रोजगारी गुमाएकालाई गाउँमै काम दिने तयारीमा प्रदेश २ सरकार

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत ।

प्रदेश नं २ सरकारले कोभिड–१९ का कारण विदेशमा रोजगारी गुमाएका नागरिकलाई स्वदेशमै उचित अवसर दिने तयारी गरेको छ।

श्रम रोजगार पत्रकार समूहले मंगलबार  आयोजना गरेको भर्चुअल छलफलमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विदेशबाट फर्किएका नेपालीलाई प्रदेश सरकारले ससम्मान आफ्नो गाउँघरमा राख्ने र सीप दिने वा सीप भएकालाई रोजगारी दिने योजना बनाउन लागिएको बताए। 


Advertisement

उनले भारतसहित तेस्रो मुलुकबाट प्रदेश २ मा मात्रै करिब १० लाख नेपाली फर्कने अवस्था रहेकाले उनीहरुलाई स्वदेशमा नै कृषितर्फ आकर्षित गर्नेगरी कार्यक्रम ल्याउन लागिएको बताए। रोजगारी गुमाएर स्वदेश फर्किनेलाई प्रदेश सरकारले उपलव्धिमूलक रोजगारीसँग जोड्नेसमेत उनले बताए। 'उपलब्धिमूलक रोजगारमा उनीहरुलाई संलग्न गराउने छौँ,' उनले भने।

 प्रदेश २ सरकारले कृषि क्षेत्रमा युवालाई लगाउने तयारी गरिरहेको मुख्यमन्त्रीको भनाइ छ। 'अब आउने युवा जनशक्तिलाई कृषि उत्पादनमा लगाएर उत्पादकत्व बढाउने गरी हामी काम गर्नेछौँ,' उनले भने। उनले प्रदेश २ बाट भारतमा पाँच लाख तथा खाडी र मलेसियालगायत मुलुकमा झण्डै आठ लाख युवा रोजगारीको सिलसिलामा रहेको जानकारी दिए।


Advertisement

'कोही भारत, कोही अन्य देश जाँदा यहाँ सामान्य खेती भएका पनि काम गर्न छाडिसकेका छन्, अब विदेशबाट फर्किएपछि उत्पादन बढ्ने अवस्था हुन्छ,' मुख्यमन्त्री राउतले भने। यद्यपि प्रदेश २ मा मात्रै झण्डै १० लाख नागरिक फर्किने अवस्था रहेकाले तिनको व्यवस्थापन चुनौतीपूर्ण रहेको उनको भनाइ थियो । 

कमेन्ट गर्नुहोस्