को हुन् नेपाल प्रहरीका २८औँ आईजीपी थापा ?

सरकारले २८औँ प्रहरी महानिरीक्षक (आईजीपी)को रुपमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) शैलेश थापा क्षेत्रीलाई नियुक्त गरेको छ। 

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले एआईजी थापा क्षेत्रीलाई नेपाल प्रहरीको २८औँ आईजीपीका रुपमा नियुक्त गर्ने निर्णय गरेको हो।


Advertisement

आगामी २०७९ साल वैशाख १९ गते अर्थात २२ महिनाको लागि नेपाल प्रहरीको नयाँ आईजीपीका रुपमा थापाले संगठनको प्रमुखका रुपमा सम्हाल्ने भएका छन् ।

को हुन् शैलेश थापा ?
२०४९ साल वैशाख १९ गते प्रहरी निरीक्षक (इन्स्पेक्टर)बाट प्रहरी सेवामा प्रवेश गरेका थापा २०५८ सालमा २ नम्बरमा प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा भएका थिए। उनी २०६६ साल पुस २० गते तेस्रो नम्बरमा प्रहरी उपरीक्षक (एसपी) बढुवा भएका थिए। 


Advertisement

वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हुँदा भने थापा पहिलो नम्बरमा २०७४ साउन १९ गते बढुवा सूचीमा परे। २०७५ असोज २० गते सरकारले ११ जना डीआईजीको बढुवा सूची निकाल्यो जसमा अहिलेका प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली अगाडी भए भने थापा छैटौं नम्बरमा बढुवा भएका थिए ।

५ महिना अगाडि एआईजीमा बढुवा हुँदा थापालाई दोस्रो नम्बरमा र  हरिबहादुर पाललाई तेस्रो नम्बरमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) मा परेपछि उनले आईजीपीको यात्रा पक्कापक्की गरेका थिए ।

थापाले आफ्नो सेवामा धेरै फिल्डमा कमाण्ड गरेका भने छैनन्। इन्स्पेक्टर हुँदा सिन्धपाल्चोक मात्र काम गरेका थापा अधिकांश समय प्रहरी प्रशिक्षण प्रतिष्ठान र महानिरीक्षकको सचिवालयमा काम गरेका थिए।

यस्तै डीएसपी हुँदा धादिङ, एसपी हुँदा कास्की र झापाको नेतृत्व गरेका थिए। डीआईजी हुँदा प्रहरीको केन्द्रीय प्रवक्ता भएका थापाले एउटा कार्यकाल महानगरीय प्रहरी कार्यालयको नेतृत्व सम्हालेका थिए। एआइजी भएपछि मानव स्रोत एवं प्रशासन विभागमा कार्यरत थिए ।

उनी युएन मिसनका दौरान बोस्निया, पूर्वी टिमोर र सुडान गएका थिए। सेवा अवधिको समयमा कुनै दाग नलागेका थापा व्यवसायिक प्रहरी अधिकृतको रुपमा चिनिँदै आएका छन् । 

आईजीपीका चुनौती 
नयाँ प्रहरी महानिरीक्षक (आईजीपी)लाई पहिलो चुनौतीको रुपमा निर्मला पन्तको हत्या प्रकरण सुल्झाउनु हो।

निर्वतमान आईजीपी ठाकुर ज्ञवालीले आईजीपी हुँदा निर्मला हत्या प्रकरणको टुङ्गो लगाउने वाचा गरेपनि उनले फाइलसम्म हेरेनन्।

कञ्चनपुरमा गएर अनुसन्धान गरेका ज्ञवालीले हत्या प्रकरण सुल्झाउने अपेक्षा थियो तर उनले  सुल्झाउने त परै जाओस् फाइलसम्म नहेरेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।

२०७५ साल असार ११ गते १३ वर्षीय निर्मला पन्तको कञ्चनपुरमा बलात्कारपछि हत्या भएको थियो। पूर्वआईजीपी सर्वेन्द्र खनाललेसमेत निर्मला हत्याका हत्यारा पत्ता लगाउने वचन दिएका थिए तर उनी पनि यस प्रकरणमा असफल भए ।

अर्को कुमार पौडेललेको इन्काउन्टर प्रकरण पनि चुनौतीका रूपमा नयाँ आइजीपीका अगाडि आउँछ । 

नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको पार्टीका नेता कुमार पौडेलको इन्काउन्टर फेक भएको भन्दै प्रहरीमाथि प्रश्न चिन्ह खडा भएको छ । मानव अधिकार आयोगले पौडेललाई नियन्त्रणमा लिएर हत्या भएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

पौडेल २०७६ असार ५ गते अन्दाजी २ बजे लालबन्दी नगरपालिका वडा नम्बर १ लखनदेहीस्थित जंगलको पश्चिम किनारामा रहेको उत्तर–दक्षिण बाटोमा प्रहरीको गोलीबाट मारिएका थिए ।

यस्तै प्रहरीमा पावर पहुँचको आधारमा सरुवा बढुवा हुने गरेको आरोप लाग्दै आएको छ । विषेश गरेर राजनीतिक पहुँच भएका प्रहरीहरु अगाडि जाने र राम्रो ठाउँमा सरुवा हुने प्रवृत्ति बढेको प्रहरी वृत्तबाटै उठ्ने गरेको आवाज हो । 

यसलाई संगठन प्रमुखको हैसियतले न्यून बनाएर नियमसम्मत बढुवा र सरुवा गर्ने परिपाटी बसाल्ने जिम्मा पनि अबका आईजीपीको थाप्लोमा आएको छ । संगठनमा काम गर्ने प्रहरी अधिकृतहरुलाई व्यक्तिगत रीस र कुण्ठाको आधारमा कारवाही गर्ने परिपाटीको अन्य गर्न संगठन प्रमुखले भूमिका खेल्नुपर्ने देखिन्छ । 

नयाँ आईजीपीको काँधमा प्रहरी संगठनमा हुने गरेका भ्रष्टाचारलाई शून्यमा झार्ने जिम्मेवारी पनि छ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीमा फ्रन्टलाइनमा खटिएका प्रहरीलाई जोखिमबाट मुक्त गर्नुपर्ने काम पनि चुनौतिपूर्ण छ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्