'कोरोना महाव्याधि'पछिका मानवहरू [भाग– ३]

मनोज भुसाल
मनोज भुसाल

भुसाल फिनल्याण्डको हेलसिन्की विश्वविद्यालयमा डेभलपमेण्ट स्टडिजमा विद्यावारिधी गर्दैछन् ।

कोरोना महामारीपछिको सम्भावित विश्वपरिस्थितिको आंकलन गर्नु यो लेखको मुख्य उद्देश्य हो। लेखको पहिलो भागमा वर्तमान विश्वव्यवस्थामा कोरोना महामारीले पार्नसक्ने प्रभावको विश्लेषण गरिएको थियो। भाग-२ मा कोरोना महामारीले विभिन्न मुलुकहरूको राष्ट्रिय राजनीतिमा पार्नसक्ने असरका साथै प्रजातन्त्र, व्यक्तिगत स्वतन्त्रता, गोपनीयता र राष्ट्रिय सुरक्षामा के-कस्ता प्रभावहरू पर्नेछन् भन्ने चर्चा गरिएको थियो। यो अन्तिम भागचाहिँ  कसरी यो महामारी  पूँजीवादी अर्थव्यवस्थाको विकल्प खोज्ने र विश्वलाई मौलिक रूपमै रुपान्तरण गर्ने अवसरको रूपमा प्रयोग गर्ने सकिन्छ भन्ने कुरामा केन्द्रित छ।

यस लेखको (भाग-१ को) शुरूमा भनिएझैं एक दिन यो महामारी समाप्त हुनेछ र हामी एउटा नयाँ अध्यायमा प्रवेश गर्नेछौं । कोरोनाको शोकलाई रचनात्मक शक्तिमा रुपान्तरण गर्ने अवसर महामारीपछिका मानवहरूले पाउने छन् । यो यात्रा निश्चय पनि लामो र जटिल हुनेछ। यसका निम्ति हाम्रा आनीबानीहरू र विश्वास पद्धतिमा परिवर्तन जरुरी छ । मानवजातिको साझा हितका निम्ति हामीले केही व्यक्तिगत त्यागहरू पनि गर्नुपर्ला, तर यो महामारीले हामीलाई हामीले हिंड्दै आएको बाटो छोडेर एउटा फरक तर न्यायपूर्ण नयाँ बाटो समात्ने अनुपम अवसर पनि दिनेछ।   


Advertisement

कोरोना महामारीपछिको संसार एउटा फरक संसार हुनेछ। हाम्रो राजनीति, हाम्रो संस्कृति, हाम्रो अर्थव्यवस्थामा आउने प्रभाव र फेरबदलले महामारीपछिका मानवहरू पनि एक किसिमले परिवर्तित मानवहरू हुनेछन् । दूर शिक्षा, घरबाटै गरिने 'डिस्ट्यान्स-वर्क' र टेलिमेडिसिन जस्ता अभ्यासहरू अझै व्यापक हुँदै जानेछन्। डिजिटल प्रविधिको क्षेत्रमा अभूतपूर्व वृद्धि, उत्पादन र सेवा क्षेत्रमा स्वचालित मेसिनहरूको प्रयोग पनि बढ्न सक्छ। यसले अन्तत: मानिसको उपभोग र आर्थिक व्यवहारको ढाँचामा ठूलो परिवर्तन ल्याउन सक्छ। स्वास्थ्य सेवा प्रणालीहरूमा पनि रूपान्तरण देख्ने सकिनेछ भने मिथ्याभन्दा विज्ञान र तथ्यहरूमा विश्वास गर्ने मान्छेहरू धेरै हुनेछन्। 

यदि त्यसो हो भने के विश्व एक पूर्ण र मौलिक परिवर्तनको संघारमा छ त?  सम्भवतः छैन, र त्यो नै मूख्य समस्या हो।  


Advertisement

कोरोना महामारीले हामीलाई फेरि एकपटक विश्वमा रहेको गहिरो असमानता र विभेदको नमीठो चित्र देखाइदिएको छ। हो यो महामारीका क्रममा हामीले मानवीय सहयोग, दया र अनुकम्पाका असंख्य उदाहरणहरू पनि देख्यौं । आफ्नो ज्यान जोखिममा राखेर अरूको ज्यान बचाउन महामारीको फ्रन्टलाइनमा दिनरात खटेका स्वास्थ्यकर्मीहरूको मेहनत र पसिना पनि देख्यौं। तर त्यो सँगसँगै यो पनि देख्यौं कि सामाजिक दूरी कायम गर्नु सबैको सुविधाको विषय रहेन र घरबाटै काम गर्ने वा लामो बिदा बस्ने सुविधा सबैलाई थिएन।  

हामीले भारतका औद्योगिक शहरहरूबाट छट्पटिदै सडकमा बग्रेल्ति निस्केका मजदुरका उदासिन तस्वीरहरू पनि देख्यौं। सयौं किलोमिटर हिँडेर, महाकाली नदी तरेर आफ्नो घर फर्कंदै गरेका गरिखाने नेपालीहरूको पीडा पनि देख्यौं। कोरोना सर्नेभन्दा पनि रोजगारी गुम्नेभो भन्ने चिन्तामा रहेका उडान परिचारिकाहरूको व्यथा पनि सुन्यौं। भाइरसले भन्दा अगाडि भोकले मरिने हो कि भन्ने पीडामा छट्पटिएका गरिखाने गरीबहरूका बेदना पनि मनग्य सुन्यौं ।  

यी दुख:द् कथाहरू कुनै खास मुलुक वा कुनै खास क्षेत्रमा सीमित छैनन्। यी जताततै छन्। मुम्बइदेखि म्यानहट्टनसम्म, मनिलादेखि मधेशसम्म । कोरोना संकटले खासगरी शहरी मजदुरहरू, आप्रवासी र जिरो आवर कन्ट्रयाकमा काम गर्ने, शैक्षिक कर्जा र क्रेडिट कार्ड बिलमा थिचिएका 'मिलेनियल्स'हरूका समस्याहरू सतहमा ल्याइदिएको छ।    

तर दुःखको कुरा, यो नै हामी बाँचिरहेको संसार हो। यस्तो संसार जहाँ गोलीगठ्ठा र हतियारको आपूर्तिमा कुनै समस्या छैन, तर मान्छेको ज्यान बचाउने भेन्टिलेटर र व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) हरूको हाहाकार छ । भ्रष्ट र निकम्मा संरचनाहरूलाई 'बेल आउट' गरी बचाउन प्रशस्त पैसा छ, तर स्वास्थ्यकर्मीहरूलाई उचित तलब भुक्तानी गर्न बजेटको अभाव छ । हामीले निर्माण गरेको संसार यही हो; यस्तो संसार जहाँ गरीब, आप्रवासी र कालो जातिको भएकै कारण कोरोना जस्ता रोगबाट मर्ने सम्भावना बढी हुन्छ । यस्तो संसार जहाँ श्रमजीवीको महत्त्व उसले गर्ने श्रम, उसले बगाउने पसिनामा हैन उसले निकाल्ने नाफासँग जोडेर हेरिन्छ। 

सतही रूपमा हेर्दा यी समस्याहरू कोरोना महामारीका उपज जस्ता लाग्छन्, तर त्यसो होइन। कोरोना त एउटा रोग/भाइरस मात्र हो। यी समस्याहरूचाहिँ प्रणालीगत विफलताका परिणाम हुन्। यो महामारीका क्रममा देखिएको विभेद, चौतर्फी निराशा र अक्षमताका पछाडि  नवउदारवादी कर्पोरेट पूँजीवादको भीमकाय संरचना जिम्मेवार छ। कर्पोरेट पूँजीवादले हामी सबैलाई फेरि एकपटक निराश र पंगु बनाएको छ, तर योसँगको हाम्रो लगाव विचित्रको छ।

महामारीपछिका मानवहरूले  नवउदारवादी कर्पोरेट पूँजीवादको भीमकाय संरचनालाई के गर्लान् ? यो नै कोरोना महामारीपछिको सबैभन्दा महत्त्वपूर्ण प्रश्न हो। हो, फेरि पनि पूँजीवादलाई लगाम बिनाको घोडा जस्तो खुल्ला छाड्ने, यसले गर्ने शोषण र यसमा अन्तरनिहित अनेक कमजोरीहरूप्रति आँखा चिम्लिन त सकिन्छ, तर एउटा छुट्टै वैकल्पिक संरचना निर्माण गर्ने अवसर पनि प्राप्त हुँदैछ । एउटा यस्तो वैकल्पिक संरचना जुन समावेशी, समतामूलक र धेरैका निम्ति न्यायपूर्ण हुनेछ।    

त्यो अर्थमा कोरोना महामारी एउटा अवसर हो- नयाँ संरचनाको जग बसाउने अवसर; पुराना काम नलागेका प्रणालीहरूलाई उखेल्ने र फ्याँक्ने अवसर।  

के महामारीपछिका मानवहरू यस्तो नयाँ र बिल्कुलै फरक बाटोमा हिँड्ने हिम्मत गर्लान् ? त्यो कुरा समयले नै बताउने छ। तर त्यसो गर्न सके भने इतिहासले उनीहरूलाई स्याबासी दिनेछ ।  

(यो लेख भुसालले अंग्रेजीमा लेखेको द वर्ल्ड अफ्टर कोभिड- १९ को नेपाली भावानुवाद हो।) 

पढ्नुहोस्, यो पनि :

'कोरोना महाव्याधि'पछिका मानवहरू [भाग– १]

'कोरोना महाव्याधि'पछिका मानवहरू [भाग– २]

मनोज भुसाल
मनोज भुसाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्