विपदविरुद्ध हरेक पालिकामा ‘टास्क फोर्स’, राजमार्गमा ‘स्काभेटर’

शेरबहादुर थापा
शेरबहादुर थापा

लोकान्तर संवाददाता थापा कर्णाली प्रदेशबाट रिपोर्टिङ गर्छन् ।

कर्णाली प्रदेश सरकारले बाढी तथा पहिरोबाट नागरिकलाई जोगाउन र उद्धार गर्दै राहत वितरण प्रभावकारी बनाउन भन्दै ७९ वटा पालिकामा ‘टास्क फोर्स’ गठन गर्ने तयारी गरको छ ।

‘विपद्मा परेकाहरूको तत्काल उद्वारका लागि कार्यदल गठन गर्ने तयारी शुरू गरेका छौं,’ आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले भने, ‘नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी, जनप्रतिनिधि, राजनीतिक दल, स्थानीय युवा, स्वास्थ्यकर्मी र विभिन्न संघसंस्थाका प्रतिनिधिहरू कार्यदल (टास्क फोर्स) मा रहनेछन् ।’


Advertisement

उनका अनुसार सरकारले पहिरोका कारण राजमार्ग अवरुद्ध भए तुरुन्त खुलाउन निश्चित दूरीमा पायक पर्ने गरी स्काभेटर तयारी अवस्थामा राखिने भएको छ । राजमार्गको २० देखि ३० किलोमिटरभित्र स्काभेटर राखिने छ । सडक पुगेका प्रत्येक स्थानीय तहमा खाद्य सामग्री ढुवानीका लागि एउटा ट्रक तयारी अवस्थामा राखिने भएको छ । सडक नपुगेको ठाउँमा हेलिकप्टरको प्रयोग गरिने जनाइएको छ ।

सोमवार बसेको प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले स्थानीय तहको समन्वयमा सुरक्षित ठाउँ पहिचान गरी नदी किनार र बाढी पहिरोको उच्च जोखिममा रहेका बस्तीका वासिन्दालाई स्थानान्तरण गर्ने निर्णय गरेको छ । विस्थापितलाई खाद्य आपूर्ति र आवास व्यवस्थापन कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गर्नेछ ।


Advertisement

पीडितको तत्काल उद्धार र राहत वितरणका लागि कम्तीमा ३ महिना एउटा हेलिकप्टर तयारी अवस्थामा राख्ने मन्त्री भण्डारीले जानकारी दिए । ‘संघीय सरकार र नेपाली सेनाको समन्वयमा कर्णालीकै लागि एउटा हेलिकप्टर समेत तयारी अवस्थामा राख्ने तयारीमा छौं,’ उनले भने ।

शेरबहादुर थापा
शेरबहादुर थापा

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्