डोनाल्ड ट्रम्प पुन: राष्ट्रपति चुनिए पोख्नेछन् 'युद्ध कुण्ठा' !

विन्देश दहाल
विन्देश दहाल

लोकान्तर डट् कमका कूटनीतिक मामिला सम्पादक विन्देश दहाल अन्तर्राष्ट्रिय राजनीति तथा पूर्वीय अध्यात्मबारे लेख्छन् । 

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प देशमा कोरोनाभाइरसको प्रकोप आउनुअघि चुनाव जित्ने विषयमा ढुक्क थिए । अमेरिकी अर्थतन्त्र उक्सिन थालेको थियो र नयाँ रोजगारीहरू सिर्जना भइरहेका थिए । बजारमा एक किसिमको उत्साह थियो ।

तर कोरोनाभाइरसले ट्रम्पलाई निकै अप्ठ्यारो स्थितिमा ल्याइदिएको छ । एक लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ भने अर्थतन्त्र सुस्त छ । लाखौं मानिसले बेरोजगारी भत्ताका लागि निवेदन दिएका छन् । त्यसमाथि अहिले जातीय विभेदका विरुद्ध दंगा चर्किरहेको छ ।


Advertisement

विभिन्न मत सर्वेक्षणहरूमा ट्रम्प आफ्ना प्रतिद्वन्द्वी जो बाइडनभन्दा पछि परेको देखिएको छ । तैपनि चमत्कार भएर (सन् २०१६ मा भएको निर्वाचनमा पनि उनले जित्लान् भनी धेरैले अपेक्षा गरेकै थिएनन्) ट्रम्पले आगामी नोभेम्बर महिनामा हुने निर्वाचनमा विजय प्राप्त गरे भने युद्धको परिप्रेक्ष्यमा कस्तो परराष्ट्रनीति अँगाल्लान् भनी आकलनको प्रयास गरिएको छ । अनि बाइडनको परराष्ट्रनीतिको पनि संक्षिप्त चर्चा गरिनेछ ।

ट्रम्पले दोस्रोपटक पनि कार्यकाल चलाउने अवसर पाए भने अमेरिकालाई युद्धमा होम्ने सम्भावना देखिन्छ । पहिलो कार्यकालमा ट्रम्पले अमेरिकालाई युद्धको स्थितिबाट रोकेका घटनाहरू छन् । इरानले होर्मुज जलप्रपात नजिक अमेरिकी ड्रोन खसाएपछि ट्रम्पले उक्त देशमाथि सैन्य कारवाही गर्ने आदेश अन्तिममा रोकेका थिए । पछि इरानी जनरल कासिम सुलेमानीको हत्या गराएपछि पनि अमेरिका युद्धमा गएन । 


Advertisement

तर ट्रम्पले विश्व शान्तिको पक्षमा रहेकाले वा पवित्र उद्देश्यले युद्ध रोकेका भने हैनन् । विदेशी भूमिमा सैन्य हस्तक्षेप (फरेन इन्टरभेन्सन) को विरोध गर्ने एक शक्तिशाली तप्का ट्रम्पको मताधार हो र त्यसलाई नचिढ्याउनका लागि मात्र उनले संयम अपनाएको र शान्तिको पक्षधर रहेको देखाएका हुन् ।

तर उनी दोस्रो कार्यकालका लागि निर्वाचित भए भने त्यसपछि फेरि निर्वाचन लड्नु नपर्ने भएकाले हस्तक्षेपविरोधीका कुरा सुनिरहन उनलाई आवश्यक छैन । अहिले तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्समा विपक्षी डेमोक्रेटहरूको बाहुल्य छ र राष्ट्रपति निर्वाचनसँगै हुने संसदीय निर्वाचनपछि दुवै सदनमा रिपब्लिकन पार्टीले वर्चस्व गुमाउने सम्भावना देखिन्छ । त्यसो भयो भने उनलाई काम गर्न गाह्रो पर्छ र आफ्नो सक्षमता देखाउनका लागि उनले विदेशी भूमिमा सैन्य कारवाहीमा आश्रित हुने प्रबल सम्भावना छ ।

सन् २०१६ को चुनाव लड्दा ट्रम्पले संसारभरिको समस्या समाधान गर्ने ठेक्का अमेरिकाले नलिएको र अनावश्यक युद्धहरूमा देशले पैसा खर्च गर्नु बेकार भएको बताएका थिए । आफ्ना पूर्ववर्ती राष्ट्रपतिहरूले अमेरिकालाई पश्चिम एसिया र उत्तर अफ्रिकाका युद्धमा फसाएको भनी उनले आलोचना समेत गरेका थिए । त्यसबाट अब अमेरिकाको परराष्ट्रनीतिमा परिवर्तन आउने हो कि जस्तो लागेको थियो ।

तर अमेरिकाको हतियार उद्योग तथा डीप स्टेट भनिने जासूसी समुदाय अत्यन्तै शक्तिशाली र त्यसले अमेरिकाका लागि नयाँ नयाँ युद्ध रच्ने षड्यन्त्र बनाइरहेको हुन्छ । ट्रम्पले त्यसलाई प्रतिकार गरेकाले पनि उनीमाथि निरन्तर आक्रमण हुने गरेको हो । तर अमेरिकाको परराष्ट्रनीतिमा तात्त्विक परिवर्तन ट्रम्पको कार्यकालमा आएको देखिएन भलै उनले नयाँ युद्ध शुरु नगरेका हुन्।

इराक र अफगानिस्तानबाट अमेरिकी सैनिकहरूको फिर्ती अहिलेसम्म भएको छैन । उल्टो ट्रम्पले सुलेमानी हत्यापछि इराकलाई अमेरिकी सैनिक हटाउन दबाब दिएमा नाकाबन्दी लगाउने धम्की दिएका छन् । अमेरिकी सैनिक हट्ने हो भने इराकले अमेरिकी लगानीको रकम परिपूर्ति गर्नुपर्ने बताएका थिए ।

अनि सिरियाबाट पनि अमेरिकी सैनिकहरू हटेका छैनन् । त्यसमाथि सिरियाली सरकारले आफ्ना नागरिकमाथि रासायनिक हतियार प्रयोग गरेको भनी सूचना आएपछि उनले उक्त देशमा दुईपटक क्षेप्यास्त्र प्रहारको अनुमति समेत दिएका थिए । उनले गरेको उक्त क्षेप्यास्त्र प्रहारपछि हतियार उद्योगको पैसा खाएका मूलधारे पत्रकारहरूले उनको प्रशंसा समेत गरेका थिए ।

सिरियाबाट सैनिक हटाउनुको साटो अहिले ट्रम्प त्यहाँका तेलखानीको सुरक्षाका लागि अमेरिकी सेना रहिरहने बताउन थालेका छन् । भन्नलाई त उक्त तेलखानीमा आतंकवादी संगठन आईएसको पहुँच नदिनका लागि अमेरिकी सेना त्यहाँ बस्ने भनिएको छ तर आईएस लगभग निमिट्यान्न भइसकेको अवस्थामा त्यहाँ अमेरिकी सेना बस्नु भनेको सिरियाली सरकारलाई तेलमा नियन्त्रणबाट वञ्चित गर्नु हो । सिरियाली सरकारले तेलबाट पैसा कमाउन पाए युद्धबाट ध्वस्त भएको देशको पुनर्निर्माण गर्न पाउँथ्यो तर त्यसबाट वञ्चित भएपछि अशान्ति र अव्यवस्था त्यहाँ कायमै रहिरहनेछ ।

इरानविरुद्ध युद्ध गर्न त ट्रम्प तम्तयारै देखिन्छन् । उनले अमेरिकालाई इरानसँगको आणविक सम्झौताबाट झिकेर अत्यधिक कठोर नाकाबन्दी लगाएका छन् र सत्तापरिवर्तनका लागि विभिन्न प्रयास गरेका छन् । तर केही गर्दा पनि आयातोल्लाह खमेनीको सत्तामाथिको नियन्त्रणलाई उनले खुकुलो बनाउन सकेनन् र दोस्रो कार्यकाल चलाउन पाए भने इरानसँग युद्ध गर्ने सम्भावना छ ।

होर्मुज जलप्रपातमा अमेरिकी जलसेनाका जहाजलाई इरानका द्रुत गतिका मोटरबोटले हावाकावा खेलाएपछि ट्रम्पले तिनीहरूलाई ध्वस्त पारिदिने आदेश दिएबाटै उनी इरानसँगको युद्धका लागि अत्यन्तै इच्छुक रहेको देखिन्छ ।

अनि भेनेजुएलामा सत्ता परिवर्तन गराउन पनि ट्रम्प इच्छुक देखिन्छन् । त्यहाँका राष्ट्रपति निकोलास मदुरोलाई सत्ताच्युत गरेर आफूअनुकूलका विपक्षी नेता खुवान गुआइडोलाई राख्न उनले नाकाबन्दीको नीति अख्तियार गरेका छन्। उनले सबै विकल्प सकिएमा भेनेजुएलामाथि सैन्य कारवाही समेत गर्ने बताइसकेका छन् । दोस्रो कार्यकाल चलाउन पाए भने भेनेजुएलासँग अमेरिकाले युद्ध गर्न सक्छ ।

अनि चुनावमा गरेको प्रतिज्ञा पूरा गरेको देखाउन उनले तालिबानसँग शान्तिवार्ता गरेर अफगानिस्तानबाट अमेरिकी सेना हटाउने पृष्ठभूमि बनाएको भए पनि त्यो सफल भएको देखिँदैन । तालिबानले शान्ति प्रक्रियाको सम्मान गर्नुपर्ने शर्त ट्रम्पले राखेकोमा तालिबानले हिंसात्मक कारवाही चलाइरहेकाले अमेरिका अफगानिस्तानमा अझै पनि युद्धकै स्थितिमा छ ।

ट्रम्प भित्रैदेखि विदेशी भूमिमा हस्तक्षेप गर्ने नीतिका विरुद्ध हुन्थे भने जोन बोल्टन र माइक पोम्पेओ जस्ता युद्धपिपासुहरूलाई आफ्नो प्रशासनमा कदापि ल्याउने थिएनन् । बोल्टन हटिसकेका भए पनि पोम्पेओ पदमै छन् र अहिले उनी चीनविरुद्ध लगातार विषवमन गरेर युद्धको पृष्ठभूमि तयार पारिरहेका छन् । अनि ट्रम्प प्रशासनमा रहेका पिटर नभारो, एलेक्स अजार, म्याट पोटिंगर, माइकल पिल्सबरी लगायतका बहालावाला अधिकारीहरू चीनप्रति कठोर धारणा राख्छन् । ट्रम्प आफैं पनि अहिले चीनविरुद्ध कठोर अभिव्यक्ति दिइरहेका छन् र दोस्रो कार्यकालमा उनले चीनविरुद्धको शीतयुद्धलाई आमनेसामने भएर गरिने युद्धमा परिणत गराउन पनि सक्छन् ।

दुःखको कुरा त, उनका प्रतिस्पर्धी जो बाइडन त झन् विदेशी भूमिमा अमेरिकी सेनाको हस्तक्षेपका पक्षधर हुन् । बाराक ओबामा प्रशासनमा उपराष्ट्रपति रहँदा उनी समान्था पावर नामक हस्तक्षेपपरस्त महिलाको कुरा निकै सुन्ने गर्थे । सन् २००३ मा अमेरिकाले इराकविरुद्ध शुरू गरेको युद्धलाई उनले समर्थन गरेका थिए । अनि लिबियामा मुअम्मार गद्दाफीलाई सत्ताच्युत गर्न अमेरिका नेतृत्वको युद्ध गर्न उक्साउनेमध्ये उनी पनि एक हुन् । अहिले चीनसँगको शीतयुद्धको स्थितिमा पनि उनले चीनविरुद्ध साझेदारहरू निर्माण गर्ने कुरामा जोड दिँदै आएका छन् र उनको कार्यकालमा अमेरिका-चीन सम्बन्ध थप बिग्रने देखिन्छ । 

बाइडनको विदेशी युद्धमोह थाहा पाएरै ५१ वटा युद्धविरोधी समूहरूको गठबन्धनले एउटा पत्र पठाएर उनलाई युद्ध भन्दा पनि कूटनीति, मानवअधिकार र अन्तर्राष्ट्रिय सम्बन्धको पुनर्निर्माण गर्ने सिद्धान्तनिष्ठ परराष्ट्रनीति अँगाल्न आह्वान गरेका छन्

त्यसो त अमेरिकामा जुनसुकै व्यक्ति राष्ट्रपति बने पनि देशको युद्ध पूँजीवादमा परिवर्तन आउने देखिन्न । अमेरिकाले अर्थतन्त्रलाई बचाउनका लागि अनि बजारलाई उत्थान गर्नका लागि पनि हतियार उद्योगलाई सक्रिय राख्दै युद्ध गर्नुपर्ने हुन्छ । नभए त्यहाँको पूँजीवाद नै मृत्युशय्यामा पुग्छ र देश धराशायी हुन्छ । अहिले त्यहाँको अर्थतन्त्र शिथिल अवस्थामा छ र त्यसमा प्राण भर्न पनि युद्ध गर्न सकिने सम्भावना छ । त्यसैले अमेरिकाले युद्धमा आधारित परराष्ट्रनीति त्याग्छ भनी कल्पना गर्न सकिन्न । ट्रम्प र बाइडन जो आए पनि यसमा प्रतिमान परिवर्तन गर्ने हैसियत राख्दैनन् ।

विन्देश दहाल
विन्देश दहाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्