संकटमा सैलुन व्यवसाय: लकडाउन खुकुलो भएपनि सामाजिक दूरी असम्भव, कालापानी विवादको समेत प्रभाव !

गगन अर्याल
गगन अर्याल

लोकान्तर संवाददाता अर्याल सुरक्षा/अपराध तथा समसामयिक विषयमा समेत कलम चलाउँछन् ।

धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर २ का रामउदगार ठाकुरले करीब ८ महिनाअगाडि ५ लाख रुपैयाँ खर्च गरेर काठमाडौं– १६ बालाजुमा सैलुन खोलेका थिए ।

सैलुन खोलेको ५ महिना नबित्दै कोरोनाभाइरस (कोभिड– १९) का कारण बन्दाबन्दी लकडाउन शुरू भयो । लकडाउनमा देशभरका पसलहरू बन्द भएसँगै ठाकुर पनि पसल बन्द गरेर बसे ।


Advertisement

१५ वर्ष अरूको सैलुनमा काम गरेका उनले नजिकैको फाइनान्सबाट ३ लाख ऋण र आफूले जम्मा गरेको २ लाख रुपैयाँ लगानी गरेका थिए ।

शुरू–शुरूमा कमाइ ठीकै थियो । फाइनान्सको पैसा पनि दैनिक तिरिरहेका थिए । तर लकडाउनपछि उनको सैलुनमा कपाल काट्ने काम ठप्प भयो । अहिले पैसा तिर्नुपर्‍यो भनेर फाइनान्सबाट दैनिक फोन आउने गरेको ठाकुरले बताए ।


Advertisement

लकडाउनको लगभग ३ महिना पुग्न लाग्दा घरबेटीले पनि सटर भाडा माग्न थालेका छन् । उनीसँग पैसा नभएर तिर्न सकेका छैनन् । घरबेटीलाई लकडाउन खुलेपछि व्यापार गरेर तिर्ने वाचा दिँदै आएका छन्, तर पछिल्लो समय हामीलाई समस्या पर्‍यो, २ महिनाको भएपनि दिनुपर्‍यो भन्दै पैसा माग्न थालेको ठाकुरले सुनाए ।

‘मसँग अहिले खाने चामल त छैन कसरी घरभाडा तिर्ने ? कसरी फाइनान्सको पैसा तिर्ने ? पत्तो छैन,’ उनले भने, ‘साथीभाइसँग माग्दा उनीहरू पनि मेरोजस्तै कथा सुनाउँछन् ।’

लकडाउनको समयमा नजिकैको वडा कार्यलयमा राहतका लागि नाम त टिपाएका थिए, तर नागरिकता नभएकै कारण उनले राहत पाएनन् ।

नजिकैको किराना पसल तराईबासीकै भएका कारण उधारो पाइरहेका थिए, तर अहिले पसलेले पनि उधारो दिन नसक्ने बताएपछि उनलाई खान समेत समस्या परेको छ ।

उनले आजभोलि बिहान–बिहान सैलुन त खोल्छन्, तर ग्राहक आउँदैनन् । एक दुईजना आएपनि ए इण्डियन रहेछ भनेर परैबाट फर्किने गरेको गुनासो ठाकुरले गरे ।

‘अब मेरो नागरिकताको फोटोकपी टाँसेर बस्नुपर्ने अवस्था आएको छ सर,’ उनले आफ्नो पीडा सुनाए ।

‘भारतमा तीव्र रूपमा फैलिरहेको कोरोनाभाइरस कोभिड– १९ र पछिल्लोसमय नेपाल–भारतबीच लिम्पियाधुरा, कालापानी विवादपछि भारतीयहरूसँग नेपालीले गर्ने व्यवहार परिवर्तन भएको रहेछ, म त नेपाली हो कालो भएर समस्या भएको छ । घर सोधे त म भन्दिहाल्छु नि !’ उनले भने ।

००००

गोंगबु नयाँ बसपार्कमा सैलुन चलाउँदै आएका सर्लाही गोडैटा नगरपालिका– ८ का भीम ठाकुरको समस्या पनि उस्तै छ । 

लकडाउन भएको १५ दिनपछि काठमाडौंमा काम नभएर गाउँ गएका थिए । लकडाउन खुकुलो भयो भन्ने सुनेर काठमाडौं आए, तर उनलाई घरबेटीले कोठामा बस्न दिएनन् । 

कोरोना संक्रमण नभएको प्रमाण पत्र लिएर आउनू, अनि मात्र बस्न दिन्छु भनेपछि सरुवा रोग अस्पाताल टेकुमा दिनभरी लाइन लागेर कोरोना टेस्ट गराए । कोरोनाको रिपोर्ट नआउञ्जेल २ दिन अस्पतालको सिँडीमै सुते । रिपोर्ट नेगेटिभ आएपछि प्रमाण लिएर कोठमा छिर्न पाए, तर अहिले घरबेटीले सटर भाडा मागिरहेका छन् ।

‘२ दिन टेकु अस्पतालको सिँडीमा सुतेर कोरोनाको नेगेटिभ रिपोर्ट लगेर कोठमा छिर्न पाएँ, तर अहिले कोठभाडा र सटरभाडा मागिरहेका छन्, व्यापार छैन, कसरी तिर्ने,’ भीमले लोकान्तरलाई आफ्नो पीडा सुनाए ।

बसपार्कमा भएकाले उनको ३ महिनामा सटर भाडा झण्डै १ लाख पुग्छ । सटर किन्दा फाइनान्सबाट लिएको ऋण पनि तिर्न पाएका छैनन् ।

००००

देशभरका कपाल काट्ने नाईहरू समस्या परेका छन् । 

देशभरमा सैलुन र कपाल काट्ने काममा २ लाख २५ हजार जना मजदुरहरू काम गरिहरको नेपाल नाई ट्रेड युनियनको तथ्यांक छ, जसमा ५० हजार अति नै विपन्न छन् । जसले वर्षभरि कपाल काटेबापत एक वर्षमा धान, गहुँ आदि उठाएर आफ्नो ज्याला लिने गरेको ट्रेड युनियनका केन्द्रीय अध्यक्ष गजेन्द्र ठाकुरले बताए ।

‘देशभरमा अहिले २ लाख २५ हजारभन्दा धेरै नाईहरू काम गरिरहेका छन्, जसमध्ये धान चामल उठाउने मजदुरहरू ५० हजार भएको हाम्रो डाटामा छ,’ अध्यक्ष ठाकुरले लोकान्तरसँग भने ।

देशभरमा १ लाख ५० हजार सैलून युनियनमा दर्ता भएका छन् । 

कोरोनाका कारण लकडाउन अवधिमा सबै शैलनुहरू बन्द छन् । आज (बिहीवार)बाट लकडाउन केही खुकुलो भएपनि सैलुनहरू तत्काल सहज अवस्थामा पुग्ने अवस्थामा छैनन् ।

उपत्यकामा मात्रै ४ हजार सैलुन व्यवसायिक रूपमा दर्ता भएका छन् । उपत्यकामा करीब १५ हजार मजदुर आधिकारिक रूपमा दर्ता भएका सैलुनमा आबद्ध छन् । युनियनमा दर्ता नभएका करीब १ हजार सैलुनमा ५ हजारभन्दा धेरै मजदूरहरू रहेको अनुमान युनियनका अध्यक्ष ठाकुरको छ ।

देशभरका सैलुनमध्ये ७० प्रतिशत भारतीयहरूले चलाइरहेका छन्, ३० प्रतिशत मात्र नेपालीहरूको छ । 

पछिल्लो समय लिपुलेक, कालापानी, लिम्पियाधुरा विवादले सैलुन व्यवसायमा पनि प्रभाव पारेको  छ । 

धेरैजसो सैलुनमा काम गर्ने मजदुरले नराम्रो व्यवहारको समाना गर्नुपरिरहेको गुनासो आउने गरेको अध्यक्ष ठाकुरले बताए 

‘यो त भारतीय हो, यसकोमा कपाल काट्नु हुँदैन । ए धोती तँ तेरो देश गइनस् ? अब नेपालमा कपाल नकाटजस्ता अपशब्दको सामाना गर्नुपरेको गुनासो आइरहेका छन्,’ अध्यक्ष ठाकुरले भने ।

यो समस्या भारतीयहरूले मात्र होइन, मधेशीमूलका नेपालीले पनि भोगिरहेका छन् । उनीहरूलाई पनि भारतीय नै ठानेर अपशब्द प्रयोग गर्नेहरू छन् । नेपाली भन्ने थाहा पाएमा भने व्यवहार फरक हुने गर्छ ।

लकडाउन खुकुलो भएपनि सैलुनका समस्या यथावत 

कोभिड– १९ को संक्रमणका कारण आगामी दिनमा सैलुन सञ्चालनमा समस्या देखिएको छ । 

कपाल काट्ने ठाउँमा समाजिक दूरी कायम गर्न असम्भव जस्तै छ । मानिसहरूलाई प्रत्यक्षरूपमा छुनुपर्ने भएकाले समस्या देखिएको हो । 

आगमी दिनमा पसलहरू त खुल्लान्, तर कसरी सामाजिक दूरी कायम गर्ने ? मापदण्ड के अपनाउने ? भन्ने खालका समस्याको सामाना गर्नुपर्ने भएको नेपाल नाई ट्रेड युनियनका अध्यक्ष गजेन्द्र ठाकुरले बताए । 

‘कपाल काट्ने नाईहरूका लागि अहिले पीपीई, मास्क तथा पञ्जाहरू लगाएर काम गर्नुपर्ने हुन्छ, तर त्यसका लागि सबैको हैसियत पनि छैन । कतिपयलाई छाक टार्न समेत अप्ठ्यारो परेको अवस्थामा कसरी पीपीई किन्नु ?,’ अध्यक्ष ठाकुरले प्रश्न गरे । 

सरकारले एउटा मापदण्ड निर्धारण गरेर आवश्यक कार्यविधि ल्याइदिएको खण्डमा सैलुन सञ्चालन गर्न सहज हुने र विपन्न वर्गको रोजीरोटीको समस्या सामाधान हुने उनले बताए ।

गगन अर्याल
गगन अर्याल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्