ट्रक र मोटरसाइकल ठोक्किँदा ड्यूटीमा रहेका प्रहरी हवल्दारको मृत्यु

इलाम–पाँचथर सीमावर्ती राँके बजारमा ट्रक र मोटरसाइकल एकआपसमा ठोकिँदा ड्यूटीमा रहेका १ जना प्रहरी हवल्दारको ज्यान गएको छ ।

सवारी आवागमनको अनुगमनका लागि सादा पोशाकमा खटाइएका प्रहरी हवल्दार नवीन बस्नेतको दुर्घटनामा मृत्यु भएको हो । 


Advertisement

लकडाउनको प्रभावकारी कार्यान्वयनका लागि सीमा क्षेत्रमा भइरहेको सवारी आवागमनको अनुगमन गर्न बस्नेत एक स्थानीयको मोटरसाइकल लिएर इलामतर्फ गइरहेका थिए ।

राँके बजारको चामु होटल छेउमा बस्नेत सवार मे११प ४६६ नम्बरको मोटरसाइकल र झापाको विर्तामोडबाट फिदिम आइरहेको मे१ख १८६३ नम्बरको ट्रक आइतवार दिउँसो ठोक्किँदा बस्नेत गम्भीर घाइते भई ढलेका थिए । 


Advertisement

उपचारका लागि जिल्ला अस्पताल इलाम पुर्‍याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रोमनराज अर्यालले जानकारी दिए । प्रहरी हवल्दार बस्नेत चिलिङ्दिन प्रहरी चौकी राँकेमा कार्यरत थिए ।

दुर्घटनामा ठक्कर दिने ट्रकका चालक कमल सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

कमेन्ट गर्नुहोस्