कोरोनासँग लड्न निरन्तर अग्रपंक्तिमा खटिएका यी रेडक्रसकर्मी

अजय अनुरागी
अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि खोज, राजनीति र समसामयिक विषयवस्तुमा कलम चलाउँछन् ।

जब–जब कुनै प्राकृतिक विपद् आउँछ, तब–तब राहत तथा उद्धारमा सक्रिय हुने व्यक्ति हुन् नरेशप्रसाद सिंह । बाढी, आगलागी, सडक दुर्घटना होस् वा कुनै पनि आन्दोलन हुँदा घाइतेहरूको उद्धारका लागि प्रहरी प्रशासनसँगै अग्रपंक्तिमा खटिने व्यक्ति हुन् उनी ।

नेपाल रेडक्रस सोसाइटी धनुषाका सभापति भएका कारण पदीय दायित्वले पनि उनलाई विपद्का कामको लागि सक्रिय पार्ने गरेको छ । अहिले कोरोना भाइरस संक्रमणको महामारी नियन्त्रण गर्ने काममा उनी दिनरात परिचालन भएका छन् ।


Advertisement

पछिल्लो ३ महिनादेखि उनी बिहान ८ बजेदेखि रातिसम्म कोरोना संक्रमित व्यक्तिलाई उपचारका लागि अस्पताल पठाउनेदेखि अन्य थुप्रै काममा अहोरात्र खटिएका छन् । कोरोना संक्रमण फेला पर्ने वित्तिकै धनुषाका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, क्वारेन्टीन संयोजक, स्थानीय पालिका प्रमुखसहित विभिन्न १० निकायबाट उनलाई फोन आउँछ । कोरोना संक्रमण पोजेटिभलाई तुरुन्त आइसोलेसनमा ल्याउन एम्बुलेन्स पठाइदिनुपर्‍यो भनेर बिहानदेखि रातिको २ बजेसम्म फोन आउने गरेको उनी बताउँछन् । 

चीनको वुहानबाट कोरोना भाइरस संसारका विभिन्न देशमा फैलिएपछि सरकारले लकडाउन शुरू गर्नु अघिदेखि नै सिंह सक्रिय थिए । फागुन महिनामा मिथिला मध्यमा परिक्रमा शुरू हुन्छ । नेपाल र भारतका विभिन्न स्थान हुँदै सम्पन्न हुने १५ दिने परिक्रमामा नेपाल र भारतका हजारौं श्रद्धालु भक्तजन परिक्रमा गर्ने गर्छन् । परिक्रमामा जाने व्यक्तिलाई भेटघाट गर्न प्रत्येक दिन गाउँघरबाट आफन्त आउने गर्छन् । त्यसका कारण १५ वटा विश्रामस्थल (पडाव) मा थप भीडभाड हुने गर्छ । झन् परिक्रमा सम्पन्न हुने अन्तिम दिन जनकपुरमा हुने अन्तरगृह परिक्रमामा जनकपुरका समेत स्थानीयको सहभागिता हुने हुँदा भीड झन् बढ्ने गर्छ, संख्या लाखमा पुग्छ ।


Advertisement

सिंहको अगुवाइमा रेडक्रसका स्वयंसेवीहरू जनचेतनाका लागि परिक्रमामा सक्रिय भएका थिए । पडावमा आफन्त आउँदा एकअर्कालाई अँगालो हाल्दा त्यस्तो नगर्न उनी सुझाव दिने गर्थे । कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले एकआपसमा अँगालो नहाल्न, खुट्टा ढोगेर प्रणाम गर्नुभन्दा हात जोडेर केही परैबाट नै प्रणाम तथा नमस्कार गर्न सम्झाउने/बुझाउने काम गरेको सिंह बताउँछन् । 

‘त्यसरीभन्दा धेरै मानिसहरूले हिन्दू धर्ममाथि प्रहार गर्न खोजेको भन्दै मान्न तयार भएका थिएनन् । पर्वताको पडाव स्थलमा त्यहाँका स्थानीय युवा क्लबका मानिसहरूले त हिन्दू धर्ममाथि प्रहार गर्न खोजेको भन्दै हाम्रो टीममाथि हातपात नै पनि गर्न खोजे,’ सिंहले सम्झिए, ‘कोरोनाका कारण त्यसो नगर्न भनेको भनेर बुझाउन धेरै समय लाग्यो ।’ परिक्रमामा रहेका व्यक्तिलाई मास्क वितरण गरे पनि कसैले पनि मास्क लगाउन नमानेको उनले सम्झिए ।

चैत्र ११ गतेदेखि नेपालमा पनि अन्य देशजस्तै लकडाउन घोषणा भयो । कोरोनाबारे विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का विभिन्न धारणा तथा मापदण्डहरू पहिलेदेखि नै आइरहेका थिए । कोरोना संक्रमितलाई अस्पतालसम्म पुर्‍याउन रेडक्रसबाहेक अन्य एम्बुलेन्स तयार नहुने सभापति सिंहलाई पहिलेदेखि नै थाहा थियो ।

एम्बुलेन्सको खाँचोलाई मनन् गर्दै उनले रेडक्रसका एम्बुलेन्सलाई सुरक्षित बनाउन ३ तहको क्याबिन बनाए, चालकहरूलाई तालिम दिए । चालकको व्यक्तिगत सुरक्षाका सामग्री पीपीई सेट उपलब्ध गराएर कोरोनाका बिरामी बोक्न तयार गराए । सशस्त्र प्रहरीसहित विभिन अस्पताल, सरकारी एम्बुलेन्सलाई पनि क्याबिन बनाएर तयार पारे । ‘तर पछि कुनै पनि सरकारी एम्बुलेन्सले कोरोना संक्रमित बोक्न तयार भएनन्,’ सिंहले भने, ‘हाम्रो एउटा एम्बुलेन्सले नै धनुषा र महोत्तरीका संक्रमितलाई बोक्ने काम गर्दै आएको छ ।’

कतिपय ठाउँमा चालकसहित आफू पनि जाने गरेको सभापति सिंह बताउँछन् । कोरोना संक्रमित महिला भएपछि घरबाट वा क्वारेन्टीनबाट पठाउन तयार नहुने अवस्थामा आफू नै पुगेर जिम्मा जमानी लिएर अस्पतालसम्म पुर्‍याउने गरेको उनी बताउँछन् । आमा संक्रमित हुँदा सानो छोराछोरी पनि सँगै लैजाने, सानो छोराछोरीमा संक्रमण हुँदा आमा पनि सँगै अस्पताल जाने भनेर जिद्दी गर्ने अवस्थामा आफू नै जानुपरेको उनले बताए ।

ब्लड बैंक चलाउन चुनौती 

जनकपुरमा एक मात्र ब्लड बैंक रेडक्रसले सञ्चालन गर्दै आएको छ । लकडाउनमा ब्लड बैंक सञ्चालन गर्नु ठूलो चुनौती बन्यो । शुरू–शुरूमा निजी अस्पतालदेखि क्लिनिकहरू पनि बन्द भएका थिए । सरकारी अस्पताल मात्र सञ्चालित थिए । त्यसकारण ठूलो संख्यामा बिरामीको चाप थिएन तर केही दिनपछि निजी अस्पताल पनि सञ्चालनमा आउँदा बिरामीको चाप बढेको थियो ।

अस्पताल खुलेपछि प्रसूति गराउन आउने सुत्केरी महिलाको लागि ब्लडको आवश्यकता हुन थाल्यो । ‘धनुषासहित अन्य विभिन्न जिल्लाबाट ब्लडको माग हुन थाल्यो तर ब्लड बैंकमा रगत नै थिएन,’ सिंहले भने, ‘लकडाउन भएका कारण रक्तदान नहुँदा मौज्दातमा पहिलेदेखि नै संकलन गरेर राखिएको रगत सकिएको थियो ।’

रगत अभाव भएपछि सिंहले रक्तदान गर्न सार्वजनिक रुपमा जनतालाई अपिल गरे । ब्लड अभाव भएका कारण समस्या उत्पन्न भइरहेको समाचार स्थानीय सञ्चारमाध्यममा प्रकाशित भएपछि धमाधम रक्तदान भएको उनी बताउँछन् । विभिन्न गाउँमा गएर शिविर आयोजन गरेर रक्तदान कार्यक्रमबाट ब्लड संकलन गरेर बिरामीको ज्यान जोगाउन सफल भएको उनले बताए ।

रगत संकलन गर्दा कोरोनाको पीसीआर जाँच नगरिएका कारण समस्या हुनसक्ने खतरा थियो । ‘तर ट्राभल हिस्ट्रीको आधारमा बाहिर नगएका वा बाहिरबाट नआएका मानिसहरूको मात्र रगत लिएका थियौं,’ उनले भने, ‘त्यसपछि ब्लड बैंक यथावत रुपमा सञ्चालित भएको छ ।’

धनुषाका सबै क्वारेन्टीन पुग्दा 

धनुषाका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलको संयोजकत्वमा क्वारेन्टीन अनुगमन समिति बनाइएको थियो । सिंह पनि समितिका सदस्य थिए । टोलीले जिल्लामा सञ्चालित सबै क्वारेन्टीनमा पुगेर स्थलगत अनुगमन गरेका थिए । ‘त्यहाँ पुग्दा महिलाहरूको लागि छुट्टै कोठा, खाना पुर्‍याउने महिला जनशक्तिसहित अन्य कुराको अभाव भएका कारण ती कुराहरूको व्यवस्थापन गर्न लगाएका थियौं,’ उनले भने, ‘सुरक्षाका लागि महिला प्रहरी पनि क्वारेन्टीनमा हुनुपर्छ भनेर भनेका थियौं तर महिला प्रहरी जनशक्ति अभावका कारण व्यवस्थापन हुन सकेन ।’ 

धेरै क्वारेन्टीनमा बिजुली नभएर गर्मीका कारण समस्या भइरहेको देखेको उनले बताए । ‘त्यसपछि हामीले क्वारेन्टीनमा बिजुलीको लाइन जडान गराएर पंखा लगाउन लगाएका थियौं,’ उनले भने ।

शुरू–शुरूमा क्वारेन्टीनको व्यवस्थापन राम्रो भए पनि भारतबाट आउने व्यक्तिको संख्या बढेपछि व्यवस्थापन फितलो भएको उनले बताए । प्रत्येक दिन जिल्ला प्रशासन कार्यालय धनुषामा बिहान ८ बजेदेखि ९ बजेसम्म १ घण्टा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक हुन्थ्यो । ‘नो एजेन्डा, अल एजेन्डा’सहित बैठक गरेर हिजो गरिएको सबै कामको समीक्षा हुनुका साथै आज गर्नुपर्ने कामको लागि रणनीति तयार हुने गर्थ्यो । कोरोना संक्रमणका कारण धनुषामा हालसम्म ठूलो दुर्घटना नहुनुका पछाडि समीक्षा बैठकले ठूलो काम गरेको उनी बताउँछन् ।

भारतबाट नेपाल आउनका लागि खजुरी र जटही नाका खुलाइएको थियो । भित्रिने नेपालीको सामान्य चेकजाँच गरेर स्थानीय पालिकाको सवारीसाधनमा क्वारेन्टीनमा सुरक्षित तरिकाले पठाउने गरिएको थियो तर जटही नाकामा १ जना वीरेन्द्र यादवको निधन भए पछि नाका अव्यवस्थित भएका कारण नै धनुषाको दुवै नाका बन्द गरिएको उनले बताए ।

अब झन् चुनौतीपूर्ण 

भारतबाट नेपाल भित्रिने व्यक्तिहरू आफैं घर आएर परिवारमा बस्ने गरेका कारण चुनौती थपिएको छ । १ हजारभन्दा बढी व्यक्तिहरू भारतबाट आएर क्वारेन्टीनमा बस्नुको साटो गाउँघरमा पुगेको उनी अनुमान गर्छन् । जसकारण सामुदायिक स्तरमा नै कोरोना संक्रमण पुगिसकेको उनले बताए । बाहिर ‘ट्राभल हिस्ट्री’ नभएका व्यक्तिमा पनि संक्रमण देखिने गरेका कारण समुदाय स्तरमा कोरोना फैलिएको उनले जिकिर गरे । 

झन् लकडाउन खुलेपछि मानिसहरू मास्क नै नलगाएर बाहिर आउने जाने गरेका कारण संक्रमितको संख्या बढ्दै गएको छ । हालसम्म संक्रमित व्यक्तिमा कोरोनाको लक्षण नदेखिएको भए पनि आउँदो दिनमा संक्रमितको संख्या थपिने चुनौती बढेको उनले बताए ।

अजय अनुरागी
अजय अनुरागी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्