लकडाउन लम्बिँदै जाँदा दैलेखमा सकियो चामल मौज्दात

जिल्लाभरको खाद्यान्न संकट समाधानका लागि स्थापना भएको दैलेखको खाद्य डिपोमा आएको यो वर्षको कोटाअनुसारको चामल वैशाखमै सकिएपछि थप चामलको बढाइदिन माग गरिएको छ ।

लकडाउनका कारण र खाद्यान्न संकट बढ्न थालेपछि गोदामबाटै धमाधम चामल बिक्री भएको छ । सदरमुकामभन्दा सस्तोमा गुणस्तरीय चामल  पाएपछि जनतालाई राहतसमेत भएको छ ।


Advertisement

वैशाखसम्म आएको दुई हजार २०० क्विन्टल चामलमध्ये दुई हजार क्विन्टल चामल बिक्री भइसकेको छ ।

बचेको २०० क्विन्टल चामल, आपतकालीन अवस्था र कारागारका लागि मौज्दात राख्नुपर्ने देखिएपछि चामलको कोटा थप गर्न सम्बन्धित स्थानमा दैलेख शाखाले परिपत्र गरिसकेको संस्थानका प्रमुख रणबहादुर ऐरीले जानकारी दिए ।


Advertisement

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड दैलेख शाखामा यो वर्षका लागि दुई हजार २०० क्विन्टल कोटा निर्धारण गरिएको थियो ।

कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले लकडाउनको घोषणासँगै बजारमा भन्दा खाद्य संस्थानमा सस्तो र राम्रो चामल पाइएपछि खरिद गर्नेहरूको सङ्ख्या एक्कासि बढेको स्थानीय श्याम रानाले जानकारी दिए ।

लकडाउनसँगै पहाडी जिल्लामा  गरिब, विपन्न र दैनिक मजदुरी गरेर जीवन गुजारा गर्नेलाई खाद्यान्नको जोहो गर्न हम्मेहम्मे परेको छ ।

जिल्लाका विभिन्न दुर्गम पालिका नौमुले, आठबीस र भगवतीमाई गाउँपालिका असिनापीडित क्षेत्र भएको भन्दै पालिकाले सिधै संस्थानबाट चामल खरिद गरेर विपन्न परिवार र किसानलाई वितरण गर्ने काम थालनी गरेका छन् ।

आपतमा परेका व्यक्तिका लागि भनेर १० पालिकाले गरिब, विपन्न र मजदुरी गरेर जीवन गुजारा गर्नेको तथ्यांक संकलन गर्दै  राहत वितरण कार्यलाई पनि निरन्तरता दिएका छन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्