सेवा नै सौख : समुद्रपारदेखि सरिताको समाजसेवा

विजय उत्सव
विजय उत्सव

पत्रकार विजय उत्सव लोकान्तरका गण्डकी प्रदेश प्रतिनिधि हुन् ।

सामाजिक सञ्जाललाई युवापुस्ताले कसरी बुझ्छन् ? कतिपयले दुरुपयोग गरेका होलान्, कतिपयले सदुपयोग । कोही भने अरुको निम्ति सहारा बनिरहेका छन् । फेसबूक सदुपयोग गर्दै सहयोग अभियान थाल्ने परिचित नाम हो, सरिता गुरुङ ।
 
सन् २०११ देखि नै सामाजिक सञ्जाल फेसबूकको भरपूर उपयोग गरेरै उनले थुप्रै मानिसको आलो घाउमा मल्हमपट्टी लगाउँदै आएकी छन् । 

उनी यतिसम्म भन्छिन्, ‘सहयोग गर्न पाइनँ भने मनमा सन्तोष नै हुँदैन । सर्भिस (सेवा) नै प्यासन (सौख) जस्तो भसक्यो ।’


Advertisement

कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउँदुरकोटकी सरिता नेपालमा रहँदा जति सामाजिक सेवामा सक्रिय थिइन्, सहयोगको भावना प्रवासमा पुगेर पनि मरेन । भौगोलिक दूरीका हिसाबले नेपालभन्दा निकै टाढा पर्छ अमेरिका । उनी अमेरिका पुगेकी छन् तर मन नेपालीमै छ ।

विश्वभर महामारीको रुपमा कोरोना भाइरस (कोभिड–१९) फैलिएको छ । चीनबाट शुरूआत भएको भाइरसले विश्व नै हल्लाइदियो । चीन तुलनामा अमेरिकामा झनै व्यक्ति संक्रमित बनेका छन् भने कोभिड–१९ का कारण मृत्यु पनि ठूलो संख्यामा भएको छ । २ वर्षअघि त्यहाँ उडेकी सरिता अमेरिकाको कोलाराडो राज्यमा बसोबास गर्छिन् । उनी असिसेन्ट लिभिङ होममा लीड केयर गिभर छिन् । पेशा समाजसेवा जस्तै मिल्दोजुल्दो छ ।


Advertisement

कोरोना प्रभावका कारण नेपालमा जारी लकडाउनले ७५ दिन नाघिसक्दा निम्न वर्गका मानिसको दैनन्दिन प्रताडित बन्दै गएको जगजाहेर छ । तिनै प्रभावित व्यक्ति तथा समुदायको दुःखका कथा उनले सामाजिक सञ्जाल तथा अनलाइनमार्फत बरोबर पढ्छिन् र सहयोग गर्छिन् । 

त्यसैकै पछिल्लो उदाहरण हो एकल महिलालाई सहयोग र दृष्टिविहीन विद्यार्थीलाई राहत प्याकेज । उनले सानोठिमी भक्तपुर क्याम्पसमा अध्ययनरत २० जना दृष्टिविहीन विद्यार्थी र आश्रित परिवारलाई समुद्रपारिदेखि राहत प्याकेज पठाइन् । राहतबापत पठाइएको रकमबाट खाद्यान्न खरिद तथा वितरणको समन्वय दिवेश सायमी र सुदीप लामाले गरे । 

उनले आफू जन्मे–हुर्केको कास्कीका एकल महिलालाई खाद्यान्न सहयोग जुटाएर निभेको चुल्हो बाल्न मद्दत गरिन् । जिल्ला सदरमुकाम पोखरा क्षेत्रका १३ जना एकल महिला सहितको परिवारलाई राहत प्याकेज पठाइन् । त्यसको समन्वय पोखरा क्षेत्रमा फोटो पत्रकार सुदर्शन रञ्जित, पत्रकार दीपक परियार र सुमित शेरचनले गरेका थिए ।

काठमाडौंमा बसोबास गरिरहेका २० जना एकल महिला, तेह्रथुममा १२ जना एकल दलित, अतिविपन्न परिवारलाई २ हजार दरले खाद्यान्न वितरणका लागि आर्थिक सहयोग पठाइन् । कोरोना महामारीबीच अन्यलाई पनि आफूले सहयोग जारी राख्ने उनको प्रतिबद्धता छ ।

अमेरिकाझैं नेपालमा पनि भूसको आगो नै यतिबेला कोरोना भाइरस संक्रमित संख्या दिनानुदिन बढ्दै गएको छ । एकैदिन ३०० बराबर संख्यामा नेपालमा कोरोना संक्रमित फैलिन थालिसकेका छन् । आजभन्दा भोलि, भोलिभन्दा पर्सी यो संख्या अझै केही दिन बढ्ने स्पष्ट संकेत देखापरेको छ । यसबीचमा सरकारले सबै वर्गलाई राहत प्याकेज पुर्‍याउनु समेत कठिन छ ।

अप्ठ्यारोमा परेकालाई सकेजति सहयोग गर्नुपर्ने सरिताको धारणा छ । उनी भन्छिन्, ‘जातीयता आधारमा नभई मानवता आधारमा समाजको विकास गर्नुपर्छ । सबै जात, धर्म, वर्ण, लिङ्गको सम्मान गर्दै मानव हुनुको अर्थ बुझेर अरुलाई बुझाउनुपर्छ ।’ सरिताले अझै पनि नेपालको पूर्वी जिल्ला तेह्रथुमको आठराईस्थित जनता आधारभूत विद्यालयमा मन्टेस्वरी तहको कक्षा सञ्चालनका लागि आवश्यक सामग्री सहयोग गरेकी छन् । २ वर्षदेखि शुरूवात गरिएको सहयोगको निरन्तरता जारी छ । उनले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रको लागि सामाजिक सञ्जाल फेसबूक मद्दतबाटै झण्डै ३ लाख रुपैयाँ संकलन गरेकी छन् ।

गोरखामा बुवाआमा गुमाएका २ छोरा र १ छोरी गरी ३ जनाका लागि उनले पालनपोषण तथा पढाइका लागि मासिक ५ हजार रुपैयाँ पठाउँदै आएकी छन् । उनकै पहलमा लमजुङका २१ वर्षीय पूर्ण गुरुङले पुनर्जीवन पाए । दुवै मिर्गौला ‘फेल’ भएका पूर्णको एउटा मिर्गाैला प्रत्यारोपणमा उनले ५ लाख रुपैयाँ सहयोग उपलब्ध गराएकी छन् ।

‘आफू बाँच्ने र अरुलाई बचाउनुपर्छ । यो नै मानवको गुण हो । जीवनलाई मरेपछि पनि सम्झनालायक बनाउनुपर्छ । ताकि भोलिको पुस्ता प्रेरित हुन सकोस्,’ सरिता भन्छिन्, ‘सहयोग गर्न चाहने हो, भौगोलिक दूरीले कुनै प्रभाव पार्दो रहेनछ । जहाँ गए पनि गर्न सकिँदो रहेछ ।’

नेपालसहित अमेरिका, बेलायत, सिंगापुर, हङकङ, दुबई लगायत मुलुकका आफन्त, चिनजान तथा शुभचिन्तकले उनको अकाउन्टको फेसबूक डोनरमा बटन थिच्दै आएका छन् । ताकि लक्षित वर्गसम्म सहयोग पुग्न सकोस्, दुरुपयोग हुन नपाओस् ।

लकडाउन बीचमै पनि देखियो एउटा बिस्कुट पोको दिएर राहत भन्दै सामाजिक सञ्जाल रंगाउनेहरूको चर्चिकला । सरिता भने यो विषयमा निकै सचेत छिन् । सानै उमेरमा समाजसेवामा भिजेकी सरिताको अनुकरणीय सामाजिक कार्यको सर्वत्र प्रशंसा छ । उनले १ दशकयता फेसबूकका माध्यमबाट विभिन्न सहयोग अभियानमा रकम जुटाएर पीडितलाई सहयोग गरिरहेकी छन् । अभियानको फेहरिस्त ४० बढी पुगेको उनको अनुमान छ ।

साविक ढिकुरपोखरीका खड्कबहादुर गुरुङ र मैताकुमारी गुरुङका २ सन्तानमा सरिता जेठी हुन् । भाइ सिंगापुर पुलिसमा कार्यरत छन् । आमा मैताकुमारी सिनियर सुडेनी (स्वास्थ्य स्वयंसेविका) हुन् । त्यो बेला अहिलेको जस्तो सुविधासम्पन्न अस्पताल हुने कुरै भएन । आमा गाउँ–गाउँ पुगेर सुडेनी सेवा दिन्थिन् । आमाको समाज सेवाको भाव छोरीमा पनि बिस्तारै हुर्किंदै गएछ । 

कास्कीको ढिकुरपोखरीमा एक जना ‘रानाभाट बाजे’ वर्षौंदेखि बस्दै आएका थिए । त्यहीँ काममा सघाउँथे, साँझबिहानको हातमुख जोड्थे । बुढ्यौलीले च्याप्दै गएका उनलाई एकदिन दाउरा–घाँस गर्दा मुढाले चोट लागेछ । उपचार पाउन सकेनन्, थला परे । हातपाखुरा चल्न छोडेपछि धन्सारमा थन्काइएको कुरा सरिताले थाहा पाएपछि उनमा सहयोग भाव पैदा भयो । सहयोगार्थ रकम जम्मा गर्न थालिन् र काठमाडौं पशुपतिनाथ वृद्धाश्रममा राखेर छहारी दिइन् । ‘रानाभाट बाजे’को पछि निधन भयो ।

त्यसबेलादेखि समाजसेवाको भाव पैदा भएको उनको मनमा नेपालमा फेसबूक सञ्जाल शुरूआत भएदेखि नै यसैलाई उपयोग गर्दै गरीबी, दुःख, पीडा, रोग, भोक, शोकमा डुबेकालाई सहयोगार्थ अभियान सञ्चालन गरिन् । त्यही अभियानबाट हालसम्म ३ दर्जन बढी अभियानका फेहरिस्त तयार भएका छन् । जातभात, भूगोल, राजनीति केही नभनी उनले विशुद्ध समाजसेवा गरिन् । 

सरिताकै पहलमा कास्कीको भाचोककी दुवै मिर्गौला पीडित १९ वर्षीया बुद्धिमाया गुरुङलाई नियमित डायलाइसिस सेवा उपलब्ध भयो । संकलित ६५ हजार रुपैयाँ पत्रकार सम्मेलनमार्फत पीडित परिवारलाई थमाइन् । डायलाइसिस मात्रै रोगको निदान नभएकाले ट्रान्सप्लान्ट गर्न धेरै रकम लाग्ने भयो । १० लाख रुपैयाँ पुनः संकलन गरिन् । बिडम्बना ट्रान्सप्लान्ट गर्न नपाउँदै बुद्धिमायाले संसार त्यागिन् । बाँकी ७ लाख रुपैयाँ बुद्धिमायाकै छोरी अनुषाको शिक्षादीक्षाका लागि हस्तान्तरण गरिन् । 

सरिताले ५ वर्षीय बालक ऋतिज श्रेष्ठलाई पनि सहयोग गरिन् । ब्लड क्यान्सर पीडित भएका उनको लागि सरिताकै पहलमा ४५ हजार संकलन भएको थियो । दुर्गम क्षेत्रमा पुगेर बिरामीको सेवा गर्ने डा. चित्र वाग्लेको उपचारार्थ ९२ हजार संकलन गरेकी थिइन् । पोखरामा सेती बाढी पीडितलाई उनले २ चरण गरेर २ लाख ३४ हजार रुपैयाँ सहयोग जुटाइन् । 

सिन्धुपाल्चोक जुरेमा २०७१ सालमा भीषण पहिरो गयो । पहिरोबाट २५६ जनाले ज्यान गुमाउन पुगे । बचेका जोगी पहरी परिवारलाई उनले साढे ५ लाख रुपैयाँ सहयोग प्रदान गरिन् । अर्को वर्ष २०७२ सालमा नेपालमा विनाशकारी भूकम्प गयो । गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले बढी क्षति पनि गोरखामै पार्‍यो । बारपाक, लाप्राक, उहिया लगायत स्थानमा पुगेर उनले खान, बस्न, औषधि उपचार पाउन नसकेकालाई सेवा प्रदान गरिन् भने २ हप्ता त्यहाँ बसेर लोपोन्मुख बराम जातिको घाउमा औषधिमूलो गरिन् । 

उनीबाट भएका समाजसेवाका शृङ्खला यत्तिमै टुंगिँदैनन् । भक्तपुर चाँगुनारायण संगम बस्तीका रामकृष्ण सार्कीको घर निर्माण गरेकी छन् । चपुर मुसहर बस्तीमा प्यारालाइसिसबाट ग्रसित हंशवीर माझीका लागि पनि घर बनाउन सहयोग गरिन् । दोलखा भीमेश्वर बहिर प्राविमा २० लाख रुपैयाँ लागतमा सुस्त श्रवणका लागि छात्राबास निर्माण अभियानमा जुटेकी छन् ।

तराईमा हुरी आए पहाडले छेक्नुपर्छ भनेजस्तै उनले तराईमा बाढी आउँदा होस्, पहाडमा पहिरो जाँदा होस्, जहाँतहीँ पुगेर सकेसम्म सेवा गर्न पछि परिनन् । तराईमा शीतयामको बेला सरिता गुरुङ फाउन्डेसनमार्फत १४ लाख रुपैयाँ बराबरको राहत उपलब्ध गराएको बताउँछिन् ।  

समयसँगै हाल प्रवास अमेरिका रहेकी उनले जीवित छँदा मात्र हैन, देहावसानपछि पनि अंगदान गर्ने घोषणा गरेकी छन् । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा आफ्ना विभिन्न अंगदानका लागि घोषणासहित सहमतिपत्र भरेको सुनाइन् । दुःखलाई नजिकबाट देख्ने उनको ‘नेत्र’ भने दान गर्न बाँकी रहेछ । केही वर्षपछि स्वदेश फर्केपछि अझै नजिकबाट सहयोग गर्ने लक्ष्य रहेको सुनाइन् । लोकान्तरसँग कुराकानीको बिट मार्दै गर्दा उनले भनिन्, ‘संसार हेर्ने यी नयन पनि अनुकूल मिलाएर छिट्टै दान गर्नेछु । ताकि अर्को दृष्टिविहीनले संसार चियाउन पाओस् ।’ 

विजय उत्सव
विजय उत्सव

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्