काठमाडौंमा भौँतारिएका मजदुरको पीडा : ‘बरू कोरोनाको औषधि होला, भोकको औषधि रहेनछ'

लकडाउनले निसास्सिएको भन्दै मजदूर मात्र होइन सर्वसाधारण पनि घर हिँड्न थाले

सुशील पन्त
सुशील पन्त

लोकान्तरका समाचार सम्पादक सुशील पन्त समसामयिक राजनीति र संसदीय मामिलामा कलम चलाउँछन् । 

‘रोग लाग्या छ, परानै भाग्नुस्, परानै बचाउनुस्, नाङ्गो भोको घरमै बाचौंला भनेर बुढियाले भनिन्, त्यसपछि घर जान हिँड्यौं,’ दैलेखको दुल्लुका ६१ वर्षीय बालाराज खड्कालाई कतिबेला घर पुगौंला र घर परिवारसँग भेटौंला भन्ने हुटहुटीले सताएको छ ।

६ छोरी र २ छोरासहित ८ सन्तानका बुवा बालाराजका नातिनातिना पनि भइसके तर उनलाई मजदुरी कामबाट छुटकारा पाइएको छैन । ‘सासंदहरूले गाडी मिलाइदिए, अब घर पुगिन्छ भन्ने आश पलाएको छ,’ खड्काले भने ।


Advertisement

दैलेखबाट चैत ५ गते काठमाडौंका लागि हिँडेका बालाराज र मोतिराम थापाले जम्मा २ दिन काम गर्न पाए । ‘९ र १० गते काम गर्‍यौं, ११ गतेदेखि त बन्द भयो, भेडाबाख्राझै खोरभित्र बस्यौं,’ थापाले भने । 

दैलेखकै ठेकेदारमार्फत काठमाडौं आएका उनीहरूले कहिले नैकाप, कहिले ललितपुरमा फास्ट ट्रयाकको काम गरे ।


Advertisement

‘५ जना एउटै कोठामा बस्यौं, हामी त घरबाहिर निस्कन नपाएर निसास्सिएका थियौं, अहिले जेलबाट छुटेजस्तै भयो,’ मोतिरामले भने ।

मोतिराम र बालाराजका समस्या आमनेपाली गरीबका कथासँग मिल्दाजुल्दा छन् ।

‘एउटा छोरो उता कतारमा अलपत्र पर्‍यो, अर्को बम्बईमा छ, यता कामविहीन भएँ, घरमा बुढियाले चिन्ता गरिरा’छ,’ आइतवार साँझ कलंकीमा भेटिएका मोतिरामले लोकान्तरसँग भने, ‘बुढियाले केहीगरि बाँचिकन आउनुस्, यही कोदो–मकै कमाएर खाउला भनिन् । खान नपाइ मर्नुभन्दा त घरमा सबैको मुख देखौला भनेर हिँडेको ।’

कामविहीन भएर बस्नुपर्दा मोतिरामलाई छटपटी भएको छ, छोरो झक्कडबहादुरलाई कतार पठाउँदाको ऋण र ब्याजको भारीले उनलाई बेचैनी भएको छ ।

‘बा म विदेश जान्छु भन्यो, महिनावारी ३ रुपैयाँमा ऋण सापटी गरेर विदेश पठाइदिए । भिजिट भिसा हानेर असारमा कतार गएको थियो,’ थापाले भने, ‘काम पाएको २ महिना भएको थियो । अहिले कोठामै छ रे ! खान त पाएको रैछ, ऋण कसरी तिर्ने भन्ने चिन्ता छ ।’

लकडाउनको अवधिमा १ महिना काठमाडौंमै बसेर थापा र खड्का दैलेख जाने बस हेर्दै कलंकीको सडकपेटीमा बसिरहेका थिए । ‘बरु कोरोनाको औषधि होला, भोकको औषधि हुने रहेनछ, काम नगरी कति दिन बस्ने भनेर गुण्टा बोकेर हिँड्यौं,’ थापाले भने । सामान्य अवस्थामा फर्केमा लगत्तै र बन्द लम्बिएमा दशैंपछि काममा फर्किने दुवैको योजना छ । 

डेढ महिना कुरेर उपचार नगरी फिर्ता

अर्घाखाँचीको छत्रदेव गाउँपालिका अर्खातोेषका चोपलाल खनाल दम्पती १ महिना लकडाउनमा फसे । न उपचार भयो, न घर जान पाए । पेटको रोगका बिमारी खनाल अर्घाखाँचीदेखि पाल्पाको मिसन अस्पतालमा धाउँदा–धाउँदा निको नभएपछि काठमाडौं आएका थिए ।

‘दवाई गर्न भनेर चैत्र लाग्ने मसान्तीको दिन अर्घाखाँचीबाट आएका हौं, शुरूमा टिचिङमा गएका थियौं, डाक्टरले चिरायुमा पठाउनुभयो । ११ गते अस्पताल बोलाउनुभएको थियो, हामी त गएका थियौं डाक्टर आउनुभएन,’ खनाल पत्नीले भनिन्, ‘डाक्टरलाई फोन गर्‍यौं, लकडाउन खुलेपछि आउनु भन्नुभयो । दिन, हप्ता कुर्दा महिना बित्यो लकडाउन खुल्ने छाट देखिएन, त्यसपछि हामी हिँड्यौं ।’

उपचारपछि निको भएर फर्किने आशमा डेढ महिना काठमाडौंमा बिताएका खनाल दम्पती लकडाउनका कारण डाक्टर नआएपछि खिन्न हुँदै घर फर्के । ‘घरमा हामी बुढाबुढी मात्र थियौं, छोरीलाई घर कुर्न लगाएर आएका थियौं ।

यता पनि चिनेजानेका र आफन्तकोमा यता–उता गर्दै डेड महिना बितायौं, अहिले रोग लिएरै फर्किंदै छौं,’ खनालले दुःखेसो पोखिन् । छत्रदेव गाउँपालिकाले बसको व्यवस्था गरेको थाहा पाएर घर जान कलंकी आएको खनालले बताए ।

मजदुर मात्र होइन, सर्वसाधारण पनि

लकडाउनको शुरूआती दिनमा दैनिक ज्यालादारी मजदुरी गर्ने कामदार पैदलै काठमाडौं बाहिर हिँडेका थिए । कोही पैदलै हिँडेर र कोही ट्रकमा बसेर गाउँसम्म पुगे । लकडाउन लम्बिएपछि स्थानीय तहले समन्वय गरेर अत्यावश्यक भएकालाई गाउँ पुर्‍याउने व्यवस्था गरेको थियो । लकडाउन लम्बिएको र घरभित्र बस्नुपरेको भन्दै विद्यार्थी र सर्वसाधारण पनि घर फर्किन लागेका छन् ।

स्थानीय तहले रिजर्भ गरेका गाडी साँझपख काठमाडौंको कलंकीमा लस्कर लाग्ने गर्छन् । सुर्खेतको चौकुने गाउँपालिका जाने ६५ जना कलंकीमा लाइन लागेर बसेका थिए । ‘कोही विद्यार्थी, कोही मजदुर र कोही विभिन्न कामले काठमाडौं आएर अलपत्र परेर बस्नुभएका हुनुहुन्छ । सिट क्षमता अनुसार बसमा राखेर पठाएका छौं,’ स्वास्थ्य राज्यमन्त्री नवराज राउतका स्वकीय सचिव तपेन्द्र बिसीले लोकान्तरसँग भने । 

सुशील पन्त
सुशील पन्त

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्