'कोरोना महाव्याधि'पछिका मानवहरू [भाग– १]

मनोज भुसाल
मनोज भुसाल

भुसाल फिनल्याण्डको हेलसिन्की विश्वविद्यालयमा डेभलपमेण्ट स्टडिजमा विद्यावारिधी गर्दैछन् ।

यदि कोभिड- १९ अर्थात् कोरोना महामारीबारे केही कुरा निश्चित छ भने त्यो हो - कुनै दिन यसको अन्त्य हुनेछ । हामीलाई ठ्याक्कै थाहा छैन कहिले, तर अन्ततः मानवजातिले यो महामारीविरुद्ध विजय हासिल गर्नेछ । दुर्भाग्यवश, हामीमध्ये केही यसको शिकार हुनेछौं, तर धेरै त यहीँ नै रहने छौं । महामारीपछिका यावत समस्याहरूको समाधान गर्ने र मानव इतिहासको नयाँ अध्याय लेख्ने काम हामी बाँच्नेहरूको हुनेछ ।

निश्चय नै यो महामारीले हाम्रो आर्थिक र राजनीतिक भविष्यलाई एउटा नयाँ आकार दिनेछ । साथसाथै यसले गहिरो सांस्कृतिक र मनोवैज्ञानिक प्रभाव पनि छाड्नेछ । हामी लामो समयसम्म यो संकटको सम्झना गरिरहने छौं- यसलाई बुझ्ने प्रयास गर्दै, यसबाट सिक्ने प्रयास गर्दै र सम्भवतः यसलाई बिर्सने प्रयास गर्दै ।


Advertisement

यो महामारीले हाम्रो विचार, हाम्रो अभिव्यक्ति, हाम्रो कला र हाम्रो साहित्यलाई समेत फरक बनाउनेछ । यही महामारीका वरिपरि चलचित्रहरू बनाइनेछन्, पुस्तकहरू लेखिनेछन्, गीतहरू गाइनेछन् र ती सबैले हामीलाई  यो भयानक समयको सम्झना दिलाउनेछन्- एउटा यस्तो भयानक महामारी जसले एक्काइसौं शताब्दीको मानवलाई भित्रैदेखि हल्लाइदियो ।  

यो महामारी सकिएसँगै हामीसँग आउँदो पुस्तासँग साट्ने अनेकन कथाव्यथा र सम्झनाहरू हुनेछन् । जीतका कथा, पीडाका कथा र बलिदानका कथा । हामी सम्झने छौं लकडाउनमा परि भित्रभित्रै गुम्सिनु परेको पीडा । हामी सम्झनेछौं बेरोजगार हुनुपरेको र भोकभोकै रहनु परेको पीडा । हामी सम्झनेछौं बाहिर चहकिलो घाम लागेको, चराहरू आकाशमा निश्फिक्री भएर उडेका, तर हामीचाहिँ साँघुरो कोठाभित्र निसास्सिँदै इन्टरनेट र टिभीमा झुण्डिएर दिन बिताएको ।  


Advertisement

तर यो संकटले हामीलाई केबल सम्झनाहरू मात्र दिएर जाने छैन । यसले हामीलाई एउटा अनिश्चित धरातलमा पुर्‍याउने छ र अन्ततः हाम्रो आर्थिक र राजनीतिक भविष्य नै पुनर्परिभाषित गर्नेछ ।  

कोरोना महामारीको संकट बढ्दै जाँदा हाम्रा सामु धेरै प्रश्नहरू तेर्सिएका छन् । यो विपत्तिको अन्त भएपछि के हुन्छ?  हामीलाई कसले नेतृत्व प्रदान गर्छ? व्यापक बेरोजगारी र विश्वव्यापी आर्थिक मन्दीका बीच हाम्रो भविष्य कता जान्छ? हाम्रो जीवनमा केवल पीडा र भयमात्र हुनेछन् वा केही आशाका किरणहरू पनि ?  

अर्कोतर्फ यो महामारीले हाम्रा मानकहरू र हाम्रा सिद्धान्तहरूलाई कस्तो असर पार्नेछ भन्ने प्रश्नहरू पनि छन् । हामीले प्रयोग गर्दै आएको स्वतन्त्रताको भविष्य के हुनेछ ? के हाम्रो गोपनीयता र अभिव्यक्ति स्वतन्त्रताको हक सुरक्षित रहिरहने छ ? के हाम्रा लोकतन्त्रहरू यो महामारीको आघातबाट बच्न सक्षम हुनेछन् ?

यस्ता प्रश्नहरू धेरै छन् । कोरोना महामारीपछिको विश्वमा बहुपक्षीयता र भूमण्डलीकरणको अवस्था के हुनेछ? के पहिले जस्तै स्वतन्त्र व्यापार निर्वाधरूपमा चलिरहने छ? लगभग पूरै विश्व महामारीले आक्रान्त भएको अवस्थामा कसलाई कसले सहयोग गर्नेछ ?  के यो महामारीसँगै गरीब देशहरूले पाउँदै आएको विकास सहायता समाप्त हुनेछ ? 

अनि यो महामारीले विश्वव्यवस्था र अन्तर्राष्ट्रिय शक्ति संरचनाहरूमा कस्तो परिवर्तन गर्नेछ? विश्व व्यवस्थाको उच्च स्थानमा को बस्ने छ ? के हामी अमेरिकाको पतन र चीनको अप्रत्याशित उदय देख्नेछौं ? त्यसो हो भने पुँजीवादको भविष्यचाहिँ कस्तो हुनेछ ? के महामारीले थला परेको पूँजीवाद फेरि तंग्रिने छ ? वा हामी पूँजीवादको विकल्प खोज्नेछौं, एउटा यस्तो विकल्प जसमा समानता र सामाजिक न्याय पनि हुनेछ । यदि त्यसो हो भने, त्यो विकल्प के हुनेछ ?

कोरोनाको महामारी सकिएपनि जलवायु परिवर्तनको महामारी मानवजातिको अस्तित्वमै संकट पार्ने हिसाबले देखा पर्नेछ । के यो महामारीसँगै हाम्रो जलवायु परिवर्तन हेर्ने आँखा पनि बदलिने छ ? के महामारीपछिका मानवहरूको ध्यान मिथ्यांकमा भन्दा विज्ञान र तथ्यहरूमा बढी पर्नेछ ? 

यस्ता प्रश्नहरू धेरै छन् र कठिन पनि । यद्यपि महामारीपछिका मानवहरू अर्थात् हाम्रो पुस्ताले यी प्रश्नहरूको सामना नगरी सुखै छैन । हामीसँग समय थोरै छ र विकल्प पनि थोरै ।

कोरोना महामारीपछिका यस्तै सम्भावित परिस्थितिहरूको आंकलन गर्नु यो लेखको मुख्य उद्देश्य हो । लेखको पहिलो भागमा वर्तमान विश्व व्यवस्थामा कोरोना महामारीले पार्न सक्ने प्रभावको विश्लेषण गरिएको छ । भाग- २ मा कोरोना महामारीले विभिन्न मुलुकहरूको राष्ट्रिय राजनीतिमा पार्नसक्ने असरको चर्चा गरिनेछ ।

कोरोना महामारीकै कारण प्रजातन्त्र, व्यक्तिगत स्वतन्त्रता, गोपनीयता र राष्ट्रिय सुरक्षा कसरी प्रभावित हुनेछन् भन्ने विश्लेषणका साथै भूमण्डलीकरण, स्वतन्त्र-व्यापार र वैदेशिक सहायताजस्ता विषयहरूमा यसको कस्तो प्रभाव रहनेछ भन्ने आंकलन पनि भाग-२ मै गरिनेछ ।

लेखको अन्तिम भाग अर्थात् भाग -३ मा कोरोना महामारीले सतहमा ल्याएको गहिरो सामाजिक असमानताको चर्चा गर्दै विभेदकारी पूँजीवादी अर्थव्यवस्थाको विकल्प खोज्न र विश्वलाई मौलिक रूपमै रुपान्तरण गर्न यो महामारी एउटा अभूतपूर्व अवसर हुनसक्छ भन्ने तर्क पेश गरिनेछ । 

वर्तमान विश्वव्यवस्थामा कोरोना महामारीको प्रभाव  

कोरोना महामारीले विश्व शक्ति संरचनाहरूमा ठूलै उथलपुथल ल्याउने देखिन्छ र महामारीपछिको विश्वव्यवस्था  बहुध्रुवीय हुने देखिन्छ ।

अमेरिकी स्वास्थ्यकर्मीहरू पीपीईको अभावमा फोहोर फाल्ने प्लाष्टिकलाई सुरक्षाकवचको रूपमा प्रयोग गरेका तस्विरहरू इन्टरनेटमा भाइरल भइरहँदा चीनले भने आफूलाई कोरोनायुद्धको विजेताको रूपमा प्रस्तुत गरिरहेको छ ।

यसको मनोवैज्ञानिक प्रभाव धेरै समयसम्म रहनेछ । अमेरिका अब पहिलेको जस्तो 'शर्वशक्ति' त्यसैपनि छैन र यो महामारीको शुरूदेखि नै ट्रम्प प्रशासनको कमजोर प्रदर्शनीले अमेरिकाको अन्तर्राष्ट्रिय शाखलाई झन्झन् कमजोर बनाउँदै गएको छ ।

कोरोना महामारीपछिको विश्वमा चीन र अमेरिकाले एक अर्काप्रति कस्तो रवैया अपनाउनेछन् त्यो अझै स्पष्ट छैन । यद्यपि यी दुई देशहरूबीचको खिचातानी, व्यापार युद्ध र वर्चस्वको दौड अझै तीव्र हुँदै जान सक्छ ।

तर यो महामारीले अमेरिका र चीनलाई शत्रुको रूपमा नभई साझेदारको रूपमा काम गर्ने दुर्लभ अवसर पनि प्रदान गरेको छ । अमेरिका र चीनबीच साझेदारीका केही संकेतहरू पनि नदेखिएका होइनन् । गत महिना चीनले अमेरिकालाई १,००० थान भेन्टिलेटरहरू सहयोगस्वरूप प्रदान गर्‍यो भने अमेरिकी हार्वर्ड विश्वविद्यालय र चिनियाँ वैज्ञानिकहरूले कोरोनाभाइरसको संयुक्त अनुसन्धान पनि शुरू गरेका छन् ।

विश्व जटिल अवस्थाबाट गुज्रिरहेको अवस्थामा चीन र अमेरिकाबीचको साझेदारी अझै व्यापक हुनुपर्ने हो, तर हालको अमेरिकी प्रशासन साझेदारीको भाषा खासै बुझ्दैन र बोल्दैन पनि । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहयोग र साझेदारीमा होइन टकरावमा रमाउँछन् ।

पछिल्लो समय ट्रम्प प्रशासनको कूटनीतिक प्रदर्शनी यति फितलो देखिन्छ कि चीनजस्ता प्रतिस्प्रर्धीहरू त परै जाउन् अमेरिकाले आफ्ना मित्रहरूसँग पनि सुमधुर सम्बन्ध राख्न सकेको छैन । गत महिना फ्रान्स र जर्मनीतर्फ जाँदै गरेका अत्यावश्यक मेडिकल सामाग्रीका ढुवानीहरू अमेरिकाले बीच बाटोमै 'जफत' गरी आफ्नो मुलुकतिर फर्कायो । फ्रान्स र जर्मनीले अमेरिकालाई 'मोर्डन पाइरेसी' अर्थात  'आधुनिक डकैती' गरेको आरोप लगाए । 

सन् २०२१ अर्थात अर्कोवर्ष अमेरिकीहरूले डोनाल्ड ट्रम्पको सट्टा डेमोक्र्याटिक पार्टीका जो बाइडेनलाई नयाँ राष्ट्रपतिको रूपमा चुने भने त्यसले विश्व राजनीतिलाई केही राहत प्रदान गर्नेछ । डोनाल्ड ट्रम्प नै राष्ट्रपति चुनिएपनि वैज्ञानिक र शैक्षिक फ्रन्टहरूमा अन्तर्राष्ट्रिय साझेदारी चाहिँ जारी रहिरहने देखिन्छ ।  

कोरोना महामारीले थलिएको अमेरिका महामारीपछि पनि आर्थिक र मानसिकरूपमा कमजोर चाहिँ देखिनेछ । यद्यपि अमेरिका कमजोर हुँदैमा विश्वमा चीनको वर्चस्व स्वत: कायम हुने भन्ने हुँदैन ।

चीनका आफ्नै समस्या र सीमाहरू छन् । कोरोना महामारीले चीनको निर्यात-केन्द्रित अर्थतन्त्रलाई ठूलै धक्का पुर्‍याएको छ र ४० वर्षमा पहिलोपटक चिनियाँ अर्थतन्त्र खुम्चेको छ । विश्व गम्भीर आर्थिक मन्दीमा फस्दा चीन एक्लै चोखो रहन सक्दैन । जब सिंगो संसार संकटमा धकेलिन्छ, चीन एक्लै समृद्ध रहिरहन पनि सक्दैन ।

पहिलोपटक चीनको वुहानमा देखिएको नोभेल कोरोनाभाइरसको बारेमा पर्याप्त जानकारी नदिएको र कोरोना महामारीले चीनमा पुर्‍याएको वास्तविक क्षतिबारे सही रिपोर्टहरू नदिएको आरोप चीनले खेपिरहेको छ । यसका अलावा चीनमा मानव अधिकारको कमजोर स्थिति, वाक स्वतन्त्रतामा लगाइएको कडा सेन्सरशिप र अल्पसंख्यक र आलोचकहरूप्रति चीनले देखाउँदै आएको असहिष्णुताका बारेमा पनि चीनको व्यापक आलोचना हुँदै आएको छ ।

त्यसअर्थमा विश्व अहिले नै चीनको पोल्टोमा परिहाल्ने देखिँदैन । बरु कमजोर हुँदै गएको अमेरिका, अझै पूर्णत: बलियो र सर्वमान्य भइनसकेको चीन, आफैंभित्र विभाजित ईयू तथा रूस, भारत र ब्राजिलजस्ता उदीयमान शक्तिहरूको पनि विश्वलाई नेतृत्व गर्ने सक्ने शक्ति नभएको अवस्थामा हामी विश्वव्यवस्थाको यस्तो चरणमा प्रवेश गर्दैछौं जहाँ कुनै एक राष्ट्रको दबदबा हुनेछैन । विश्व एकध्रुवीय वा द्वीध्रुवीय हैन, बहुध्रुवीय हुनेछ ।    

बहुध्रुवीय विश्व केही अस्तव्यस्त देखिन सक्छ र यो धेरै लामो समयसम्म नरहन पनि सक्छ । यद्यपि बहुध्रुवीय विश्वमा संयुक्त राष्ट्रसंघ जस्ता संस्थाहरूले अझ बढी अर्थपूर्ण भूमिका खेल्न सक्नेछन् र नेपाल जस्ता साना र तुलनात्मक रूपमा कमजोर राष्ट्रहरूले पनि अन्तर्राष्ट्रिय महत्त्वका मुद्दाहरूमा केही बढी प्रभाव पार्न सक्नेछन् ।  

विश्व संकटमा गुज्रिरहेको अवस्थामा शक्तिशाली मुलुकहरू एक ठाउँमा आएर काम गरुन् भन्ने आशा हुनु स्वाभाविक हो, तर अन्तर्राष्ट्रिय राजनीति त्यसरी चल्दैन । यसअघिका महामारीहरूले अन्तर्राष्ट्रिय शक्तिसंघर्षका नियमहरूमा कुनै मौलिक परिवर्तन गर्न सकेनन् र यो महामारीले पनि त्यो गर्ने सम्भावना न्यून छ ।

(यो लेख भुसालले अंग्रेजीमा लेखेको द वर्ल्ड अफ्टर कोभिड- १९ को नेपाली भावानुवाद हो ।)

मनोज भुसाल
मनोज भुसाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्