमण आचार्य पनि एक हुन्, जसले हालै यस्तो पोष्ट गरेः

पृथ्वीमा लक–डाउन खुले यसो मंगलतिर घुमेर आउन हुन्थ्यो । बस्दा-बस्दा वाक्क लाग्यो ।

पूर्व मुख्यसचिव, कथाकार, गीतकार र गजलकार भोजराज घिमिरे आफ्नो फेसबूक वालमा दुई हरफको सूत्र-कविता पोष्ट गर्नमा व्यस्त छन् ।

 ती कविताको सूत्र पहिल्याउनमा नै हाम्रो दिन जान्छ, जस्तोः

के गरूँ खै?मगज आफैँ अपाहिज भो

पाउ छैन नियन्त्रित, टाउको भन्छ ।’                  

पूर्व शिष्टाचार महापाल गोपाल थापाले नयाँ वर्ष २०७७ को शुभकामना दिँदै किञ्चित् यस्तो उदास भावना पोखेः

न कुनै उल्लास, न त छ कुनै हर्ष,

खै के मनाउने हो नयाँ वर्ष।

त्यस्तै एकान्तवासमा रहेका अर्का मित्र राजाराम बर्तौलाले यस्तो दूरालाप पोष्ट गरेः

तिमीसँग भएको दूरालापले

यो एकान्तवासको मौनता तोड्दै

तिमीसँग बिताएका पलहरूका

स्मृति झन् गाढा बनायो।

यी त प्रतिनिधि पोष्ट मात्र हुन् । लक–डाउनले धेरैलाई सृजनशील बनाएको छ । के थाहा ? यसले लक–डाउन साहित्यको रूप लिन पनि के बेर ?

मलाई पनि के सुर चल्यो कुन्नि ?  ‘लक–डाउनमा भर्च्युअल घुमघाम’ शीर्षकमा चन्द्रागिरीदेखि सराङकोटसम्मको भर्च्युअल घुमघाम विवरण लेखी टोपलेँ, जुन लोकान्तर अनलाइनमा छापियो पनि। कतिले पढे कुन्नि, त्यो त थाहा भएन तर केही पाठकहरूबाट भने चोटिलो प्रतिक्रिया प्राप्त भयो । जस्तो एकजना भाइले लेखेः

‘दाज्यू, तपाईँको ‘भर्च्युअल घुमघाम’ के विधा पर्‍यो? नियात्रा हो कि, आत्मालाप या निबन्ध ?’

मलाई के थाहा ? सोझो उत्तर दिएँ:

‘त्यस्तो केही होइन, लक–डाउन बसिबिँयालो ।’

सायद उनलाई चित्त बुझ्यो ।

अर्का आर्किटेक्ट मित्र दीपक पन्त जो पुरातात्विक सम्पदाको संरक्षणमा विशेष रुचि राख्छन्, उनले यस्तो लेखेः

‘तपाईँले पाटन दरबार स्क्वायरको सिद्धिनरसिंह मल्लको सालिकको टुप्पोको सुनको चरा भनेर जे लेख्नुभयो त्यो योगनरेन्द्र मल्लको सालिक हो ।’

लक–डाउन भन्दैमा अन्दाजको भरमा लेख्ने छूट त कसैलाई हुँदैन ।

लक–डाउनमा हामी धेरैको दैनिकी उस्तैउस्तै होला । जस्तो- ढिलो गरी उठ्ने, अल्छी मान्दै दैनिक नित्यकर्म गर्ने, तर जाँगर मानीमानी छिनछिनमा साबुनपानीले मिचीमिची हात धुने । त्यसरी हात धुन त अब बानी नै पर्न थालिसक्यो ।

त्यसैलाई विषय बनाएर मैले पनि फेसबूकमा ठोकें:

साबुनपानीले मिचीमिची हात धुँदा एक पत्र छाला गैसक्यो । तैपनि छाड्ने काम छैन ।

त्यो पोष्टले मिश्रित प्रतिक्रिया पायो । त्यसमध्ये मेरा श्रद्धेय हेडसर चीज श्रेष्ठको प्रतिक्रिया सबभन्दा घतलाग्दो थियो, जसमा उहाँले यस्तो लेख्नुभएको थियोः

‘कसैको त हातको रेखै मेटिन लाग्यो रे ।’

मैले तत्काल बुझिहालेँ त्यो वाक्य उहाँकै धर्मपत्नी हाम्री दिदी रेशम श्रेष्ठतिर लक्षित थियो । रेशम दिदीको साबुनपानीले हात मिचीमिची समय खेर फाल्ने बानी अहिलेदेखिको होइन, पहिल्यैदेखिकै हो । हामीलाई कहिलेकाहिँ छक्क पनि लाग्थ्यो । तर अहिले हेरिल्याउँदा लाग्छ उहाँ ठीक हुनुहुन्थ्यो, हामी गलत थियौं ।

केही समयअघि विद्वान लेखक जयराज आचार्यको आफ्नी आमाको संस्मरणात्मक लेख लोकान्तरमा नै पढ्ने मौका मिलेको थियो । चुँदी रम्घाजस्तो त्यतिखेरको एकलासे गाउँमा जन्मे हुर्के पनि उच्च संस्कार र सरसफाइको मामिलामा अत्यन्तै संवेदनशील उहाँको बानीबेहोरा सुन्दा अहिले हामीलाई त अचम्म लाग्छ भने त्यसबेला उहाँको घरपरिवार, छरछिमेक, गाउँठाउँकालाई कस्तो लाग्दो हो, अनुमान मात्र गर्न सकिन्छ । अपवाद नै भए पनि उहाँ शत-प्रतिशत सही हुनुहुन्थ्यो भन्ने त प्रमाणित भइसकेको छ ।

अपवादकै कुरा गर्दा स्वयं मेरो बुबाको दैनिकी पनि मलाई अपवादजस्तै लाग्छ । उहाँ हालै मात्र उनानब्बे वर्षमा प्रवेश गर्नुभयो । धेरैले हामी बाबुछोरालाई दाजुभाइ भन्ठान्छन् । गाउँठाउँको स्वच्छ हावा र शुद्ध ताजा खानाका कारणले होला उहाँको शरीरमा अहिले पनि अर्कै खालको स्फुर्ति छ, जुन मेरो पिलन्धरे जिउमा छैन । काठमाडौं आउनुहुँदा हामी बाउछोरा सँगै खान बस्दा उहाँ दूधभात स्वाद लिईलिई खानुहुन्छ, तर मैले किचकिच गरी खाएको मन पराउनुहुन्न । भन्नुहुन्छः

‘के चराको जस्तो आहार हो तेरो । पानीले पालेको मान्छे !’

हो, उहाँ र मेरो जिन्दगानीमा त्यही त फरक पर्‍यो । उहाँ शुद्ध दही, दूध खाएर हुर्किएको । म भने विद्यार्थी जीवनदेखि नै चौलानीको भरमा गुज्रिएको । अनि पानीले पालेको जस्तो नभए कस्तो होस् ।

धेरै कुरामा बुबा अपवाद नै हुनुहुन्छ । उहाँको स्वस्थ जीवनको रहस्य व्यायाम, प्राणायाम, योग आदि केही होइन । खाली काम नै हो । काम भएन भने उहाँलाई टाउको दुखिहाल्थ्यो । अहिले बुढेसकालमा शारीरिक काम गर्न उहाँलाई छूट छैन तैपनि एक ठाउँमा अडिएर कहिल्यै बस्न सक्नुहुन्न । बिहान एक गिलास दूध र घरमै बनाएको लिटो खाएर उहाँ दुई-तीन घण्टा गाउँ चाहार्न बेपत्ता । भातसात खाएपछि चौतारोमा बाघचाल खेल्न व्यस्त । बाघचालमा उहाँसँग नाति पुस्ताले समेत ह्याउ गर्न सक्दैनन् । बाघ लिए पनि, बाख्रा लिए पनि माथ गर्ने त बुढाले नै हुन्।

साँझ घरमा छिरेपछि मोबाइलमा व्यस्त । कहिले कसलाई कहिले कहाँ फोन घुमाइरहनुपर्ने । काठमाडौँ छँदा त झन् मोबाइलमा उहाँको व्यस्तता अझै बढ्थ्यो। नातिहरू आउँदा युट्युबमा नेपाली गीत हेर्न सुन्न सिकाइदिएछन् । उहाँलाई के चाहियो, नयाँ-नयाँ गीत सुनिरहनुहुन्थ्यो । यता म भने एक्लै किताब, पत्रपत्रिकाका पान्नामा आँखा डुलाई बसिरहेको हुन्थें ।

त्यस्तैमा कहाँबाट यो कोरोना भन्ने भष्मासुर जीवको उत्पत्ति भयो जसबाट हामी सबै लक–डाउनमा बस्न बाध्य भयौं । धन्न, राजधानीमा लक–डाउन शुरू हुन केही दिनअघि मात्र बुबा हाम्रो गाउँ गोर्खा जानुभयो । काठमाडौंमा हुनुभएको भए उहाँको बिजोग हुने रैछ, किनकि उहाँ घरभित्र थुनिएर बस्न सक्नुहुन्थेन । त्यसो त, गाउँघरतिर पनि लक–डाउनकै अवस्था हो, तर कमसेकम आफ्नो घरआँगन, नजिकैको खेतबारीसम्म हिँडडुल गर्ने त छूट छ ।

त्यसभन्दा पनि बढी फाइदा त घरको ताजा भैंसीको दूध थियो । तर त्यो भनेजति सहज थिएन, त्यसको पनि कथा छ । भाइबुहारी तेल भिसामा अमेरिका गएपछि बुबा बाध्य भएर काठमाडौं आउनुभयो । भएको दुहुनो भैंसी बल्लबल्ल कसैले पाल्न लग्ने भए । अहिले घर जाँदा भान्सामा सेतो झोल नहुँदा बुबाको गाँस छिरेन । केही समयका लागि भनेर भाटभटेनीबाट एक बट्टा धुलो दूध पठाइदिएको थिएँ, तर तेस्ले कति दिन चल्थ्यो र ?  गाउँघरमा सबैले गाईभैंसी पाल्न छाडिसकेका थिए, एक माना दूधसमेत किन्न पाइन्थेन ।

महिना दिन धाएपछि बल्ल एउटा दुहुनु भैंसी हाम्रो गोठमा छिरेछ । त्यो पनि नगद एक लाखभन्दा बढी । तर बुबा दूधले आँत भिजाउन पाउँदा एकदमै खुशी हुनुहुँदोरहेछ । त्यही भैँसीलाई घाँस, पराल गर्दै, उसकै आङ सुम्सुम्याउँदै दिन काट्नुहुन्छ । लक–डाउन भएको पत्तै पाउनुहुन्न ।

यता राजधानीमा हाम्रो कहर भने अर्कै छ । भन्न त जानीफकारहरू भन्छन्- पढ्ने, लेख्ने, आफूमा ध्यान केन्द्रित गर्ने यही बेला हो । तर भनेजस्तो कहाँ सजिलो हुनु नि ? किताब पल्टायो, पढ्नमा त्यति मन जाँदैन । पढ्नलाई पनि मुड हुनुपर्दोरहेछ, त्यो मुड कताबाट ल्याउनु खै ? बायोग्राफी, अटोबायोग्राफी, अन्तर्राष्ट्रिय सम्बन्ध, अर्थशास्त्र र कूटनीतिका किताबहरू एकाएक अर्थहीन हुन पुगेका छन् । त्यसमाथि त्यति धेरै चर्चित युभल हरारीको ‘21 lessons for the 21 Century’ जस्तो धेरै बिक्री भएको किताबमा समेत वर्तमान ग्लोबल प्यान्डेमिक (Global Pandemic) ले ठाउँ नपाउनु भनेको उदेग नै भएन र ?

टेलिभिजनको समाचारले झनै डिप्रेसन बनाउँछ । शुरूमा कोरोनाको कारण चीनमा केही सयको सङ्ख्यामा मानिसको मृत्युको कारणले भयभित बनाउँथ्यो भने त्यो सङ्ख्या अहिले एक लाख नाघिसक्यो । शुरूमा मानिसको मृत्यु एक संवेदनशील समाचार थियो भने अहिले मृतकको सङ्ख्या गन्ने काम भइरहेको छ । परिस्थितिले मानिसलाई यतिसम्म असंवेदनशील बनाउँदोरहेछ ।

असंवेदनशील त हाम्रा नेता र उच्चपदस्थ कर्मचारी र नाफाखोर व्यापारीको आचरणबाट पनि देख्न सकिन्छ । महामारीको यस घडीमा पनि मन्त्रीहरू सुकिलामुकिला लुगामा ढाकाटोपी ढल्काउँदै बैठक गर्न र पत्रकार सम्मेलनमा मात्र व्यस्त देखिन्छन् । जसरी चिनियाँ राष्ट्रपति सी चिनफिङ संकटग्रस्त वुहानका जनताको मनोबल उकास्न नीलो माओ सुटमा जनताको अघि देखा परे र जसरी बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन टेन डाउनिङ स्ट्रिटको ढोकामा उभिएर ब्रिटिश स्वास्थ्यकर्मीको हौसला बढाउन लामो समय ताली पिटिरहे, जसलाई सम्पूर्ण बेलायतबासीले एकै समयमा ताली पिटेर स्वागत गरे, खै त्यस्तो त यहाँ केही देखिएन त ! कोही मन्त्री, नेता टेकुस्थित कोरोना अस्पताल गएका छन् ? मलाई त थाहा भएन ।

तैपनि धेरै अर्थमा हामी नेपालीले आफूलाई भाग्यमानी ठान्नुपर्छ । विश्वभर आतंक फैलाइरहेको कोरोना नेपालमा त्यो ढंगले फैलिसकेको छैन । भर्खरै २ डिजिटमा संक्रमित भेटिएका छन् । हाम्रो भाग्य वा नेपालीको शरीरको आनुवंशिक गुणका कारण त्यो सङ्ख्या नबढोस् भन्ने हामी सबैको कामना छ, प्रार्थना पनि छ ।

मेरा मित्र विनोद श्रेष्ठले नेपालीमा भएको हर्ड युमिनिटी (Herd Immunity) को प्रसंग फेसबूकमा चलाइरहेका छन् । त्यो प्रमाणित भएमा त चमत्कारै हुने भयो । त्यसले स्वदेश र विदेशमा रहेका लाखौं नेपालीको प्राण रक्षा गर्ने थियो ।

त्यो त वैज्ञानिक अनुसन्धान र संभावनाको कुरा भयो, अहिलेलाई भने संयम गर्नुबाहेक हाम्रासामु अरू विकल्प छैन । लक–डाउन जतिसुकै बोरिङ भए पनि हामीले त्यसलाई पालना गर्नैपर्दछ । कारण कोरोना भाइरसलाई लकअप गर्ने सबैभन्दा प्रभावकारी उपाय त्यही रहेछ । बाँकी, वैज्ञानिकहरूले अहोरात्र अनुसन्धान गर्दै होलान् ।

प्रकृतिको नियमअनुसार सबै जीवको अन्त्य अपरिहार्य छ । कोरोनाको आयु पनि कति नै होला र ? तर अहिलेको महामारीले संसारलाई धेरै नै ठेस पुर्‍यायो । यहाँसम्म कि, न्युयोर्क टाइम्सका स्तम्भकार टमस फ्रिडम्यानले लेखेझैं संसार अब उस्तै हुने छैन- कोरोनाअघिको संसार (BC) र कोरोनापछिको संसार (AC) बिल्कुलै फरक हुनेछ । स्थापित मूल्य मान्यता, विश्व अर्थतन्त्र, भूमण्डलीकरण, विश्वव्यापीकरण, उदारीकरण, सामाजिक संरचना आदिमा व्यापक उथलपुथल आउने निश्चित छ ।

तसर्थ, हामी सबै कोरोनाअघिको संसार मात्र हैन, कोरोनापछिको संसारका लागि पनि तयार होऔं । नयाँ वर्ष २०७७ ले हाम्रो अर्जुनदृष्टि त्यतैतिर लाग्न प्रेरित गरोस् । शुभकामना !

हरिकुमार श्रेष्‍ठ
हरिकुमार श्रेष्‍ठ

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्