पश्चिमको भौतिक प्रगतिले प्रकृतिमा क्षय ! पूर्वीय दर्शनको प्रकृतिपूजा बिर्सिंदा महामारी

विन्देश दहाल
विन्देश दहाल

विन्देश दहाल लोकान्तर डट् कममा अन्तर्राष्ट्रिय राजनीतिबारे लेख्छन् । 

कोरोनाभाइरस महाव्याधि फैलिनुमा वातावरण विनाश जिम्मेवार रहेको तथ्य वैज्ञानिकहरूले स्वीकार गरिसकेका छन् । प्रकृतिलाई भोग्य वस्तु मानेर त्यसको अनावश्यक तथा अत्यधिक दोहन गरिएकाले विभिन्न किसिमका रोगाणुहरू उत्पन्न भएका हुन् भनी वातावरणविद्हरूले लेखिरहेका छन् । विशेषगरी वन फँडानी गरेर वन्यजन्तुको निवासस्थान उजाडेपछि ती जन्तुमा रहेका जीवाणु मानिसमा सर्न पुगेको पाइएको छ ।

भौतिकवादी पश्चिमी विश्वदृष्टिमा प्रकृतिलाई जड मानिएको छ । त्यसैले प्रकृतिलाई वस्तुकरण गरेर त्यसको दोहनमा उनीहरू उद्यत भएका हुन् । पश्चिमले जतिजति भौतिक प्रगति गर्दै गयो, प्रकृतिको क्षयीकरण पनि त्यसै अनुपातमा बढ्दै गयो । 


Advertisement

पृथ्वीमा मनुष्य, पशुपक्षी तथा बोटबिरुवा यी तीन अवयवहरू अन्योन्याश्रित सम्बन्धमा बसेका छन् । तर मनुष्य अन्य दुई अवयवमाथि हावी हुँदै गएपछि भने प्रकृतिको चक्रमा गडबडी देखिन थालेको हो । मानवीय क्रियाकलापका कारण प्रकृतिचक्र तोडिएकाले वातावरण असन्तुलन हुन गई प्रजातिहरू नष्ट हुने क्रम जारी छ । यसरी अन्य प्रजातिहरू नष्ट हुँदै जाँदा मानव चाहिँ बाँकी रहन्छ भन्ने कुनै ठोकुवा गर्न सकिँदैन ।

तर सनातनी हिन्दू मान्यतामा प्रकृति जड वस्तु हैन । यसको चिन्मय स्वरूप हुन्छ अर्थात् यो चेतनशील छ । सांख्यदर्शनमा प्रकृति र पुरुषको संयोगले जीवन विकसित भएको उल्लेख छ । सम्पूर्ण विश्वको लालनपालन प्रकृतिले गर्ने भएकाले प्रकृतिलाई मातृशक्तिको मान्यता दिइएको छ ।


Advertisement

पश्चिमी भौतिकवादमा रमाएर वैदिक मूल्यमान्यतालाई बिर्सेका पूर्वीयहरूले आफ्नो मूल जरोबाट पाठ सिक्ने अवसर महाव्याधिले दिएको छ । वैदिक पद्धति हेर्ने हो भने स्वस्थ जीवन निर्वाहका लागि अनेकौं व्यवस्था गरिएको पाइन्छ । जस्तो, बोटबिरुवा र पशुपक्षीको महत्त्व बुझेर स्वस्थ तथा आध्यात्मिक जीवन बिताउन चार आश्रमहरूको परिकल्पना गरिएको हो । 

चार आश्रममा ब्रह्मचर्य आश्रम भनेको जंगलको छेउमा रहेको ऋषिको कुटीमा गएर भौतिक सुखसुविधा त्याग्दै विद्या अध्ययन गर्नु हो । अनि अध्ययन सकेर गृहस्थ आश्रममा प्रवेश गरिन्छ र वंश अघि बढाउनका लागि सन्तानोत्पादन र लालनपालन गरिन्छ । त्यसक्रममा प्रकृतिबाट प्राप्त वस्तुको उपभोग गरिन्छ । 

सन्तान आफैंमा सक्षम भएपछि वानप्रस्थ आश्रममा प्रवेश गरिन्छ । त्यो भनेको जंगलतिर जानु हो । धनधान्य सबै परित्याग गरेर जंगल जानु नै वानप्रस्थको लक्ष्य हो । अनि संन्यास आश्रम भनेको त सम्पूर्ण भोगचलन त्यागेर जंगलमा नै तपस्यामा लीन हुनु हो अनि त्यहीँ देहत्याग गर्नु हो ।

यसरी हेर्दा चार आश्रममध्ये गृहस्थ आश्रममा मात्र भौतिक सुखसुविधा भोगको अवसर पाइएको देखिन्छ । आधाभन्दा बढी जीवन जंगलमा बिताउने व्यवस्था गरिँदा मानिसले वन फँडानी गर्नु अत्यन्तै अव्यावहारिक हुन्थ्यो । ऊ त झन् धेरै बोटबिरुवा रोपेर पशुपक्षीहरूसँग साहचर्य गर्न खोज्थ्यो । 

गृहस्थ आश्रममा हुँदा पनि घर वरिपरि विभिन्न बोटबिरुवा हुर्काएर तिनबाट प्राप्त फल तथा काठदाउराको उपभोग गर्ने चलन थियो । आवश्यकता पर्दा मात्र रुखहरू काट्ने र तत्कालै बोटबिरुवा रोपेर क्षतिपूर्ति गरिहाल्ने अभ्यास थियो । 

मत्स्य पुराणमा रुखबिरुवा पुत्र जस्तै हुन् भनी लेखिएको छ ।

दशकूपसमा वापी दशवापीसमो ह्रदः
दशह्रदसमः पुत्रो दशपुत्रसमस्तरुः ।।

अर्थात् लोककल्याणको दृष्टिबाट हेर्दा दशवटा इनार बराबर एक तलाउ हुन्छ । दशवटा तलाउ बराबर एक ताल हुन्छ । दश ताल बराबर एक पुत्र हुन्छ । दश पुत्र बराबर एक रुख हुन्छ । 

भनाइको अर्थ हो दशजना पुत्रले जीवनकालमा मातापितालाई जति सुख दिन्छन्, एउटा वृक्ष एक्लैले त्यति सुख दिन्छ । 

अनि वराह पुराणमा पनि असल छोरोले कुलको रक्षा गर्छ, त्यसैगरी फल र फूल भएको वृक्षले आफ्नो जगेर्ना गर्नेलाई नरक जानबाट जोगाउँछ भनी लेखिएको छ ।

जसरी मातापिताले आफ्नो पुत्रलाई काट्ने कल्पना पनि गर्न सक्दैनन्, त्यसैगरी रुखबिरुवालाई अनावश्यक नकाट्न हाम्रा धर्मग्रन्थहरूले सल्लाह दिएका छन् । जस्तो :

तृणैकच्छेदमात्रेण प्रोच्यते क्षय आयुषः (पराशरस्मृति)

अर्थात्, एउटा घाँस मात्र पनि निरर्थक काटेमा मनुष्यको आयु घट्न थाल्छ । 

अनि पशुपक्षीहरूलाई उपभोगको वस्तु नबनाएर तिनको पूजा गर्ने संस्कार पनि हामीहरूले पालन गर्र्छौं । तिहारमा काग, कुकुर, गाई र गोरुको पूजा गर्ने अनि तिनीहरूलाई भोजन गराउने संस्कार नै छ । पशुपक्षीसँग बस्न र तिनीहरूप्रति करुणाको भाव राख्न हाम्रो संस्कारले हामीलाई सिकाएको छ । कुनै पनि प्राणीको हिंसा नगर्नू भनी वेदले नै बताएको छ : मा हिंस्या सर्वा भूतानि ।

प्रकृतिबाट विमुख भएर भौतिकवादी बन्दा हामीलाई तीन तापले सताउने कुरा पनि ग्रन्थहरूमा भेटिन्छ । आधिभौतिक, आधिदैविक र आध्यात्मिक तापले मनुष्यलाई दुःख दिन्छन् । सांख्यशास्त्रमा यसलाई दुःखत्रय नाम दिइएको छ । आध्यात्मिक दुःख भन्नाले रोगव्याधि अनि शारीरिक तथा मानसिक पीडा हो । कोरोनाभाइरस महाव्याधिका कारण अहिले संसारभरि मानिसहरू आध्यात्मिक दुःख सहिरहेका छन् । 

आधिभौतिक दुःख भनेको स्थावर तथा जंगम वस्तु अर्थात् चल्ने र नचल्ने वस्तुबाट हुने दुःख हो । विशेषगरी पशुआदिबाट हुने दुःखलाई यहाँ इंगित गर्न खोजिएको हो । कोरोनाभाइरस महाव्याधि पनि पशुमा रहेको जीवाणु नै मानिसमा रोगाणु बनेर आएको अनि फैलिएको वैज्ञानिकहरूको कथन छ । त्यस अर्थमा यो आधिभौतिक दुःख पनि हो । 

आधिदैविक दुःख चाहिँ प्राकृतिक प्रकोपबाट हुने दुःख हो । आँधीबेहरी, बाढीपहिरो, अत्यधिक जाडो र अत्यधिक गर्मी यसअन्तर्गत पर्छ । अहिले मानव गतिविधिका कारण भइरहेको जलवायु परिवर्तन र विश्व तापक्रममा वृद्धिले अनेक किसिमका प्रकोप ल्याइरहेको वैज्ञानिकहरू बताउँछन् । आधिदैविक दुःखका लागि पनि यसरी मनुष्य नै जिम्मेवार छन् । 

यी तापहरूलाई बुझेमा ज्ञान तथा वैराग्य प्राप्त हुन्छ भनी विष्णुपुराणमा लेखिएको छ ।  

आध्यात्मिकादि मैत्रेय ! ज्ञात्वा तापत्रयं बुधः ।
उत्पन्नज्ञानवैराग्यः प्राप्नोत्यात्यन्तिकं फलम् ।।

ज्ञान तथा वैराग्य भन्नाले उपभोगवादी दृष्टिकोणलाई परित्याग गर्दै न्यूनतम सुविधामा सन्तुष्ट हुने र प्रकृति दोहनलाई रोक्ने भनी अर्थ लगाउनु सान्दर्भिक हुन्छ ।

पश्चिममा पनि चरम भोगवादका कारण प्रकृतिको विनाश भइरहेको स्थितिलाई मनन गर्दै प्रकृति जोगाउन विभिन्न अभियान सञ्चालन तथा दार्शनिक चिन्तन गरिन थालेका छन् । अहिले इकोसोफीमा जोड दिन थालिएको छ ।

पृथ्वीलाई सुन्ने र त्यसबाट सिक्ने, आफ्नो अर्थ त्यसमा नथोपर्ने भनी भारतीय मूलका स्पेनी दार्शनिक राइमोन पनिक्करले इकोसोफीको अवधारणा ल्याएका हुन् । यसमा प्रकृतिलाई मानवभन्दा माथि राखेर सम्मान गर्ने मान्यता छ ।  

हाम्रो सन्दर्भमा त वैदिक तथा पौराणिक ग्रन्थहरूले  हामीलाई प्रकृति तथा वातावरणको आदर गर्न सिकाएकै छन् । सनातन संस्कार अवलम्बन गरी भौतिक सुखसुविधामा आकर्षण क्रमशः घटाउँदै जानु नै अहिलेको आवश्यकता हो । भौतिक उपभोगका लागि विज्ञानको दुरुपयोग गर्ने क्रममा प्रकृतिको विनाश भइरहेको तथ्य मनन गर्दै अध्यात्मको मार्ग अपनाएर जीवनयापन गर्दा प्रकृतिसँग सामञ्जस्य स्थापना गर्न सहज हुन्छ । अनि विभिन्न किसिमका महाव्याधिहरूको रोकथाम गर्न पनि सहायता पुग्छ । 

विन्देश दहाल
विन्देश दहाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्