के कोभिड- १९ कमजोर बन्दै गएको हो ? हावाबाट कस्तो अवस्थामा सर्छ कोरोना ?

डा. रवीन्द्र पाण्डे
डा. रवीन्द्र पाण्डे

जनस्वास्थ्य विज्ञ पाण्डे लोकान्तरका नियमित स्तम्भकार हुन् ।

कोरोना संक्रमण संसारकै लागि नयाँ रोग हो । कोभिड- १९ (कोरोनाभाइरस)को स्वरूप, यसको स्वभाव, रोग सर्ने तरिका, लक्षण, निदान, उपचार तथा रोकथाम हाम्रा लागि सर्वथा नयाँ विषय हुन् ।

नोबेल कोरोनाभाइरस विगत ६ महिनाअघि मात्र देखिएको हुँदा यसबारे निकै कम अध्ययन तथा अनुसन्धान भएका छन् । अध्ययन, अनुसन्धान तथा विश्लेषणले कोरोनाभाइरसबारे विभिन्न नयाँ मान्यता स्थापित भएका छन् । यस आलेखमा कोरोनाभाइरसको सामर्थ्य, सर्ने तरिका तथा अनुसन्धानका नयाँ पक्षको बुँदागत विश्लेषण गरिएको छ ।


Advertisement

के कोरोनाभाइरस कमजोर भएको हो ?

म्युटेसनले कोरोनाभाइरसको स्पाइक प्रोटिनमा असर गरेको हुन्छ । केही दिन पहिले जर्नल सेलमा प्रकाशित अध्ययनको निचोडले भनेको छ कि म्युटेसनले भाइरसको प्रजातिमा असर गरेको हुन्छ । अनुसन्धानकर्ताले कोरोनाभाइरसको नयाँ प्रजाति G614 ले पुरानो संस्करणको D614 लाई विस्थापित गरेको छ । संसारभर ट्र्याकिङ गरेको डाटा अनुसार G614 बढी संक्रामक भएको तर यसले गम्भीर बनाउनेको संख्या एकदम कम हुन्छ भनिएको छ ।


Advertisement

यो नयाँ संस्करणको भाइरस पुरानो प्रजातिको भाइरसभन्दा ३-९ गुणा संक्रामक छ जुन नाक, साइनस् र घाँटीमा छिटो मल्टिप्लाइ हुन्छ । बेलायतमा १००० जना अस्पतालमा भर्ना भएका बिरामीलाई गरिएको अनुसन्धानमा यो नयाँ प्रजातिको भाइरस छिटो फैलिने तर यसले पुरानो प्रजातिले भन्दा कम असर गर्ने पाइएको छ ।

इटालीको सान राफेल अस्पतालका चिकित्सक तथा अनुसन्धानकर्ता मासिमोले २०० जना संक्रमितमा गरेको अनुसन्धानबाट भनेका छन् कि अहिले फैलिएको कोरोनाभाइरस पहिलेको भन्दा निकै कमजोर छ । त्यस्तै युनिभर्सिटी अफ बोनका सोधकर्ता प्रो. हेन्ड्रिक स्ट्रिककाअनुसार जर्मनीमा १५ % व्यक्तिमा कोरोनाविरुद्धको एन्टिबडी विकास भएको छ ।

उनका अनुसार पहिलेको प्रजातिभन्दा अहिलेको प्रजाति कमजोर भएकाले अधिकांश कोरोना संक्रमित व्यक्तिमा सामान्य लक्षण देखिएका छन्  । भारत र श्रीलंकामा भएको अनुसन्धानअनुसार दक्षिण एसियामा फैलिएको कोरोनाभाइरसको प्रजाति वुहान, युरोप, अमेरिका र बेलायतको भन्दा फरक र कमजोर हो ।

ढलबाट कोरोना संक्रमण सर्छ कि सर्दैन ?

ढलबाट कोरोनाभाइरस सर्दैन । ढलमा कोरोनाभाइरसका अवशेष देखिनु भनेको त्यो समुदायमा केही व्यक्ति संक्रमित थिए वा छन् भनेर अनुमान गर्न सघाउने विषय मात्र हो ।

यस किसिमको अनुसन्धान १ वर्ष पहिले स्पेन, ब्राजिल, बेलायत लगायतका मुलुकमा भएका थिए । हैजा, टाइफाइड लगायतको सर्भे गर्न पनि यो तरिका अवलम्बन गर्न सकिन्छ ।

ढलमा देखिएका कोरोनाभाइरसका अवशेषले संक्रमण गर्न सक्दैनन् । कोरोनाभाइरस जीवित कोषमा मात्र बाँच्ने भएकोले ढल तथा ढलको पानीमा बाँच्न सक्दैन ।

हावाबाट कोरोना सर्छ कि सर्दैन ?

३२ देशका २३९ वैज्ञानिकहरूले कोरोना संक्रमण हावाबाट पनि सर्न सक्छ भनेर डब्लूएचओलाई आफ्नो धारणा परिवर्तन गर्न सुझाएका थिए । उनीहरूले गरेको अनुसन्धानको आधारमा डब्लूएचओले हावाबाट पनि कोरोना संक्रमण सर्न सक्छ भनेर आफ्नो धारणा परिवर्तन गरेको छ ।

हावाबाट कोरोनाभाइरस सर्ने २ अवस्था हुन्छन् । झ्यालढोका बन्द गरेर एसीको प्रयोग गरिने हलहरू जहाँ कन्सर्ट हुन्छ, गीत गाउने, हूटिङ गर्ने खालका कार्यक्रममा संक्रमितको मुखबाट निस्किने थुकका कणहरूमध्ये ठूला कणहरू सतहमा झर्छन् भने एकदम साना कणहरू हावामा तैरिन्छन् । त्यहाँ रहेका व्यक्तिहरूले सास लिँदा ती भाइरस भएका साना कणहरू मान्छेको शरीरभित्र प्रवेश गरेर संक्रमित बनाउँछन् ।

बार, रेस्टुरेन्ट, क्लब, क्यासिनो, म्युजिकल कन्सर्ट, सेमिनार, भोजभतेर आदि बन्द कोठामा गर्दा हावाबाट सर्ने सम्भावना हुन्छ । त्यस्तै जुलुस, नारा, प्रदर्शन आदि गर्दा चिच्याउनु पर्ने, व्यक्तिगत दुरी कायम नहुने, मास्कको प्रयोग नहुने, भीडभाड हुने, प्रहरीले अश्रु ग्यास फ्याँक्दा खोकी लाग्ने र संक्रमितको नाक तथा मुखबाट निस्केका साना कणहरू त्यहाँ भएका व्यक्तिमा सर्न सक्ने सम्भावना हुन्छ ।

युनिभर्सिटी अफ सिकागोले गरेको एक अध्ययनअनुसार सघन उपचार कक्षमा गरिएको अनुसन्धानमा अत्यन्तै सुक्ष्म कणहरू १४ फिटसम्म पुग्ने जनाइएको छ ।

घरमा, बाटोमा, भेन्टिलेसन पर्याप्त भएका कोठा तथा हलमा कोरोना संक्रमण हावाबाट सर्दैन ।

कोभिड– १९ बाट हुने मृत्युदर घटेको हो ?

अहिले विश्वको ट्रेन्ड हेर्ने हो भने अधिकांश संक्रमितको संख्या बढिरहेको छ । तर गम्भीर बिरामी र मृत्यु हुने संख्या घटिरहेको छ । यसको प्रमुख कारण मास्कको प्रयोग, व्यक्तिगत दूरी कायम तथा हात धुने बानीले गर्दा हो ।

त्यस्तै हात मिलाउने, अंगालो हाल्ने, जुठो खाने तथा भीडभाडमा नबस्ने अभ्यासले गर्दा धेरै देशमा संक्रमितको संख्या घटेको छ । त्यस्तै क्वारेन्टाइन, आइसोलेसन, कोभिड १९ को उपचारमा अन्य औषधिले राम्रो काम गरेको हुँदा आइसीयु तथा भेन्टिलेटर चाहिने बिरामीको संख्या पनि घटेको छ ।

त्यस्तै कोरोनाभाइरसको पहिलेभन्दा कमजोर भएको कारण पनि गम्भीर हुने र मृत्यु हुनेको संख्या घटेको विभिन्न अनुसन्धानले जनाएका छन् ।

के नेपालमा कोरोना संक्रमितको संख्या घटेको हो ?

नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने विगत केही दिनयता संक्रमितको संख्या घटेको सरकारी आंकडा छ । महामारी शास्त्रको नियमअनुसार यो प्राकृतिक देखिँदैन ।

भारतबाट आउने नेपालीको संख्या घट्नु, क्वारेन्टाइनमा बस्नेको संख्या घट्नु तथा आम नागरिकले सुरक्षा सतर्कता अपनाउनु सकारात्मक विषय हो भने रिपोर्ट आउन धेरै दिन लाग्नु, जसले गर्दा नमूनामा रहेको आरएनए नष्ट भएर संक्रमितको रिपोर्ट पनि नेगेटिभ देखिन्छ, यसले गर्दा कन्ट्याक्ट ट्रेसिङ निष्प्रभावी हुनु, परीक्षणको मात्रा घट्दै जानु, समुदायमा नगण्य परीक्षण हुनु, संक्रमितको संख्या पारदर्शी नहुनु तथा कम गुणस्तरका परीक्षण सामग्रीको प्रयोग गर्नु आदिले संक्रमितको संख्या कम देखिए पनि यथार्थमा समुदायमा संक्रमितको संख्या बढ्दो ट्रेन्डमा छ ।

के काठमाडौं कोरोनाको 'हटस्पट' बन्दैछ ?

काठमाडौं लगायत शहरी क्षेत्र कोरोना संक्रमणको हट स्पट बन्ने खतरा विद्यमान छ । आवतजावत नियन्त्रण नगर्नु, भीडभाड नियन्त्रण नगर्नु, समुदायमा ठूलो संख्यामा परीक्षण नगर्नु, स्वास्थ्य मन्त्रालयले सही रणनीति अबलम्बन गर्न नसक्नु, कोरोना नियन्त्रणमा विज्ञभन्दा कर्मचारीतन्त्र तथा कार्यकर्ताको पकड हुनु तथा महामारी नियन्त्रण सरकारको प्राथमिकतामा नपर्नुका कारण कोरोना संक्रमण अनियन्त्रित रूपमा बढ्ने जोखिम छ ।

यसमा हामी नागरिक स्वयं सचेत, सतर्क र जिम्मेवार बन्नु जरुरी छ । काठमाडौं उपत्यकाका प्रत्येक ठाउँमा संक्रमितको पहिचान हुनु, अधिकांश अस्पतालमा अन्य स्वास्थ्य समस्याको लागि पुगेका बिरामीमा कोरोना संक्रमण पोजिटिभ देखिनु, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिनु, काठमाडौंबाट बाहिरी जिल्लामा गएका व्यक्तिमा कोरोना पोजिटिभ देखिनु तथा ट्राभल हिस्ट्री नभएका बालबालिकादेखि जेष्ठ नागरिकमा संक्रमण पुष्टि हुनुले देखाउँछ कि काठमाडौं उपत्यका कोरोना संक्रमणको उच्च जोखिममा छ ।

शुरूमा जोरबिजोर ट्याक्सी चल्न दिने, त्यसको प्रभाव हेरेर लामा बस चल्न दिने अनि त्यसको पनि प्रभाव हेरेर अन्य सार्वजनिक यातायात सञ्चालन गर्नुपर्नेमा सरकारले एकैपटक यातायात चल्ने अनुमति दिएको छ । यसले गर्दा कोरोना संक्रमण समुदायमा फैलिने खतरा निकै बढेको छ ।

कोरोना संक्रमणको रोकथाम कसरी हुँदैछ ?

जुन देशमा सरकार इमान्दार तथा जनता अनुशासित छन्, ती देशमा कोरोना संक्रमण नियन्त्रणमा छ । सरकारले आफ्नो अर्जुनदृष्टि इमान्दार तथा पारदर्शी भएर कोरोना संक्रमण नियन्त्रणमा लगाउने र जनताले सरकारका नियम आज्ञाकारी भएर पालना गर्ने हो भने थोरै खर्च, थोरै परीक्षण, थोरै क्वारेन्टाइन केन्द्र र लकडाउन नगरेर पनि कोरोना संक्रमणलाई नियन्त्रण गर्न सकिन्छ भन्ने उदाहरण जापान बनेको छ ।

चीन, कोरिया, भियतनाम, ताइवान, सिंगापुर, भुटान आदि देश तथा भारतका केरला, सिक्किम लगायतका प्रान्तमा पनि सरकारको इमान्दार लक्ष्य र जनताको अनुशासनले कोरोना संक्रमण नियन्त्रण गर्न ठूलो भूमिका खेलेको छ ।

अन्त्यमा कोरोना संक्रमण लामो समयसम्म रहने भएकोले हामीले कोरोना छल्दै आफ्ना गतिविधि अघि बढाउनुको विकल्प छैन । यसको लागि सबै जनाले मास्कको सही प्रयोग, ६ फिटको व्यक्तिगत दुरी तथा नियमित हात धुने कामलाई हाम्रो जीवनशैलीमा रूपान्तरण गर्नु जरुरी छ । त्यस्तै स्वस्थ व्यक्ति तथा युवाले काम गर्ने अनि जेष्ठ नागरिक तथा दीर्घ बिरामी घरभित्र पनि आइसोलेसनमा बस्नु जरुरी छ ।​

Twitter : @Sameer_Rabindra

डा. रवीन्द्र पाण्डे
डा. रवीन्द्र पाण्डे

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्