‘ट्वाइलेट’ गर्ने पश्चिमी शैलीको समस्या कोरोनाले गर्‍यो उजागर, आचार–व्यवहारमा गम्भीर प्रश्न

विन्देश दहाल
विन्देश दहाल

विन्देश दहाल लोकान्तर डट् कममा अन्तर्राष्ट्रिय राजनीतिबारे लेख्छन् । 

कोरोनाभाइरस महाव्याधि फैलिएसँगै पश्चिममा प्रचलित व्यवहारका विषयमा प्रश्नहरू उठ्न थालेका छन् । अहिले सामाजिक तथा शारीरिक दूरी कायम गर्नुपर्ने बाध्यताले गर्दा एकअर्कालाई भेट्दा चुम्बन गर्ने र अँगालो हाल्ने काम त्याज्य ठहरिएको छ । अझै केही समय यस्तो सामाजिक दूरी कायम राख्नुपर्ने भनी स्वास्थ्यविद्हरूले बताएका छन् ।  

यससँगै पश्चिमी संस्कृतिमा प्रचलित मलत्याग विधिका विषयमा पनि प्रश्नहरू उठ्न थालेका छन् । पश्चिममा शौचालयभित्र मलत्याग गरेपछि सफा गर्नका लागि कागजको रोल उपयोग गर्ने गरिन्छ । महाव्याधि फैलिएसँगै अस्ट्रेलियामा ट्वाइलेट रोलका लागि एउटा पसलमा क्रेताहरूले झगडा गरेको भिडियो निकै चर्चित बनेको थियो । 


Advertisement

अन्य देशमा पनि मानिलले ट्वाइलेट पेपर भारी मात्रामा किनेको र पसलहरूले एकजनाले कतिसम्म किन्न पाउने भनी सीमा निर्धारण गरेका खबरहरू सार्वजनिक भएका छन् । पानीले मल सफा गर्ने पूर्वीय संस्कृतिमा हुर्केकाहरूलाई कागजका लागि भएको यस्तो झगडा अलि अनौठै लाग्छ । 

कागजले मल पुछ्दा पनि कोरोनाभाइरस फैलिन्छ भनी एकताका हल्ला चलेको भए पनि त्यसमा सत्यता नरहेको वैज्ञानिकहरूले बताएका छन् । तर मल पुछ्नका लागि कागजको उपयोग स्वास्थ्यका लागि अनि वातावरणीय दृष्टिले लाभदायक नरहेको पाइएको छ ।


Advertisement

विभिन्न अध्ययनहरूले देखाएअनुसार, शौचालयमा कागजको प्रयोगले अनावश्यक बढी पानीको खर्च गराउने गर्छ । यूएसए टुडे र द न्युयोर्क टाइम्समा प्रकाशित समाचारहरूमा उल्लेख भएअनुसार, ट्वाइलेट पेपर र वाइपहरूमा प्रयोग गरिएका सामग्री टुक्रिएर पानीमा घुलमिल हुन बढी समय लगाउँछन् र ढल तथा नाली जाम गराउँछन् । 

पोहोर साल अमेरिकाको साउथ क्यारोलाइनास्थित चार्ल्सटोनमा वाइप (भिजेको चिसो कागज) हरूले ढल थुनेपछि सफाइ कर्मचारीहरूलाई त्यो सफा गर्न निकै धौधौ परेको खबर आएको थियो । अनि फ्लोरिडामा शहरको ढलनिकासी नलीमा वाइपहरू बेस्सरी जम्मा भएपछि ८० हजार ग्यालन पानी खन्याएर बगाउनुपरेको थियो ।

त्यसो त मलत्यागपछि पानीले पखाल्ने देशहरूमा पनि फोहरमैला व्यवस्थापनमा समस्याहरू आउने गरेका छन् तर कागज उपयोग गर्ने देशहरूमा त्यसलाई टुक्य्राएर बगाउनका लागि अतिरिक्त पानी नष्ट गर्नुपरेको अध्ययनहरूले देखाएका छन् ।

अनि पानीको साटो कागज उपयोग गर्दा मलद्वारमा घस्रिएर बिमिरा आउने लगायतका समस्या पनि देखिने गरेका छन् । विज्ञहरूले सुक्खा ट्वाइलेट पेपरले मलद्वार पुछ्दा मल पूर्णतया सफा नहुने र त्यसको साटो कि त चिसो वाइप कि त पानीको फोहोरा (बाइडेट) उपयोग गर्न सल्लाह दिएका छन् । 

‘द बिग नेसेसिटी ः दी अन्मेन्सनेबल वर्ल्ड अफ ह्युमन वेस्ट यान्ड ह्वाई इट म्याटर्स’ शीर्षकको पुस्तकमा लेखक रोज जर्जले ट्वाइलेट पेपर मल सफा गर्न सक्षम नरहेको तर्क गरेका छन् । मानिसहरू मल सफा गरें भन्ठान्छन् तर उनीहरू फोहोरी मलद्वार लिएर हिँडिरहेका छन्, जर्जले लेखेका छन् । 

यसलाई आत्मसात गर्दै अमेरिकामा विल आई याम, विल स्मिथ र टेरेन्स हावर्ड लगायतका सेलेब्रिटीहरूले चिसो वाइप उपयोग गर्न सल्लाह दिएका छन् । सुक्खा ट्वाइलेट पेपर नै प्रयोग गर्ने हो भने कमोडमा पानीको फोहरा जडान गर्न र त्यसले पेपर भिजाएर मलद्वार पुछ्न विज्ञहरूको सुझाव छ । स्पेन, इटली, ग्रीस र जापान लगायतका मुलुकमा कमोडमा फोहरा जडान गर्ने प्रचलन बढ्दै गएको देखिन्छ । 

अनि सुक्खा कागजले बेस्सरी मलद्वारमा घोट्दा एइनल फिसर र हेमोरोइड्स जस्ता स्वास्थ्य समस्या आउने पनि स्वास्थ्यविद्हरूले चेतावनी दिएका छन् । एइनल फिसर भन्नाले मलद्वार दर्फरिने र रगत आउने तथा मलत्याग गर्दा पीडा हुने समस्या हो । अनि हेमोरोइड्स भनेको मलद्वारका नसा तथा कोशिकाहरू सुन्निनु हो । यिनीहरू फिसरभन्दा बढी गम्भीर समस्या हुन् र यिनको उपचार पनि अलि कठिन हुन्छ । 
पानीले मल पुछ्ने व्यक्तिहरूमा यस्तो समस्या हुँदैन । 

अनि पश्चिमा र तिनको अन्धानुकरण गर्ने पूर्वीयाहरूले शौचालयमा उपयोग गर्ने कमोड पनि स्वास्थ्यका लागि लाभदायक नरहेको अध्ययनहरूले देखाएका छन् । ‘गट’ शीर्षकको पुस्तकमा जुलिया एन्डर्स, जिल एन्डर्स र डेभिड शले कमोडमा मलत्याग गर्ने मानिसमा पेट तथा मलद्वारका अनेकौं समस्या आइलाग्ने तथ्य प्रस्तुत गरेका छन् । 

उनीहरूले इजरायलमा गरिएको एक परीक्षणको हवाला दिएका छन् । डोभ सिकिरोभ नामक चिकित्सकले गराएको परीक्षणमा स्वयंसेवीहरूले पूर्वीय शैलीका ट्वाइलेटमा टुक्रुक्क बसेर मलत्याग गर्दा छिटो पनि हुने गरेको अनि आनन्दको अनुभव पनि गरेको तर पश्चिमी शैलीको कमोडमा बस्दा मलत्याग गर्न बढी समय लागेको र अलिक गाह्रो अनुभव गरेको पाए । 

कमोडमा मलत्याग गर्न यसरी लामो समय लाग्ने भएकाले मानिसहरू समय कटाउन पत्रिका वा किताब पढ्ने गर्छन् । तर शौचालयमा यसरी किताब र पत्रिका लैजाँदा कीटाणुहरू तिनमा सरेर झन् रोग फैलाउने सम्भावना रहन्छ । सनातनी संस्कृतिमा पुस्तक र ज्ञानका कुनै पनि साधनलाई उच्च सम्मान दिइन्छ, त्यसैले शौचालयमा पुस्तक लैजाने व्यवहार नै निन्दनीय ठहर्छ । 

अनि हाम्रो शरीरको मलत्याग संयन्त्रको बनोट नै थुचुक्क अडिएर नभई टुक्रुक्क बसेर गर्ने खालको भएको लेखकत्रयको तर्क छ । 

त्यसैले आजकल विज्ञहरूले कमोडमा बस्दा मलद्वारलाई अलिक अग्लो पोजिसनमा राख्न सल्लाह दिने गरेका छन् । त्यसका लागि कमोडको अघिल्तिर एउटा टेको बनाउन उनीहरूको सुझाव छ । त्यो टेकोमा गोडा राखेर मलद्वारलाई कमोडबाट अलिकति माथि उचाल्दा आन्द्रा र मलद्वारका नसाहरूमा अतिरिक्त दबाब पर्दैन । तर कमोडमा थुचुक्क बसेर मलत्याग गर्दा कन्नुपर्ने हुन्छ र नसा तथा कोशिकामा दबाब पर्न जान्छ । 

दिनदिनै यसरी नसामा दबाब पार्दा हेमोरोइड्स, पाचनक्रियामा समस्या आउने रोग डाइभरर्टिक्युलिटस र कब्जियतका समस्या आइलाग्छन् । यस्ता रोगहरू कमोड प्रयोग गर्ने देशका जनतामा बढी देखिने गरेको छ । कमोडमा कन्दा उनीहरूको आँतमा अति बढी दबाब पर्ने गरेकाले यस्ता रोगहरू देखिने गरेको ‘गट’ नामक पुस्तकमा उल्लेख गरिएको छ । 

टुक्रुक्क बसेर मलत्याग गर्ने काम परापूर्वकालदेखि नै चलिआएको हो । कमोडको चलन चाहिँ १८औं शताब्दीको अन्त्यतिर घरभित्रै शौचालय बनाउने चलन भित्रिएसँगै आएको हो । 

जुली एल होरानको पुस्तक ‘द पोर्सेलेन गड ः अ सोसल हिस्ट्री अफ द ट्वाइलेट’मा उल्लेख भएअनुसार, फ्लश गर्ने ट्वाइलेटको आविष्कार सन् १५९६ मा बेलायतका सर जोन ह्यारिङटनले गरेका हुन् । तर सन् १७७५ मा बेलायती आविष्कारक अलेक्जेन्डर कमिङले फ्लश कमोडको पेटेन्ट दर्ता गराएका हुन् । १९औं शताब्दीको अन्त्यतिर लन्डनका प्लम्बर टमस क्य्रापरले फ्लशयुक्त कमोडको बिक्री बढाएका हुन् । अंग्रेजीमा दिसाका लागि प्रयोग हुने शब्द क्य्राप उनैको थरबाट प्रचलित भएको हो । सहजताका लागि भनेर बनाइएको कमोडले स्वास्थ्य समस्या ल्याउने गरेको थाहा भएपछि अहिले चाहिँ यसलाई सुधार्नुपर्ने माग उठिरहेका छन् । 

घुँडालाई नितम्बमाथि पारेर अर्थात् टुक्रुक्क बसेर गरिने मलत्यागको पक्षमा हिजोआज पश्चिमाहरू उभिन थालेका छन् । स्क्व्याटी पोट्टी अर्थात् टुक्रुक्क बसेर मलत्याग गर्नुपर्ने अभियान अहिले लोकप्रिय हुँदै गएको छ । 

यसरी दुईसय वर्षदेखि चलनमा रहेको पश्चिमी मलत्याग संस्कृतिमा प्रश्न उठ्न थालेका छन् । आधुनिकतामा नाममा पश्चिमी संस्कृतिको अन्धानुकरण गर्नेहरूले यस तथ्यलाई मनन गर्न जरूरी देखिन्छ ।

एजेन्सीहरूको सहयोगमा 

विन्देश दहाल
विन्देश दहाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्