शक्तिभूमि नेपाल : आदिशक्तिको भक्तिदेखि कुमारी पूजासम्म

विन्देश दहाल
विन्देश दहाल

लोकान्तर डट् कमका कूटनीतिक मामिला सम्पादक विन्देश दहाल अन्तर्राष्ट्रिय राजनीति तथा पूर्वीय अध्यात्मबारे लेख्छन् । 

नेपाल शक्तिउपासना तथा तन्त्रसाधनाको पवित्र भूमि हो । वैदिक तथा तान्त्रिक परम्परा अनुसार शक्तिपूजा गर्ने परम्परा यहाँ लामो समयदेखि चलिआएको छ । 

प्रमुख पीठहरू काठमाडौंस्थित गुह्येश्वरी, संकटा, भद्रकाली, बगलामुखी लगायत छन् भने काठमाडौंबाहिर पाथिभरा, मनकामना, बडीमालिका, आलमदेवी लगायत छन् । देवीका सानाठूला विभिन्न मन्दिरहरूको उपस्थितिले नेपालमा शक्तिसम्प्रदायको व्यापकता पुष्टि हुन्छ । 


Advertisement

सनातन संस्कृतिमा शाक्तमत वा शक्तिसम्प्रदाय अत्यन्त प्राचीन र व्यापक छ । श्रुति (वेद) र स्मृति (पुराण) दुवैमा शक्तिसम्प्रदायको उल्लेख पाइन्छ । महाशक्तिका रूपमा देवीको उपासना तथा पूजाअर्चना आदिमकालदेखि नै अहिलेसम्म अविच्छिन्न भइरहेको पाइन्छ जबकि ख्रिस्तानी र मुसलमानी धर्मले शक्ति (नारी) पूजालाई पेगन वा काफिर भन्दै दमन गरेको देखिन्छ ।
 
वैदिक युगको आर्य र आर्येतर जातिहरूको संस्कृति तथा आस्थामा शक्ति उपासनाका बीजहरू भेटिन्छन् । वेदहरूमा वाक्, सरस्वती, श्रद्धा, महालक्ष्मी, महाशक्ति, पृथ्वी, अदिति लगायत स्त्रीशक्तिको कल्पना गरिएको छ । शक्तिविना यस सृष्टिको कल्पना गर्न नसकिने वैदिक मन्त्रहरूमा उल्लेख गरिएको छ । ऋग्वेदको ६/६१ मा रहेको एक मन्त्रमा आदिशक्तिले आफू समस्त प्राणीमा व्याप्त रहेको र आफूलाई नमान्ने मानिस क्षीण हुँदै जाने बताएको पाइन्छ ।

यजुर्वेदमा सरस्वतीलाई आहुति दान दिने मन्त्र (अ. २/२) भेटिन्छ भने पृथ्वी र अदिति जस्ता देवीहरूको स्तुतिपरक वर्णन पनि पाइन्छ (अ. ५/१६) । अथर्ववेदमा देवीको उक्ति छ (४/३०) ः म सबै रुद्र, वसु, आदित्य र सबै देवसँग विचरण गर्छु । त्यही वेदमा (१०/१२५ मा) आद्याशक्ति भन्नुहुन्छ ः ‘म समस्य देवहरूमा व्याप्त छु ।’ यसरी वेदहरूले देवीशक्तिको महत्त्वको चर्चा गरेको पाइन्छ ।


Advertisement

उपनिषद्हरूमा पनि शक्तिको प्रभावशाली वर्णन भेटिन्छ । केनोपनिषदमा हैमवती अर्थात् पार्वतीले महाशक्तिका रूपमा प्रकट भएर ब्रह्मतत्त्वको उपदेश दिएको प्रसंग उल्लेख छ । पछिल्ला उपनिषद्हरूमा शक्तिलाई सिर्जनात्मक ऊर्जाका रूपमा वर्णन गरिएको छ । भुवनव्यापिनी अर्थात् विश्वभरि छाएकी शक्ति व्यक्तिको शरीरमा कुण्डलिनीका रूपमा रहेको र त्यसलाई जगाउनु योगको एक साधन भएको उल्लेख पाइन्छ ।

परवर्ती काव्य तथा पुराणहरूमा पनि आद्याशक्तिको प्रशस्त वर्णन पाइन्छ । वाल्मीकीय रामायणमा बला तथा अतिबला विद्याको वर्णन छ भने महाभारतमा युधिष्ठिरले महिषासुरमर्दिनीको स्तुति गरेको प्रसंग आउँछ ।
 
मार्कण्डेय पुराणमा देवताहरूको तेजबाट देवी प्रकट भएर महिषासुरको वध गरेको प्रसंग आउँछ भने हरिवंश पुराणमा विष्णुले निद्राकलारूपिणी देवीको स्तुति गरेको भेटिन्छ । वास्तवमा पुराणहरूमा शक्तिको स्वरूप र उपासना पद्धतिमा विस्तारपूर्वक चर्चा गरिएको छ । देवीभागवत, कालिकापुराण, मार्कण्डेय पुराण लगायतमा महाशक्तिको विराट् स्वरूपको चर्चा गरिएको छ र विभिन्न साधना उपासना विधिको विस्तृत वर्णन गरिएको छ । 

मार्कण्डेय पुराणको दुर्गासप्तशतीस्तोत्र (चण्डी) नेपालमा सनातन धर्मावलम्बीहरूको घरघरमा दशैंमा पाठ गरिन्छ । वर्षमा दुईपटक अर्थात् बडादशैं (आश्विन) र चैतेदशैं (चैत्र) मा शक्तिपीठ तथा घरमा भगवती दुर्गाका विभिन्न स्वरूपको पूजाअर्चना गर्ने परम्परा जीवितै छ । 
शक्तिउपासनाकै अंगका रूपमा तन्त्रविद्या विकसित भएर प्रचलनमा आएको हो । वैदिक उपासना पद्धतिबाटै प्रेरित भएर अनि आर्येतर संस्कृतिबाट पनि प्रभावित भएर तन्त्रसाधना गर्न थालिएको हो । वैदिक ग्रन्थमा ब्राह्मणको सर्वाधिकार भएर अन्यलाई पहुँच नदिइएपछि तन्त्रविद्या विकसित गरेर सबैलाई मोक्षप्राप्तिको अधिकार प्रदान गरिएको हो । महाभारतमा तन्त्रविद्यालाई स्वतन्त्र वेद मानेर त्यसको सार्वभौमिकता र उपयोगितालाई प्रमाणित गरिएको छ (शान्तिपर्व, अध्याय २५९) ।

नेपालमा शक्तिपूजन कहिलेदेखि शुरू भयो भन्ने कुरामा मतैक्य पाइन्न । उपलब्ध पुरातात्त्विक स्रोतसाधन हेर्दा लिच्छविकालका केही शिलालेखमा शिवसँगै भगवतीको उपासना गरिएको पनि भेटिन्छ । लिच्छवी राजा मानदेवले चलाएको मुद्रामा सिंहले एउटा पञ्जा उचालेर कमलको फूल लिएको देखिन्छ भनी महेश्वरमान छोचुले लेखेका छन् । सिंहलाई देवीको वाहन मानिने हुनाले त्यतिखेर देवीपूजन प्रचलनमा थियो भनी बुझ्नुपर्ने हुन्छ । 

मानदेवको अर्को मुद्रामा लामो कपाल भएको देवाकृति देखिन्छ र त्यो कुमारीको प्रतीक हो भन्ने पुरातत्त्वविद्हरूको मत छ । केपी जायसवाल नामक भारतीय इतिहासकारले मानदेवकी इष्टदेवी भोगवती भएको उल्लेख गरेका छन् र भोगवती भन्नाले भगवतीलाई इंगित गरिएको हो भन्छन् विद्वानहरू । 

त्यस्तै गुणकामदेवको मुद्रामा रहेका चार आकृतिमध्ये एउटामा मुकुट लगाएकी महिला देखिन्छिन् र त्यसलाई देवीको प्रतीक मानिएको भनी पुरातत्त्वविद् सोनी मास्केले पुरातत्त्व विभागको द्वैमासिक मुखपत्र प्राचीन नेपालको संख्या ९१ मा लेखेकी छन् । 

हाँडीगाउँमा भेटिएको अंशुवर्माको अभिलेखमा षष्ठीदेवीको मन्दिर बनाउन नगद दान दिएको उल्लेख पाइन्छ । अनि टुँडालदेवी, नक्साल भगवती र शोभाभगवतीको मूर्तिकलाको अध्ययन गर्नेहरूले यो लिच्छविकालकै कृति भएको बताएका छन् । 

मल्लकालको कुरा गर्दा राजा स्थिति मल्ल मानेश्वरी देवीका भक्त भएको पाइन्छ । पाटनको कुम्भेश्वरमा भेटिएको अभिलेखमा उनको नाम श्री मानेश्वरी वरलब्ध प्रसाद लेखिएकोबाट यसको पुष्टि हुन्छ । लिच्छवि राजा मानदेवले मानेश्वरी देवीको स्थापना गराएको मानिन्छ तर यस विषयमा पुष्ट प्रमाणहरू भने भेटिँदैनन् । पछि ज्योतिर मल्ल र यक्ष मल्लले पनि स्थिति मल्लकै जस्तो नाम लिएको पाइएकाले मानेश्वरी देवीलाई मल्ल राजाहरूले निकै श्रद्धा गर्ने गरेको निष्कर्ष निकाल्न सकिन्छ । पछि जयप्रकाश मल्ले गुह्येश्वरीलाई इष्टदेवी मानेको अभिलेख पाइन्छ । उनैले तुलजा भवानीसँग पासा खेलेको किंवदन्ती उपलब्ध छ ।

त्यसैगरी शाहवंशका राजाहरूले शक्तिउपासनामा निकै जोड दिएको पाइन्छ । पृथ्वीनारायण शाहले मनकामनाको आराधना गर्ने गरेको अनि काठमाडौं विजयपछि कुमारीसँग आशीर्वाद लिएको इतिहास पाइन्छ । उनले बनाएका नुवाकोट दरबार र वसन्तपुरको नौतले दरबार निर्माणमा तान्त्रिक विधि अपनाइएको देखिन्छ । उनका भाइ सिंहप्रताप शाहले कौलाचार तान्त्रिक विधिले साधना गर्ने गरेका थिए ।
 
पछिल्ला शाह राजाहरू पनि काठमाडौं तथा अन्यत्र रहेका शक्तिपीठमा विभिन्न अवसरमा पुग्ने गर्थे । राजाबाट प्रजा भएपछि ज्ञानेन्द्र शाह अहिले पनि शक्तिपीठहरूको दर्शन गरिरहेका हुन्छन् । शाहवंश पतन गराउन जिम्मेवार घटना दरबार हत्याकाण्ड पनि तत्कालीन युवराज दीपेन्द्र शक्तिपूजा अन्तर्गतको तान्त्रिक वशीकरणमा परेकाले भएको भनी राजन कार्कीले लेखेका छन् ।

यसरी नेपालको इतिहासको अवलोकन गर्दा अनि नेपालभरि छरिएका शक्तिपीठहरू देख्दा नेपाल शाक्तभूमि र तान्त्रिक साधनास्थल हो भन्ने स्पष्ट हुन्छ । राष्ट्रको पहिचान कायम राख्नका लागि यस विषयमा थप अनुसन्धान र अनुशीलन गरिनु जरूरी छ ।

विन्देश दहाल
विन्देश दहाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्