समाजमा व्यास वचनमाथि विश्वासको संकट

कमल रिजाल
कमल रिजाल

लोकान्तरका नियमित स्तम्भकार कमल रिजाल धार्मिक संस्कार र समसामयिक विषयमा कलम चलाउँछन् ।

वादरायणजी ! सादर वन्दना ।

तिम्रो विचारको गिर्दै गएको सामाजिक साखप्रति केही गुनासो राख्दैछु । आशा छ अन्यथा मान्नुहुने छैन ।


Advertisement

थाहा छैन तिमी कुन–कुन दुनियाँमा छौ । चिरञ्जीवीहरूमा आफूलाई पनि राखेका छौ । यो भनेको कल्पान्तजीवी हो, जो ४ अर्ब ३२ करोड वर्ष जीवित रहन्छन् ।

यसलाई मान्ने हो भने अहिले पनि यतैकतै हुनुपर्छ तर ती भनाइ नै कति सही छन् ? यसै भन्न सकिने अवस्था छैन । किनकि तिम्रो विचारमाथि खिया लागेको छ, शास्त्र र सिद्धान्तमाथि जबर अविश्वास छ । तथापि तिमी ब्रह्मवादी हौ, जसलाई ब्रह्मसूत्र लेखेर आफैंले प्रमाणित गरेका छौ । त्यसैले अक्षर ब्रह्मको सहयोग लिएको छु, जसले तिमीसम्म पुर्‍याउनेछ भन्नेमा विश्वस्त छु ।


Advertisement

वादरायणजी ! माथि नै भनिसकें तिमी फेल भइसकेका छौ । तिम्रा विचार, शास्त्र, सिद्धान्त विफल भइसकेका छन् । तिम्रा ग्रन्थहरू बारुद सकिएका बन्दुक जस्ता हुन पुगेका छन्, शास्त्रहरू सार हराएका भार बन्न पुगेका छन्, सिद्धान्तहरूमा खिया लागेका छन्, भनाइहरूमा ऐंजुरु पलाएका छन् । तिमिलाई लाग्न सक्ला त्यस्तो कसरी हुन सक्छ ? तर हुनसक्छ होइन, भइसकेको छ, जसका एउटा होइन, दर्जनौं उदाहरण छन् ।

शुरू गरौं तिम्रो आफ्नै र तिम्रा सन्तानको जन्म प्रकरणबाट । तिम्रो जन्म कुनै कुमारीको कोखबाट भएको छ, जो तिम्रा बाबुका आधिकारिक पत्नी होइनन्, थिइनन्, जसलाई तिमी आफैंले सगौरव स्वीकार गरेका छौ । त्यस्तै तिम्रा पुत्र शुकदेवकी आमा पनि तिम्रा आधिकारिक पत्नी थिइनन् । केवल एक सन्तानका खातिर कुनै नारीका कोख सापटी लिएका थियौ । त्यसलाई पनि तिमी आफैंले निःसंकोच व्याख्यान दिएका छौ ।

यसको अर्थ हो भविष्यमा आवश्यकता पर्दा जसले पनि कसैको कोख सापटी लिएर सन्तान जन्माउन सक्छन् भन्ने उदाहरण प्रस्तुत गर्नु, त्यो पनि प्रयोगात्मकरूपमै तर दुनियाँले यसलाई अस्वीकार गरेका मात्र छैनन्, अवैधानिकताकै लालमोहर लगाइदिएका छन् ।   

दोस्रो उदाहरण प्रस्तुत गरौं – तिम्रा वर्ण व्यवस्थाका सिद्धान्तलाई लिएर । तिमीले वर्ण व्यवस्थाको कुरा गरेका थियौ – गुण, कर्म र स्वभावको आधारमा । यहाँ न रज र वीर्यका कुरा गरेका थियौ न जाति र कूलकै कुरा उठाएका थियौ । तिमीले त विशुद्धरूपमा त्यसको आधार कर्मलाई लिएका थियौ । बौद्धिक वर्ग ब्राह्मणमा पर्थे, शिक्षा र संस्कारको माध्यमबाट समाजको सेवा गर्थे । पाखुरा बलियो हुनेहरू क्षेत्रीय मानिन्थे, शान्ति र सुरक्षाको माध्यमबाट समाजकै सेवा गर्थे । तिघ्रा बलियो हुनेहरूलाई वैश्य भनेका थियौ, उद्योग व्यवसाय चलाउँथे । सेवागत भावना भएकाहरू शूद्र वर्णमा पर्थे, खेती, किसानी, सरसफाइ, सेवा र शिल्पको माध्यमबाट समाजको सेवा गर्थे ।

तिमीले भनेका थियौ – कोही पनि वर्ण आफैंमा ठूलो र सानो हुँदैन, सबै समान छन्, हुन्छन् र आ–आफ्नो स्थानमा सबैको महत्त्व उत्तिकै हुन्छ । होइन यदि ठूलो र सानोको कित्ताकाट गर्नैपर्ने अवस्था आयो भने सबैभन्दा माथि शूद्र वर्ण पर्छन्, जो सेवामा तत्पर हुन्छन् तर व्यवहार हेरौं त कस्तो विद्रूप छ ? दुनियाँले वर्ण व्यवस्थालाई रज र वीर्यमा सीमित गर्ने काम त गरे–गरे तिमीले सबैभन्दा उच्च मान्नुपर्छ भनेका वर्णलाई सीमान्तकृत वर्गमा राख्नमा समेत पछि परेका छैनन् ।

यसको अर्थ हो – तिम्रो वर्ण व्यवस्थाको सिद्धान्त थोत्रिएर कामै नलाग्ने भइसकेको छ, जसको प्रायः नामै सुन्न पनि चाँहदैनन्, कतिले बहिष्कार नै गरिसकेका छन् । 

तेस्रो उदाहरण प्रस्तुत गरौं – अन्तरजातीय विवाह प्रकरणबाट । तिमीले सवर्ण विवाहको कुरा गरेका त छौ तर अन्तरजातीय विवाहलाई पनि निषेध गरेका छैनौ । तिम्रा समस्या जातिगत थिएनन्, आचरणगत थियो, सामाजिक मर्यादागत थियो । मर्यादाभित्र रहेर मन मिले जोसँग पनि वैवाहिक सम्बन्ध गाँसी  सन्तानोत्पादन गर्न सक्छन् भन्ने तिम्रो मान्यता थियो । तिमी आफै मझिनी कन्या पुत्र हौ । वशिष्ठ र सत्यकाम जावाल गणिका पुत्र थिए । महात्मा विदुर र ऐलूष ऋषि दाशी पुत्र थिए । ऐतरेय उपनिषद्का प्रणेता ऐतरेय ऋषि शुद्र कन्या पुत्र हुन् । एउटै बुवाका सन्तान कुनै ब्राह्मण, कुनै क्षेत्रीय, कुनै वैश्य र कुनै शुद्र भएको प्रशस्त उदाहरण दिएका छौ आफ्ना ग्रन्थहरूमा तर नतिजा भने यहाँ पनि ठीक उल्टो हुन पुगेको छ । अन्तरजातीय विवाहकै कारण कैयौं अंगभंग भएका छन्, कैयौंले अकाल मृत्युवरण गर्नुपरेको छ । कतिले अग्नि समाधि लिएका छन्, कैयौं जससमाधि लिन बाध्य भएका छन् ।  

चौथो उदाहरण प्रस्तुत गर्न चाहन्छु, जीव हत्याको प्रसङ्गबाट । तिमीले जीव हत्यालाई निषेध गरेका छौ । भागवतमा ‘जिवो जिवस्य जीवनम्’ भनेर जीवले जीवलाई बचाएर मात्र जीवको जीवन चल्छ भनेका छौ तर यहाँ पनि त्यसको ठीक उल्टो व्याख्या भइरहेको छ । तिमीले बलिदानको कुरा त गरेका छौ तर त्यस्तो बलिदान जहाँ काम, क्रोध, लोभ र मोहको बलिदान भएको होस् तर व्यवहारमा भने यसको स्थान पशुपन्छीले लिएका छन् । 

धर्मको नाममा हत्या, हिंसा हुनु हुँदैन भन्ने तिम्रो भनाइ हो तर यथार्थ यही हो कि धर्मको नाममा जति काटमार सायदै अन्यत्र भएका होलान् । हो अश्वमेध यज्ञको महत्त्व बखानेका छौ तर त्यो भनेको पनि काटमार नभई संस्कार गरेर छाड्ने अर्थमा हो । यसबारे भागवतमा तिमी आफैले भनेका छौ ‘यथा पशो आलभनं न हिंसा ।’ धन्न हरिश्चन्द्रको यज्ञमा पुगेर विश्वामित्रले नरबलिसम्मलाई रोक्न भ्याएका थिए तर पशुपन्छीको हत्या जारी नै छ ।

पाँचौं उदाहरण लिएको छु, सत्य भाषणको प्रसङ्गलाई लिएर । तिमीले भनेका थियौ – सत्य बोल, प्रिय बोल, सत्य कुरा पनि अप्रिय नबोल । संसार एउटै हो, यहाँ न आफ्नो भन्ने छ, न पराइ भन्ने छ । द्यावा भूमि एउटै परिवार हो । त्यसैले आफूमा अरुलाई र अरुमा आफूलाई हेर्ने काम गर, सकेसम्म सबैको हित गर नसके अरुको जस्तो बोली, वचन र व्यवहार आफूलाई मन पर्दैंन, त्यस्तो बोली, वचन र व्यवहार अरुलाई नगर तर व्यवहार भने यहाँ पनि त्यसको ठीक विपरीत छ ।  

यी केही सरसर्ती अध्ययनमा भेटिएका केही प्रसङ्ग हुन् । खोजी पसे यस्ता उदाहरण कति फेला पर्छन् कति । लाग्छ तिम्रो शास्त्र, सिद्धान्त, भनाइ र विचार फेल भइसकेको प्रमाण दिन योभन्दा बढी उदाहरण प्रस्तुत गरिरहनु पर्ने छैन ।  

वादरायणजी ! अन्त्यमा यति भन्न चाहन्छु । मिल्छ भने पुनः एक पटक आफै आएर दुनियाँलाई बुझाउने काम गर, होइन भने आफ्नो शास्त्र र सिद्धान्त आफैसँग फिर्ता लाने कृपा गर । कम्तीमा बलात् फिर्ता गर्न बाध्य हुने अवस्था सिर्जना नगर । आगे तपाईको मर्जी । अस्तु अहिलेलाई यति नै ।

कमल रिजाल
कमल रिजाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्