कोरोना कसरी सर्छ, कसरी सर्दैन ? यस्ता छन् अनुसन्धानका नयाँ निष्कर्ष : डा. रवीन्द्र पाण्डे

डा. रवीन्द्र पाण्डे
डा. रवीन्द्र पाण्डे

जनस्वास्थ्य विज्ञ पाण्डे लोकान्तरका नियमित स्तम्भकार हुन् ।

कोरोना भाइरस संक्रमणको समय बित्दै जाँदा धेरै अनुसन्धान भइरहेका छन् । यी अनुसन्धानका कारण पुराना मान्यताहरू विस्थापित भएर नयाँ मान्यताहरू स्थापित भएका छन् । कोरोना कसरी सर्छ ? यसको उपचार के छ ? रोकथाम कसरी गर्न सकिन्छ ? लगायतका विषयमा नयाँ अनुसन्धान भइरहेको छ । हामीले नयाँ तथ्यको जानकारी लिने बानीको विकास गर्ने हो भने तदनुसार सुरक्षित हुने उपाय प्रभावकारी हुन्छ । तसर्थ यो आलेखमा विश्वका विभिन्न मुलुकमा भएका अनुसन्धानको निचोड प्रस्तुत गरेको छु ।

-    शुरूमा फलफूल, तरकारी, खाद्य पदार्थ, पैसा आदिबाट कोरोना सर्छ भन्ने मान्यता थियो । अमेरिकाको CDC ले गरेको अनुसन्धानअनुसार सामान्य सतर्कता अपनाउने हो भने खाधान्नबाट कोरोना संक्रमण सर्दैन । त्यस्तै संक्रमित सतहबाट सामान्यतया कोरोना संक्रमण सर्दैन । व्यक्ति आमनेसामने भएर लामो समय कुरा गर्दा, भीडभाडमा जाँदा, भेन्टिलेसन नभएको कोठा वा हलमा कन्सर्ट, नाचगान, भोजभतेर, सेमिनार आदि गर्दा कोभिड १९ सर्ने ठूलो सम्भावना हुन्छ । अर्थात्  खुला ठाउँमा कोरोना संक्रमण सर्ने सम्भावना कम हुन्छ । 


Advertisement

-    १५ मिनेटभन्दा धेरै असुरक्षित किसिमले कुनै पनि व्यक्तिसंग ६ फिट नजिक रहेर कुरा गर्दा सर्छ । खोकी तथा छ्युँ गरे छिटो सर्छ ।

-    जति लामो समय अरूसँग कुराकानी गरिन्छ, जति नजिक बसेर कुरा गरिन्छ तथा जति बढी व्यक्तिसँग कुरा गरिन्छ, कोरोना संक्रमण हुने सम्भावना त्यति धेरै हुन्छ ।


Advertisement

-    लन्डन स्कूल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनले गरेको अध्ययनअनुसार सबै संक्रमित व्यक्तिले रोग सार्न सक्दैनन् । कोरोना संक्रमितमध्ये १०-२० % ले अन्य ८०-९० % लाई संक्रमण सार्न सक्छन् भनिएको छ । विश्वका विभिन्न चर्च, नाइट क्लब, कन्सर्ट हल, मासु प्याकिङ केन्द्र आदिमा १ जना व्यक्तिले धेरै व्यक्तिलाई संक्रमण सारेको उदाहरण दिइएको छ । ती संक्रमण सार्ने व्यक्तिलाई सुपरस्प्रेडर भनिन्छ । हाल बेइजिंगमा पनि ५४ वर्षीय मासु वितरक सुपरस्प्रेडर भएर धेरै जनालाई कोरोना संक्रमण सारेको बताइएको छ ।

-    खोक्ने, कुरा गर्ने तथा श्वास फेर्ने कामले विभिन्न आकारका ड्रपलेट सिर्जना गर्छ । त्यहाँबाट उत्सर्जन भएका भाइरसको लोड बढ्दै जाँदा संक्रमण हुन्छ । यो भाइरसले हाम्रो स्वाश्प्रश्वास मार्गमा रहेका ACE receptors लाई प्रयोग गरेर कोषभित्र प्रवेश गर्छन् अनि बढ्दै जान्छन् ।

-    सिंगापुरमा भएको अध्ययन अनुसार कोरोना संक्रमितले संक्रमण भएको ११ दिनपछि परीक्षणमा पोजिटिभ देखिएपनि अन्य व्यक्तिलाई कोरोना संक्रमण सार्न सक्दैन । यही अध्ययनको आधारमा WHO ले २ हप्तामा आइसोलेसनमुक्त हुँदा पीसीआर परीक्षण गर्नु नपर्ने भनेको छ । यो तथ्य विवादित बनेको छ । यसरी डिस्चार्ज गरिएका धेरै व्यक्तिले अन्यलाई संक्रमण सारेको तथा डिस्चार्ज भएका व्यक्तिको मृत्यु पनि भएको छ । यसले देखाएको छ कि देश, काल र परिस्थितिअनुसार आइसोलेसनको अवधि र परीक्षण जरुरी हुन्छ ।

-    लक्षणविहीन कोरोना संक्रमित बिरामीले अन्य व्यक्तिलाई संक्रमण सर्न नसक्ने भनेर WHO ले भनेको कुरालाई विश्वका घटना र विज्ञहरूले आलोचना गरेका छन् । ह्वाइट हाउसका वैज्ञानिक एन्थोनी फाउचीले पनि यसको खण्डन गरेका छन् । अमेरिकामा २५-४० % लक्षणविहीन संक्रमित भएको, डाइमन्ड प्रिन्स क्रुजमा पनि लक्षणविहीन संक्रमित भएको, आइसल्याण्डमा ५०% संक्रमित लक्षणविहीन भएको तथा हाल दक्षिण एसियामा करीब ७५ % लक्षणविहीन भएको र उनीहरूले एकअर्कालाई संक्रमण सारेका अनुसन्धानले प्रमाणित गरेका छन् ।

-    कोरोना संक्रमणले श्वास मार्गमा मात्र नभएर आमासय तथा आन्द्रामा पनि असर गर्छ । ४००० बिरामीमा गरिएको एक अनुसन्धानमा ७.५ % संक्रमितलाई पखाला र ४.६ % संक्रमितलाई वाकवाकी तथा बान्ता भएको थियो भने स्टुल टेस्टमा RNA ५४० जना मध्ये २९१ जना ( ५३. ९ % ) पोजिटिभ देखिएको थियो । कुनै पनि सहरमा कोरोना संक्रमण आउटब्रेक अर्को हप्ता हुन्छ कि हुँदैन भनेर ढलको फोहोरलाई परीक्षण गरेमा अनुमान गर्न सकिने केही अध्ययनले जनाएका छन् ।

-    कोरोना संक्रमणले मुख्य रूपमा फोक्सोलाई असर गर्दछ । त्योबाहेक किड्नी, मुटु, कलेजो, मस्तिष्क, स्नायु, रक्तनली आदिलाई पनि असर गर्दछ । फोक्सोमा भाइरल निमोनिया भएर भेन्टिलेटरमा बसेका व्यक्तिमा पछि गएर पनि समस्या देखिने केही वैज्ञानिकको दावी छ ।

-    कोरोना संक्रमणको उपचारमा इबोलाको औषधि, जापानिज इन्फ्लुएन्जाको औषधि, मलेरियाको औषधि, डेक्सामेथासोन लगायतका धेरै औषधि प्रभावकारी देखिएका छन् । कोभिड– १९ विरुद्धको खोप यही वर्ष आउने धेरै देशले दाबी गरेका छन् । चीन, बेलायत, रुस, इटली, अमेरिकालगायत देशले ६ महिनाभित्र खोप आउने दाबी गरेका छन् । खोप तथा संक्रमणबाट प्राप्त इम्युनिटी नै कोरोना नियन्त्रणका प्रमुख उपाय हुन् । 


कोरोना संक्रमण रोकथामको लागि के गर्ने ?

कोरोना संक्रमणको ठोस औषधि नभएको तथा खोप कहिले पत्ता लाग्छ भन्ने निश्चित नभएको हुनाले यो रोगबाट बँच्नुको विकल्प छैन । यसका लागि हामी सबैले घरबाहिर निस्किँदा सधैँ सही तरिकाले मास्क लगाउने, ६ फिटको व्यक्तिगत दुरी कायम गर्ने तथा नियमित रूपमा हात धुने अभ्यासलाई जीवनशैलीको रूपमा अपनाउनु पर्दछ । अनुहार, सम्बन्ध, भूगोल आदि हेरेर को संक्रमित छ, को संक्रमित छैन भनेर पता लगाउन सकिँदैन, तसर्थ हरेक व्यक्तिसँग दुरी कायम राख्नु अनिवार्य छ ।

-    सरकारी तथा नीजी कार्यालय, सेवाप्रदायक संस्थाले  ( बैंक, मालपोत, बिल तिर्ने ठाउँ, कर तिर्ने ठाउँ, अस्पताल लगायत ) भीडभाड कम गर्नका लागि 'डिजिटल सर्भिस' दिने तथा फोन वा इन्टरनेटबाट समय लिने, आफ्नो पालोमा मात्र जाने जस्ता नियम लगाउनुपर्छ ।

-     काम गर्ने ठाउँमा झ्यालढोका खोल्ने तथा उचित भेन्टिलेसनको व्यवस्था गर्नु पर्दछ । हावालाई फोर्स गरेर सिलिङतिर धकेल्ने अनि पम्पिङ गरेर बाहिर पठाउने, कोठा वा हलमा ताजा हावा प्रवेश गर्ने धेरै मार्ग बनाउनु पर्दछ ।

-    जोखिमको जानकारी लिने अनि त्यसलाई त्याग गर्नु सबैभन्दा प्रभावकारी उपाय हो ।

-    हामीले सतह र प्रयोग गर्ने सामानलाई संक्रमणरहित बनाउन ठूलो मेहेनत र खर्च गर्नु जरुरी छैन किनकि यिनीहरूबाट धेरै जोखिम हुँदैन ।

-    ग्राहक बस्ने लबी, मिटिङ गर्ने ठाउँ,  लकरको कोठा, सेक्युरिटी चेक गर्ने ठाउँ, मुख्य गेट तथा लिफ्टमा विशेष सुरक्षा सतर्कता अपनाउनु जरुरी छ ।

-    एकैपटक धेरै ग्राहक भित्र आउँदा सेक्युरिटी चेक गर्न टाइम लाग्छ, त्यहा मान्छेको भीड नगर्नको लागि बाहिरदेखि नै शतर्कता अपनाउनुपर्दछ । 

-    अमेरिकामा मुटुको रोग, मधुमेह तथा दीर्घ फोक्सोको रोग भएका व्यक्तिलाई स्वस्थ व्यक्तिलाई भन्दा ६ गुणा धेरै अस्पताल बस्नुपर्ने तथा स्वस्थ्य व्यक्तिभन्दा १२ गुणा बढी मृत्यु हुनसक्ने बताइएको छ । त्यस्तै न्यून आय भएका तथा गरीब देशका जनताले  व्यक्तिगत दुरी कायम गर्न गाह्रो हुने तथा स्वास्थ्य सेवा गुणस्तरीय नहुने भएकोले मृत्युदर बढी हुने जनाइएको छ । तसर्थ जेष्ठ नागरिक, दीर्घबिरामी तथा इम्युनसम्बन्धी समस्या भएका व्यक्ति घरमै बस्ने तथा घरभित्र पनि अन्य परिवारजनसँग व्यक्तिगत दूरी कायम गर्नुपर्दछ ।

-    संसारका विभिन्न देशमा भएको अध्ययनले के देखाएको छ भने अधिकांश संक्रमितको मृत्यु बिहान ३-५ बजेसम्म भएको छ । त्यो समयमा संक्रमितलाई विशेष ख्याल गर्नुपर्ने जनाइएको छ ।

-    अहिले संसारका अधिकांश व्यक्तिलाई यो भाइरसको बारेमा धेरैथोरै जानकारी छ, बच्ने उपाय थाहा छ तथा मास्क, पीपीई, पञ्जा, स्यानिटाइजर, डिसइन्फेकटान्ट आदिको उपलब्धता छ । क्वारेन्टाइन तथा आइसोलेसनले संक्रमण सीमित गराएको छ ।

-    भिटामिन डि हड्डी तथा मांशपेशीलाई बलियो बनाउन, डिप्रेसनलाई न्यूनीकरण गर्न तथा रोगप्रतिरोधात्मक क्षमता बढाउनका लागि निकै उपयोगी हुन्छ । नर्थ वेस्ट युनिभर्सिटीले गरेको अनुसन्धानअनुसार चीन, इटली, कोरिया, इरान, स्पेन, स्विट्जरल्यान्ड, बेलायत, अमेरिकालगायतमा गरिएको अनुसन्धानमा भिटामिन डीको कमी भएका संक्रमितको मृत्युदर उच्च देखिएको छ । जोन्स हप्किन्स युनिभर्सिटीमा भएको अध्ययनमा पनि भिटामिन डीको सप्लिमेन्ट सेवन गरेका कोरोना संक्रमितको मृत्युदर न्यून देखिएको छ । घाम ताप्ने बानी भएमा भिटामिन डी को कमी हुँदैन ।

-    रोगप्रतिरोधात्मक क्षमता बढाउनका लागि ताजा तथा पोषिलो खाना, व्यायाम, पर्याप्त निद्रा, तनाव व्यवस्थापन, सकारात्मक सोंच तथा भिटामिन सी, जिंक, भिटामिन बी १२ देखि गुर्जो, अश्वगन्धा, अमला, कागती, तुलसी, दालचिनी, अदुवा, बेसार, मरिच, मह लगायतका सप्लिमेन्टको प्रयोग धेरै प्रभावकारी देखिएको छ ।

-    इटलीमा भएको अध्ययनले कोरोना भाइरस कमजोर भएको तथा यसबाट जोखिमको सम्भावना घटेको बताएको छ ।
-    सरकार र जनता सतर्क नहुँदा ब्राजिलको नियति भोग्नुपर्ने अवस्था आउँछ । तसर्थ हामी नागरिकले कोरोना भाइरसबाट बच्नका लागि हरसम्भव उपाय अपनाउनु आवश्यक छ ।

-    अन्य देशको कोरोना संक्रमणसँग नेपालको अवस्था मिल्दो छैन । हालको तथ्यांक हेर्दा नेपालमा कोरोना संक्रमणको मृत्युदर ०.२ % मात्र छ अर्थात् संक्रमित १००० मा करीब २ जनाको मात्र मृत्यु भएको छ । यसलाई अझै विश्लेषण गर्ने हो भने ती मृत्युमध्ये ५० % मृत्यु कोरोना संक्रमण नभएको भएपनि हुने अवस्थाका छन् । त्यस्तै परीक्षणमा नसमेटिएकालाई गणना गर्ने हो भने मृत्युदर नगण्य हुन आउँछ ।

-    मुस्ताङका ८३ वर्षीय संक्रमित निको हुनुभएको छ । धेरै जेष्ठ नागरिक तथा दीर्घबिरामीले पनि सामान्य रूपमा कोरोना संक्रमणलाई पराजित गर्नुभएको छ । हामीले उच्च मनोबल राख्यौं भने चिन्ता, तनाब, फ्रस्टेसन तथा डिप्रेसन हुँदैन । संक्रमण समुदायमा व्यापक नभएको र बाहिरबाट आउने व्यक्तिमा मात्र परीक्षण सीमित भएको हुँदा नेपालको वास्तविक संक्रमण बाहिर आउन सकेको छैन । जति धेरै परीक्षण बढाइन्छ, त्यति धेरै रोग नियन्त्रण हुने सम्भावना हुन्छ । हामी नागरिकले अनुशासन पूर्णरूपमा पालना गरेनौं भने लकडाउन गर्नुपर्ने हुन्छ । लकडाउनको कारण संसारमा करोडौं व्यक्ति संक्रमित हुनबाट बचे, हजारौं व्यक्तिको मृत्यु टर्‍यो । तसर्थ भोलि संक्रमण धेरै बढेमा लकडाउन तथा कर्फ्यु लगाउनु पर्ने हुनसक्छ । त्यसलाई हामीले सकारात्मक रूपमा लिनुपर्दछ । 

कोरोनाभाइरस कमजोर भाइरस हो । यो भाइरसले ठाउँअनुसार फरकफरक असर देखाएको छ । तसर्थ हामीले कोरोना भाइरससँग ‘लिभिङ टुगेदर' हैन 'लिभिङ सेप्रेट' गरेर आफ्ना काम सुचारू गर्नुको विकल्प छैन । यो नयाँ परिवेशको अभ्यासले हामीलाई शुरूमा अप्ठ्यारो महसूस भएपनि बिस्तारै बानी पर्दै जान्छ । 

डा. रवीन्द्र पाण्डे
डा. रवीन्द्र पाण्डे

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्