गतिशील निजामती सेवाका लागि व्यावसायिक क्षमता कसरी बढाउने ?

गोपीनाथ मैनाली
गोपीनाथ मैनाली

मैनाली नेपाल सरकारका सचिव हुन् । 

निजामती सेवाको नामकरण सन् १८०४ मा नेपोलियन बोनापार्टले गरेपनि १८५४ मा बेलायती संसदमा नर्थकोट–टेभेलियन प्रतिवेदन बुझाएपछि मात्र आधुनिक निजामती सेवाको शुरूवात भएको हो ।

यस अर्थमा निजामती सेवाले आधुनिक रूप पाएको झण्डै १६६ वर्षजति भयो । यस अवधिमा निजामती प्रशासनले राज्यइच्छाको कार्यान्वय, लोकतन्त्रको वितरण र राज्यका साझा मूल्यलाई संस्थागत गर्दै आएको छ ।


Advertisement

विश्वव्यापी अभ्यास हेर्ने हो भने निजामती प्रशासन व्यवस्थापनका ५ परिवार छन्, वेष्टमिनिष्टर ढाँचा (बेलायत र साबिकका बेलायती उपनिवेश भएका क्यानाडा, सिंगापुर, न्युजिल्याण्ड, सिंगापुर आदि), राजनीतिकृत ढाँचा (संयुक्तराज्य अमेरिका), स्केन्डेनेभियन ढाँचा (नर्वे, स्वीडेन, डेनमार्क), कन्टिनेन्टल ढाँचा (फ्रान्स, द नेदरल्याण्ड), र नयाँ राजीकृतिक ढाँचा (बेलायती स्कटिस र वेल्स) । सबै परिवारले साझा मूल्यका रूपमा योग्यता प्रणाली, निष्पक्षता, वस्तुनिष्टता र व्यावसयिकतालाई अंगाल्दै आएका छन् ।

साथै निजामती सेवाले नैतिक मूल्यका रूपमा पवित्रता, स्वयं उत्साह, सत्याङ्कन, प्रमाणमा आधारित, अवसरप्रति सचेत, जोखिमप्रति सावधानी र सेवाप्रति निष्ठालाई अंगाल्दै आएको छ । यी मूल्यकै सापेक्षमा कुनैपनि मुलुकको निजामती सेवाको मूल्यांकन गरिन्छ । यी मूल्य नै निजामती सेवालाई युगौंसम्म पहिचानमा राख्ने आधार हुन् ।  


Advertisement

सार्वजनिक प्रशासनका पिता कहलाइने अमेरिकी राजनीतिज्ञ विड्रो विल्सनले निजामती प्रशासनमा जोकुनै होइन, खास क्षमता र इमान्दारिता भएका व्यक्ति मात्र योग्य हुन्छन्, जो राजनैतिक प्रणालीको उछिनापछिनदेखि बिल्कुलै अलग हुन्छन् भनेका थिए । सार्वजनिक प्रशासनलाई राजनैतिक प्रणालीदेखि भिन्न राख्न ‘राजनीति र प्रशासनको सीमा विभाजनको सिद्धान्त’ (डिकोटोमी प्रिन्सिपल) को प्रार्दुभाव पनि उनैले गरेका थिए । निजामती सेवालाई अलग विधा र अनुशासनमा स्थापित गर्नुका पछि दुई कारण थिए, बेलायतमा व्याप्त भाइभतिजावादको विकृति र अमेरिकाको लुट प्रणालीको पीडा । निजामती सेवाका पाँचै परिवारले यसलाई गहन रूपमा ग्रहण गरेका छन् । 

पूर्वीय दर्शनमा निजामती सेवालाई योग्यताभन्दा इमान्दारिता र आदर्शको रूपमा लिइन्थ्यो । आइन–ए–अकवरी, कौटिल्यको अर्थशास्त्र र स्मृति तथा श्रुतिहरूले राज्य सञ्चालनको आदर्श सहयोगीका रूपमा यसलाई लिएको पाइन्छ भने विश्वमा निजामती सेवालाई अलग विधा र अनुशासनका रूपमा संस्थागत गर्ने प्रणाली अभ्यासपछि पूर्वीय दर्शनले पनि योग्यता र आदर्शतालाई समन्वय गर्न पुग्यो । दार्शनिक र परिवारमा विभक्त गर्नुभन्दा पनि अब निजामती सेवा योग्यता र आदर्शको संगम बनेको छ, जसविना व्यवस्थित राज्य प्रणाली र लोकतन्त्रको कल्पना पनि गर्न सकिँदैन । 

निजामती सेवा राष्ट्र निर्माणको सेतु हो, राष्ट्रिय विकासको आधार हो र परिवर्तनको सोपान हो । यसैका लागि नै निजामती प्रशासनलाई राजनैतिक (वैचारिक) रूपमा निष्पक्ष, पेशागत रूपमा व्यावसायिक र वृत्तिगत रूपमा स्थायी बनाइएको हो । भनिन्छ, कुनै पनि देशको सरकार त्यहाँको प्रशासनभन्दा उम्दा हुन सक्दैन, कुनै पनि मुलुकको विकास प्रशासनले अनुमति दिएभन्दा छिटो हुनसक्दैन । त्यसैले निजामती प्रशासनलाई प्रोत्साहित, दक्ष र स्वचालित बनाउन राष्ट्रिय सरकारहरू लागि परेका हुन्छन् ।

जिम्मी कार्टरको चुनावी मुद्दा नै प्रशासन सुधार गर्नु थियो, बिल क्लिन्टले कार्यसम्पादनमुखी सरकारका लागि निजामती सेवा सुधार गर्न आफ्ना उपराष्ट्रपति अल गोरलाई विशेष जिम्मेवारी दिए, बाराक ओबामाले निजामती प्रशासनमा आविस्कार संस्कृतिको विकास गर्न  प्रविधि सल्लाहकार अनिस चेपरालाई जिम्मेवारी दिए ।

जापानमा मेजीदेखि तानाकासम्मको शासनकालमा प्रशासनलाई यति जागरुक बनाइयो कि त्यहाँको निजामती सेवा विश्वकै लोभलाग्दो प्रणाली बन्यो, परिणाम आजको जापान हो । पाचौं तथा छैठौं फ्रान्सेली गणतन्त्रमा एघारमध्ये ५ राष्ट्रपति नै कर्मचारी पृष्ठभूमिबाट भएका थिए ।

फ्रान्सेली प्रशासन व्यवस्थापनको सिद्धान्त धेरै परिपक्व र मूल्यबोधी पनि छ, जुन नेपोलियन प्रशासनको जगले सम्भव भएको हो । सिंगापुरका ली, अष्ट्रेलियाका हायक सबैले निजामती सेवा सुधारलाई उच्च प्राथमिकतामा राखे । ब्रिटिशकालीन उपनिवेश कर्मचारीतन्त्रीय शैली दह्रिलो बनाउन यति अग्रसर रह्यो कि उपनिवेशपछि पनि त्यहाँका प्रशासन राज्यप्रणाली बलियो खम्बा बनिरहेको छ, उदाहरण भारत पनि हो ।  

हामीले महसूस गरेको विषय हो कि विगत केही दशकदेखि निजामती सेवा सुधारको कार्यसूचीले विश्वव्यापी कार्यसूची पाएको छ । सरकारहरू सुशासन र गतिशीलताका लागि आन्तरिक माग र सेवाग्राही दबाब खेपिरहेका छन् । बाह्य प्रभाव पनि छ । आर्थिक, सामाजिक र प्राविधिक विषय परिवेश निरन्तर गतिशील हुँदै गएकाले पनि गतिशील सरकार (इनोभेटिभ गभर्नमेन्ट), सरकारको पुनर्बोध, सरकारभन्दा शासन (नट गभर्नमेन्ट बट गभर्नेन्स) जस्ता विश्वव्यापी सुधारका एजेण्डा कार्यान्वयन गर्न प्रशासनिक संयन्त्रलाई सशक्तीकृत अनि गतिशील बनाइनुको विकल्प छैन । जुनसुकै राजनीतिक वातावरणमा पनि प्रशासनिक कार्यसंस्कृति सुधारको विषय अबको स्थायी मुद्दा हो । 

निरन्तर परिवर्तनशील विश्वमा निजामती प्रशासनको व्यवहार, क्षमता र गतिशीलता परिवर्तनसँग लय मिलाउने, अनुकूलित हुने र परिवर्तन नै सिर्जना गर्ने प्रणाली निर्माणको चुनौतीमा छ । सरकार गतिशील हुनु, कार्यसम्पादनमुखी हुनु र जनमुखी हुनु भनेको निजामती प्रशासन गतिशील हुनु हो । प्रशासनको ‘डाइनामिक नेचर’ के हो भने यसले यसअघिका प्रयासबाट प्रभावित र परिमार्जित हुँदै भविष्य पथ तयार गर्नुपर्छ । स्वयं गतिशील हुने जीवन्त प्रणाली स्थापना गरी आउँदा दिनका लागि झनै राम्रो प्रणाली हस्तान्तरण गनुँपर्छ । यसो गर्ने आत्मचेतना र सामथ्र्य निजामती सेवामा रहनुपर्दछ, अन्यथा यो आलोचित, अतिक्रमित र पहिचानहीन पनि बन्दै जान्छ । 

प्रश्न उठ्न सक्छ, माथि भनिएजस्तो गतिशील र स्वयं उत्साही निजामती सेवाका लागि आत्मिक चेतना, आभ्यान्तरिक उत्साह र व्यावसायिक क्षमता कसरी भित्र्याउने ? नेपालजस्ता तेस्रो विश्वका कलिलो लोकतन्त्रले यसखाले प्रश्नलाई बढी नै सामना गर्नु परिरहेको छ । यसका लागि केही शर्तहरू पूरा गर्नु पर्दछ । 

पहिलो शर्त निजामती सेवामा प्रवेश गराउँदा उम्दा, मेधावी र अभिमुखित प्रतिभा मात्र चयन गर्नुपर्दछ । गलत व्यक्ति चयन भयो भने उसबाट संस्था (सेवा) र स्वयं ऊ पनि सधैँभरि असन्तुष्ट रहने हुन्छ । सही प्रतिभा सही कामका लागि छानिन सकेमात्र व्यक्तिको चयन (वृत्ति) र संस्थाको चयन (सेवाको अपेक्षा) बीच हार्दिक सन्तुलन हुन जान्छ । यो नै योग्यता प्रणालीको प्रवेशबिन्दु हो । यस अवस्थामा व्यक्तिको वृत्ति विकास र संस्थाको प्रभावकारिता विस्तार हुन जान्छ । भर्ना छनौटले यही सन्तुलन खोज्न सक्नुपर्छ । पाठ्यक्रम, परीक्षा र परीक्षण विधि योग्यतामूलक भएपछि नै यो सन्तुलन प्राप्ति हुन्छ । 

दोस्रो शर्त, सेवा वा प्रणालीमा प्रवेश गर्ने उम्मेदवार वृत्ति सेवकका रूपमा रहन्छ । काम गर्दै जाँदा अतिरिक्त ज्ञान, अनुभव र सीप क्षमता आर्जन हँुदै जान्छ । अब्बल प्रतिभाहरू चुनौतिपूर्ण कार्य उपलव्धिबाट पेशागत विशिष्ठता प्राप्त गर्न खोज्छन् । सरकारले यसलाई प्रोत्साहित गर्न चुक्नु हुँदैन । सफलताले सफलतालाई नै आमन्त्रण गर्दछ । अल गोरको सुझाव यसैमा केन्द्रीत थियो । नयाँ सार्वजनिक व्यवस्थापन पछिको प्रशासन परिवर्तनका रणनीतिले यसलाई केन्द्रस्थमा राख्दै आएको छ । प्रणाली भित्रका प्रतिभाहरूलाई उकेरा दिंदै जानु राजनैतिक कार्यकारीको दायित्व र दूरदर्शिता दुवै हो ।

वृत्ति सेवकलाई वृत्ति खुट्किला तीन प्रकारका ढाँचा छन् निजामती सेवामा । पहिलो अनुभवलाई पहिलो मान्ने वा अनुभवलाई प्रधानता दिने, दोस्रो ज्ञान र प्रतिस्पर्धात्मक क्षमतालाई प्रधानता दिने र तेस्रो यी दुवै प्रणालीको आदर्श मिश्रण गर्ने । आदर्श मिश्रण गर्दा दोस्रोलाई पहिलोले ‘बीस वर्षको अनुभव एक वर्षको हुन्छ, जसलाई बीसले गुणन गरेको हुन्छ’ भन्ने आरोप लगाउन र दोस्रोलाई पहिलोले ‘किताब ज्ञान र स्पर्धा क्षमता किताबी ज्ञान र वाकपटुताका कारण अव्यावहारिक हुन्छ’  भन्ने आरोप लगाउने ठाउँ रहन्न ।

प्रणाली भित्र यस्तो आरोप संस्कृतिको विकास हुनै दिनुहुन्न । यही भावनालाई आत्मसाथ गरी नेपालले आदर्श मिश्रणको तेस्रो ढाँचा अपनाउँदै आएको छ । निजामती सेवा ऐन, २०४९ अघिको पञ्चायती निजामती सेवामा समेत अधिकृत तहमा अनुभव र जेष्ठताका आधारमा ७५ प्रतिशत र आन्तरिक प्रतिस्पर्धाका आधारमा २५ प्रतिशत वृत्ति जिम्मेवारी दिने प्रणाली अभ्यास गरिएको थियो र यो पनि भनिएको थियो कि २५ प्रतिशत आन्तरिक प्रतियोगितालाई क्रमशः बढाउँदै लगिने छ । प्रतिस्पर्धामकता र क्षमताको उपयुक्त सन्तुलन गर्न यो सिद्धान्त आविस्कार गरी अभ्यास गरिएको थियो । 

मुलुकमा लोकतान्त्रिक पद्धति अवलम्वनपश्चात निजामती सेवा ऐन, २०४९ कार्यान्वयनमा आएपछि तेस्रो ढाँचालाई विस्तृततामा अभ्यास गर्ने सोच राखियो । यसको उद्देश्य प्रणालीभित्र निरन्तर गतिशीलता भित्र्याई लोकतन्त्रलाई सही अर्थमा वितरण गर्नु, लोकतान्त्रिक शासन व्यवस्थाका लाभ सर्वसाधारणमा विस्तृत रूपमा वितरण गर्न लाभको आकार समेत विस्तार गर्नु थियो । प्रणालीभित्र सिर्जनात्मक तनाव भित्र्याउनाले प्रणाली गतिशील हुन गै आभ्यान्तरिक सामथ्र्य विस्तार हुन जाने भै तेस्रो ढाँचा अवलम्वन गरिएको थियो । र, यसको गर्भित आशय पनि थियो, त्यो हो निजामती सेवामार्फत समग्र राज्यप्रणालीलाई ‘गतिशील समावेशिता’ (फन्क्सन डाइनामिक इन्क्लुजन) मा पुर्‍याउने । जुन प्रतिस्पर्धात्मक क्षमताको निरन्तर सम्मिलनबाट मात्र प्रणालीले प्राप्त गर्नसक्थ्यो । यो गर्भित आशय निकै अर्थबोधी थियो, जसलाई प्रणाली नेतृत्वकर्ताहरूले, प्रणालीलाई अभिभावकत्व दिनेहरूले अन्तरवोध नै गर्न सकेनन् । सतही र आग्रही भयो र, यो पक्ष सदा उपेक्षित रह्यो । 

प्रत्येक मुलुकमा राजनैतिक प्रणालीको परिवर्तनपछि प्रशासनिक परिवर्तनको प्रयास गरिन्छ । त्यो स्वभाविक पनि हो । प्रशासनको जागरुक गतिशीलता भएन भने परिवर्तनको अर्थबत्ता रहदैन, परिवर्तनको राप र ताप क्रमशः सेलाउँछ । तर के आग्रह राख्नु हुन्न भने परिवर्तनकारी शक्तिहरू सधैं परिवर्तनबोधी हुन्छन्, न प्रशासनिक प्रणाली सधैं यथास्थितीको आवृत्तिमा रहन्छ । निरन्तर परिवर्तन र अग्रसरतावोध प्रशासनिक प्रवृत्ति हो, तर यो छलाङ्वादी नभै परिस्कारवादी हुन्छ । परिस्कारवादी हुँदा प्रणाली सवलीकरणको आन्तरिक क्षमता पनि स्वयम आर्जन हुन्छ । प्रशासनिक परिवर्तन शून्यबाट शुरू हुदैन ।

शासकीय वृत्ति, संस्थापित मूल्य र मनोसामाजिक अवयवलाई निजामती प्रशासनले परिमार्जन गर्दै लान्छ । यो स्वाभाविक गतिमा हुन्छ । प्रोत्साहन जस्ता बाह्य र आन्तरिक उद्दीपकले पुनर्बल दिन सकिएमा गतिलाई निकै तीव्र पार्न पनि सकिन्छ । राम्रा परिणति दिनु राजनैतिक र प्रशासनिक दुवै प्रणालीको आन्तरिक चाहना हुन्छ । फरक यति हो कि परिणतिको दावी निजामति प्रशासनले लिन पाउँदैन । यस सम्बन्धमा थुप्रै अनुसन्धानकर्ताले अध्ययन र विश्लेषण समेत गरेका छन् । जापान, सिंगापुर, बेलायत, अष्टे«लिया लगायतको व्यावहारिक इतिहास पनि छ । 

प्रणालीभन्दा नितान्त बाहिरको व्यक्तिहरू प्रणालीभित्र भित्रिदा निजामती सेवा, अझ भनांै शासकीय मूल्य संस्थागत गर्न सकिंदैन । त्यसले संस्थापित मूल्य आदर्श भत्किन्छ र नयाँ प्रणाली बस्दैन । यस अवस्थामा प्रणाली प्रणालीबिहीन हुन बेर लाउँदैन । ठूलो परिवर्तनपछिका राजनेताले मात्र यो बुझ्ने गर्छन् । जसरी ली क्वान, मेजी, नेहरू, विल्सन र ओबामाले बुझे । परिणाम समृद्धि र रूपान्तरण पनि एक हदमा प्राप्त भयो । 

समकालीन समाजले मागेको नवप्रवत्र्तन भनेको प्रशासनिक सास्तीबाट सर्वसाधारणलाई मुक्ति दिने साहसी, निर्भिक, निष्पक्ष र व्यावसायिक वृत्ति सेवा हो ।

बहुसीप र प्रत्युत्तपन्नमति भएको प्रशासन हो, जहाँ राजनैतिक कार्यकारीले एकभन्दा डेढ गर्न सकोस् । ‘आँ भन्दा अलंकार’ बुझि सकोस् । एक्काइसौं शताब्दीका अनुमान नै नगरिएका चुनौति सामना गर्ने बुहसीप र प्रणालीहरूसँग सम्वाद गर्नसक्ने स्वयम् प्रशिक्षित सशक्त निजामती कर्मचारी चाहिन्छ । जसको आधार भनेको वृत्तिइष्र्या होइन, प्रोत्साहन गर्ने, निरन्तर दिशाबोध गर्ने, निजामती सेवाका मूल्यलाई आदर गर्ने, दिशाबोध गर्ने तर अन्तिम जवाफदेहिता लिने अभिभावक हो । ​थरघरबाट आजसम्म आइपुग्दा निजामती सेवाले आर्जित क्षमता पनि संस्थागत गरेको छ, नवप्रवत्र्तनको बाटो सहजै पक्डिन सक्छ तर निरन्तर दिशाबोध र प्रोत्साहन यसको जगमा बन्नुपर्छ ।

([email protected])

गोपीनाथ मैनाली
गोपीनाथ मैनाली

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्