बैंकिङ क्षेत्रको जोखिम व्यवस्थापनमा कोरोनाको प्रभाव

सविता कनौजे न्यौपाने
सविता कनौजे न्यौपाने

कनौजे बैंकिङ क्षेत्रमा कार्यरत छिन् ।

बैंक अर्थव्यवस्थाको केन्द्रमा रहेर हरेक क्षेत्रका व्यक्ति र निगमलाई आर्थिक सहयोग प्रदान गर्ने हुनाले बैंकमा जोखिमहरुको उचित व्यवस्थापन गर्न नसक्दा बैंकमात्र नभएर अर्थतन्त्रका सबै क्षेत्रहरु उत्तिकै प्रभावित हुन्छन् । बैंकका कारण धेरै व्यापार व्यवसाय स्थापित र चलयमान भएका छन् । राम्रो प्रगति गरिरहेका छन्  । त्यसैले यो क्षेत्रलाई अर्थतन्त्रको  मियोको रुपमा हेरिन्छ । 

कोभिड-१९ महामारीले विश्वलाई कठिन नवप्रवर्तन शुरुवाती परिस्थितिमा ल्याएको अवस्थामा बैंक तथा वित्तीय क्षेत्र पनि नराम्रोसँग प्रभावित हुने देखिन्छ जसमा नेपालको बैंक तथा वित्तीय क्षेत्र पनि अछुतो छैन । साढे दुई महिनादेखिको  लकडाउनले आर्थिक-सामाजिक जीवनमा परेको प्रतिकूल प्रभाव गहिरिंदै गएको छ । उद्योग–व्यवसाय र विभिन्न व्यवसायिक प्रतिष्ठानहरु पनि धराशायी बन्ने अवस्था आएको छैन भन्न सकिन्न । 


Advertisement

व्यवसायीहरु बैंकलाई सामाजिक संजाल र पत्रपत्रिकामार्फत विभिन्न प्रश्नहरु गरिरहेका छन् । लकडाउनले सबै व्यवसाय बन्द हुँदा व्यवसाय संचालनका लागि लिइएको ऋणको व्याज कसरी तिर्ने ? धेरै मुनाफा कमाउने बैंकले बन्दभरको किस्ता छुट दिदा के नै फरक पर्छ होला र ?  जस्ता आममानिस तथा व्यवसायीमा जिज्ञासापुर्ण प्रश्नका भारीहरु छरपष्ट भएका छन् ।

बैंकहरुका पनि आफ्नै चुनौतिहरु छन् । झन्डै ८०-९० प्रतिशत कोष सर्वसाधारणको निक्षेपबाट लिएर शेयरहोल्डरहरु १०-१५% मात्रको पुँजी लगानी गरेर बैंक चलाएका हुन्छन् । यता ऋणको व्याज असुलीमा समस्या हुने बित्तिकै निक्षेपकर्तालाई व्याज भुक्तानी दिन  गाह्रो पर्न थाल्छ । धेरै ऋणको किस्ता असुली नभएको बेलामा पनि उता निक्षेपकर्तालाई व्याज भुक्तानी समयमानै गर्नुपर्ने हुन्छ । एकदिन पनि निक्षेपको व्याज दिन ढिलाई गर्दा प्रतिष्ठा जोखिम हुने र बैंकहरुले आफ्ना ग्राहकको मन जित्न गाह्रो हुन्छ ।


Advertisement

निक्षेपकर्ताहरुको स्वार्थ बैंकले बढीभन्दा बढी व्याज देओस् भन्ने हुन्छ । उता ऋणीहरुको स्वार्थ न्यूनतम व्याजमा ऋण पाइयोस् भन्ने हुन्छ । बैंकको आम्दानी भन्नु नै कर्जामा लिइने व्याज तथा निक्षेपमा प्रदान गरिने व्याजको अन्तर (स्प्रेड) तथा विभिन्न किसिमका गैर–कोषीय आम्दानीहरु हुन् । यी आम्दानीबाट नै बैंकले आफ्नो अन्य संचालन खर्चहरु समेत जुटाउनुपर्ने हुन्छ । अर्कोतर्फ लगानीकर्ताहरुले निश्चित प्रतिशत प्रतिफलको आशा गरेका हुन्छन् । यदि बैंकले चित्तबुझ्दो प्रतिफल दिन नसके लगानीकर्ताले आफ्नो लगानी फिर्ता लिएर अन्य ठाउँमा लान सक्छन् ।  

उता नियमकारी निकाय नेपाल राष्ट्र बैंकको सुक्ष्म व्यवस्थापनमा स्प्रेड दर, निक्षेपको व्याजदर लगाम, तोकिएको क्षेत्रमा कर्जा र पूंजी पर्याप्ततालगायत धेरै नियम पालना गर्नुपर्ने भएकाले बैंकले आफू बाचेर व्यवसाय अनि आफ्ना ग्राहक बचाउनु अहिलेको अवस्था निकै चुनौतिपुर्ण छ । 

यससहित बैंकिङ व्यवसायले नाफा बढाउन कर्जा जोखिम, सञ्चालन जोखिम, तरलता जोखिम, बजार जोखिम इत्यादि जोखिमहरु वहन गर्नुपर्ने हुन्छ । 

वित्तिय संथामा जोखिम लिनु अन्तरनिहित तत्व हो तर अप्रत्याशित संकटले बैंकहरूको प्रभावकारिता र जोखिम व्यवस्थापन फ्रेमवर्क वरपर प्रश्नहरू पनि खडा गर्दछ । अहिले  मुख्यत: कर्जा जोखिम, सञ्चालन जोखिम र तरलता जोखिम व्यवस्थापनमा कोभिडको ठुलो प्रभाव परेको छ ।

कर्जा जोखिम

कोभिडको पहिलो प्रभाव कर्जा जोखिमको व्यवस्थापनमा परेको छ । लामो लकडाउन र बन्द आम्दानीको कारणले ऋणीले कर्जा लिंदाको बखत बैंकसँग गरेको सम्झौता बमोजिम साँवा तथा व्याज बुझाउन सक्ने अवस्था छैन जसले बैंकको वासलातमा नराम्रो असर गरी खराब कर्जाको मात्रा बढाउँछ ।

अहिले यो संकट आएकाले नेपाल राष्ट्र बैंकले ऋणीलाई किस्ता तिर्ने क्षमता नभएको मध्यनजर गर्दै किस्ता तिर्ने समय तिन महिना पर सारेको छ । मलाइ लाग्छ समय थप्दै जानु भनेको समस्यालाई पर सार्नु मात्र हो । यसले लामो समय काम गर्दैन । हामीले समस्यालाई समाधान गर्नेतिर नगएर खाली यसलाई समय मात्र थपिरह्यौं भने भविष्यमा समस्याहरु 'क्युमिलेट' (एक ढिक्का) मात्र हुन्छ र बैंकसँग कर्जा जोखिम बहन गर्ने क्षमता ह्रास हुन्छ ।

अर्कोतर्फ व्यवसायीहरु व्याज छुटलगायतका सहुलियत मागिरहेको बेला राष्ट्र बैंकले मर्का नपरेका र परेकालाई एउटै बास्केटमा हालेर होलसेलमा राहत प्याकेज ल्याएको छ । राहत भनेको मर्का पर्नेलाई दिने हो । जसलाई सबैभन्दा धेरै मर्का पर्यो  उसलाई धेरै राहत दिनु पर्छ । तर राष्ट्र बैंकको नीतिका कारण जसले सजिलै व्याज तिर्न सक्थे उनीहरुले पनि तिरेनन् । सबैलाई यस्तो छुट दिँदा बैंकहरुको वासलातलाई नराम्रो प्रभाव पर्ने र कर्जा जोखिम बढ्ने देखिन्छ । राष्ट्र बैंकले ल्याएको राहत प्याकेज ब्लाङ्केटरी भयो यसलाई पुनरावलोकन गरिनुपर्छ जसले ऋणीलाइ मात्र नभई बैंकलाइ पनि बचाउन सकारात्मक सहयोग  पुग्नेछ ।

बैंकहरुले पनि भविष्यमा आउन सक्ने नसोचेका संकटलाई मध्यनजर गरेर नियामक निकायले दिएका निर्देशनसहित आन्तरिक जोखिम व्यवस्थापन नीति बलियो बनाउनुपर्ने हुन्छ । पोर्टफोलियो व्यवस्थापन, लोन इभरग्रिनिङ, वित्तीय विवरणहरुमा विश्वसनियताको कमी र ऋणीको कर्जा चुक्ता गर्नसक्ने क्षमता भन्दा पनि धितो सुरक्षणले बढी प्राथमिकता पाएको जस्ता समस्याले कर्जा क्षेत्रको जोखिम बढि हुने देखिन्छ । यसका लागि सक्रिय रूपमा सम्भावित असुरक्षित र अस्वस्थ अभ्यास पत्ता लगाई सुधार गर्नुपर्छ जसले नसोचेको संकटले निम्त्याउने जोखिम कम गर्न सकिन्छ ।

सञ्चालन जोखिम 

अकल्पनीय घटना र संकट, व्यवसाय सञ्चालनमा संलग्न मानवीय पक्षहरुको कमी कमजोरी, प्रविधिको व्यापक प्रयोगले ल्याउने गडबढी र नीतिगत विचलनको कारणले बेहोर्नुपर्ने नोक्सानलाई सञ्चालन जोखिमको रुपमा लिइन्छ ।
कोभिड महाब्याधीले सबै क्षेत्रको काम गर्ने वातावरण नै परिवर्तन गरिदिएको छ । एक व्यक्तिको अर्को व्यक्तिसंगको भेटघाट नै  त्रासपुर्ण भएको बेलामा पनि बैंकरहरु सेवा प्रवाहमा लाग्नै पर्ने बाध्यता छ। यसका लागि कार्यालय सञ्चालनको लागि मनोवैज्ञानिक प्रतिरोधको कारण कर्मचारी अनुपस्थिति बढ्न सक्छ यी सबैले मानव संसाधन व्यवस्थापनमा थप चुनौतीहरू पनि ल्याउनेछ । 

कर्मचारीहरुले घरैबाट काम गर्नुपर्ने अवस्था आएको छ । यसको लागि बैंकहरुले नयाँ सफ्टवेयरको प्रयोग बढाई धेरै इलेक्ट्रोनिक बैंकिङ, कार्ड बैंकिङ, मोबाइल बैंकिङ लगायतका विद्युतिय माध्यमबाट हुने प्राविधिक कारोबार बढाउनुपर्ने देखिन्छ । एकातर्फ कर्मचारीलाई घरबाट काम गर्ने वातावरण मिलाउदा प्राइभेसी नहुने र अर्कोतर्फ नयाँ टेक्नोलोजीको प्रयोग गर्दा बैंकको सञ्चालन जोखिम बढ्ने हुन्छ । तसर्थ संकटको बेला अगाडि रहेर काम गर्ने कर्मचारीको छनोट र जिम्मेवारी बाँडफाँडमा विशेष ध्यान दिदै नियामक कार्य र बैंक  सञ्चालनमा लचिलोपन अपनाउनु जरुरी देखिन्छ । 

तरलता जोखिम 

बैंकहरुको तरलता जोखिम व्यवस्थापनमा कोभिडले थप चुनौति थपेको छ । ऋण तिर्ने समय पछी सारिएको र बचत निकाल्ने दर बढेको तर  निक्षेपमा व्याज समयमा दिनुपर्ने र नयाँ निक्षेप संकलन धेरै नहुने भएकोले तरलताको समस्या हुने देखिन्छ । यो महामारी लम्बिंदै जाने हो भने बैंकले आफ्नो दायित्व पूरा गर्न रकम जुटाउन नसक्ने वा जुटाउँदा अस्वभाविक दस्तुर तिर्नुपर्ने अवस्था आउन सक्छ। जसले तरलता जोखिम वृद्धि गराउँछ । 

अर्कोतर्फ, कर्जा लगानी हाल प्राय ठप्प रहेकाले लगानीयोग्य पूँजी पनि बैंकसँग यसै रहिरहेको छ । यसले गर्दा बैंकले ठूलो मात्रामा अपरच्युनिटी लस व्यहोर्नु पर्ने अवस्था छ । यो पनि अधिक तरलताको जोखिमको अवस्था हो । यसलाई व्यवस्थापन गरी नोक्सान कम गर्न पनि राष्ट्र बैंकको उचित नितिको आवश्यक छ।

तरलता अभाव कम गर्नको लागि कोरोना सङ्क्रमण पछी बैंकले आफ्नो निक्षेपको ४% नेपाल राष्ट्र बैंकको खातामा नगद रिजर्भ अनुपातको रुपमा राख्नु पर्नेमा ३% मा झारेको छ । यसले तरलता अभावलाइ केही राहत मिलेपनि यतिमात्रले लामो समयसम्मको समस्या समाधान गर्दैन । बैंकले तरलता मापन सूचकहरू नियमित कम भइरहेको छ भने कुनै पनि तरलताको कमीको आकार र प्रभाव निर्धारण गर्न बैंकहरुबाटै विश्लेषण गरिनु पर्दछ । 

अन्त्यमा, विभिन्न तरिकाले नियमकारी निकाय र सरकारले राहत दिएपनि बैंकहरुले आन्तरिकरुपमा जोखिम व्यवस्थापनको लागि विशेष रणनैतिक कदम चाल्नुपर्ने हुन्छ । संकटको समयमा ग्राहकको विश्वास कायम गर्न र वित्तीय प्रणालीको स्थिरता सुनिश्चित गर्न छोटो, मध्यम र विभिन्न दीर्घकालीन प्रभाव आँकलन गरी जोखिम न्यूनीकरण विधिको परिवर्तनमा ध्यान जानु नितान्त आवश्यक छ ।  

यो संकटको बेला अनुसन्धानमा निपुर्ण वरिष्ठ अधिकारीहरूले बजारको डरलाई कम गर्न, कर्मचारी अनुपस्थितिलाई कम गर्न र बजारको उपस्थिति कायम राख्दै सेवाको गुणस्तर बढाउने र नोक्सान कम गर्न व्यवसायिक कार्यहरू, कर्मचारी स्वास्थ्य, पोर्टफोलियो र कर्जा असुलीमा समन्वय गर्दै समयको आवश्यकता अनुसार बैंकिङ प्रोडक्ट पुनः डिजाइन गर्नु आवश्यक देखिन्छ । 

email: [email protected]

सविता कनौजे न्यौपाने
सविता कनौजे न्यौपाने

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्