सिंहदरबार, मैले के सजाय पाउँछु बुझी पाउँ? (कविता)

दियेश रत्न शाक्य

म यो निवेदन दिएरै भन्छु
यो लकडाउनको राजभरि मैले विगो गरें
यति मैंले जानीबुझी 'लक' गरिनँ
र खुल्न दिएँ ,चल्न दिएँ

हरेक दिन बिहानैदेखि
मैले आँखालाई खुल्न दिएकै हो
र झ्यालबाट हेर्न दिएकै हो
मात्र यति पीरले कि
कतै मैले आँखा बन्दको बन्दै राखें भने
मेरा नजिकका
आफन्त ,छिमेकी र गाउँलेलाई पनि
चिन्न छोडुँला भनेर

कहींकतै कोरोनाको गन्ध
आफ्नो गाउँठाउँसम्म आइपुग्यो कि भनेर
मैले नाकलाई सुँघ्न अह्राएकै हो
र कोरोना कतातिर बास सर्दैछ भनेर बुझ्न
कानलाई
भएभरका मिडिया सुन्न लगाएकै हो
 
यो मैले स्वीकारेरै भन्छु
यो मुख चाहीँ अर्ध 'लक 'छ
विगत केही महिनादेखि मैले
सिंहदरबार सरकारविरुद्ध
सडकमा नारा लगाउन पाएको छैन
बिचरा मेरोलागि बोलिदिने
आखिर यही जिब्रो त छ
त्यसैले स्वादमा रमाऊन् भनेर
केही खान दिएर
'लक'को क्रमभङ्गता गरेकै हो
 
यो छातीलाई देशको सिमाना दुख्दा
मलम लिएर उभिनुपर्छ भनेर
फुल्न दिएको पक्कै हो
सधैं ज्यावलमा रमाउने यो हात
त्यसै बसेको देखेर
कमसेकम यो निवेदन लेख्न
कलम समाउन दिएको पक्कै हो
न भोलि भोकभोकै परेर लुरे ज्यान 
हुन्छ कि भनेर
पेटलाई बढी कोच्न दिएको पक्कै हो
 
अब खुट्टाको कुरो मात्र किन लुकाउने ?
बन्दा-बन्दीमा थच्चिरहँदा
कतै खुट्टा नचलेर म कुजिएँ
वा पक्षघातले थलिएँ भने
अस्पताल बासको भार थपिएला
र घरको भोक-बजेटमा ठेस पुग्ला भनेर
मेरो पाइतालालाई कमसेकम
घरैमा भर्याङको सिंढी गन्न
र पुलिसको आँखा छलाएर
मर्निङवाकमा डुल्न  पठाएकै हो

म कबुल गर्छु
मैले गरेको कसुरको फेहरिस्त  यत्ति नै हो
म बिन्ति जोड्छु
मलाई अहिल्यै ,तुरन्तै अहिले नै
मेरो गाउँको सिंहदरबारको न्यायालयमा
मलाई सजायँ हुन्छ या हुन्नको निर्क्योल गरिदिए
यो भूकम्प मन 
लकडाउनलाई पुरै सुहाउने गरी
शान्त रहने थियो


Advertisement


Advertisement

कमेन्ट गर्नुहोस्