‘बारीमा तरकारी कुहिएको देख्दा रुन मन लाग्छ, १५ रुपैयाँमा लैदेऊ भनेर हात जोड्नुपरेको छ’

किसानहरू भन्छन्– लकडाउनको फाइदा उठाउँदै बिचौलियाले मोलमोलाइ गरे

सुशील पन्त
सुशील पन्त

लोकान्तरका समाचार सम्पादक सुशील पन्त समसामयिक राजनीति र संसदीय मामिलामा कलम चलाउँछन् । 

पृथ्वी राजमार्गस्थित धादिङको थाक्रे गाउँपालिकामा पर्ने ४ किलो भन्ने स्थानमा लगभग ३० जना किसान बारीको तरकारी बोकेर राजमार्गमा झरेका छन् ।

१३ वर्षका बालिकादेखि वृद्धसम्मले पसिना चुहाउँदै तरकारी राजमार्गमा ल्याइपुर्‍याएका छन् ।


Advertisement

कोरोना संक्रमण फैलिन नदिन सरकारले सामाजिक दूरी कायम गर्न आग्रह गरेपनि किसानलाई यसको पर्वाह छैन । 

‘बारीमा तरकारी कुहिएर हेरिसक्नु छैन, व्यापारीले तरकारी किन्दिएनन्, हरियोमा बेच्नु पर्ने काँक्रो बोटमै पाक्न थालिसक्यो,’ थाक्रेकी किसान अप्सरा सुवेदीले बारीमा पहेंलो भइसकेका काँक्रो देखाउँदै भनिन्, ‘हरियोमा भए यो काक्रो २०/२५ रुपैयाँ किलो जान्थ्यो, अहिले १५ रुपैयाँमा लैदेऊ भनेर व्यापारीलाई हात जोड्नु परेको छ ।’


Advertisement

गतवर्ष ७ क्विन्टल काँक्रो बेचेकी सुवेदीले यो वर्ष एक क्वीन्टल पनि बेच्न पाएकी छैनन् । ‘महंगो बीउ र ८० रुपैयाँ किलोको मल हालेर उत्पादन गरेको तरकारी १० रुपैयामाँ नबिकेर बारीमै सड्न थाल्यो, बारीमा हेर्दा रुन मनलाग्छ,’ उनले लोकान्तरमार्फत गुनासो गरिन् । 

बारीमा काउली, बन्दा, सिमी, काक्रो र फर्सी कुहिन लागेको उनले बताइन् । ‘तरकारी बेचेरै हामीले बालबच्चा पढाउने हो, तरकारी नबिक्दा हाम्रो दुःख कसले हेर्दिने हो ?’ उनले प्रश्न गरिन् ।
यहाँका किसानको मुख्य आयस्रोत तरकारी हो ।

अप्सरा सुवेदीको जस्तै पीडा छ, श्याम कृष्ण बिडारीको पनि । ‘यो फर्सी सानोमा टिप्न पाए २५ रुपैयाँ किलोसम्म जान्छ, छिप्पिएर यति ठूलो भयो अब १० रुपैयामाँ पनि लान मान्दैनन्,’ बिडारीले कलिलो र छिप्पिएको फर्सी हातमा देखाउँदै भने । किसानको बारीमा तरकारी भरिभराउ छ ।

लकडाउनको फाइदा उठाएर व्यापारीहरूले आफूहरूको तरकारी खरिद नगरेको उनले गुनासो गरे । ‘लकडाउनमा तरकारी बिक्दैन भनेर व्यापारीले मूल्य घटाएका छन्, किसानको रगत पसिना बेचेर बिचौलिया मोटाए, हामीलाई कसले राहत दिने ?’ बिडारीले गुनासो पोखे । किसानहरू सरकारले तरकारीको न्यूनतम समर्थन मूल्य नतोकिदिँदा समस्यामा पर्ने गरेको बताउँछन् ।

‘व्यापारीले जतिमा भन्यो त्यतिमा छाड्नु पर्ने बाध्यता छ,’ बिँडारीले भने । भारतबाट निर्वाद तरकारी आएपनि सरकारले नेपालका किसानलाई प्रोत्सहन गर्ने कार्यक्रम नल्याएकोमा उनीहरूको आक्रोश छ । 

‘महंगो बिउ, मल हालेर तरकारी उत्पादन गर्‍यो, बेच्ने बेलामा यस्तो हालत छ, खोइ हामीलाई अनुदान ?’ माया अधिकारीले प्रश्न गरिन्, ‘यही बाटोबाट भारतीय तरकारी बोकेका गाडी हिँडेको देख्दा हाम्रो मन कुडिन्छ ।’

लकडाउनका कारण अन्य सवारी चल्न नदिएपनि प्रशासनले तरकारी बोकेका सवारी साधनलाई निर्बाद गुड्न दिएको छ । धादिङबाट तरकारीको व्यापार गर्ने राजकुमार श्रेष्ठले काठमाडौं उपत्यकामा माग कमी भएका कारण तरकारी खरिद गर्न नसकिएको बताए ।

‘होटल, रेष्टुरेन्ट खुलेको भए तरकारीको माग धेरै हुन्थ्यो, अहिले त तरकारी पसल पनि सिमित खुलेका छन्, हामीले पनि माग भएमा त सप्लाइ गर्ने हो,’ उनले लोकान्तरसँग भने । 

यसबेला काठमाडौं आसपासमा धेरै तरकारी उत्पादन भएका कारण मूल्य घटेको उनले जिकिर गरे । धादिङ मलेखुमा तरकारी बिक्री गर्ने व्यापारीले पनि तरकारी बिक्न छाडेको गुनासो गरे ।  

बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष भुवन त्रिपाठीले आफूहरूको गाउँपालिकामा अहिलेसम्म किसानको तरकारी बिक्री भइरको बताए । 

‘हाम्रो गाउँपालिकामा तरकारी नबिकेर समस्यामा परेको गुनासो आएको छैन, व्यापारीलाई कृषकको तरकारी किनिदिन आग्रह गरेका छौं,’ त्रिपाठीले लोकान्तरसँग भने । 

पढ्नुहोस् यो पनिः

लकडाउनको 'नेपाली मोडल': बजारभरि भारतीय तरकारी, राजधानी आसपासकै कृषक तरकारी बेच्न नपाएर मारमा

थप तस्वीरहरू :

सुशील पन्त
सुशील पन्त

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्