गोद्ना संस्कृति : युवायुवतीको शरीरमा देखिने ट्याटुभित्र लुकेको यौन र प्रेमको अन्तर्य

लखन चाैधरी
लखन चाैधरी

लखन चौधरी लोकान्तरका लागि सुदूरपश्चिम प्रदेश प्रतिनिधि हुन् । 

पछिल्लो समय युवतीहरू वक्षस्थल, नाइटोलगायत अंगमा ट्याटु खोप्छन् । युवाहरूले पाखुरा, पिठ्यु लगायत अंगमा ट्याटु खोपेको देखिन्छ ।

ट्याटुको क्रेज ग्रामीणभन्दा शहरीया युवायुवतीमा बढी रहेको पाइन्छ तर ट्याटुको तात्पर्य तथा विशेषताबारे आजका पुस्ता जानकार छन् ?


Advertisement

नवपुस्ता ट्याटु कलाबाट प्रभावित भए पनि पुरानो पुस्ता भने ‘गोद्ना’ अर्थात् हात र खुट्टामा चित्र खोप्ने संस्कृतिबाट भिजेको छ । विभिन्न जातजातिमा यो संस्कृति विद्यमान रहेको बताइन्छ । त्यसमध्ये आदिवासी थारु समुदायका बाजे पुस्तामा आजभन्दा ६ दशक पहिले निकै प्रचलित संस्कृतिको रुपमा रहेको गोद्ना बताइन्छ ।

कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका–७ पौलाहा गाउँकी ६० वर्षीया भलुनी थरुनीले आफ्नो खुट्टाभरि कालो टीका खोपाएकी छन् । उनले आफ्नो विवाहपछि कालो टीका खोपाएकी हुन् । जुनबेला थारू जातिमा विवाह गरेको १ हप्तापछि माइत फर्कने र शरीरका विभिन्न अंगमा कालो टीका खोप्ने अर्थात् गोद्ने प्रचलन रहेको उनी स्मरण गर्छिन् ।


Advertisement

टिकिहिनिया (गोद्ना खोप्ने महिला) बाट गोडा (खुट्टा) मा खोपाएको बताउँदै उनी भन्छिन्, ‘अरुलाई देखेर धेरै रहर लाग्थ्यो । ९ वटा सियोले खोप्थे । ४–५ घण्टा लगाएर खोपेपछि गोडा सुनिएर हात्तीको खुट्टाझै हुन्थ्यो । सुनिएर रातो भएको खुट्टामा बेसार र तेलको लेप लगाइन्थ्यो । जसले औषधिको काम गथ्र्यो ।’ त्यसताका विवाहित महिलाले गोडामा टीका खोपाउनुपर्ने संस्कृति थियो । गोडा नखोपाउने महिलालाई समाजमा नराम्रो दृष्टिले हेरिने गरेको उनी बताउँछिन् ।

गोद्ना संस्कृतिलाई थारु जातिमा प्रेम र यौनको प्रतीकका रूपमा समेत लिने गरेको बताइन्छ । थारु संस्कृतिविद् अशोक थारुले थारु जातिमा विवाहित महिलाले खुट्टाको घुँडादेखि मुनि गोली गाँठोदेखि माथि विभिन्न किसिमका चित्रहरू कोरिने संस्कृति रहेको बताए । खासगरी सौन्दर्य र यौनको प्रतीक मानिने मयुर र दैनिक प्रयोगमा आउने चन्नी, झाडु, चुह्लो, हेंगा, कायो, हँसिया लगायतको चित्र खोप्ने संस्कृति रहेको थियो ।

पौलाहा गाउँकी ७४ वर्षीया बुझौनी थरुनीको पनि हात र खुुट्टैभरि विभिन्न चित्रहरू खोपिएका छन् । चित्र खोपाउँदा पतिको मात्रै होइन, परिवारजनको पनि माया पाउने गरेको बुझौनी बताउँछिन् । चित्र खोपिएको गोडा देखाउँदै बुझौनी भन्छिन्, ‘यसले गर्दा पतिको मात्रै होइन, सासुससुराको माया पनि पाइन्थ्यो ।’

गोद्ना संस्कृतिको सम्बन्ध पूर्व जन्मसँग पनि सम्बन्धित रहेको मिथक पनि कायमै रहेको थारु संस्कृतिका जानकारहरू बताउँछन् । गोडामा चित्र खोप्नुको सुन्दरता त छँदै थियो तर मरेर स्वर्ग जाँदा स्वर्गमा त्यहीँ खोपिएको चित्रले पतिले आफ्नो पत्नीको पहिचान गरिने लोकविश्वास थारु समुदाय छ ।

संस्कृतिविद् थारु भन्छन्, ‘गोद्ना संस्कृतिको सम्बन्ध पतिपत्नीबीचको सम्बन्ध जन्म–जन्म रहने जनविश्वास छ । स्वर्गमा गए त्यहीँ गोदना हेरेर पुरुषले आफ्नो पत्नीलाई पहिचान गर्ने माध्यम थियो रे । जसले माया, प्रेम र यौन सम्बन्ध अटुट रहने अर्थ्याउँछ ।’

वीरताको निशानी

गोद्ना संस्कृति थारु जातिमा वीरताको प्रतीकको रुपमा रहेको पनि बताइन्छ । सौन्दर्यमा मात्रै सीमित नभएको बताउँदै संस्कृतिविद् थारु वीरताको प्रतीकको रुपमा अथ्र्याउँछन् ।

ऐतिहासिक प्रसङ्ग कोट्याउँदै संस्कृतिविद् थारु भन्छन्, ‘एकताका रतनु र घोर्से मगर राजाबीच लडाइँ चल्यो । घोर्से मगर राजाले युद्धमा अनेक प्रयास गर्दा पनि पराजय भोगे । युद्ध जित्ने रणनीतिक योजनामा उनका भारदारहरूले महिला सेनापतिको रुपमा थारु महिला लाठीलाई बनाउन सुझाव दिए । राजा पुनः युद्धको लागि तयार भए । अन्ततः लाठीकै सहयोगमा युद्ध जिते । जीतको खुशीयालीमा लाठीले शत्रु पक्षको रगतले पैतालादेखि माथि र घुँडाभन्दा तलको भाग सजाइन् । त्यसपछि वीरताको प्रतीक तथा निशानीको रुपमा गोडा खोप्न शुरूवात भएको मिथक छ ।’

जुन लडाइँको क्रममा गाइएको केही लाठी गीतहरू र शृंगारिक तथा ऋतुु गीत पनि जनजीवनमा रहिआएको बताइन्छ ।

लडाइँ लाठी गीत यसरी सुनाउँछन् संस्कृतिविद् थारु –

हाँ रि टोर घर कुसल रटनु मोर घर कुसल रि आवै
कुसलीक् बात् कहोरे समझा
निच उठी जैहो रे रतनु लाठी रे बलान

ऋतु गीत
पुरुवसे उम्ररल कारी बडरिया
कारि बडरिया पश्चिउ ओर अइल
जैस भर उमरल, डैया लाठी कुवर
उत्तरसे उम्ररल सेन्दुरी बडरिया ... ।

हाल गोडा खोप्नु व्यक्तिको ऐच्छिक विषय बनेको छ । प्रेम, त्याग र वीरताको बिम्ब मानिने प्रचलन लोप भइसकेको छ तर केही परिमार्जन गरेर गोद्ना संस्कृतिको व्यावसायिकीकरण गरेर संरक्षण गर्न सकिने संस्कृतिविद् थारुको भनाइ छ ।

लखन चाैधरी
लखन चाैधरी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्