कोरोनाविरुद्धको लडाईंकी योद्धा डा. रजनी : 'यही जीवन हो, यसैसँग बाँच्नुपर्छ' लाग्न थालेको छ

अजय अनुरागी
अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि खोज, राजनीति र समसामयिक विषयवस्तुमा कलम चलाउँछन् ।

अहिले (कोरोनाभाइरस) कोभिड– १९ विरुद्ध पूरा संसार नै लडाईं लडिरहेको छ ।

उक्त लडाईंको अग्रपंक्तिमा भने चिकित्सक तथा स्वास्थ्यकर्मीले मोर्चा सम्हालेका छन् । यस्तै अग्रमोर्चा सम्हाल्ने एक चिकित्सक रजनी साह केसी कोरोनाविरुद्धको लड़ाईं लड्न पाउँदा आफूलाई धेरै नै गौरवान्वित ठान्छिन् । 


Advertisement

संघीय सरकार मातहत रहेको भेरी अस्पताल नेपालगञ्जमा उनी कन्सलटेन्ट फिजिसियनको रूपमा विगत ३ वर्षदेखि कार्यरत छिन् । 

भेरी अस्पताल नेपालगञ्जकै नेतृत्वमा नेपालगञ्जकै खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई कोभिड विशेष अस्पताल बनाइएको छ ।


Advertisement

शुरूमा ६ वटा आईसीयू शय्यासहित कुल ५४ शय्याको आइसोलेसन अस्पताल बनाउने लक्ष्य रहेको भएपनि उक्त लक्ष्य पूरा हुन सकेन । 

६ वटा आईसीयू कक्षसहित कुल ३२ शय्या मात्र निर्माण भएका कारण एकपटकमा त्यति संख्याभन्दा बढी बिरामीहरूको उपचार हुन सकेको छैन । 

शुरू–शुरूमा ३२ जना बिरामी भर्ना भएका थिए भने जेठ ३० गतेसम्म समेत २६ जना कोरोना संक्रमित बिरामीहरू अहिले त्यहाँ भर्ना भएर उपचार गराइरहेका छन् । 

उक्त आइसोलेसनबाट हालसम्म २५ जना कोरोना संक्रमित बिरामीहरू उपचारपश्चात निको भएर डिस्चार्ज भई घर फर्किसकेका छन् । 

त्यही कोभिड अस्पतालमा कोरोना पोजेटिभ पाइएका बिरामीहरूको उपचारमा प्रत्यक्ष खटिएकी चिकत्सक हुन्, रजनी साह केसी ।

चिकित्सक भएपछि जुनसुकै परिस्थितका लागि पनि हरहमेशा तयार भएर बस्नु तथा आवश्यक परेको बेला आफ्नो ज्यानको समेत परवाह नगरी जस्तोसुकै सरुवा रोगविरुद्ध उपचारमा संलग्न हुनु परम कर्तव्य भएको उनले राम्रोसँग बुझेकी छन् ।

नेपालगञ्जमा पनि कोरोना संक्रमित बिरामी हुनसक्ने र आफू इन्टरनल मेडिसिनमा कन्सलटेन्ट फिजिसियन रहेका कारण कोरोना संक्रमितको उपचारमा खट्नुपर्छ भन्ने कुराको अनुमान पहिल्यै रहेको उनी बताउँछिन् । सोही कारण उनले आफूलाई पहिलेदेखि नै त्यसका लागि तयार पारेकी थिइन् ।

चिकित्सक भएपनि शुरू–शुरूमा त उनलाई डर नलागेको होइन । इटली, चीनसहित अन्य देशमा समेत उपचारमा संलग्न चिकित्सकदेखि अन्य स्वास्थ्यकर्मीमा कोरोना संक्रमण सरेको उनले सुनेकी थिइन् ।

‘मलाई आफ्नो ज्यानको डरभन्दा पनि यदि मलाई कोरोना सर्‍यो भने कोरोना बोकेर मैले आफ्नो घरपरिवार, छोराछोरीमा समेतलाई सार्ने त होइन भन्ने डर थियो,’ डा. केसीले भनिन्, ‘तर, बिरामीहरूको उपचारमा संलग्न भएपछि विस्तारै डर पनि स्वाभाविक रूपमा हराउँदै गयो ।’ 

आइसोलेसनमा पहिलो दिन मात्र उक्त डर रहेको र पछि सामान्य जस्तै बनेको उनले बताइन् । कोरोना नै जीवन हो र अब कोरोनासँगै बाच्नुपर्छ भन्ने आफूहरू सबैलाई लागेको उनले बताइन् । 

कन्सल्टेन्ट फिजिसियनको अगुवाइमा २ जना मेडिकल अफिसर, ६ जना नर्सिङ स्टाफ तथा ४ जना कार्यालय सहयोगीसहितको टीम बनेको थियो । एउटा टीमको नेतृत्व उनले गर्नुपर्‍यो ।

७ दिनसम्म लगातार आइसोलेसनमा ड्युटी गरेपछि १४ दिनका लागि होटलमा क्वारेन्टीनमा बस्ने व्यवस्था मिलाइएको थियो ।  

शुरूमा नेपालगञ्जको वडा नम्बर ८ मा २७ जना मानिसमा कोरोना संक्रमण फेला परेको थियो । एक किसिमले त्यो आउटब्रेक नै भएको थियो ।

‘मदरसामा ट्युसन पढाउने ६० वर्षीय पुरुषबाट बाँकी मानिसहरूमा संक्रमण सरेको थियो, उनी भारतबाट आएका थिए,’ केसीले भनिन्, ‘उनमा कोरोना पोजेटिभ रहेको कुरा धेरै पछिमात्र थाहा हुन सकेको थियो ।’

अनि उनीसँग सम्पर्कमा आएका विद्यार्थीहरू र विद्यार्थीका परिवारमा समेत गरी २७ जनामा कोरोना पोजेटिभ रहेको कुरा एकैदिन सार्वजनिक भएको थियो ।

भर्ना भएकामध्ये अधिकांश बिरामीमा कुनैपनि लक्षण देखा परेको थिएन । केही बिरामीलाई सामान्य रुघाखोकी, ज्वरोजस्ता लक्षण देखा परेको थियो ।

जस्तो लक्षण देखियो, त्यहीअनुसार औषधि दिने गरेको उनले बताइन् । दीर्घरोग मधुमेह, ब्लडप्रेसर जस्ता बिरामी पनि थिए, तर उनीहरूलाई पनि उक्त रोगको नियमित औषधि दिने गरिएको थियो । 

आइसोलेसनमा काम गर्दा उनलाई एउटा घटनाले भने निकै छोएको रहेछ ।

७ वर्षीय बालिकामा कोरोनापोजेटिभ आएको थियो । उनको बुवालाई पनि कोरोना संक्रमण भएको थियो । तर, बालिकालाई महिला वार्डमा राखिएको थियो भने उनको बुवालाई पुरुष वार्डमा राखिएको थियो ।

‘छुट्टाछुट्टै वार्डमा बुवा र छोरीलाई राखिएको थियो,’ डा केसीले भनिन्, ‘बुवासँग छुट्टिनुपरेकी ती बालिका दिनरात रोएर बसेकी थिइन् । ’ 

मम्मीमम्मी भन्दै रोएर बस्नुपरेको दृश्य देख्दा आफू धेरै नै भावुक बनेको उनले सम्झिइन् ।

‘आफ्नो पनि छोरा–छोरी भएका कारण ती बालिकाको दृश्यले पोलेको थियो,’ उनले थपिन्, ‘एक दिनपछि उनको आमामा पनि कोरोनापोजेटिभ आएको थियो, अनि आमासँगै बस्न पाएकी थिइन् ।’

कोरोना संक्रमित भएर भर्ना हुन आउने बिरामीहरू शुरू–शुरूमा आफूहरूलाई कोरोना रोग नै नलागेको भन्दै डिस्चार्ज गर्नुपर्छ भनेर भन्ने गर्थे ।

सरकारको बजेट पचाउन तथा अस्पताल चलाउनका लागि आफूहरूलाई कोरोनाको बिरामी भनेर बलजफ्ती अस्पतालमा भर्ना गरेको भन्दै कतिपय बिरामीले २–३ दिनसम्म होहल्ला गर्ने गरेको उनले सुनाइन् ।

‘हामीलाई केही पनि भएको छैन, कुनै रोग नै लागेको छैन, डिस्चार्ज गर्नुपर्‍यो भनेर भन्ने गर्थे,’ उनले भनिन्, ‘यदि केही भएको छ भने हामी घरमा नै झारफुक गराएर ठीक भइहाल्छौं भनेर होहल्ला गर्ने, असन्तुष्टि व्यक्त गर्ने गर्थे ।’

तर, पछि काउन्सिलिङ गर्दै उनीहरूलाई भर्ना गरेर राखेको उनले बताइन् । काउन्सिलिङ गर्नु नै सबैभन्दा चूनौतीपूर्ण काम भएको उनको अनुभव छ ।

नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जबाट एमबीबीएस गरेकी उनले फिल्पिन्सबाट इन्टरनल मेडिसिनमा एमडी गरेकी थिइन् ।

आफ्नो चिकित्सकीय करिअरमा कोरोना महाव्याधिमा काम गर्नु ऐतिहासिक र स्मरणीय रहेको उनी बताउँछिन् ।

अजय अनुरागी
अजय अनुरागी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्