बालिकामाथि क्रुरताका यी दर्दनाक दृष्टान्त

  • २०६८ चैतमा एसएलसी दिन हिँडेकी बैतडीकी पूजा बोहरा सामूहिक बलात्कारको सिकार भइन् । २ जना अपराधीलाई २०७६ कात्तिकमा सर्वोच्च अदालतबाट जेल सजायको फैसला भयो ।
  • २०७५ साउनमा कञ्चनपुरको महेन्द्रनगरमा १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भयो । अभियुक्त अहिलेसम्म पत्ता लागेको छैन । घटना अझै रहस्यमय छ ।
  • काभ्रेको तेमाल गाउँपालिकामा गत वर्ष असार २० गते ९ वर्षीया एलिसा तामाङको बलात्कारपछि हत्या भयो । काभ्रे प्रहरीले घटनामा संलग्न ३ अभियुक्तलाई पक्राउ गरी कारबाही चलायो ।
  • रूपन्देही कोटहिमाईमा घाँस काट्न गएकी १२ वर्षीया बालिकाको २०७४ माघ २२ गते बलात्कारपछि हत्या भयो । रूपन्देही प्रहरीले जबरजस्ती करणी मुद्दामा कारबाही प्रक्रिया अघि बढाएपछि सन्दीपकुमार धोबी कारागारमा छन् ।
  • धनुषाको जनकपुरधाम कुर्थाकी नाबालिका कञ्चनकुमारी पंजियारको हालै बलात्कारपछि हत्या भयो । शंकास्पद भारतीय नागरिक दीपु सिंह पक्राउ परेका छन् ।

बलात्कार र बलात्कारपछि हत्यासम्बन्धी जघन्य अपराधका केही दृष्टान्त हुन् यी । त्यसमाथि पनि बालिकामाथि हुने क्रुर हिंसा बढी देखिन्छ । यति निर्दयी कृत्य किन गर्छन् ? खोजबिनकै विषय बनेको छ ।


Advertisement

प्रहरी प्रधान कार्यालयको अभिलेखअनुसार यो आर्थिक वर्षको जेठसम्म जबरजस्ती करणीका १ हजार ९ सय ४५ वटा घटना भएका छन् ।

जबरजस्ती करणी (बलात्कार) का घटनालाई ६ श्रेणीमा विभाजन गरिएको छ । जसअनुसार बलात्कार मात्रै, मानव बेचबिखन गरी बलात्कार, अपहरण गरी बलात्कार, बलात्कार गरी हत्या, बलात्कार गरी ज्यान मार्ने प्रयास र बालविवाह गरी बलात्कार छन् ।


Advertisement

अदालतमा पुगेका बलात्कार मुद्दा हेर्दा घटनामा अधिकांश चिनजान र आफन्तकै संलग्नता देखिन्छ । नाबालिकाहरू त झन् आफन्तबाटै बढी मात्रामा बलात्कारको शिकार भएका छन् । ५ वर्षयताकै बलात्कारका अपराध हेर्दा कहालीलाग्दो अवस्था देखिन्छ ।

प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७१/७२ मा ९८१ बलात्कारका घटना भए । अर्को वर्ष २०७२/७३ मा यो संख्या बढेर १ हजार ९३ पुग्यो । यो संख्या बढेर २०७३/७४ मा १ हजार १३७ मा उक्लियो । त्यसपछिको २०७४/७५ मा १ हजार ४८० र २०७५/७६ मा बलात्कारका घटनाले १५ सय नाघेको देखिन्छ । २०७६/७७ को साउन, भदौ र असोजमा मात्र ५९१ बलात्कार घटना भएको प्रहरीको तथ्यांक महान्यायाधिवक्ता कार्यालयले उद्धृत गरेको छ । जसमध्ये ३६८ बालबालिका बलात्कारको शिकार भएका छन् । काठमाडौं उपत्यकामा ८२ वटा घटना भएको देखिएको छ ।

तथ्यांकअनुसार लकडाउन अवधिमा बलात्कारका घटना मात्रै १५५ वटा भए । सबैभन्दा बढी ३७ घटना प्रदेश ५ मा भएका छन् । प्रदेश १ मा २६, २ मा २५, वाग्मतीमा २०, कर्णालीमा १५ र सुदूरपश्चिममा १५ घटना भए । गण्डकीमा सात, काठमाडौं उपत्यकामा १० घटना भए । बलात्कार उद्योगका ३१ घटना भए । सबैभन्दा बढी क्वारेन्टीनमा घटना भएको देखिन्छ ।

महान्यायाधिवक्ता कार्यालयका अनुसार अदालतमा दायर अभियोग तथ्यले पनि बलात्कार घटना बढेको देखाउँछ । आर्थिक वर्ष २०७२/७३ मा जिल्ला अदालतमा पेश भएका बलात्कार मुद्दाको लगत २ हजार ६०१ थियो । त्यसमा १ हजार १०५ जनालाई जेल सजाय तोकियो । ६२५ जनाले सफाइ पाए । सरकारलाई अत्यधिक ६१.१५ प्रतिशत सफलता हात लाग्यो ।

२०७३/७४ मा २ हजार ८२१ मुद्दा हुँदा ९५२ जना अभियुक्तलाई जेल सजाय भयो । ६२८ जनाले सफाइ पाए । उक्त सफलता ५८.४८ प्रतिशत हो । २०७४/७५ मा आइपुग्दा अभियोगको संख्या बढेर ३ हजार ४१८ पुग्यो । उक्त वर्ष १ हजार ८३ जनालाई जेल सजाय हुँदा ७८० जनाले सफाइ पाए । सरकारलाई ५६.३५ प्रतिशत सफलता हात लाग्यो ।

त्यसपछि २०७५/७६ मा आउँदा अभियोगको संख्या बढेर ४ हजार ६१९ पुग्यो । १ हजार ३४८ जना कसुरदार ठहर भए । १ हजार १२९ जनालाई सफाइ दिइयो । यसमा सफलता प्रतिशत ५२.५९ मात्रै रह्यो ।

महान्यायाधिक्ता कार्यालयका प्रवक्ता सञ्जीव रेग्मीले बलात्कारका घटना प्रतिवर्ष बढिरहेको बताए । लकडाउनमा झन् विकराल अवस्था आएको उनको भनाइ छ । ‘यसले शान्ति–सुरक्षामा चिन्ता बढाएको छ । बलात्कारको अपराध व्यक्तिको मनसाय र प्रवृत्तिसँग जोडिएको हुन्छ । जानेर बुझेर अपराध हुन्छ,’ प्रवक्ता रेग्मीले भने, ‘घटनाको वैज्ञानिक अनुसन्धान, पीडितको शारीरिक जाँच, दरिलो प्रमाण नहुनु, अदालतमा आएर साक्षीको होस्टाइल हुने प्रवृत्ति, कतिपय झुटा उजुरी पर्नु, सहमतिमा भए पनि पछि बलात्कारमा जाहेरी पर्नुजस्ता कारणले पनि मुद्दाको सफलता असफलतामा प्रभाव पार्दछ ।’

उनका अनुसार नयाँ फौजदारी संहिताका कारणले पनि बलात्कारमा अपराधको क्षेत्र बढाएको अवस्था छ । ‘उजुर गर्ने चेतनास्तर बढेका कारण पनि मुद्दाको संख्या बढेको हुन सक्छ । जे भए पनि बलात्कारका अपराध बढ्ने कुराले सामाजिक सुरक्षाको चिन्ता बढाएको छ,’ उनले भने, ‘लकडाउनको अवस्थाले पनि यस्तो देखाउँछ ।’ सामाजिक सञ्जाल, युट्युब, अश्लील भिडियो, पश्चिमा संस्कृतिको प्रभावले पनि यस्ता घटना बढेको हुन सक्ने उनको भनाइ छ ।

फौजदारी कानुनका विज्ञ वरिष्ठ अधिवक्ता लभकुमार मैनालीले बलात्कारका घटना विगतमा पनि हुने गरेको तर सूचना, चेतना र सञ्चारका कारण बाहिर नआएको बताए । ‘अध्ययन नभएका कारण अहिले बढेजस्तो देखिए पनि विगतमा पनि कमी थिएन । धनीमानी, ठूलाठालु जमिनदारबाट पनि हुने गर्थ्यो,’ उनले भने, ‘अहिले बढी थाहा भएका कारण मात्र बढीजस्तो देखिएको हो । बलात्कारका घटना हिजो पनि उस्तै थियो आज पनि छ । किन, कति भयो भनेर ठोस रिसर्च हुनै सकेको छैन ।’

रिसर्चपछि मात्र समाधानमा जान सहज हुने उनको भनाइ छ । कतिपय झुटा उजुरीका कारण पनि संख्या बढी देखिएको उनले बताए । बलात्कार बढ्नु–घट्नुमा नैतिक शिक्षा, संस्कार र चेतनाको स्तरमा भरपर्ने भनाइ मैनालीको छ ।

कसरी बच्ने ?

बलात्कारका घटनाबाट जोगिन आफैं सचेत हुनुपर्ने देखिन्छ । परिवारका सदस्य चनाखो हुनु जरुरी छ । कसैसँग व्यवहार गर्दा, एकान्त स्थानमा हिँड्दा होस् वा आफू नजिकका व्यक्तिले गर्ने व्यवहारको मूल्यांकन गर्नु जरुरी हुन्छ । पहिला आफू सुरक्षित हुनुपर्छ। परिवारकै सदस्यबाट यौन दुव्र्यवहारका घटना भएको अवस्थामा पीडितले परिवारका सदस्य वा नजिकको प्रहरीमा भन्ने हिम्मत राख्नुपर्छ ।

यौन हिंसा जति लुकायो त्यति नै डरलाग्दो रूप लिन्छ । यौन शिक्षाको पनि जरुरी छ । यससँगै विद्यालयमा पनि यौन हिंसाबाट जोगिने उपायका बारेमा शिक्षा दिनु जरुरी छ ।

‘समाज चेतनशीलन हुनुपर्‍यो’
नीरजबहादुर शाही, प्रवक्ता, नेपाल प्रहरी

बलात्कारका घटना कुनै योजनाबद्ध हुन्छन्, कुनै अचानक । महिला तथा बालबालिकाविरुद्ध हुने हिंसाको यो एउटा क्रुर रूप हो । नेपाल प्रहरीले यस्ता घटना नियन्त्रण र न्यूनीकरण गर्न धेरै काम गरेको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम पनि यस्तै प्रकृतिका घटना न्यूनीकरण गर्न बनेको हो ।

पहिला त समाज चेतनशील हुनुपर्‍यो । व्यक्तिको मनोवृत्तिमै परिवर्तन हुनु जरुरी छ । बलात्कारका केही घटना आफन्तबाटै भएको देखिन्छ । कतिपय भने अचानक भएको देखिन्छ । शिक्षित वर्ग यस्ता घटनाबाट टाढै छन् । अधिकांश घटनामा अशिक्षित, निम्न आयआर्जन भएका र आपराधिक मनोवृत्ति भएका व्यक्ति पीडक देखिन्छन् ।

पछिल्ला २ आर्थिक वर्षको तुलना गर्दा पनि बालिका बलात्कारपछि हत्या भएका घटनाले पनि त्यही देखाउँछ । बल प्रयोग गर्दा बालिकालाई सजिलै नियन्त्रणमा लिन सकिने भएकाले पीडकले बालिकालाई नै बढी शिकार बनाउने गरेको पाइएको छ । पीडकले घरका कोही नभएको अवस्थामा वा एकान्त स्थानलाई घटनास्थल रोज्दै आएको देखिन्छ ।

बलात्कारका घटना रोक्न प्रहरी एक्लैको प्रयासले सम्भव छैन । यसोभन्दा प्रहरी चुप लागेर पनि बसेको छैन । समाजका हरेक वर्ग र बुद्धिजीवीको प्रयासले पनि केही हदसम्म न्यूनीकरण गर्न सकिन्छ ।

‘यौनको तीव्र इच्छाले धेरै बलात्कार’
– करुणा कुँवर, मनोविद्

यौनको तीव्र इच्छा भएका व्यक्तिबाट बलात्कारका घटना धेरै भएका देखिन्छन् । अर्कोे पीडक व्यक्ति नै कुनै न कुनै रूपमा यौन दुव्र्यवहारको सिकारमा पर्ने, उसले बदलाको भावले पनि बलात्कारका घटना निम्त्याएका देखिन्छन् । कसैले बदलाको भाव र आवेगमा बलात्कारका घटना गराएको देखिन्छ । बलात्कारका केही घटना मानसिक रोगले पनि निम्त्याएको देखिन्छ । तर सबैमा यो लागू हुँदैन । बालिका पीडित भएका घटनामा चिनजानकै व्यक्तिको संलग्नता धेरै देखिन्छ । पीडक व्यक्ति नातागोता (हजुरबुवा, मामा, काका, अंकललगायत) परेको देखिन्छ ।

यौन आवेग मात्रै नभएर डरत्रास देखाउँदा घटना बाहिर नआउने, धेरै बल प्रयोग पनि गर्नु नपर्ने देखेर साना बालिकालाई यौनको शिकार बनाएको देखिन्छ । अर्को हाम्रो कानून कार्यान्वयनको पाटोलाई पनि जोड्न सकिन्छ । बलात्कारका केही घटनामा पीडक अहिलेसम्म खुल्न सकेको देखिँदैन । यस्ता घटना सार्वजनिक हुँदा पीडकमा थप बल पुगी उसले बलात्कारका अरू घटना निम्त्याउन सक्छन् ।

‘साइको सेक्सुअल डिसअर्डर’ भएका व्यक्तिले पनि बलात्कारका घटना निम्त्याउन सक्ने सम्भावना धेरै हुन्छ । यस्ता व्यक्तिले जसलाई पनि पीडित बनाउन सक्छ । मदिराले पनि मानिसलाई यौन लतको बाटो देखाउँछ । निरन्तर मदिरा सेवन गर्ने व्यक्तिमा मानसिक समस्या देखापर्छ । उसको सोच्ने क्षमता कमजोर हुँदै जान्छ । नशाको आवेगमा उसले बलात्कारका घटना निम्त्याउने सम्भावना धेरै रहन्छ । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ । 

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्