पहिरोले ८ घरपरिवार विस्थापित

प्रतिकात्मक तस्वीर

३ दिनदेखिको लगातारको वर्षाका कारण पहिरो आउँदा डोटी जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका–२ सिर्मा गाउँका ८ परिवार विस्थापित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार आइतवारदेखि आएको भारी वर्षाका कारण गाउँको बस्ती माथिबाट पहिरो आएपछि ८ परिवारका ४० सदस्य घरबार छोडेर विस्थापित भएका हुन् । 


Advertisement

पहिरोका कारण विस्थापित परिवारका सदस्य पाल टाँगेर बस्न बाध्य छन् । गाउँ माथिबाट पहिरो आएपछि पहिरोमा च्यापिने डरले उनीहरू घरबार नै छाडेर विस्थापित भएको स्थानीयवासी तेज डुम्रेलले जानकारी दिए ।

‘गाउँ माथिबाट पहिरो आएपछि ८ परिवारका ४० जना विस्थापित भएका छन्, उनीहरूलाई सुरक्षित बासस्थानका लागि समस्या भएको छ,’ उनले भने ।


Advertisement

बाढी पहिरोबाट विस्थापित परिवारलाई स्थानीय सरकारले समयमै व्यवस्थापन गर्नुपर्ने पहिरो पीडितमध्येका एक नरबहादुर ओलीले बताए । उनले भने, ‘अविरल वर्षासँगैको पहिरोले घरनै पुर्ने डरले हामीहरु चौपाया, खाद्यान्न सरसामान छाडेर आफन्तको घरमा सरेका छौं, अब हाम्रो व्यवस्थापन गर्न ढिलो गर्नु भएन ।’

गाउँमाथिको पूरै जमीन फाटेका कारण सिर्मा गाउँका अन्य ६० भन्दा बढी घरपरिवार पहिरोको उच्च जोखिममा रहेको उनले जानकारी दिए । बर्सेनि बाढी पहिरोका कारण सायल गाउँपालिकामा स्थानीयले अकालमै ज्यान गुमाउने गरेका छन् ।

कमेन्ट गर्नुहोस्