उपमहानगरको राहतमा कुहिएको चामल दिने आपूर्तिकर्तालाई २ लाख जरिवाना

लखन चाैधरी
लखन चाैधरी

लखन चौधरी लोकान्तरका लागि सुदूरपश्चिम प्रदेश प्रतिनिधि हुन् । 

राहतमा कुहिएको चामल आपूर्ति गर्ने धनगढीका एक आपूर्तिकर्तालाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ ।

धनगढी उपमहानगरपालिकाले खरिद गरेर वितरणका लागि वडाहरूमा पठाएको चामल कुहिएको र किरा परेको भेटिएपछि आपूर्तिकर्ता धनगढीको ठाकुर ट्रेड लिंकलाई २ लाख जरिवाना गरिएको हो ।


Advertisement

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका सूचना अधिकारी दिपक कुवँरले उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार गुणस्तरहीन वस्तु वा सेवा प्रदान गरेबाफत २ लाख रुपैयाँ जरिवाना गरिएको जानकारी दिए । सो आपूर्तिकर्ताले आपूर्ति गरेको वस्तु वितरण नगर्ने गरी रोक्का गरिएको जनाइएको छ ।

स्थानीयले कुहिएको चामल दिइएको भन्दै फिर्ता गरेपछि धनगढी उपमहानगरपालिका वडा नम्बर ४ शिवपुरीस्थित गोदाममा समेत अनुगमन गरिएको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, प्रहरी, पत्रकार, जनप्रतिनिधि र स्थानीयको उपस्थितिमा भएको अनुगमनमा गोदाममा समेत कुहिएको र किरा परेको चामल भेटिएपछि आपूर्तिकर्तालाई कारवाही गर्न सिफारिस गरिएको थियो । 


Advertisement

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका सूचना अधिकारी कुँवरले राहतका लागि वितरण गरिएको र गोदाममा मौज्दात राखिएको चामल कुहिएको भेटिएको बताए ।

धनगढी उपमहानगरपालिकाले २ करोड ६१ लाखमा ३ हजार ३०० क्वीन्टल चामल, ८०० क्वीन्टल दाल लगायतका खाद्य सामाग्री खरिदका लागि ठाकुर ट्रेडसँग ठेक्का सम्झौता गरेको थियो । 

लखन चाैधरी
लखन चाैधरी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्