अर्थतन्त्रमा गरेको लगानी डुब्न नदिन सरकारको दूरदर्शिता आवश्यक छ : प्रा.डा. कुशुम शाक्य

परिवर्तन देवकोटा
परिवर्तन देवकोटा

लोकान्तरकर्मी देवकोटा आर्थिक विषयवस्तुमा कलम चलाउँछन् ।

मुलुकमा जे घटना भएपनि त्यसको राम्रो र नराम्रो प्रभाव सिधा रूपमा अर्थतन्त्रमा पर्छ । नेपालमा २०१५ मा भूकम्प आयो । त्यसले जनधनको क्षति पनि भयो । यसबाट पनि अर्थतन्त्रलाई असर परेको थियो । सन्दर्भवश अहिले नेपालमा मात्र हैन विश्वव्यापी रूपमा कोरोनाभाइरस (कोभिड– १९)को महामारी छ, जसकारण विश्व अर्थतन्त्रमा नै नकारात्मक असर परेको छ । 

हाम्रो अर्थतन्त्रलाई आन्तरिक मात्र नभई बाह्य तत्वले पनि असर पारेको छ । हाम्रो अर्थतन्त्र रेमिट्यान्समा आधारित छ । लाखौं जनशक्ति बाहिर गएर काम गरिरहेको अवस्थामा महामारीका कारण अहिले उनीहरू आफ्नो मुलुक फर्कन थालेका छन् । फर्कन पाउने उनीहरूको अधिकार हो भने उनीहरूलाई यहाँ ल्याउने र व्यवस्थापन गर्ने जिम्मेवारी सरकारको हो । 


Advertisement

विदेशमा रहेका नेपाली जनशक्तिले रेमिट्यान्स पठाउँदै गर्दा नेपालको अर्थतन्त्रको करीब २५ प्रतिशत त्यसले धानेको अवस्था छ । यतिखेर आएर न उनीहरूको उद्दार गर्न सकिएको छ, न उनीहरूले आएर यहाँ काम शुरू गर्न सक्ने अवस्था छ । त्यसकारण अहिले उनीहरूलाई ठूलो धक्का पुगेको छ । 

अर्को कुरा, हाम्रै मुलुकमा पनि लकडाउन जारी गरिएको छ, जसकारण व्यवसाय गर्नेलाई धक्का परेको छ भने सामान्य जनजीवनमा पनि नराम्रो असर पुगेको छ ।


Advertisement

आन्तरिकरूपमा कृषि लगायतका केही पनि काम गर्न नसकेपछि आम्दानी भएको छैन । आम्दानी नभएपछि वचत भएको छैन, यो नहुँदा लगानी पनि हुने कुरा नै भएन । यसकारण गरीबी पनि बढ्ने देखियो । 

यसरी असर पारेको अर्थतन्त्रलाई कोरोना महामारीले आन्तरिक तथा बाह्य असर पारेको छ । 

अर्थतन्त्रमा परेको असरलाई जहिले पनि सुक्ष्म लेभल (माइक्रो लेभल)बाट हेर्नुपर्छ । यसरी हेर्दा, आफ्नो घरलाई व्यवस्थित राख्न कसरी काम गर्नुपर्छ भनेर हामी सोच्छौं, राज्यमा पनि ठीक त्यही सोचिनुपर्छ ।

सरकार भनेको मुलुकको अभिभावक हो । उसले आफ्नो मुलुकलाई बचाउन, नागरिकको सुरक्षा गर्न कसरी काम गर्ने सोच्नुपर्छ । महामारी अन्य मुलुकमा शुरू हुँदा नै सरकारले हाम्रोमा विशेष सुरक्षा व्यवस्था अवलम्बन गर्नुपर्ने थियो । लकडाउन जारी गरेपछि एकदमै कडा गरेर काम कारवाही गरेको भएपनि केही हुँदैन थियो होला । 

नेपालमा शुरूमा १ जनामा देखिएको कोरोनाभाइरस साउनसम्ममा ४० हजारमा पुगिसक्ने विभिन्न अध्ययनहरूले अनुमान गरेका छन् । यसले अर्थतन्त्रमा गम्भीर असर पार्दछ  । अहिले कतिपय घरमा खाना खान पाएका छैनन् । आजसम्म सार्वजनिक यातायातहरू सञ्चालन गर्न सकिएको छैन । मजदूरहरू प्रभावित छन् । 

यसले अर्थतन्त्र बिग्रिएपछि मानिसको मानसिकता कसरी बिग्रन्छ भन्ने कुरा देखाउँछ । यसले भविष्यमा लुटपाट लगायतका विभिन्न घटना निम्तिन सक्छ । यसको असर सबैलाई पर्न सक्छ । हाम्रो सरकारले विभिन्न कार्यक्रम ल्याउनुपर्छ । 

मैले बजेटअगाडि पनि भनेको थिएँ । विदेशबाट फर्किएका युवाहरूलाई सरकारले निश्चित व्यवस्था गर्नुपर्छ । अहिले पनि त्यही कुरा गर्नुपर्छ । सरकारले उनीहरूको उद्दार गरेदेखि घर नपुगुञ्जेलसम्मको तथ्यांक राखेर व्यवस्थापन गर्नुपर्छ । 
सरकारले सशक्त ढंगले काम गर्न नसक्नुको परिणाम अहिले भोग्नुपरेको छ । अहिले संक्रमण बढेकोबढ्यै छ । अर्थतन्त्र डाउन भएर बैंकमा तरलता बढिरहेको छ । त्यो अनुसार लगानी गर्न नसकिएमा त्यो झन् अभिसाप हुनेछ । उत्पादन हुने छैन । यसले स्वास्थ्य तथा अन्य आर्थिक क्षेत्र सबैमा असर पार्दछ । यसको विडम्बना रोक्न कुनै एक व्यक्ति लागेर सम्भव हुँदैन । यसको जिम्मा सरकारले नै लिनुपर्छ । 

सरकारले के गर्नुपर्छ ? 

– अहिलेकै अवस्थामा सरकारले संक्रमणको एरियामा पूर्ण लकडाउन गर्नुपर्छ । यसका साथसाथै हाम्रो अर्थतन्त्र पनि बचाउनुछ । नेपालको सन्दर्भमा पब्लिक संस्थामा काम गर्न मात्रै कोही आउँदैनन् । स्वास्थ्य, शिक्षा, व्यवसायलगायत विभिन्न क्षेत्रमा काम गरिन्छ । यहाँ काम गर्ने सबैलाई सक्रिय बनाउनुपर्छ । ​

– हामीले नेपाल भ्रमण वर्ष २०२० मनाउने भनेर पूर्ण तयारी गरेर बसेका थियौं । सरकारले पर्यटन व्यवसायीलाई निरुत्साहित नहुने गरी काम गर्न सक्नुपर्छ अथवा विश्वास दिलाउन सक्नुपर्छ । अहिले गरेको लगानी खेर जाँदैन । अर्को वर्ष यो सबै राम्रो हुन्छ भनेर विश्वास दिलाउन सक्नुपर्छ ।

– डरलाग्दो के छ कि, अर्थतन्त्रमा गरेको लगानी पनि डुब्ने, मानिसको स्वास्थ्यमा पनि असर पर्ने, यसो हुँदा नतिजा के हुन्छ ? सरकारले दूरदर्शितासहित काम गर्नुपर्ने हुन्छ । 

– करीब ७० प्रतिशत महिलाहरूले कृषिमा आधारित अर्थतन्त्रमा काम गरिरहेका छन् । अनौपचारिक क्षेत्रमा पनि करीब ५० प्रतिशत महिलाले नै काम गरिरहेका छन्  । तर अहिले लकडाउनका कारण उनीहरू लक भएका छन् । उनीहरूलाई आफ्नो व्यवसाय सञ्चालनका लागि सरकारले विना ब्याजदर ऋण दिएर हो या अन्य सहुलियतको व्यवस्था गरेर उत्प्रेरणा दिन सक्नुपर्छ । 

– विपन्न कृषकहरूलाई पनि समयमै सस्तो दरमा ऋण उपलब्ध गराउने, कार्यक्रममूलक, उद्देश्यमूलक प्याकेज ल्याउनुपर्छ । यस्ता प्याकेजहरू किसानले महसूस गर्नेगरी उपलब्ध गराउन सक्नुपर्छ । 

हाम्रो  मुलुकमा संघीयता कार्यान्वयन भइरहेको छ, तर केन्द्रीय, प्रदेश र स्थानीय सरकारसँग समन्वयको अभाव देखिएको छ ।

लकडाउन गर्दा पनि एक अर्कामा थाहै नहुने अवस्था पनि देखिएको छ । दोहोरिने खालका कार्यक्रमहरू आइरहेका छन्, यसबाट ठूलो असर परेको छ । नेपालको जनसंख्या धेरै ठूलो पनि हैन । तीनवटै सरकारहरूले राम्रोसँग समन्वय गरी कोरोना रोकथाममा सक्रिय भएको भए अहिले महामारी फैलनै पाउँदैनथ्यो । सरकारबीच समन्वय हुनु जरुरी छ । 

नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका अतुलनीय छ । तर पनि निजी क्षेत्रलाई अझै फरक किसिमले हेरिरहेको भेटिन्छ । म धेरै कार्यक्रममा पुगिरहेको हुन्छु, त्यहाँ आफूलाई हेयको दृष्टिकोणले हेरेको उद्यमी व्यवसायीले गुनासो गर्ने गरेको पाउँछु । त्यसकारण निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्नुपर्छ । महामारीका बीच उनीहरूले गरेको कामलाई नजरअन्दाज गर्न मिल्दैन । सरकारले उनीहरूलाई उत्प्रेरणा हुने किसिमले कार्यक्रम ल्याउनुपर्छ ।

'५ केजी चामलले जीविकोपार्जन हुँदैन'

मैले माथि पनि भनेको छु, नागरिकले अर्थतन्त्रमा गर्ने क्रियाकलापलाई माइक्रो लेबलमा अध्ययन गर्नुपर्छ । एक व्यक्तिले आफ्नो परिवार, आफू र आफ्नो समाजमा कसरी भूमिका निर्वाह गर्छ त्यो हेर्नुपर्छ । उसको अवस्थाअनुसार व्यवस्था निर्धारण हुन्छ । उसले एउटा कुनै संस्थामा काम गरिरहेको छ भने तलब पनि पाइरहेकै अवस्था छ । उसले त्यहीअनुसार खर्च गरिरहेकै हुन्छ ।

भारत सरकारले न्यून आय भएका नागरिकका लागि प्याकेज ल्याउनेबित्तिकै मेरो मन छोयो । मैले लगत्तै नेपालमा पनि गरीब तथा न्यून आय भएका घरपरिवारलाई राहत प्याकेज ल्याउन सुझाव दिएँ । तर नेपालमा सन्तोषजनक राहत प्याकेज पनि आएन । फलस्वरूप अहिले कतिपयको स्वास्थ्यमा समस्या आएको छ, कतिपय भोकभोकै छन्, कतिपयले आत्महत्या गरेका छन् । यस्ता घटना दिनानुदिन आएको छ । 

५ केजी चामल राहत दिएर त केही हुन्न नि ! सरकारले अलि दह्रो गरी राहत दिन सक्नुपथ्र्यो, तर त्यसो गरिएन । त्यसकारण अहिले वचत भन्ने कुरा त परैको कुरा हो । सरकारले उनीहरूलाई राहत तथा प्रोत्साहन महसूस गराउनुपर्छ । यसमा निजी क्षेत्र वा अन्य मात्र लागेर सम्भव नै हुन्न ।

(प्रा.डा. शाक्यसँग लोकान्तरकर्मी परिवर्तन देवकोटाले गरेको कुराकानीमा आधारित)

 


परिवर्तन देवकोटा
परिवर्तन देवकोटा

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्