प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विदेशमा कार्यरत रहेका युवाहरुको सीप, दक्षता र पूँजीलाई प्रदेशको विकासमा लगाउने बताएका छन्।
प्रदेश योजना आयोगले कोभिड-१९ ले उत्पन्न गराएको विषम परिस्थितिका कारण वैदेशिक रोजगारमा संलग्न भई नेपाल फर्कन प्रतिक्षारत र फर्किएका प्रदेशवासीहरुको सूचना सङ्कलन् सर्वेक्षण फारमको मंगलबार शुभारम्भ गर्दै उनले सो विचार व्यक्त गरेका हुन्।
मुख्यमन्त्री कार्यालयको वेब साइटमा अनलाइन फारम उपलब्ध रहेको छ। कृषिलगायत विभिन्न उद्योगमा युवाको सीप एवं दक्षतालाई प्रयोग गरी रोजगारमा आबद्ध गरी जोड्न यो अनलाइन फारममा सही तथ्याङ्क भर्ने व्यवस्था मिलाइएको छ।
मुख्यमन्त्री राईले वैदेशिक रोजगारीमा रहेका वा फर्केका युवाहरुले अनलाइन प्रश्नावली भरी त्यसका आधारमा रुचि, इच्छा र कार्ययोजनालाई सरकारले पूँजीसहितको सहयोग उपलब्ध गराउने बताए। मुख्यमन्त्री राईले प्रदेश सरकारले पेश गरेको आगामी वर्षको नीति तथा कार्यक्रममा वैदेशिक युवालाई रोजगारी उपलब्ध गराउने उल्लेख गरेअनुरुप यसअन्तर्गत ‘मेरो कृषि मेरो पौरख’ र ‘प्रदेश प्रमुख कृषि नव प्रवद्र्धन कार्यक्रम’ राखिएको जानकारी दिए।
उनले प्रदेश सरकारले ल्याएको वैदेशिक युवालाई रोजगारी तथा कृषि, उद्यम कार्यक्रमले विदेशमा रहेका सबै युवाको ध्यान आकर्षित गर्ने बताउँदै अहिले विदेशबाट आएर क्वारेन्टिनमा बसेका युवाहरुसँग यस सम्बन्धमा अभिमुखीकरण भइरहेको जानकारी दिए।
लोकान्तर संवाददाता