लकडाउनमा चाडपर्व : होस गुमाएको चैतलीदेखि स्वरुप बदलेको भजहरसम्म

लखन चाैधरी
लखन चाैधरी

लखन चौधरी लोकान्तरका लागि सुदूरपश्चिम प्रदेश प्रतिनिधि हुन् । 

विश्वभर कोरोनाको महामारी फैलिएपछि मानिसको जीवनशैलीमा व्यापक फेरबदल आएको छ ।

जीवनशैलीमा नै फेरबदल भएपछि जीवनशैली र संस्कार तथा संस्कृतिमा आधारित विभिन्न वर्ग समुदायले मनाइने चाडपर्वको स्वरुप पनि फेरिन थालेको छ ।


Advertisement

कोरोनाबाट जोगिन तथा लकडाउनको पालना गर्न जमघट नगर्न तथा नगराउन सरकारले निर्देशन जारी गरेको छ । मानिसको ‘सेल्फ सेन्सरशीप’ले विशेषगरी सामूहिक रुपमा मनाइने चाडपर्व, महोत्सव, उत्सव प्रभावित भएका छन् ।

नेपालमा उमंगका साथ मनाइने होलीदेखि यताका सबै चाडपर्व प्रभावित भएका छन् । कोरोना संक्रमणको दर र बढेको जोखिमले दशैंतिहारलगायत पर्व समेत प्रभावित हुनसक्ने आकलन गर्न थालिएको छ ।


Advertisement

रंगविहीन होली

रंग अविरले समेत रोग फैलिनसक्ने भन्दै होलीमा अधिकांशले रंग र अविर विनाको होली मनाए । अन्नपूर्ण दैनिकमा कार्यरत पत्रकार कैलाश जोशी भन्छन्, ‘चीनमा महामारीको रुप लिएपछि कोरोनाको प्रभाव नेपालमा पनि पर्‍यो । जतिबेला होलीको आगमन थियो । धेरैले होली मनाएनन् । इतिहासकै रंगहीन होली थियो सायद !’

पछिल्लो समय पर्वकै रुप रहेको नयाँ वर्ष (वैशाख १) पनि उल्लासपूर्ण हुन पाएन । सामूहिक रुपमा आपसमा रमाइलो गरी मनाइने नयाँ वर्षको रौनक घरको चौघेरामै कैद भयो । वैशाख २५ मनाइने बुद्ध जयन्ती तथा उभौली पर्वको रौनकता पनि घरभित्रै सीमित भयो ।

मनाइएन उभौली

नेपाल आदिवासी जनजाति महासंघ सुदूरपश्चिम प्रदेश उपाध्यक्ष देवबहादुर भुजेल भन्छन्, ‘ज्यानभन्दा ठूलो पर्व होइन । ज्यान जोगियो भने पर्व त मनाउन पाइहाल्छ नि ! यो अवस्थाले गर्दा हाम्रो उभौली पनि प्रभावित भयो । मनाएनौं ।’

उभौली किराँत, सुनुवार, राई, र याक्खालगायत जातिको महान पर्व हो । उभौलीलाई प्रकृति पूजाको रुपमा पनि लिइन्छ ।

होरी पनि खल्लो

होली, उभौली, नयाँ वर्ष मात्रै होइन, पश्चिम तराईको आदिवासी थारु, रानाथारु जातिले मनाइने चिरै भहजर, चराइँ तथा भजनी चराइँ पर्व पनि प्रभावित भएको छ । 

कैलाली–कञ्चनपुर जिल्लामा मात्रै बसोबास रहेको रानाथारु जातिको १ महिना ८ दिनसम्म मनाइने होरी पनि प्रभावित भएको थियो । रानाथारु अगुवा नन्दलाल रानाले महिनौंदिन मनाइने पर्व १–२ दिनमा सीमित भएको बताए ।

उनी भन्छन्, ‘पर्वको शुरूआती र अन्त्य गर्ने आफ्नै मौलिक विधि छ । पर्वको अवधिमा विधिपूर्वक पूजापाठसँगै युवायुवतीहरू सामूहिक रुपमा डंका बजाएर होरी नाच छमछम नाच्दछन् तर यसपालि धेरै नाच्न पाएनौं ।’

नेपाल रानाथारु समाजका अध्यक्ष कृपाराम रानाले विज्ञप्ति नै जारी गरेर घरभित्रै सुरक्षित भएर मात्रै पर्व मनाउन आह्वान गरेका थिए ।

नारी स्वतन्त्रको प्रतीकको रुपमा चैत्रदेखि जेठ महिनासम्म मनाइने चिरै भजहर पर्वलाई परम्परागत विधि अनुसार नमनाएपनि थारु जातिले पर्वको स्वरुप परिवर्तन गरेर मनाउन थालेका छन् । कैलालीको कैलारी गाउँपालिका–६ बेनौलीका स्थानीयले वैशाख ३१ गतेदेखि जेठ २ गतेसम्म पर्वको स्वरुप परिवर्तन गरी पर्व मनाएका वडा नम्बर ६ का अध्यक्ष प्रेमबहादुर चौधरीले जानकारी दिए ।

वडाभित्रका सुर्मी, लम्मीफाँटालगायत गाउँका स्थानीयले औपचारिकताको लागि पूजापाठ गरेको तर वर्तमान विषम परिस्थितिलाई मध्यनजर गरी भेला भने नगरेको वडा अध्यक्ष चौधरीले बताए । पूजापाठ पनि सामाजिक दूरी कायम गरी मनाइएको छ । 

अध्यक्ष चौधरी भन्छन्, ‘उसो त पहिलैदेखि हजारौंको संख्यामा रमाइलो गरी पर्व मनाइन्छ तर आजको यो खराब परिस्थितिका कारणले गाउँका गुरुवा (वैद्य), केसौका (सहायक वैद्य), भलमन्सा (गाउँ प्रमुख), चिराकी (चौकीदार)ले सामूहिक दूरी कायम गरी पूजाआजा गरी पर्व मनाएका छन् ।’

भजहर पर्वलाई ऐतिहासिक र सांस्कृतिक महत्त्वको मानिन्छ । धनगढी उपमहानगरपालिका–११ बासखेडाका भलमन्सा रोहित चौधरीले परापूर्वकालदेखि मनाउँदै आएको पर्व गाउँको देवथानमा गई पूजाआजाका साथ सानो समूहमा भएपनि सम्पन्न गरेको बताउँछन् ।

चिरै भजहरको महत्त्व

चिरै भजहर पर्व आदिवासी थारू समुदायका महिलाले मात्रै मनाउने पर्व हो ।  थारू समुदायमा चिरै भजहर पर्वलाई नारी स्वतन्त्रताको प्रतीक र रोगब्याधि प्रतिरोधात्मक पर्वको रुपमा मनाइने प्रचलन रहेको बताइन्छ ।

कैलारी गाउँपालिका–६ बेनौलीका गुरुवा (वैद्य) सत्यनारायण डंगौराका अनुसार पर्वमा पुरुषको केवल सहयोगी भूमिका रहने गर्दछ । पर्व गाउँभन्दा पर जंगलको किनार अथवा बगैचामा मनाउने प्रचलन रहँदै आएको छ । कार्यक्रम अवधिमा आफ्नै तरिकाले मनोरञ्जन गर्ने, खानेकुरा खाने र खुवाइने चलन रहेको पर्वमा साँझपख थारू समुदायका गुरुवा (वैद्य) ले पूजापाठ गरिसकेपछि विधिवत समापन हुने बताइन्छ ।

बान्नीकी चैतलीमा बबाल

मानिसको आस्था, संस्कृति र संस्कारसँग जोडिएको चाडपर्व तथा मेलामा सावधानी नअपनाउँदा जोखिम पनि उत्तिकै बढ्दो छ । चैत्रको अन्तिम साता बझाङ जिल्लामा धार्मिक तथा ऐतिहासिक महत्त्वको बान्नीकी चैतली मेला आयोजना गरिएको थियो । जसले रोगको जोखिमसँगै तनाव सिर्जना भएको थियो ।

लकडाउनबीच आयोजना गरिएको मेलामा हजारौंको भीड जम्मा भएको थियो । जिल्लाको छविस पाथिभरा गाउँपालिका–३ मा मनाइने बान्नीकी चैतलीमा स्थानीयको खचाखच घुइँचो भएपछि रोगको महामारीको जोखिमसँगै तनाव सिर्जना समेत भएको थियो ।

लकडाउन उल्लंघन गर्दै बान्नीकी चैतली मेला सञ्चालन गरेको भन्दै ९ जना पक्राउ समेत परेका थिए । ४ जना वडाध्यक्षसहित ९ जनालाई जरिवाना गरेर छाडिएको थियो ।

नेपाल बहुधार्मिक, बहुसांस्कृतिक मुलुक हो । जहाँ समुदायपिच्छे मौलिक चाडपर्वहरू मनाइन्छन् । पर्वहरू कोरोना भाइरस महामारीले निम्त्याएको परिस्थितिको अनुकूलतालाई मध्यनजर गरी मनाउन सरकारले अपिल गर्दै आएको छ ।

लखन चाैधरी
लखन चाैधरी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्