सवारीसाधनले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

चितवनको भरतपुर महानगरपालिका–२९ खहरेमा पैदलयात्रीलाई सवारीसाधनले ठक्कर दिँदा १ पुरुषको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुने व्यक्ति अन्दाजी २५ वर्षको रहेका छन् ।
 
उनलाई बुधवार बिहान ३ः३० बजेको समयमा नम्बर नखुलेको सवारीले ठक्कर दिएको हो । ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


Advertisement

मृतकको शव भरतपुर अस्पतालमा राखिएको र ठक्कर दिने सवारी साधनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । 

यस्तै, भरतपुर महानगरपालिका–१० को चितवन माविको खाली जग्गाको झाडीमा बोरामा पोको पारेको अवस्थामा शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार ती व्यक्ति भरतपुर महानगरपालिका–१४ का ४१ वर्षीय राजकुमार गुरुङ रहेका छन् ।


Advertisement

थापाका अनुसार भरतपुर क्षेत्रमा माछा बिक्री गर्ने, ठेलामा सामान बिक्री गर्नेजस्ता काम गर्दै आएका उनी ४ दिनयता हराइरहेका थिए । मंगलवार बोरामा शव भेटिएपछि उनको परिवारले आफन्त भएको भनी सनाखत गरेका हुन् । हत्या भएको आशंकामा अनुसन्धानलाई तीव्रता दिइएको उनले बताए । उनी भरतपुर क्षेत्रमा बसोबास गर्दै आएका थिए ।

कमेन्ट गर्नुहोस्