कोरोना संकटका बेला समाज यतिसम्म क्रूर किन ?

  • प्रकाश सुवेदी

कास्कीको रुपा गाउँपालिका–७ (साविकको हंसपुर–९) मेरो स्थायी घर हो । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसले नेपालमा पाइला टेक्नासाथ मैले मेरा २ छोरी र श्रीमतीलाई गाउँमा पठाएँ ।


Advertisement

एकातिर काठमाडौंमा कोरोनाको सन्त्रास अर्काेतिर ४ कक्षामा पढ्दै गरेकी छोरीको अन्तिम परीक्षा सकिएपछि वर्षभरको अत्यास मेट्न गाउँ जाने चाहना पूरा गराउन भएपनि परिवारलाई गाउँमा पठाउनु मेरो बाध्यता र छोरीको रहर दुवै  थियो ।

विश्वका अरू देशमा भएसँगै नेपालमा पनि लकडाउन भएको १ महिना  भइसक्यो । यतिबेला सरकार र प्रशासनले निकै कडा बनेको अभिनय गरेका छन् । हामी पनि अभिनय नै सही भन्दै आज्ञाकारी सन्तानझैं आफ्नै कोठाभित्र थुनिइरहेका छौं । अरूले थुनिन्जेल गाह्रो हो तर स्वयंलाई मनाएर थुनिन त्यति कहर जस्तो लागेको छैन मलाई र सायद म जस्ता अरूलाई पनि ।


Advertisement

मेरो हकमा कुरा गर्दा अलिअलि अत्यास नलागेको भने हैन तर पनि यो समय केही महत्त्वपूर्ण पुस्तक पढ्दै, केही राम्रा नेपाली र हिन्दी चलचित्र हेर्दै, वर्तमानको समस्याबारे सन्देशमूलक गीत लेख्दै र त्यसको रेकर्डिङ कार्य गराउँदै सिर्जनशील काममा खर्चिएको छु । साँच्चैभन्दा समयलाई राम्रै सदुपयोग गरेको छु र समाजलाई केही दिने प्रयास पनि । 

यसबीच आमा, श्रीमती, छोरीहरू र परिवारका अन्य सदस्यको  घरमा आउन बारम्बारको आग्रह वा बोलावट भइरहँदा अलि सहज भएपछि आमा र गाउँका बुढापाकालाई पनि भेटिन्छ भन्ने मनमनै मनस्थिति नबनाएको पनि हैन ।

अहिले आएर देशको स्थिति असहज भएको छ । सरकार बन्दाबन्दीलाई झनै कडा बनाउँदैछ र जनतालाई सम्भावित रोगले भन्दा आफ्नै आँखा अगाडि आएको भोकले जितेको छ र भोकले मर्नभन्दा रोगैले मरौंला भन्दै हप्तौं हिँडेरै भएपनि आफ्नो मूल गाउँघर जानका लागि कष्टकर यात्रा हिँडिरहेका छन् ।

प्रधानमन्त्रीले सबैलाई राहत दिलाउने भनेपनि समुचित तवरले बाँडफाँड हुन सकेको छैन र त्यो केवल ओठेभक्तिभन्दा अरू केही देखिँदैन । साँच्चै भन्दा गरीब र मजदुरको लागि न शहर आफ्नो भएको छ, न सरकार । वास्तवमा उनीहरू राज्यविहीन र अभिभावकविहीन छन् ।

वर्षाैं गाउँ नटेकेका मान्छेहरू अहिले गाउँमा पुगेर खेतबारी खोस्रिन थालेका छन् । यसमा पनि कतिपय त सामाजिक सञ्जालमा फोटो राख्नको लागि अभिनय गरिरहेका छन्, त कतिले पछि आउने सम्भावित समस्या टार्न र जीवन धान्नका लागि यथार्थपरक अभिनय गरेका छन् । यथार्थपरक अभिनयका तस्वीरहरू भने सामाजिक सञ्जालमा देख्न पाइँदैन । किनकि यथार्थवादीहरू कहिल्यै ढोंगी हुँदैनन् ।

भर्खरै ३ वर्ष मात्र पार गरेकी सानी छोरीको बारम्बार बाबा हजुर कहिले आउने ? हामीलाई अत्यार लाग्यो भन्ने वाक्यले मलाई पनि अत्यार नलागेको भने हैन । जन्मिएदेखि हरेक दिनसँगै रहेको आफ्नो बुवा १ महिनासम्म टाढिँदा उनलाई अत्यास लाग्नु पनि स्वाभाविक हो तर कैयौं छोरीहरू छन्, जसले आफ्नै बुवाको आवाज मात्र सुनेपनि प्रत्यक्ष अनुहार देख्न पाएका छैनन् ।

आज बिहान मलाई छोरीको फोन राख्नासाथ बालसखा र सहपाठीको समेत फोन आयो । अब मेरो अभाव र चिन्ता मेरी सानी छोरीलाई जस्तै गाउँमा समेत हुन थालेछ भन्ने सोच्दै फोन उठाएँ तर यतिबेलाको संवाद अपेक्षा गरेकोभन्दा अलि पृथक थियो ।

गाउँमा कसैले म लगायत केही काठमाडौं बस्ने साथीहरू लेखनाथको तालचोक आएका छन् भन्ने हल्ला सुनाएको हुनाले हाम्रो उचित व्यवस्थापनको लागि खासखुस चलेछ र कुनै पनि हालतमा गाउँमा छिर्न दिन हुँदैन, तुरुन्त जताबाट आएका हुन्, त्यतै फिर्ता गर्नुपर्छ भन्ने निर्णय सुनाउन मेरो साथीलाई अह्राइएको रहेछ । म त प्रतिनिधि पात्र मात्र ।

अहिले यो समस्या भनौं कि बाध्यता विश्वभर नै छ । कस्तो बिडम्बना ! २०७२ वैशाखको भूकम्पका बेला किन काठमाडौं बस्छस् गाउँमै आइज भन्ने आफन्त र दाजुभाइहरू नै अहिले तँलाई गाउँमा निषेध छ भन्नुपर्ने विवशतामा छन् । 

यो बेलाको उहाँहरूको निर्णयलाई म आलोचनात्मक तरिकाले सम्मान गर्दैगर्दा पनि मनमा धेरै प्रश्नहरू उब्जिएका छन् । के यो कोरोनाले गर्दा मानवीयता हराएकै हो त ? के अब हाम्रो समाज क्रूर भएकै हो त ? मेरो त काठमाडौंमा डेरा छ र अझै २–३ महिनासम्म यहीँ रहन सक्छु ।

के परदेशिएका युवालाई त्यहाँको सरकारले जबरजस्ती पठाइदियो भने गाउँमा छिर्ने नाका बन्द हुन्छ त ?  हामी कडा बन्दै गर्दा कतै आत्मकेन्द्रित, क्रूर र स्वार्थी त बनेका  छैनौं ? यदि म साँच्चै तालचोक पुगेको भए मैले मेरै गाउँमा टेक्न नपाउने अवस्था नै हो त ? आफ्नै घरको ढोका बन्द भयो भने ती राजमार्गमा लाम लागेर घर जान भनेर हिँडेका मजदुरहरू कहाँ जाने ? 

हाम्रो आफ्नै अवस्था र छिमेकी देशको परिस्थिति हेर्दा बन्दाबन्दी थप लम्बिने निश्चित नै छ र आवश्यकता पनि । तर यसको समूचित व्यवस्थापन हुन सकेन भने हामीले झनै ठूलो दुर्घटना र दुर्दशा व्यहोर्न बाध्य हुनेछौं । यसको उपचारका लागि केन्द्र सरकारले केही निश्चित कार्यक्रम ल्याउनु अनिवार्य छ ।

जस्तो कि प्रधानमन्त्री रोजगार कोषमा रहेको तर खर्च गर्न नसकिएको पैसालाई राहत कोषमा राखेर सही परिचालन गर्न र प्रत्येक मजदुरलाई निश्चित पैसा दिन सकिन्छ भने अन्य आर्थिक र सामाजिक प्याकेज गर्न ढिलाइ गर्न हुँदैन । विभिन्न शहरमा बसेका र अभावले आफ्नो गाउँघर जान चाहनेलाई व्यवस्थित तरिकाले पुर्‍याउनुपर्छ ।

प्रदेश र स्थानीय सरकारले पनि आफ्नो क्षेत्रका नागरिक कहाँ–कहाँ छन् पहिचान गरेर घर फिर्न चाहेमा आफ्नै गाउँमा स्वागत गर्न पनि सक्नुपर्छ । नत्र आत्मप्रचारको लागि बाँडिएको राहत र समाजसेवाको कुनै अर्थ छैन । राज्यले दिने सूविधा समाजसेवा नभइकन आफ्नो दायित्व पूरा गरेको आभास सम्बन्धित पक्षलाई दिलाउन सक्नुपर्छ ।

अप्ठ्यारोमा नै हो सरकार र समाज चाहिने । सजिलोमा त व्यक्ति स्वयं सबल हुन्छ । स्थानीय तहले पुल र सडकमा बार लगाएर निषेध हैन, बरु सुरक्षित तरिकाले आफ्ना नागरिकलाई स्वागत गरेर अभिभावकत्वको आभास दिलाउनुपर्छ । निषेधभन्दा स्वागतमा समाधान छ ।

कमेन्ट गर्नुहोस्