कोरोनाले गाउँमा अनौठा नियम : झोलुङ्गेपुलमा भोटेताल्चा, आपतै परे पुलको बीचमा गफगाफसम्म

राजमार्गको भित्तामा ‘गो कोरोना’

यदि तपाईं कुनै काम विशेषले धादिङ, गोरखा र चितवन जिल्लाका ग्रामिणबस्तीहरूमा पुग्दै हुनुहुन्छ भने अहिलेलाई यात्रा रोक्दा नै उचित होला । अति नै विशेष काम परेको छ भने फोनबाटै सल्ट्याउने प्रयास गर्दा उपयुक्त हुन्छ, किनभने यी ३ जिल्लाका कतिपय ग्रामिण बस्तीमा प्रवेश गर्न सहज छैन ।

अझ तपाईं पुलको प्रयोग गरेर वारिबाट पारि वा पारिबाट वारि आउजाउ गर्ने अवस्थामा हुनुहुन्छ भने त योजना नै हाललाई स्थगित गर्नुहोस् ।


Advertisement

कोरोना भाइरसका कारण ग्रामिण भेगका नागरिक कतिसम्म त्रसित छन् ? यो रोगबाट बच्न मानिसहरू कस्तासम्म जुक्ति लगाइरहेका छन् ? दिन कसरी कटाइरहेका छन् ? छिमेकीबीचको व्यवहार कुन हदमा टाढिँदैछ ?

हाम्रो स्थलगत रिपोर्टिङले माथिका केही प्रश्नको जवाफ भेट्टाएको छ । सामान्य अवस्थामा अति नै व्यस्त रहने पृथ्वी राजमार्गको दायाँबायाँका बस्तीहरूमा (त्रिशूली वारि र पारिका बस्तीसमेत) कारोनाबाट बच्न रोचक र अनौठा रणनीतिहरू अपनाइएको भेटिएको छ ।


Advertisement

चितवनको इच्छा कामना गाउँपालिकास्थित चुम्लिङटार र गोरखाको गण्डकी गाउँपालिकाको बुटार जोड्ने त्रिशूली नदीमाथिको झोलुङ्गे पुलको बीच भागमा अस्थायी ढोका बनाएर ताल्चा ठोकिएको छ । पुलको वारि चितवनपट्टि दुई व्यक्ति पुलमा उभिएका छन् । 

ढोकाको साँचो गोरखा जिल्ला पट्टिका व्यक्तिसँग छ । 

‘ससुराबा बिरामी छन्, उनलाई भेट्न जान लागेको । ढोका खोल्न लगाएको छु । एकछिनमा आउँछन्,’ आफ्नो थर नबताउने उत्तमले आइतवार दिउँसो साढे ४ बजेको समयमा लोकान्तरसँग भने ।

उनले थपे, ‘एक हिसाबले ठीक पनि छ । राति पनि मान्छे आइरहेका छन् । उनीहरू थाहै नदिई घर पुग्न थालेपछि पुलमा बार लगाउनु परेको हो ।’ 

भारतीय सेनामा काम गर्ने तथा भारतमा अन्य रोजगारीमा रहेका व्यक्तिको बाहुल्यता रहेकाले भारतबाट फर्केका व्यक्तिहरू गाउँपालिकासँग सम्पर्क गरेर आउन् भन्ने उद्देश्यले झोलुङ्गे पुलहरूमा ताल्चा मारिएको स्थानीयले बताए । 

इच्छाकामना ३ चुमखोलाका व्यवसायी विजय श्रेष्ठले ताल्चा ठोकेर अवरोध गर्दा मान्छे आवतजावत गर्न अप्ठ्यारो परेको बताए । 

‘रोग बोकेर आएको व्यक्ति गाउँ पस्न नपाओस् भनेर यस्तो गरिएको हो,’ कोही बिरामी परे या तरकारी ल्याउने बेला खोल्दिने सल्लाह भएको छ,’ श्रेष्ठले लोकान्तरसँग भने ।

त्रिशूली नदी पारिका अधिकांश मानिस दैनिक उपभोग्य सामग्री लिनका लागि राजमार्गमा आउने गरेका थिए ।

‘यस्तो त न कहिल्यै देखिएको थियो, न भोगिएको,’ चुमखोलका स्थानीय झम्कबहादुर थापा मगरले लोकान्तरसँग भने, ‘मनभरि त्रास लिनुभन्दा जुक्ति त लगाउनै पर्‍यो । के गर्ने, कतिबेला को आएर गाउँ पस्छ, ठेगान छैन । पुलमा ताल्चा लगाउनाले पारिपट्टिका साथीहरूलाई अलि बढी मार परेको छ ।’

चितवनको फिस्लिङदेखि कुरिनटारसम्मका त्रिशूली नदीमाथिका सबै झोलुङ्गे पुल अहिले यसैैगरी सील गरिएका छन् । कोरोना संक्रमित वा संक्रमणको उच्च जोखिममा रहेका व्यक्तिहरू सहजै गाउँ प्रवेश नगरून् भन्नका लागि झोलुङ्गे पुलमा यसरी ताल्चा मारिएको  स्थानीयको भनाइ छ ।  


‘एउटा चाबी त हामीलाई दिएको भएपनि हुने नि ! इमर्जेन्सी पर्‍यो भने के गर्ने ? ल फोन गरेर ताल्चा खोल भनौंला रे, त्यही बेला उताकाले फोन उठाएन भने ?’ चुमखोलाकै स्थानीय युवा एसिन श्रेष्ठले प्रश्न गरे ।

चुमखोलाकै स्थानीय सबिना मियाँलाई चाहिँ पुलमा ताल्चा मारेर बन्द गरिएको घटनाले खासै छोएको रहेनछ । 

‘खोइ दाइ पुलमा ताल्चा मारेका त छन्, तर म त त्यति बुझ्दिनँ,’ उनले भनिन्, ‘यहाँ कुरा भएको सुन्दा हाम्रै सुरक्षाका लागि हो भन्ने बुझिन्छ ।’

दाह्रेचोकदेखि गोरखाको शहीद लखन थापा गाउँपालिकाको ठेगुवाटार जोड्ने झोलुङ्गे पुलमा काठका मुडादेखि सिउँडीका काँडा राखेर तारले बारिएको छ ।  

‘लकडाउन खोलेर स्थिति सामान्य नहुँदासम्म यो नखोल्ने भनेका छन् । कोही आफ्नो मान्छे आयो भने फोन गरेर ढोका खोल्न लगाउँछन्, नयाँ नौलो व्यक्तिलाई भने रोक्छन्,’ दाह्रेचोकका स्थानीय भक्तबिलास सिलवालले लोकान्तरसँग भने । 

कसैलाई भेट गर्नैपर्‍यो भने पुलको बीचमा गएर आमनेसामने भएर कुराकानी हुने गरेको सिलवालले जानकारी दिए ।

‘कसैलाई त फोन गरेर पनि काम पुग्दैन, भेट्नै पर्ने पनि हुन्छ । केही सामान दिनेलिने पनि हुन्छ,’ सिलवालले थपे, ‘त्यस्तो अवस्थामा चाहिँ पुलको बीचमा (जहाँ ताल्चा मारिएको छ वा अस्थायी वार लगाइएको छ) सम्म पुग्ने । एकअर्कासँग कुराकानी गर्ने र फर्कने गरेका छौं ।’ 

गोरखाको शहीद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगरले गाउँमा कोरोनाको संक्रमण फैलिन नदिनका लागि पुल बन्द गरेर लकडाउन गरिएको बताए । 

‘मान्छेको आवत–जावत बढी भयो भनेर स्थानीयकै पहलमा पुल बन्द गरिएको हो । टोल विकास समिति र क्लबले निगरानी गरिरहेका छन्, रागिनास प्रहरीचौकीले पनि अनुगमन गरेको छ,’ अध्यक्ष थापाले लोकान्तरसँग भने, ‘अति आवश्यक काम भएका र पास भएकालाई आवत–जावत गर्न दिएका छौं । अनावश्यक आवत–जावत रोक्नका लागि पुलमा ताल्चा लगाउनुपरेको हो ।’

गाउँपालिकाले काठमाडौं र नारायणघाटबाट आएका १३ जनालाई सामूहिक क्वारेन्टाइनमा राखेको अध्यक्ष थापाले जानकारी दिए । मनकामाना माविमा ३ जना, जलदेवी माविमा ४ जना  र हिमालय माविमा ६ जनालाई क्वारेन्टाइनमा राखिएको उनले बताए । 

नेपाल–भारत सीमाको बेलहिया नाकाबाट उद्धार गरेर ल्याएका ३ जनालाई १४ दिनको क्वारेन्टाइन पूरा गराएर वैशाख ५ गते घर पठाइएको अध्यक्ष थापाले जानकारी दिए । 

‘भारतमा दुर्घटनामा परेर खुट्टा भाँचिएका बिरामी बेलहिया नाकामा आएका रहेछन् । उनीहरूलाई एम्बुलेन्समार्फत उद्धार गरेर ल्यायौं र मनकामना आरुबोटको बालज्योति प्राविमा राख्यौं । स्वाब परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि घर पठायौं,’ उनले थपे । 

शहीद लखन थापा गाउँपालिकामा ६० प्रतिशत जनसंख्या मगर समुदायको रहेको र उनीहरू भारतीय सेनामा काम गर्ने भएकाले भारतबाट आउने जो कोही व्यक्ति लुकेर नआउन भन्नका लागि गाउँपालिकाले लकडाउनलाई प्रभावकारी बनाएको उनले बताए । लकडाउनलाई प्रभावकारी बनाउने जुक्ति स्वरूप पुलमा ताल्चा वा वार लगाइएको उनको भनाइ छ । 

...त्यसपछि गाउँले ताते 

लकडाउन लागू भएको केही दिनसम्म ती झोलुङ्गे पुलहरूमा त्यसरी बार लगाउने वा ताल्चा मार्ने काम भएको थिएन । बारीका बासिन्दा पारि र पारिका वारि आउनेक्रम जारी नै रह्यो । 

‘जब भारतबाट आएकाहरूमा कोरोना भाइरस भेटियो भनेर खबरहरू आउन थाले तब यहाँका गाउँबस्तीका मानिसहरू सचेत हुन थाले,’ भक्तविलास सिलवालले थपे, ‘यी गाउँबाट भारत, साउदी अरब र अन्य देशमा गएकाको संख्या ठूलै छ । तिनै देशबाट आएकालाई कोरोना लागेको भनेर प्रचार बढी हुन थालेपछि हामी स्थानीयहरूले यस्तो जुक्ति लगाएका हौं ।’

उनका अनुसार मानिसहरू राति–राति ती बस्तीमा आउने, पुल तरेर वारिपारि पुग्ने गरेको पाइएको थियो । त्यस्तो गतिविधि देखेपछि पुल नै सील गरिएको उनको भनाइ छ । पुल सील गर्न प्रशासन नभई स्थानीय नै जुटेका थिए ।

कोही बिरामी पर्‍यो र अचानक अस्पताल दौडाउनुपर्‍यो भने ? लोकान्तरको यो प्रश्नमा स्थानीयको जवाफ एउटै थियो– त्यस्तो अवस्था आयो भने पुलमा अस्थायी गार्डका रूपमा रहेका स्थानीलाई फोन गर्ने, कारण बताउने र ताल्चा खोल्न लगाउने ।

ल ताल्चा त खुल्ला, तर पुलको बीचमा यति दह्रोसँग लगाएको बारचाहिँ खोल्न समस्या हुँदैन ? त्यो बार खोल्दाखोल्दै कुनै बिरामीलाई रोगले च्याप्यो भने ? लोकान्तरको यो दोस्रो प्रश्नमा पनि स्थानीयले यस्तो जवाफ दिए, बिरामी घरबाट निकाल्नुअघि नै पुलुको गार्डलाई खबर गर्ने, सबै मिलेर बार भत्काउने ।

हामीले त्रिशूली नदी वारिपारिका बासिन्दा (जसले पुलमा बार वा ताल्चा लगाएका छन्) लाई तेस्रो प्रश्न पनि सोध्यौं, यदि कोही विदेशबाट आयो र पुलबाट नभई पौडी खेलेर नदी तर्‍यो अनि गाउँ छिर्‍यो भने ?

हाम्रो यो प्रश्न सुनेपछि चाहिँ कुराकानीका क्रममा भेटिएका स्थानीयहरू एकछिन गलल्ल हाँसे ।

‘अब यो भेल (केही दिनयताको वर्षाका कारण बाढी आएको त्रिशूली नदीलाई देखाउँदै) मा पनि कसैले पौडी खेलेर, ज्यानकै बाजी थापेर नदी पार गरेर गाउँ पस्न खोज्छ भने त्यस्तासँग सकिन्न । तर गाउँमा कोही नयाँ आएको भेटायौं भने उसलाई क्वारेन्टाइनमा राख्न पालिका वा वडा कार्यालयलाई खबर गरिहाल्छौं ।’    

राजमार्ग छेउका होटल र बस्तीमा अनौठा दृश्य

लकडाउनका कारण पृथ्वी राजमार्गको सडक छेउका होटलहरूले आफ्नो पसल, आँगन या घरअगाडि गाडी पार्किङ नगरुन्, मानिस सिधै प्रवेश नगरुन् भनेर काठ–दाउरा र ढुंगामुडाले बार लगाएका छन् । लकडाउनको समय लम्बिदै जाँदा निसास्सिएको अनुभव भइरहेको सर्वसाधारणहरूले बताए ।

‘राजमार्गमा यात्रा गरिरहेका कसैले पनि यहाँ सवारी नरोकुन् । रोकेपनि टाढै रहुन् । नजिक आउन नसकुन् भनेर यस्तो गर्नुपरेको हो,’ आफ्नो बन्द होटल अगाडि मुढा, झ्याङ र डोरी बाँधेकी बेनीघाटकी सीता त्रिपाठीले भनिन्, ‘के गर्ने त्रासबाट त जोगिनैपर्‍यो नि !’ 

कोरोना संक्रमण फैलिन नदिन सरकारले बन्दाबन्दी (लकडाउन) को समय बढाएपछि धादिङ र गोरखाका स्थानीय पसले या कृषकले दैनिक कामकाज ठप्प भएको गुनासो गरे । 


पृथ्वी राजमार्गको कृष्णभीरमा राखिएको सानो बोर्डले चाहिँ मानिसहरू कोरोनासँग कति रिसाएका रहेछन् भन्ने संकेत गर्थ्यो ।

कृष्णभीर शुरू हुनासाथ भित्तापट्टि टाँगिएको सानो साइनबोर्डमा लेखिएको छ, ‘गो कोरोना !’

विमल गौतम/सुशील पन्त
विमल गौतम/सुशील पन्त

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्