उदाहरणीय सहायक सीडीओ भूसाल : लकडाउनमा बिदा नबसी राति ११ बजेसम्म गर्छन् काम !

गगन अर्याल
गगन अर्याल

लोकान्तर संवाददाता अर्याल सुरक्षा/अपराध तथा समसामयिक विषयमा समेत कलम चलाउँछन् ।

कोरोना भाइरस कारण देश ५५ दिनदेखि बन्दाबन्दी (लकडाउन) को अवस्थामा छ । देशका अधिकांश सरकारी कार्यालय बन्द छन् ।

राज्य प्रशासन सञ्चालनमा अहम् भूमिका खेल्ने सरकारी कार्यालय कोरोना संक्रमण रोकथामका लागि सरकारले नै बन्द गरेको छ तर अत्यावश्यक कार्यालय अन्तर्गत पर्ने जिल्ला प्रशासन कार्यालय भने खुला छन् ।


Advertisement

जिल्ला प्रशासन कार्यालयले देशभरमा क्वारेन्टाइन बनाउने, सवारी पास जारी गर्नेदेखि बिरामी व्यवस्थापनसम्मको काम गर्दै आएका छन् ।

यी कामको मुख्य भूमिका जिल्लामा रहेका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सीडीओ) को हुन्छ । सहायक सीडीओले सवारी पास व्यवस्थापन, क्वारेन्टाइन व्यवस्थापन समितिको अध्यक्ष र कोभिड व्यवस्थापनको सदस्य सचिव समेतको काम गर्दै आएका छन् ।


Advertisement

काठमाडौं उपत्यकाको हकमा भने जिल्ला प्रशासन कार्यालयलाई काम गर्न अझ चुनौतीपूर्ण छ । काठमाडौं जिल्लामा प्रमुख जिल्ला अधिकारीबाहेक अन्य ३ जना सहायक प्रमुख जिल्ला अधिकारी छन् तर काठमाडौं जत्तिकै व्यस्त रहने ललितपुर जिल्लामा भने १ जना सहायक सीडीओ खिमराज भूसालले सबै काम गर्दै आएका छन् ।

‘ललितपुर काठमाडौं पछिको व्यस्त जिल्ला हो । यहाँ १ जना सहायक सीडीओ छु, सबै काम हेरिरहेको छु,’ भूसालले भने, ‘यस्तो समयमा जनतालाई सेवा सुविधा दिनु मेरो लागि गौरवको कुरा पनि हो र चुनौती पनि हो तर पनि रमाएर काम गरिराखेको छु ।’

जिल्लामा पास जारी गर्ने, बिरामी व्यवस्थापन गर्ने, क्वारेन्टाइन व्यवस्थापन समितिको अध्यक्षको भूमिका निर्वाह गर्ने, कोभिड–१९ कमाण्ड पोस्टको सदस्य सचिव भएकाले स्थानीय तहदेखि केन्द्रसम्म सूचनाको समन्वय गर्ने यी सबै काम सहायक सीडीओ भूसालले गर्दै आएका छन् ।

ललितपुर जिल्लामा सीडीओको सरुवा भएको समयमा भूसालले कायममुकायम प्रमुख जिल्ला अधिकारीको भूमिका समेत निर्वाह गरेका थिए । उनकै सक्रियतामा जिल्लामा जिल्लाका सबै स्थानीय तहमा कोभिड–१९ हेल्प डेस्क स्थापना भएका थिए । भोलिका दिनमा आवश्यक पर्ने क्वारेन्टाइनको लागि निजी अस्पताललाई १ हजार शय्या र निजी विद्यालयलाई पनि ५०० शय्याको क्वारेन्टाइन र आइसोलेसन सेन्टर बनाउनको लागि न्यूनतम पूर्वाधारको विकास गरेर तयारी अवस्थामा राखिएको छ ।

जिल्लामा भएका स्वास्थ्यकर्मीको उच्च मनोबलका साथ काम गर्नको लागि पनि समय–समयमा भेटेर हौसला प्रधान गर्दै आएका छन् सहायक सीडीओ भूसाल । कोरोना भाइरसका कारण कसैको ज्यान गएको खण्डमा शवलाई कसरी व्यवस्थापन गर्ने भन्न लागि १३७ वटा कोभिड एम्बुलेन्स तयारी अवस्थामा राखेर चालकलाई सेनाबाट विशेष तालिमको समेत व्यवस्था गरिएको छ ।

सहायक सीडीओ खिमराज भूसालसँग लोकान्तरकर्मी गगन अर्यालले गरेको कुराकानीको सम्पादित अंश :–

कारोना भाइरस संक्रमण रोकथामका लागि सरकारले लकडाउन गरेपछि त्यसको व्यवस्थापनको सबै जिम्मा गृह मन्त्रालयमा रहेको थियो । लकडाउन कार्यान्वयन जिल्ला प्रशासन कार्यालयमार्फत भइरहेको छ । अन्य सरकारी कार्यालय बन्द रहेपनि जिल्ला प्रशासन कार्यालय खुला रह्यो ।

सवारी पासको जिम्मा मुख्य कामको रूपमा जिल्ला प्रशासन कार्यालयलाई दिइयो । सबै किसिमको पासको व्यवस्थापन गर्नुपर्‍यो ।

काठमाडौं जिल्लापछिको सबैभन्दा कामको लोड र प्रेसर पर्ने ठाउँ हो ललितपुर । यहाँ १ जना मात्रै सहायक सीडीओ भएकाले पनि यो जिल्ला सम्हाल्न निकै नै चुनौतीको कुरो हो ।

चुनौतीसहित काम गर्ने अवसर पनि ठानेर मैले काम गरिराखेको छु । स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारसँगको सहकार्यमा पासलाई व्यवस्थापन गर्न सफल छौं ।

कार्यविधि र व्यवहारमा कतिपय अवस्थामा फरक पनि देखियो । जिल्लाको मुख्य भूमिका जिल्ला प्रशासन कार्यालयको भएकाले बिदाका दिन शनिवार समेत कार्यालयमा आएर काम गरिराखेका छौं । साँझ रातिसम्म पनि काम पर्ने भएकाले राति ११ बजेसम्म पनि बसेर काम गरेका छौं ।

जिल्लामा कतिपय समयमा व्यक्तिको मृत्यु समेत हुने र राति भएपनि पास जारी गर्नु अवस्था पनि आउँछ भने बिरामीलाई अस्पतालसम्म पुर्‍याउन पनि सहजीकरण गर्नुपर्ने भएकाले रातिसम्म पनि बसेर काम गरिराखेका छौं । शुरूको अवस्थामा खाद्यान्नका गाडीलाई पनि आवतजावतमा समस्या हुने गरेको थियो, त्यसलाई पनि व्यवस्थापन गर्नुपर्ने अवस्था थियो ।

लकडानको अवस्थामा एकैदिन २७६ वटासम्म फोन कल उठाउनुपरेको थियो । शुरूका दिनमा बिरामी व्यवस्थापन गर्ने, सवारी पास व्यवस्थापन गर्ने, कार्यालयमा आएका फोन समेतलाई व्यवस्थापन गरेको छु ।

क्वारेन्टाइन व्यवस्थापन समितिको अध्यक्ष सहायक सीडीओ तोकिएको छ, जसको जिम्मा पनि मेरो काँधमा छ । जिल्लामा कति क्वारेन्टाइन बनाउने ? कहा–कहाँ बनाउने हो ? कति अपरेसनमा ल्याउन सकिन्छ ? यी सकै कुरा मैले हेरिरहेको छु ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्वास्थ्य मन्त्रालयका अधिकारी सहितको समिति बनाएर कोरोना रोकथामको लागि हामी सक्रिय रूपमा लागेका छौं । जिल्लाभरका क्वारेन्टाइनको निरीक्षण गर्‍यौं । नेपाली सेनाको प्राविधिक सल्लाहमा क्वारेन्टाइन नबनेको ठाउँमा बनाउन लगायौं । 

ललितपुर जिल्लामा ५०० वटा क्वारेन्टाइन बनाएका छौं । भोलि भयावह अवस्था आएमा १ हजारसम्म व्यक्ति राख्नको लागि क्षमता बढाएका छौं । जिल्लामा १२४ वटा आइसोलेसन सेन्टर छन्, जसलाई बढाएर ५०० वटा आइसोलेसन सेन्टर बनाउन सक्ने क्षमता छ ।

१ हजार ठाउँमा क्वारेन्टाइन व्यवस्थापन गर्नका लागि स्थानीय तहसँगको समन्वयमा सम्बन्धित कार्यालयसँग अनुमति लिएर तयारी अवस्थामा राखेका छौं । प्रमुख जिल्ला अधिकारी (सीडीओ) को अध्यक्षतामा कोभिड कमाण्ड पोस्ट छ, जसको सदस्य सचिवको रूपमा सहायक सीडीओ हुन्छ ।

पोस्टले प्रत्येक दिन मिटिङ बसेर जिल्लाभरको सूचना लिने र केन्द्रसम्म सूचना प्रवाह गर्ने काम पनि गरिरहेको छ, जुन काम आफैंमा चुनौतीपूर्ण छ ।

ई–पासमा अभ्यस्त हुन शुरूका दिनमा निकै समस्या भएको थियो । नयाँ प्रविधि पनि भएकाले होला, केही दिन व्यवस्थापन गर्न असहज भएपनि राम्रोसँग काम गर्‍यौं ।

दिनमा हजारौं पासको लागि अनलाइन निवेदन दिने तर कुन चाहिँ अत्यावश्यकता हो, त्यो छुट्याएर व्यवस्थापन गर्दा पनि निकै कठिनाइ परेको थियो तर हामीले बिदाको दिन पनि रातिसम्म खटेर काम गर्‍यौं । यो टीमको नेतृत्व गरेर मैले काम सम्पादन गरें ।

यो बीचमा सीडीओको सरुवा भएपछि केही समय कायममुकायम सीडीओको रूपमा पनि कार्यसम्पादन गर्ने मौका पाएँ । आम मानिसलाई कानूनी र व्यावहारिक पक्षलाई हेरेर व्यवस्थापन गर्दै आएका छौं ।

जिल्लामा कोभिड फ्रेन्डली एम्बुलेन्सको व्यवस्थापन गर्नुपर्ने थियो । जिल्लाभर १३८ एम्बुलेन्स व्यवस्थापन गरेर सबै चालकलाई नेपाली सेनाबाट प्रशिक्षणको व्यवस्था गर्‍यौं, जसमा पीपीई कसरी लगाउनेदेखि शव व्यवस्थापन गर्नेसम्मको कुरा सिकायौं ।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुखसँगको छलफलमा जिल्लाका ६ वटैं पालिकामा कोभिड हेल्प डेस्कको स्थापना गर्‍यौं । ललितपुरको जिल्ला अस्पताल कोभिडको अस्पतालको रूपमा तोकिएको हुनाले यसको दैनिक रिपोर्ट लिने काम गरिराखेका छौं । निजी अस्पताललाई पनि सहकार्यमा ल्याएर काम गरिराखेका छौं ।

अहिले गणेशमान अस्पतालले ५५ शय्या, एन्फा कम्प्लेक्समा १०० क्षमताको क्वारेन्टाइन, स्टाफ कलेजमा १० शय्या, जिल्लाका ७ वटा होटलमा करीब ३०० शय्या कोभिड फ्रेन्डली बनाउन मिल्ने शय्या मिलाएका छौं ।

भोलि विपत परेको खण्डमा जिल्लाका निजी विद्यालयहरू लिटिल एन्जल स्कूलमा ३०० शय्या क्षमताको क्वारेन्टाइन, ज्याफु भवनमा ११० शय्या र केही स्थानीय तहले ५–१० का हिसाबले क्वारेन्टइनको व्यवस्था गरेका छौं । यी सबै काम गर्नको लागि सहायक सीडीओको हिसाबले मैले समन्वय गर्दै आएको छु ।

सहायक सीडीओले कतिपय अवस्थामा अध्यक्ष, सदस्य सचिव, समन्वयकर्ता, स्थानीय तह, प्रदेश तह र केन्द्रसँग समन्वय गरेर काम गर्नुपर्ने भएकाले गरेको छु ।

स्वास्थ्यकर्मीले उच्च मनोबलका साथमा काम गरेको देखेका छौं । त्यसको लागि सहायक सीडीओको हिसाबले मैले हौसला पनि दिएको छु भने जिल्ला जनस्वास्थ्य निर्देशकले पनि यसमा ठूलो भूमिका खेल्नुभएको छ । यसले गर्दा स्वास्थ्यकर्मी र डाक्टरहरू कोभिडका बिरामीको राम्रोसँग उपचारमा खटिरहनुभएको छ ।

जिल्लामा क्वारेन्टाइनमा रहेका व्यक्तिलाई पनि हामीले नियमित हेरचार र स्थानीय तहलाई खानपानको राम्रो व्यवस्थापन गर्नको लागि समन्वय गरिराखेका छौं । यदि कोरोनाको संक्रमण देखिएको खण्डमा सेक्टर विभाजन गर्ने काम पनि गरेका छौं ।

जस्तैः यदि कुनै ठाउँ कोभिडको पोजेटिभ देखिए सील गर्नुपर्ने अवस्था आयो, कोभिडको चेकजाँचका लागि स्वास्थ्यकर्मीले हामीलाई सील गर्नुपर्ने अवस्था आयो भन्नुभयो भने हामीले सुरक्षाकर्मीलाई त्यो ठाउँ सील गर्न लगाएर समन्वय गरिराखेका छौं । 

जिल्लामा विकास निर्माणमा भएका श्रमिकलाई स्वास्थ्य सुरक्षा अपनाएर काम गर्न दिएका छौं । कतिपय अवस्थामा स्थानीयले अवरोध गरेर बन्द भएको अवस्था पनि छ ।

जिल्लामा खेतीपातीको लागि आवतजावत गर्ने जो कोहीलाई पनि निवार्धरूपमा जान दिएका छौं । त्यसको लागि उहाँहरूले सामाजिक दूरी भने कायम गर्नुपर्ने हुन्छ ।

दैनिक उपभोग्य सामानको खरिद–बिक्रीको लागि दूरी कायम गरेर खोल्न दिएका छौं ।

गगन अर्याल
गगन अर्याल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्